सरकार विरोधी आन्दोलनको जुवा  देउवा र वैद्यको काँधमा

काठमाडौं । अब सरकार विरुध्दको आन्दोलन गर्ने जिम्मा कांग्रेस सभापति शेरबहादुर देउवाको काँधमा परेको छ । संसद र सार्वजनिक सभाहरुमा प्रमुख प्रतिपक्षको उपस्थिति निकै कमजोर रहेको भनी आलोचना खेपिरहेको कांग्रेसले सभापति देउवाले नेतृत्व गर्ने सम्भावित सरकार विरोधी आन्दोलनबाट आफ्नो उपस्थिति बलियो बनाउने छ त ? यस्ता जिज्ञासाहरु पनि उठ्न थालेको देखिन्छ । 

यता देउवालाई माओवादीका वृध्द नेता मोहन वैद्यको साथ रहने सुझाईएको छ । यसरी हेर्दा सरकार विरोधी आन्दोलनको जुवा देउवा र वैद्यको काँधमा राखेर अरु साना-मसिना दलहरु उनीहरुको पछाडि लामवध्द हुने तयारी रहेको बुझिएको छ । 

आफ्नै पार्टीमा सहमतिको वातावरण बनाउन असमर्थ देउवा आधाभन्दा बढी जिल्ला सभापतिको चुनौतिबाट बिचलित भएका देखिन्छन् । उनको गृह जिल्लाका सभापति सहितका सभापतिले देउवाको नेतृत्व क्षमतामाथि प्रश्न उठाएका छन् भने कांग्रेसको इतिहासमै पहिलोपल्ट भएको यस्तो घटनाले देउवालाई सत्तासँग लड्ने शक्ति जुटाउन निकै गाह्रो देखिन्छ ।

विद्यार्थीको दवाव र देउवा

यता सत्ताबाहिरका दलहरू नेकपा नेतृत्वको सरकारविरुद्ध संयुक्त रूपमा आन्दोलन चर्काउने  र यसको नेतृत्व कांग्रेस सभापति देउवाले गरुन् भन्ने चाहन्छन् । सरकारले जनअपेक्षाको उपेक्षा गरेको निष्कर्ष निकाल्दै उनीहरू सरकारविरुद्ध संयुक्त आन्दोलनमा उत्रिने मनस्थितिमा पुगेको देखिन्छ । जनतामा कमजोर पकड भएका दलहरुको नेतृत्व गर्दै आन्दोलनमा उत्रिँदा कांग्रेस पार्टीकै हैसियतमा प्रश्न उठ्न सक्ने एकथरीको बुझाई छ । त्यसमा पनि आफ्नै संगठनभित्र बलियो प्रश्नको घेरावन्दीमा परेका सभापति देउवाको नेतृत्वले जनमतलाई कति आकर्षित गर्नसक्ला र भन्ने अर्काथरी राजनीतिक विश्लेषकको तर्क छ ।

  शुक्रबार ११ विद्यार्थी संगठनले आयोजना गरेको ‘समसामयिक राजनीति र विद्यार्थी आन्दोलन’ विषयक विचार गोष्ठीमा सत्ता विरोधी दलहरुले सरकारविरुद्ध आन्दोलनको विकल्प नभएको दावी गरेका थिए । 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँगै विपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, नयाँ शक्ति पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा माले, नेकपा, नेकपा माओवादी केन्द्र, राष्ट्रवादी केन्द्र नेपाललगायतका दलका प्रमुख नेताहरूले आन्दोलनका लागि तयारी अवस्थामा रहन आआफ्ना विद्यार्थी संगठनहरूलाई निर्देशनसमेत दिएका छन् । 

केपी ओली नेतृत्वको सरकार लोकतान्त्रिक मूल्य मान्यताविपरीत चलेको निचोड निकाल्दै दलहरूले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेर समस्याको समाधान राजनीतिक तवरबाट गर्न पनि सरकारलाई सुझाव दिएका छन्  

ओलीलाई देउवाको चुनौति

सरकारले प्रतिबन्ध लगाएको नेकपाको समेत सहभागिता रहेको भनिएको विचार गोष्ठीमा कांग्रेस सभापति देउवाले सरकारले हरेक ठाउँमा हस्तक्षेप गरेको भन्दै सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने बताए । प्रधानमन्त्री ओली दिनानुदिन असहिष्णु बन्दै गएको आरोप लगाउँदै उनले सुरक्षा परिषद्सम्बन्धी विधेयकको पनि चर्को आलोचना गरे ।

‘एकलौटी नहोस् भनेर नै संवैधानिक परिषद्मा प्रतिपक्षी दलको नेता हुने व्यवस्था गरिएको हो । तर, मैले बैठक सार्नु प¥यो भनेर पत्र पठाउँदा पनि बैठक राखेर निर्णय गरियो,’ संवैधानिक परिषद्बाट सरकारले गरेका निर्णयको विरोध गर्दै उनले भने, ‘अब सेना प्रधानमन्त्रीले परिचालन गर्ने, यो पनि कहिँ हुन्छ ? हुकुममा चल्न सेना कसैको नोकर हो ? राष्ट्रको सेना हो ।’

देउवाले ओली नेतृत्वमा सरकार गठन भएको एक वर्ष बितिसक्दा पनि देखाउन लायक एउटा पनि काम गर्न नसकेको दोहो¥याए । अहिलेको सरकार गठन भएपछि करले जनताको ढाड सेकिएको जिकिर गर्दै उनले प्रधानमन्त्री ओलीको नाम परिवर्तन गरेर करप्रसाद ओली राख्नुपर्ने टिप्पणी गरे । 

देउवाले विप्लवलाई हत्याहिंसा त्यागेर शान्तिपूर्ण बाटोमा आउन र सरकारलाई समेत वार्ताका माध्यमबाट समस्या समाधान गर्न सुझाब दिए । ‘विप्लव पनि हत्याहिंसा छाडेर आउनुपर्छ । बम पड्काएर, मान्छे मारेर केही हुनेवाला छैन,’ उनले भने, ‘सरकारले विप्लवसँग तत्काल वार्ता अगाडि बढाउनुपर्छ ।’

देउवाले सरकार र सिके राउतबीच भएको सहमतिमा पनि प्रश्न उठाए । सरकारसँग सहमति गरेर गएका राउतको स्वागत गर्दा ‘नयाँ देश मधेसमा स्वागत छ,’ लेखेको ब्यानर देखिएको भन्दै उनले भने, ‘नेपालको कुनै पनि भूभाग टुक्र्याउन जनमतसंग्रह हुन सक्दैन । जनमतसंग्रहका नाममा केही पनि मान्न हामी तयार छैनौं ।’

विचार गोष्ठीमा नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले देशको अहिलेको स्थिति अत्यन्तै गम्भीर अवस्थामा पुगेको भन्दै आन्दोलनको आवश्यकतामा जोड दिए । सरकारले आफूलाई कम्युनिष्ट सरकार भनिरहेकोमा समेत उनले आपत्ति जनाए । 

वैद्यले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दलाल सरकारको संज्ञा दिए । ‘यिनीहरू आफूलाई कम्युनिष्ट भनिरहेका छन् । न यिनीहरू कम्युनिष्ट हुन न लोकतन्त्रवादी नै,’ वैद्यले भने, ‘यिनीहरू दलाल हुन् । फाँसीवादी हुन् ।’ उनले विप्लवमाथि लगाइएको प्रतिबन्ध फुकवाको माग गर्दै राजनीतिक तवरले उठेका मुद्दाको सुनवाइ राजनीतिक ढंगबाटै गरिनुपर्नेमा जोड दिए । उनले सिके राउतसँग सरकारले गरेको सम्झौतामा गम्भीर रहस्य लुकेको शंका गरे । 

राजपा अध्यक्ष मण्डलका पूर्वसंयोजक राजेन्द्र महतोले जनताका समस्याहरूको समाधानका लागि आन्दोलनबाहेक अन्य कुनै उपाय बाँकी नरहेको जिकिर गरे । एघारवटै विद्यार्थी संगठनहरूलाई सरकारविरुद्ध आन्दोलनका लागि तयार भएर बस्न उनले निर्देशन दिए । ‘उखान टुक्काले देश चल्दैन । यो सरकारविरुद्धको आन्दोलनका लागि विद्यार्थी साथीहरू तयार भएर बस्नुस्,’ उनले भने, ‘सडकमै आन्दोलनका क्रममा हामी भेटौंला ।’ 

नेकपा मालेका महासचिव सिपी मैनालीले सरकाविरुद्धको आन्दोलनका लागि प्रतिपक्षमा रहेका दलहरूको संयुक्त बैठक बोलाउन कांग्रेस सभापति देउवालाई आग्रह गरे । ‘अहिलेको आवश्यकता एजेण्डा बनाएर लड्नु हो । सार्थक साझा एजेण्डा बनाउनु जरुरी छ,’ उनले भने, ‘आन्दोलनको तयारीका लागि देउवाजीलाई सबै दलको बैठक बोलाउन आग्रह गर्दछु ।’

साना दलहरूले देउवालाई सरकारका गैरसंवैधानिक क्रियाकलापविरुद्ध सशक्त ढंगले प्रतिपक्षी भूमिका निर्वाह गर्न सुझाव पनि दिए । ‘यो सरकारले प्रतिपक्षीको नेता पाएको छैन । प्रतिपक्षीको नेता भइदिनुस्, हामी सहयोग गर्छौं,’ राष्ट्रवादी केन्द्र नेपालका प्रमुख चन्द्रबहादुर थापाले भने, ‘नेपाली माटोले सशक्त प्रतिपक्षी नेता खोजेको छ । जनताले खोजिरहेका छन् ।’ एक धक्कामा यो सरकार ढल्ने उनको दाबी थियो । उनले कांग्रेस सभापति देउवालाई संसद र सडकमा सशक्त भूमिका निर्वाह गर्न आग्रहसमेत गरे ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले सरकारविरुद्ध आन्दोलन अपरिहार्य रहेको बताए । आन्दोलनका लागि सबै दल एक हुनुको विकल्प नभएको उनको भनाइ थियो । ‘अब आन्दोलनको समय आएको छ’, किराँतीले भने, ‘त्यसको संयोजनका लागि प्रजातान्त्रिक खेमाको नेतृत्व देउवाजी र कम्युनिस्टको वैद्यजीले गर्नुपर्छ ।’

नेकपाका अध्यक्ष ऋषि कट्टेलले देश ओलीतन्त्रको यातना गृहका रूपमा रूपान्तरण भएको टिप्पणी गर्दै आन्दोलनका लागि तयार रहन आग्रह   गरे । उनले नेत्रविक्रम चन्द ‘विप्लव’ माथि प्रतिबन्ध लगाएर सरकार फाँसिष्टवादी शैलीमा चलिरहेको आरोप लगाए । 

संयुक्त विद्यार्थीको कार्यक्रममा सत्तारुढ संघीय समाजवादी फोरमको विद्यार्थी संगठन सहभागी भए पनि पार्टीका नेता थिएनन् । विप्लव नेतृत्वको नेकपाले कार्यक्रममा सन्देश पठाए पनि प्रतिबन्धका कारण नेताहरू भने सहभागी थिएनन् । प्रतिबन्धित नेकपाका विद्यार्थी नेताहरू भने दर्शकदीर्घामा बसेका थिए ।
 

 राजपामा रडाको: सरकारमा नटिक्नुको यस्तो छ कारण

             काठमाडौँ, १० वैशाख । फुट र जुटको राजनीतिबाट अघि बढेका मधेश केन्द्रित विभिन्न छ राजनीतिक शक्ति मिलेर बनेको राष्ट्रिय जनता पार्टी

नेकपाका यी हुन् जिल्ला अध्यक्ष र सचिव

काठमाडौं । एकताको करिब एकवर्षपछि नेकपाले ७७ वटै जिल्लाको पार्टी अध्यक्ष टुंगो लगाएको छ । सोमबार सार्वजनिक गरिएको विवरण अनुसार, पूर्व माओवादीको भागमा

यी हुन् पूर्व माओवादीको भागमा परेका जिल्ला अध्यक्ष

काठमाडौं । सत्तारुढ दल नेकपाले करिब एकवर्षको गृहकार्यपछि जिल्ला स्तरीय पार्टी नेतृत्वको टुंगो लगाएको छ। एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल

नेकपा: सबै जिल्ला अध्यक्ष छानिए,नाम भने गोप्य 

काठमाडौं । एकवर्षदेखि विवादको बिषय बनेको नेकपा एकताको काम टुंगिएको बुझिएको छ । आईतबार साँझ बसेको सचिवालय बैठकले सबै जिल्लाका अध्यक्ष र सचिबको नाम