लुक्ला विमानस्थलको विकल्प खोइ ?

ओखलढुंगा — विभिन्न सञ्चारमाध्यम र इन्टरनेटमा लुक्लास्थित तेन्जिङ-हिलारी विमानस्थललाई संसारकै सबैभन्दा जोखिमपूर्ण १० विमानस्थलको सूचीमा राखिएको छ । कतिपयले यसलाई पहिलो नम्बरमै राखेका छन् । खुम्बुक्षेत्र (सगरमाथा) जान चाहेका कति पर्यटक यिनै समाचार पढेर आफ्नो गन्तव्य मोडछन् ।

 

'सगरमाथा क्षेत्र घुम्न आउनेलाई पहिलो चिन्ता सकुशल रूपमा लुक्ला ओर्लिन्छु कि ओर्लिन्न भन्ने हुन्छ,' पर्यटन व्यवसायी बाबु शेर्पा भन्छन्, 'एकातिर मौसम प्रतिकूल हुने । अर्कातिर एयरपोर्ट खतराको समाचार ।'

यस वर्ष आरोहण तथा ट्रेकिङ मौसम सुरु हुनेबित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे मर्मत थालिएपछि खुम्बुको पर्यटन थप प्रभावित भएको थियो । काम नसकिइन्जेललाई रामेछापको मन्थलीबाट उडान हुँदै आएको छ । पर्यटकीय मौसममा दैनिक ६५-७० वटासम्म उडान हुने लुक्ला देशकै सबैभन्दा व्यस्त आन्तरिक विमानस्थल हो । आइतबार यहीँ भएको विमान दुर्घटनाले थप त्रास पैदा गरेको छ । कतिपयले सगरमाथाको मुख्य प्रवेशद्वार मानिने लुक्लाको विकल्प खोजिनुपर्ने विषय उठाएका छन् ।

खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङमिदोर्जी शेर्पा भने लुक्लामा अधिकांश दुर्घटना विमानको प्राविधिक कारणले हुने बताउँछन् । 'रनवे छोटो भएर, विमानस्थल खराब भएर दुर्घटना भएकै होइन,' उनले भने, 'त्यस्तो हुने भए त प्रत्येक विमान दुर्घटनामा पर्नुपर्ने हो । प्रतिकूल मौसम र प्राविधिक कारण नै प्रमुख छन् ।'

सोलुवासी डा. मिङमार शेर्पाले लुक्ला विमानस्थललाई सुरक्षित बनाउन नसक्नु प्राविधिक कमजोरीबाहेक केही नभएको भन्दै आइतबार टि्वट गरेका छन् । रनवे छोटो र अवतरणको समयमा उकालो पर्ने भएकाले तथा अवतरण गरेपछि सिधै पहाडको फेदमा पुग्ने भएकाले लुक्ला खतरनाक एयरपोर्टमा गनिन्छ,' उनले टि्वटरमा लेखेका छन्, 'आजको जमानामा समुद्रमाथि सयौं ठूला जहाज उत्रने विशाल अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सक्छ तर लुक्लालाई सुरक्षित बनाउन नसक्नु हाम्रा प्राविधिकहरूको कमजोरी सिवाय केही होइन, ।'

लुक्लामा नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर पार्किङ तथा अवतरणका लागि छुट्टै हेलिप्याड निर्माण गर्न लागेको छ । त्यसका लागि ठेक्का भएर काम अघि बढिसकेको गाउँपालिका प्रमुख शेर्पाले बताए । उक्त हेलिप्याडमा १० वटासम्म हेलिकप्टर पार्किङ गर्न सकिने जनाइएको छ । आइतबारको दुर्घटनामा विमान रनवे छाडेर हेलिकप्टर पार्किङ क्षेत्रमा प्रवेश गरेको थियो । स्थानीय पनि यसमा विमान चालकको कमजोरी वा अन्य प्राविधिक कारण हुन सक्ने ठान्छन् । सरकारले समिति बनाएर घटनाको सत्यतथ्य पत्ता लगाउनुपर्ने उनीहरूको माग छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाभित्रै रहेको स्याङबोचे विमानस्थल वषर्ार्ंैदेखि बन्द छ । नागरिक उड्डयन प्राधिकरणले स्याङ्बोचे विमानस्थल स्तरोन्नति र क्षेत्र विस्तार गर्न खोज्दा सगरमाथा राष्ट्रिय निकुञ्जको जग्गा परेकोलगायत कारण देखाउँदै बन्द गरेको हो । तर, यसको आन्तरिक कारण नाम्चेका केही स्थानीयको अवरोध रहेको बताइन्छ । स्याङ्बोचेमा सिधै पर्यटक ओर्लिने र फर्किने गर्दा नाम्चेको व्यापार घटेको भन्दै उनीहरूले विरोध गरेका थिए । 'उडान सहजै भरिरहेको विमानस्थल एकाएक बन्द हुनुमा स्वार्थ अवश्य जोडिएको छ,' खुम्जुङका स्थानीय तथा होटल व्यवसायी गेलु शेर्पाले भने, 'लुक्लाको विकल्पका रूपमा स्याङ्बोचे विमानस्थलभन्दा अरू उत्तम हुनै सक्दैन ।' रनवेलगायत भूगोलका दृष्टिले समेत स्याङ्बोचे सुरक्षित रहेको स्थानीयको दाबी छ ।

लुक्लानजिकै सुर्केसम्म सडक लैजान सोलुखुम्बु सदरमुकाम सल्लेरीदेखि खन्न थालिएको ६ वर्षभन्दा बढी बितिसकेको छ । यसले पूर्णता पाए विकल्पका रूपमा सडक माध्यमसमेत प्रयोग गर्न सकिने देखिन्छ ।

विभिन्न स्रोतबाट प्राप्त तथ्यांकअनुसार लुक्ला विमानस्थलमा सन् २००३ देखि २०१६ सम्म विमानमार्फत सेवा लिने यात्रुको संख्या ११ लाख ७६ हजार ४ सय ४३ छ । सन् २०१६ मा सबैभन्दा बढी १ लाख १९ हजार ८ सय १ जना यात्रु विमानमार्फत पुगेका थिए । सन् १९७३ यता लुक्लामा साना-ठूला गरी १० भन्दा बढी विमान दुर्घटना भएका छन् । करिब दुई दर्जनले ज्यान गुमाएका छन् । लुक्ला विमानस्थल प्रथम सगरमाथा आरोही एडमन्ड हिलारीको पहलमा सन् १९६४ मा निर्माण थालिएको थियो । जग्गा माग्दा स्थानीयले दिन नमानेपछि उनले किनेरै काम अघि बढाएका थिए । त्यतिखेर पर्याप्त जग्गा नपाएको भन्दै उनी असन्तुष्ट रहेको बताइन्छ । (कान्तिपुर दैनिकबाट)

नारायणीमा दशैँदेखि पानीजहाज

चितवन  । नारायणी नदीमा सञ्चालन गर्न चार महिनादेखि निर्माणाधीन क्रुज (मिनी पानीजहाज)लाई नदीमा राखिएको छ । पानीबाहिर राखेर निर्माण गरिँदै आएको

मुलुकबाट बाहिरियो ९१ अर्ब

काठमाडौँ — गत जेठसम्म मुलुक भित्रने भन्दा ९१ अर्ब रुपैयाँ बढी रकम बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको ११ महिने ‘देशको

कता हरायो उपत्यकाका नदी सङ्लो पार्ने योजना ?

काठमाडौं । बढ्दो शहरीकरण, तीव्र जनसंख्या वृद्धि लगायत कारणले काठमाडौं उपत्यकाका नदी तथा विभिन्न खोला नाला दैनिक दुर्गन्धित बनिरहेको छ । दुर्गन्धित

कांग्रेसमा कोइराला परिवारको सक्रियता

काठमाडौं : कांग्रेस र कोइराला परिवार परिपूरकजस्तै थियो सुशील कोइराला सभापति छँदासम्म। १३ औं महाधिवेशनको संघारमा सुशीलको निधन भएपछि कोइराला परिवार