अझै जोगिएको छ इमान

काठमाडौँ — तीन वर्षदेखि काठमाडौंमा ट्याक्सी चलाइरहेका सिमल राई गत फागुन पहिलो साता अचानक चर्चामा आए । सामाजिक सञ्जाल फेसबुकमा उनको तारिफ गर्नेको लर्को लाग्यो । ट्याक्सी चलाउने साथीभाइ पनि उनलाई बोलाउँदै फोटो खिच्थे । ‘जीवनमै यस्तो कहिल्यै भएको थिएन,’ उनले सुनाए, ‘हल्का सेलिब्रेटीजस्तो पो भइयो ।’

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार फागुन महिनामा मात्रै १०९७ ट्याक्सी कारबाहीमा परेका थिए । भनेको गन्तव्यमा जान नमानेर ८ सय ४८ र बढी भाडा माग गरेर २ सय ४० कारबाहीमा परेका थिए । यस्तो बेला सिमल ‘हल्काफुल्का सेलिब्रेटी’ कसरी भए ?

फागुन ८ सिमलका निम्ति एउटा सामान्य काम अनायासै असामान्य भइदियो । रातिट्याक्सी चलाउने सिमल बिहानै ५ बजे अनामनगरबाट केही यात्रुलाई लिएर नैकाप पुगे । त्यसपछि लगातार ५ टिप गरे अनि घर पुगेर ट्याक्सी सफा गर्न थाले । त्यही बेला उनले ट्याक्सीको डिक्कीमा एउटा झोला भेटे । कसको झोला होला भन्ने कौतुहलताले झोला खोलेका मात्रै के थिए, उनी चकित भए । झोलाभित्र आठ/दस तोला जति सुन र खुद्रा पैसाको बिटो थियो । तर यात्रुको परिचय खुल्ने कुनै कागजात थिएन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उक्त झोलामा मंगलसुत्र दुई थान, चन्द्रमुखी, तिलहरी, हार, टप एक–एक थान, बेरुवा रिङ तीन थान र नगद १५ हजार ३ सय ८० रुपैयाँ थियो । सामानको मूल्य झन्डै चार लाख थियो । ‘त्यतिबेला मलाई लोभभन्दा पनि को मान्छेले कति दुःखले जोडेको सम्पत्ति होला भन्ने भयो,’ सिमलले भने, ‘झट्ट मनमा कुरा खेल्यो, अर्काको दुःखको कमाइ खायो भने त जिन्दगीभर सराप लाग्छ ।’
रातभर ट्याक्सी चलाएकाले सुत्ने बेला भए पनि अनायासै फेला परेको झोला धनी खोज्ने दायित्व उनमा थियो । उनले ट्राफिक प्रहरीको निःशुल्क १०३ मा फोन गरे । अनि निद्राको माया मारेर सरासर महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाखा पुगे । ट्राफिक प्रहरीको हातमा झोलाभित्रको सामानको मुचुल्का बनाए । अनि झोला बुझाए । त्यही बेला टुप्लुक्कै आइपुगे झोला धनीका आफन्त ।

सिमलका अनुसार झोला छुटेको पक्का भएपछि उनीहरू सेतो रंगको ट्याक्सी र झयापुल्ले कपाल पालेको चालक खोज्दै हिँडेका रहेछन् । उनले आफ्नो लामो कपाल सर्लक्क मिलाउँदै भने, ‘११ हजार ३ सय ८५ ट्याक्सी गुड्ने काठमाडौंमा तिनीहरूले कहाँ भेट्नु ।’ झोला नभेटिएपछि उनीहरू भक्कानिँदै ट्राफिक प्रहरीमा पुगेका रहेछन् । त्यही बेला सिमल भेटिए । छुटेको झोला हात परेपछि उनीहरूले देउतै फेला पारेजस्तो गरे । सम्मानस्वरूप ३ हजार रुपैयाँ पनि दिए ।

सिमलले भने, ‘झोला बुझ्नेहरू त छक्क परे नै, ट्राफिकहरू पनि अचम्म मान्दै सबैले मेरो फोटो खिचिहाले ।’ त्यसपछि त के चाहियो र, सिमल हिटजस्तै भइहाले । झोला धनीका आफन्त, ट्राफिक प्रहरी र अरूले पनि उनको इमानदारितालाई धन्यवाद दिँदै फेसबुकमा फोटो र तारिफले भरिएको स्टाटस राखे । कतिले फोनै गरेर धन्यवाद दिए । सिमलले भने, ‘अहो, त्यसपछि त कत्ति मान्छेले चिने नि ।’

सबै ट्याक्सी चालकहरू सिमलजस्तो इमानदार भने छैनन् । साउनयताको ८ महिनामा ट्याक्सीमा सामान छुटेका २ सय ९३ केसहरू ट्राफिक प्रहरीको खोजतलास शाखामा दर्ता भए । जसमध्ये १ सय ७७ जनाले मात्र आफ्नो सामान फेला पारे । बाँकी १ सय १६ जनाले फिर्ता पाएनन् ।
ट्राफिक प्रहरीका अनुसार यो अवधिमा झन्डै एक करोड बराबरको सामान फेला पारेर सम्बन्धित धनीलाई फिर्ता गरिएको छ । झन्डै यति नै मूल्य बराबरको सामान ट्याक्सी चालकहरूले इमान सम्झेर फिर्ता नगरेको देखिन्छ । ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जयराम सापकोटाका अनुसार महाशाखाका हरेक हप्ता ट्याक्सीमा सामान छुटेका तीन–चार वटा उजुरी आइपुग्छन् । उनले महाशाखा आएपछिका करिब आठ महिनायताको अनुभव सुनाउँदै भने, ‘५ जनामात्रै चालकले भेटिएको सामान आफैंले आएर फिर्ता गरे ।’

अर्काको सामान पाएसम्म फिर्ता नगर्ने प्रवृत्ति व्याप्त भएको अवस्थामा सिमलभित्र कसरी इमानका बीउ जोगियो ? उनले इमानको मूल्य सुनाएजसरी भने, ‘हेर्नुस्, सित्तैमा अर्काको सामान आएपछि त गुलियो चिनी पनि तीतो हुन्छ । कसले के भन्ला भन्ने डर भइजान्छ ।’ ट्याक्सी चलाएको तीन वर्षका दौरान आफूले विभिन्न यात्रुले छाडेका आठ वटा मोबाइल फिर्ता गरेको उनले बताए । छुटेको सामान फिर्ता पाएका धेरैले आफूलाई सधैं सम्झिने गरेको बताए । ‘एकजना यात्रुलाई आइफोन फिर्ता गरेपछि उनले खुसी मनले ८ हजार दिए,’ उनले भने, ‘आफ्नै सामान भेटिँदा पनि मान्छे छक्कै परेजस्तो गर्छन् । औधी खुसी हुन्छन् अनि सम्झना है भन्दै केही पैसा दिन्छन् । म त्यसैमा खुसी हुन्छु ।’

सुन र नगद फिर्ता गरेपछिका दिनमा कुनै यात्रुले ट्याक्सी चढेपछि आफ्नो अनुहारतिर पुलुक्क हेरेको अनुभव पछि सिमललाई छ । यात्रुहरू उनलाई ‘अहो, तपाईं त इमानदार चालक पो है’ भन्छन् । त्यस्तो बेला उनलाई खुसी मिल्छ । दुःख त्यतिबेला हुन्छ, जब कसैले ‘भेटेको सामान पनि फिर्ता गर्ने हो ?लुटेको, चोरेको भए पो पाप लाग्छ । भाग्यले हात परेको पनि फिर्ता गर्छन्’ भन्दै बिब्ल्याटो कुरा गर्छन् । आखिर भेटेको सामान फिर्ता गर्नुपर्छ भन्ने इमान उनमा कसरी आयो ? २ छोरा १ छोरीका ४४ वर्षीय बाबु सिमलले सुनाए, ‘छोराछोरीलाई पनि परोस् न, मेरो बाउले त्यत्रो पैसा भेट्टाउँदा पनि लोभ गरेन भन्ने ।’

सिमलजस्तो इमान भएको चालक नपरेको भए बानेश्वरकी वसन्ता भुसालसँग जिन्दगीभर थकथकी हुने थियो । दुई महिनाको काखे शिशु च्यापेर आमासँग बुटवल जाँदै गर्दाको बिहानको कुरा हो । अनामनगरबाट नैकाप पुगेपछि उनी हतारहतार अर्को गाडी चढदा झोला भुलिन् । थानकोट पुगेपछि पो उनलाई थाहा भयो, गरगहना र पैसा भएको ब्याग त ट्याक्सीमा छुटेछ । वसन्ताले बहिनी सोनियालाई आत्तिँदै खबर गरिन् । सोनिया हत्तपत्त अनामनगरस्थित महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगिन् ।

ट्याक्सी छुटेको क्षेत्रमा रहेका घरको सीसीटीभीमा कैद भएको फुटेज हेर्न सकिन्छ कि भनेर प्रयत्न गरिन् । त्यही बेला थाहा भयो, सामान छुटेको बा१ज २२७९ का चालक सिमल राईले महानगरीय ट्राफिक प्रहरी महाशाखामा फोन गरेर आफूले सामान भेटेको खबर गरिसकेका रहेछन् । सामान हात परेको खुसीको कुरा थाहा पाउँदा वसन्ता धादिङको धार्केमात्र पुगेकी थिइन् ।

सामान हात परेपछिको क्षण सम्झिँदै सोनियाले सुनाइन्, ‘ट्याक्सीमा सामान छुटेपछि पाइएला भन्ने त सोचेकै थिइनँ । तर भाग्यको कुरा पाइयो ।’ कान्तिपुरसँगको कुराकानीमा वसन्ताले सामान हराएपछिको छटपटी सुनाइन् । भनिन्, ‘सामान हराएको पक्का भएपछि छटपटी भयो । के गरौं भन्ने भयो । आत्तिँदै फोन गरें । भेटिन्छ कि भेटिन्न भन्ने धुकचुक थियो । आत्तिएजस्तो पनि भयो ।’ सामान भेटिएपछि मात्रै उनले शान्तिको सास फेरिन् ।

कुरा यतिमै मात्र रोकिएन । त्यही घटनापछि बानेश्वर बस्ने वसन्ताको परिवारले सधैं सिमलकै ट्याक्सी चढ्ने गरेका छन् । वसन्ताले भनिन्, ‘इमानदार भएकाले पनि हामी सधैं उनलाई नै बोलाउँछौं ।’ त्यतिमात्रकहाँ हो र वसन्ताको थापागाउँस्थित चियाफ्याक्ट्रीको काम पनि सधैं सिमलले नै पाउने गरेका छन् । उनले भनिन्, ‘हराएको सामान इमानदार भएर फिर्ता गरेकैले ट्याक्सी चालकप्रति त्यति धेरै विश्वास भयो । उनको फुर्सद भएसम्मै मेरो परिवारका सदस्य अरूट्याक्सी चढ्दैनन् ।’

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चैत महिनाको २७ गतेसम्म मात्रै ७ सय २५ ट्याक्सी कारबाहीमा परे । जसमध्ये १ सय ४८ जना मिटरमा जान नमानेकाले र ५ सय ४९ गन्तव्यमा जान इन्कार गरेकाले । कारबाहीमा परेका यतिका धेरै ट्याक्सीको सूचीमा बा१ज ४५०७ नम्बरको ट्याक्सी पनि परेन । किनकि काठमाडौंमा ८ वर्षदेखिट्याक्सी गुडाइरहेका भीमबहादुर गुरुङसँग पनि सिमलकै जस्तो इमानले भरिएको मन थियो ।
चैत १४ गते दुई अधबैंसे यात्रुलाई लिएर भीम पुल्चोकबाट भीमसेनगोला पुगे । यात्रुलाई छाडेर न्युरोडको रञ्जना गल्ली पुगे । त्यही बेला बल्ल उनले थाहा पाए, भीमसेनगोला उत्रिएका यात्रुले त आफ्नो पर्स त्यहीं छाडेर गएछन् । उनलाई एकछिन त के गरौं, कसो गरौं भयो । साँझ ढल्किन लागिसकेको थियो । उनी केही यात्रु ओसारेर स्वयम्भूस्थित आफ्नो डेरा पुगे ।

छटपटी भइरह्यो । उनले पर्स खोलेर हेरे । त्यहाँ २० हजार नगद र एक लाख रुपैयाँको चेक थियो । भीमले भने, ‘अर्काको पैसा देखेर लट्ठ पर्ने मान्छे हैन म ।’ उनको मनमा एउटै कुरा खिल गढेर बसेको थियो, यत्रो दुःख गरेर त खान, लाउन धौधौ छ । सित्तैमा पाएको अर्काको पैसाले के नै हुन्छ र ?

भीमले पर्सभित्र एउटा कार्ड फेला पारे । त्यो निर्माण व्यवसायी महासंघको सदस्यताको कार्ड रहेछ । उनले कार्डमा भएको नम्बरमा फोन गरे । उठेन । उनलाई किन–किन पर्स हराउने मान्छे चिन्तित होला, छटपटिरहेको होला भनेजस्तो भयो । अर्काको पैसासहितको पर्स लिएर डेराभित्र छिर्न मनले मानेन । झन्डै ८ बजिसकेको थियो । उनी सरक्क ट्याक्सी घुमाएर भीमसेनगोला पुगे । जुन गल्लीभित्र यात्रु छिरेका थिए, त्यहीं छिरे । यताउति सोधे पनि पर्स धनी फेला परेनन् ।

भोलिपल्ट उनले अरू ट्याक्सी चालकलाई पनि पर्स भेटेको कुरा सुनाए । साथीभाइकै सल्लाहपछि उनी अनामनगरमा रहेको निर्माण व्यवसायी महासंघको केन्द्रीय कार्यालयमै पुगे । रिसेप्सनमा पर्स धनीको नाम बताउँदै उनको नम्बर मागे । फोन गरे । बारम्बारको प्रयासपछि बल्ल फोन उठ्यो । उनले भने, ‘मैले तपाईंको पर्स भेटेको छु । महानगरीय ट्राफिक प्रहरी कार्यालय आउनुस् म त्यहीं हुन्छु ।’

एकैछिनमा पर्स धनी लेखबहादुर बस्नेत आइपुगे । भीमले ट्राफिककै रोहवरमा पर्स फिर्ता गरे । हराएको भोलिपल्टै पर्स हात परेपछि छक्कै परेका लेखबहादुरले भीमलाई इमानस्वरूप ५ हजार पुरस्कार दिए । भीमले त्यो दिन सम्झँदै भने, ‘पुरस्कारको लोभमा मैले पर्स फिर्ता दिएको थिइनँ । तर पनि उहाँको मन राख्न लिइदिएँ ।’

उमेरले १७ नटेक्दैदेखि आफ्नै परिश्रममा बाँचेका भीमलाई २० हजारको लोभले किन तानेन ? चार वर्ष भारतमा काम गरेर काठमाडौं फर्केपछि ५ वर्ष माइक्रो हाँकेर बल्ल ट्याक्सी चलाउन सुरु गरेका भीमलाई लाग्यो, ‘यतिका वर्ष हाड घोटेर दुःख गर्दा त केही भएन । भेट्टाएको पैसाले के नै होला र ?’ पर्स धनीको हातमा पैसा सुम्पेपछि भीमलाई साँच्चै सन्तोष मिलेजस्तो भयो । उनले सुनाए, ‘भेट्टाएको पर्स राखेकै भए पनि हुन्थ्यो । तर सित्तैमा भेटेको चीज पच्दैन ।’

त्यसो त भीमले यसअघि पनि यात्रुले ट्याक्सीमा छाडेका दुई मोबाइल फिर्ता गरिसकेका छन् । एक यात्रुले उनलाई मोबाइल फिर्ता गरेपछि ५ सय दिए । अर्काले साढे दुई सय । भीमले भने, ‘धेरैलाई लाग्छ, हराएको सामान सित्तिमित्ती भेटिँदैन । त्यही भएर पनि भेटिएपछि इमानको मूल्य भन्दै खुसी भएर पुरस्कार दिन्छन् ।’

भीमले आफूले परिवार र समाजबाटै इमानको संस्कार सिकेको बताए । दुई वर्ष पहिले आफूले जम्मा गरेको पुँजी ५ लाख र ऋण ५ लाख गरी ट्याक्सी किनेका उनले सुनाए, ‘तीन महिनाअघि ऋण तिरेर ट्याक्सी आफ्नै बनाएँ ।’ कुवेतमा भएकी श्रीमतीले पठाएको पैसा र आफ्नो कमाइले ट्याक्सीको ऋण निखनेको र कमाइले एक छोरी हुर्काउन सकेको बताउँदै भीमले सुनाए, ‘बाबुआमाले सधैं आफ्नै कमाइले खान सिकाए । त्यही भएर पनि अर्काको सित्तैमा खान मनले मान्दैन । अरूको खानभन्दा संघर्ष गरेरै खाँदा मन शान्त हुन्छ ।’

एसपी सापकोटाले काठमाडौं उपत्यकामा भएका कैयन् क्लोज सर्किट क्यामेरा (सीसीटीभी) को दृश्यका आधारमा ट्याक्सी पत्ता लगाएर सामान फिर्ता गराइने गरेको अनुभव सुनाए । ‘केही औंलामा गन्न सकिने चालक इमानदार पनि छन्,’ उनले भने, ‘धेरैलाई हामीले सीसीटीभी फुटेजका आधारमा नम्बर पत्ता लगाएर खोज्नुपर्छ ।’

ट्राफिक प्रहरी महाशाखाको लस्ट एन्ड फाउन्ड शाखामा कार्यरत सइ दीपेन्द्र रानालाई ट्याक्सीमा छुटेका सामान खोज्न आउने यात्रुको मलिन अनुहार झलझली सम्झना छ । विदेश जाँदै गरेकाहरूले सामान छुटाएकै कारण कतिले यात्रा नै रद्द गरेका छन् । कतिले हराएको सामान खोज्न अनेकन सास्ती बेहोरेका छन् । कतिले विदेशबाट आफ्न्त र परिवारलाई भनेर ल्याएको कोसेली नै गुमाएका छन् । सबै चालक भीम जस्तो नभएपछि छुटेको सामान फेला पर्ने कुरा पनि भएन ।

सइ रानाले चैत १० गतेको एउटा घटना सुनाए । जावलाखेलबाट त्रिभुवन विमानस्थल गएका प्यूठान गेरुवाका प्रवीन कक्षपतीले २ लाख रुपैयाँ, राहदानी र नागरिकतासहितको झोला बा१ज ५४२२ नम्बरको ट्याक्सीमा छुटाए । हराएको उनको सामान खोज्न ट्राफिक प्रहरी पनि लागिपर्‍यो । सीसीटीभी फुटेजबाट ट्याक्सी नम्बर त पत्ता लाग्यो तर ट्याक्सीका चालक ललितबहादुर खत्री भने सम्पर्कमा आएनन् ।

प्रहरीले ट्याक्सी चालकको काठमाडौंमा रहेका परिवारलाई सम्पर्क गरेपछि पो पत्तो लाग्यो, भेट्टाएकै पैसाबाट केही दिनको घर खर्च छोडेर ट्याक्सी चालक त सिन्धुलीतिर पो लागेछन् । प्रहरीले खत्रीलाई निगरानी राखेपछि बल्ल भोलिपल्ट राति ११ बजे छुटेको झोला आइपुग्यो । सइ रानाले सुनाए, ‘इमानपूर्वक सामान फिर्ता गरेको भए पुरस्कार पाउँथे कि । लोभ गर्दा अहिले उनी प्रहरीकहाँ तारिखमा धाइरहेछन् ।’
ट्याक्सीमा छुटेको सामान खोज्न ट्राफिकलाई पनि त्यति सजिलो छैन । एसपी सापकोटाको अनुभवमा रातिको समयमा ट्याक्सीमा सामान छुटेमा यस्तो सकस झनै दोब्बर हुन्छ । ट्याक्सी चालक इमानदार भए त बेग्लै कुरा, भएनन् भने ट्याक्सी नम्बर पत्ता लगाउन सकस हुन्छ । कमजोर सीसीटीभीहरूले रातको दृश्य कैद गर्न नसक्ने र रिंगरोड बाहिर धेरै ठाउँमा सीसीटीभीको कभरेज नभएकाले छुटेको सामान फेला पार्न मुस्किल हुने उनको अनुभव छ ।

सइ रानाले माघ २१ गते रातिको एउटा घटना सुनाए । जापानबाट फर्केकी पोखराकी बबीमाया गुरुङ बा१ज ५०११ नम्बरकोट्याक्सीमा बानियाँटार गएकी थिइन् । राति घर छिरेपछि पो उनको होस खुल्यो, उनले बहुमूल्य सामान भएको झोला त ट्याक्सीमै भुलिछन् । उनी राति नै एयरपोर्ट फर्किन्, सीसीटीभी फुटेज हेरिन्, प्रहरीको सहयोग मागिन् र फेरि घर फर्किन् । घर आएपछि पो थाहा भयो,ट्याक्सी चालकले झोलाभित्र रहेको गरगहना र पैसा राखेर कागजपत्रसहितको झोला कम्पाउन्डभित्र मिल्काइदिएको रहेछ । प्रहरीले सामान छुटेको ६ दिनपछि ट्याक्सीसहित कोटेश्वर बस्ने चालक गोपी कटुवाललाई नियन्त्रणमा लियो । अनि चालकबाट ५४ हजार नगद, एक थान सुनको जन्तर, सुनकै एउटा चन्द्रमा, तीन औंठी, एक सिक्री र फुली अनि आइप्याड सामान धनीलाई फिर्ता दिए ।

महाशाखाका प्रवक्ता एसपी जयराम सापकोटाले सुनाए, ‘इमान सम्झेर सामान फिर्ता गर्नेहरूको संख्या साँच्चै थोरै छ ।’ अरूको छुटेको सामान इमान सम्झेर फिर्ता नगर्नेहरूको सूचीमा सिमल र भीम अपवाद हुन् । सिमलको बा२ज २२७८ नम्बरको ट्याक्सीको पछाडि लेखिएको थियो, ‘बाल टेन्सन लाहुरेको ज्वाइँलाई ।’ सिमललाई सोधियो, ‘तपाईंको ससुराली लाहुरे हुन् ?’ आडैमा बसेकी सिमलकी श्रीमती मुस्कुराइन् । सिमलले कुराकानीको सार खिचेझैं गरेर भने, ‘लाहुरे त हैन, टेन्सनचाहिँ पटक्कै नलिने मान्छे हुँ । आफ्नो कमाइमा जिन्दगी चलाउने, अरूको धनमा लोभ नगर्ने भएपछि टेन्सन हुन्न क्या ।’ (कान्तिपुर दैनिकबाट/ ट्याक्सी चालकहरू सिमल राई र भीम गुरुङ आ–आफ्ना ट्याक्सीसँग ।)

निखिल उप्रेति भन्छन्- म भैंसी चराएकाले हिरो बनें

जनकपुरधाम : ‘म यही जनकपुर अञ्चलको सर्लाहीमा जन्मेको मान्छे हुँ, मेरो नाम निखिल उप्रेती हो’, खचाखच भीडबाट उनले भने, ‘म गरिब किसानको घरमा जन्मेको

संसद् पदाधिकारीद्वारा ऐनविपरीत ५०% सम्म भत्ता

काठमाडौं, ५ असार । संघीय संसद्का प्रमुख चार पदाधिकारीले कानुनविपरीत आफ्नो स्वकीय सचिवालयका कर्मचारीलाई भत्ताबापत मोटो रकम दिन थालेका छन् । सभामुख,

सन्दीपको सनसनी

काठमाडौं, ५ असार । नेपाली खेलकुदमा पछिल्लो समय चर्चाको शिखरमा रहेका खेलाडी हुन्, सन्दीप लामिछाने। उनी नेपाली खेलकुदको ‘रोल मोडल’ पनि हुन्। नेपाली

यसकारण भयाे काठमाडौं महानगरपालिकामा मेयर–उपमेयर विवाद

काठमाडाैं, ५ असार । सार्वजनिक शौचालय निर्माण, सञ्चालन र व्यवस्थापनका विषयमा काठमाडौं महानगरपालिकामा विवाद देखिएको छ । मेयर विद्यासुन्दर शाक्यले