लोकतन्त्रको चिरहरण 

बरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले लोकतन्त्र दिवसका दिन आफ्नो फेसबुकमा निकै तिखो प्रतिक्रिया लेखे– ‘लोकतन्त्र दिवसको अवसरमा भन्नुपर्ने एउटै कुरा छः यो तन्त्र बिस्तारै लुटतन्त्रमा degenerate हुँदैछ, मुलुकको अस्मितामाथि नै प्रहार गरिँदैछ, दलका दासहरू मौन ब्रतमा छन्, नागरिकहरु सार्वभौम हुन्छन्, जो सच्चा नागरिक हौं, यसतर्फ खबरदारी कायम राखौं ।’

आचार्यको स्टाटसमा नेपाली कांग्रेसका नेता लक्ष्मणप्रसाद घिमिरेले छोटो प्रतिक्रिया जनाएका छन् । उनले एकमात्र शब्दमा भनेका छन्– दुर्भाग्य !
बरिष्ठ अधिवक्ता आचार्य र नेता घिमिरेका शब्दहरुभित्र पसेर लोकतन्त्रलाई नियाल्ने हो भने सोझै भन्न सकिन्छ चिरहरण भैरहेको छ । लोकतन्त्रको चिरहरण !

  दुबैजना फरक विधाका सुपरिचित व्यक्तित्वहरु लोकतन्त्रको स्थापना र पुनस्थापनामा सकेजति योगदान गरेका स्वतन्त्रता सेनानी हुन् । नेपाली समाजले नजिकैबाट चिनेका यिनका मनबाट कुनै आवेशमा यी शब्दहरु प्रकट भएका पक्कै पनि होईन होला !

महँगो मूल्य चुकाएपछि आएको थियो लोकतन्त्र । संविधान मिचेर शासन गर्ने राजाको अल्पदृष्टि र नेपाली नागरिकको व्यक्तिगत स्वतन्त्रताप्रतिको अगाध आस्था लोकतन्त्र पुनस्थापनाको मूल कारण थिए । टाउको जोगाउन दुला पसिसकेका दलहरु र अस्तित्व रक्षा गर्न हम्मेहम्मे पर्न लागेको अवस्थामा पुुगेको तत्कालिन माओवादीले नागरिकले तयार गरिदिएको आन्दोलनको अग्नी कुण्ड वरिपरी निकै पछि आएर मात्र आसन जमाएका  हुन् । निकट इतिहासले नै यसको वृत्तान्त कहन्छ । यही स्वतन्त्रताको अग्नी कुण्डमा सबै मिसिएपछि परिवर्तन सम्भव भएको थियो । 
दुर्भाग्य ! 

राजनीतिक दलहरुले यसको भरपूर सदुपयोग गरेर देश र जनताको मुहारबाट दरिद्रीको दागहरु मेट्नुपथ्र्यो । तर भएन त्यसो । भयो के भने,आन्दोलनमा मरिमेटेर लागीपरेका कसैले पनि अझ कतिपय नेताका कानमा समेत नपरेका एजेण्डाहरु गुप्त रुपमा घुसाईयो । अन्ततः सिंहदरबारको सानो परिवेशभित्रबाट धर्मनिरपेक्षताको एजेण्डा जन्माएर संविधानमै हुलियो । राजतन्त्र विदा गरियो र हर्षको उन्मादमा तिघ्रा पनि ठटाईयो । तर जबजब एकपछि अर्को गर्दै नेपालको आन्तरिक शक्ति र सामथ्र्यमाथि प्रहार गर्ने कदमहरु चालिँदै गए र चालिँदै छन्,यसले बताईरहेको छ कि लोकतन्त्र ल्याउन भनेर मर्न मार्न तयार भएका नेपाली जनताको मेहनतको कसरी दुरुपयोग भएछ र भैरहेको छ पनि ।

हुनसक्छ यही कुराहरु मनमष्तिष्कमा मन्थन भएपछि भीमार्जुन आचार्य र लक्ष्मणप्रसाद घिमिरेका मनबाट उल्लेखित शब्दहरु फटाफट प्रकाशमा आएका हुन् । दिनदिनै लोकतन्त्रको धज्जी उडाउने काम महत्वपूर्ण स्थानबाट जसरी भैरहेको देखिन्छ । यतिबेला यतिमात्र भन्न सकिन्छ– दुर्भाग्य !

लोकतन्त्र र तमासा

एककिसिमले इतिहासमा नयाँ अध्याय लेखिएको थियो लोकतन्त्रको आन्दोलन सफल भएपछि । शासनका आधारहरु नै फेरिएका थिए । अब देश र जनताले चाहेजस्तै नायकहरु पाउनेछन् भन्ने आशा पनि पलाएको थियो । तर खै नायक !? नायक जन्मेका छन् भने भ्रष्टाचारका नायक जन्मेका छन् । विधिको चिरहरण गर्ने न्यायमूर्ति जन्मिएका छन् । राजनीतिको अपराधीकरण र अपराधको व्यापारीकरण गर्न सिपालु कारीगढको अवतार भैरहेको छ । तर आदर्श मान्न र अनुशरण गर्न लायक नायक स्यालको सिंग पाउनुजस्तै दुर्लभ भएको छ । 

विश्वप्रशिध्द तीर्थस्थल पशुपतिनाथमा एकपटक पुग्न र जीवनलाई धन्य बनाउने करोडौं मानिसको अभिलाषा हुन्छ । छिमेकी भारतका नेता अभिनेता र उद्योग व्यवसायमा रहेका कैंयौं सुपरिचित मानिस पशुपति आउने गरेको सुन्न पाईन्छ । 

तर हाम्रै देशका राष्टपति,प्रधानमन्त्री,सभामुख र प्रधानन्यायाधीश जस्ता उपल्लो दर्जामा रहेका व्यक्तित्वहरु किन नियमित पशुपति दर्शनमा  जाँदैनन् ! किन ? के डर र भयले रोक्छ उनीहरुलाई एउटा नियमित तालिकामा पशुपति दर्शन गर्न जानबाट ? के यो एउटा विम्बात्मक र अर्थपूर्ण काम हुनसक्दैन र नेपालको सन्दर्भमा ? अँ हँ तर कोही पनि जान सक्दैनन् सायद !

उच्चपदस्थ व्यक्तिको सुरक्षाकै बिषयमा हेरौं । राष्ट्रपति र प्रधानमन्त्रीको ठूलै सुरक्षा दस्ता हुने गर्छ । उनीहरुको सवारी पनि त उदाहरणीय बनाउन सकिएला नि । तर मनको बाघले सर्लक्कै निलेको छ नायक हुनपर्ने सबैलाई र बनाईरहेको देखिन्छ खलनायक ।

सर्वसाधारणले गरिरहेको प्रश्न हो यो– जनताको मुक्तिका लागि लडेका प्रचण्ड किन कालो शिशामा छोपिएर हिँडेका ? जवाफ छैन, वास्तवमा किन हँ ! अरु सबै दलका नेता पनि किन कालो शिशामा लुकेका ! किन उनीहरुलाई अगुवा पछुवा सुरक्षा दस्ता चाहिएको हो । एकपटक गृहमन्त्री हुने बित्तिकै किन सुरक्षाको आवश्यकता । जो जनताले चुनेका प्रतिनिधि हुन्, किन घरै बनै सुरक्षाको लश्कर लिएर तमासा देखाउनु परेको ? 

यता अर्कोतिर फर्केर हेर्दा अर्कै दृश्य देखिन्छ । जनआन्दोलनको बलमा नारायणहिटी राजदरबारबाट विदा गरिएका पूर्व राजा तराई पहाडका हाटबजारमा नागरिकहरुको घेराउमा मस्त घुमिरहेका देखिन्छन् । नागरिकले फोटो खिचेका छन्,सेल्फी लिनेले सेल्फी पनि लिन पाएका छन् । सादा पोशाकका केही सुरक्षाकर्मी मात्र देखिन्छन् उनका वरिपरी । ‘जननिर्वाचित’ र ‘सत्ताबाट च्यूत’ गरिएका वीच किन यस्तो विसंगतिपूर्ण अन्तर ? 
विकृतिहरुको ठूलो पर्खालवीच वयस्क हुँदै गरेको लोकतन्त्र दिवस मनाईरहँदा अनेक प्रश्नहरु उठिरहेको पाईन्छ– किन यस्तो भैरहेको छ देशमा ?

राजनीतिको व्यापारीकरण

यतातिर पनि हेरौं, व्यापारी राजनीतिमा छिरेका छन् र नेता भएका छन् । नेता गुप्त लगानीमा ठूल्ठूला व्यापारी बनेका छन् । कसैको बिस्कुट कारखाना छ त कसैको अस्पताल । कसैको पाँचतारे होटल धमाधम बनिरहेको छ भने कसैको क्यासिनो चलिरहेको देखिन्छ । शिक्षा व्यापारमा कुस्त कमाईले नपुगेर बैंक चलाएका छन् । चियाको बगान फैलिरहेको छ भने फलफूलको बगैंचा पनि चम्कीरहेको देखिन्छ । बैंकका रुपैंयाँले ढाकेर बोराका बोरा कालो धन लगानी गरिरहेका पाईन्छन् नेता । नेताका बोरा जोगाईदिए  वापत व्यापारी छिरेका छन् दलहरुमा अनि उनकै स्वार्थ बमोजिम बनेको छ ऐन कानून । थिचिएका चुसिएका छन् अदना नागरिक । शहरमा कालो धन सफा गर्ने वाशिङ मेसिन उद्योग फस्टाईरहेको चर्चा छ ।

पेशा व्यवसायसँग जोडिएका संघसंस्था दलका भातृ संगठनको हैसियतभन्दा माथि उक्लन सकेका देखिँदैनन् । स्वतन्त्र व्यवसायिक कुरा गर्ने व्यक्ति वेवकुफ बनेको देखिन्छ । नागरिक समाज नामको समुदाय पनि दलीय कन्दनीमै कसिएको देखिन्छ । स्वतन्त्र रहनुपर्ने प्रेस समेत व्यापारिक हस्तक्षेप र सत्ताको कोपभाजनमा परिरहेको देखिन्छ । 

भन्नलाई प्रधानमन्त्री भनिरहेका छन्, बिकासको फोहोरा बगिरहेको छ झरना झरिरहेको छ । समृध्द नेपाल सुखी नेपाली नामको सरकारी रामनामी गम्छाले सरकार आफ्नो असफलताको पसिना पुछिरहेको पनि देखिईरहेको छ । तर सडक हेरौं सडक जस्तो छैन,किराना पसल जस्तो देखिन्छ जताततै पसल । पैदलयात्रु कहाँ हिँड्ने,सरकार यो देख्दैन । नागरिकका दैनिकीसँग सरोकार भएका ससाना बिषय प्रधानमन्त्रीका आँखामा पर्ने कहिले । समृध्दि भनेको सुविधा हो कि हात्तीको देखाउने दाँत हो,प्रधानमन्त्रीले अहिलेसम्म अथ्र्याएका छैनन् । तर भैरहेको छ यस्तै विसंगति र अमिल्दो नियति देशमा ।

आखिर किन यस्तो भैरहेको छ !

सायद यिनै विसंगत घटना र प्रवृत्तिलाई केलाएपछि हुनसक्छ बरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य र अनुभवी नेता लक्ष्मणप्रसाद घिमिरेका मनबाट निस्किए त्यस्ता शब्द– दुर्भाग्य !


 

चौथो अंगमाथि असहिष्णु सरकार

पत्रकारिता पेशा सम्मानित पेशा हो । नेपालका सबै आन्दोलन पत्रकारको समेत सहायताले मात्र सम्भव भएको हो । पेशाको यो विधालाई राष्ट्रको चौथो अंग भनिन्छ ।

आगामी बजेटका चुनौति

    हरेक बर्षको संघीय बजेट जेठ १५ गते ल्याउनु पर्ने संबैधानिक प्राबधान अनुरुप आर्थिक बर्ष २०७६/७७ को बजेट यहि जेष्ठ १५ गते संसदको दुबै सदनको संयुक्त

विधेयक फिर्ता लैजाउ  गोकुल 

सेतोपाटीमा गोकुल बाँस्कोटाको भिडिओ हेरें । श्रब्यदृश्यमा धेरै पछि देख्दा बुझें, उनको लवाई र खुवाईमा ब्यापक परिवर्तन भएछ । तर्क गर्दा

मार्क्सवादी दर्शनः बाँदरकालागि भर्याङ  

मार्क्सवादी  दर्शनले विश्व–राजनीतिक क्षितिजमा शक्तिशाली प्रभाव जमाएको छ । मानव–विभेदको अन्त्य गरी समानताको आधारमा सामाजिक न्यायको