मानिसको सबैभन्दा ठूलो शत्रु चिनौं

जीवनको सबैभन्दा ठूलो समस्या भनेको आलस्य हो । आलस्यबाट सबै समस्याहरु उत्पन्न हुन्छन् । आलस्य यस्तो महामारी हो, यसबाट भयानक विपत्तिहरु सिर्जित हुन्छन् । आलस्यबाट बच्नु जरुरी छ । जो व्यक्ति अल्छी भयो, शरीरलाई निस्क्रिय गरायो, यसको मन सक्रिय हुन थाल्छ । इच्छा, आकांक्षाहरु बढ्छन् । अहिले जे छ, उसप्रति ऊ सन्तुष्ट हुन सक्दैन । मनले अरु खोजेको खोज्यै गर्छ तर शरीरले पूर्ति गर्दैन । जब–जब शरीर निस्क्रिय हुन्छ, तब–तब इच्छाहरु सक्रिय हुन्छन् । विचारहरु सक्रिय हुन्छन् र यो अनियन्त्रित इच्छा र अनियन्त्रित आकांक्षाहरुले हाम्रो मनलाई रोगी बनाउँछ र आलस्यबाट रोग जन्मिन्छ । अल्छी व्यक्ति मात्रै लोभी हुन्छ । 

जाँगरिलो मानिस लोभी हुँदैन । जाँगरिलो मानिस आत्मविश्वासले भरिएको हुन्छ । मै गर्न सक्छु भन्ने मासिनलाई केको लोभ ? जसलाई म गर्न सक्दिनँ भन्ने भाव छ, काम गर्न अल्छी लाग्छ, त्यो व्यक्तिले लोभ गरेर बस्छ । यस्ता व्यक्तिहरु परनिर्भर हुन्छन्, अरुप्रति भर गर्छन् । जाँगरिला व्यक्तिहरु स्वनिर्भर हुन्छन् । आलस्य लोभको जननी हो । आलस्यबाट लोभ उत्पन्न हुन्छ । जति पनि अनुशासनहीनता छ, अकर्मण्यताबाट शुरु हुन्छ । जो व्यक्ति अल्छी छ, यो व्यक्ति अनुशासनहीन हुन्छ । जुन बेलामा जे काम गर्नुपर्ने हो, त्यो गर्दैन । अनुशासन भङ्ग गर्नका लागि, अनुशासनहीन हुनका लागि सबैभन्दा पहिला अल्छी हुन जरुरी छ ।

ठीक छ, जाँगरिला व्यक्तिहरुले पनि काहीँ नियम कानुन तोडेका प्रसंगहरु आउलान्, तर पछि ऊ सच्चिन्छ । जाँगरिला व्यक्तिहरुले आज नियम तोड्यो, भोलि सजाय पायो, सजग हुन्छ । आहा भएन, अबदेखि नियम तोड्दिनँ भन्छ । त्यसपछि ऊ अनुशासित हुन्छ । ठीक छ, काम गर्दाखेरि कहिलेकाहीँ उल्टोपाल्टो होला, बिग्रिएला तर जाँगरिला व्यक्तिहरुले आफूलाई सुधार्छन् ।

अल्छी व्यक्तिले आफूलाई सुधार्ने मौका कहिल्यै पाउँदैन । उसले नयाँ सिर्जना गर्दैन । आफूभित्र रहेको सिर्जनशीलताको क्षमतालाई नाश गर्छ । र, जुन व्यक्ति अल्छी छ, त्यो व्यक्ति अस्वस्थ हुन्छ । रोगको प्रमुख कारण हो आलस्यता । जो व्यक्ति अल्छी छ, अब रोगी भयो । अब विभिन्न प्रकारका रोगहरु शुरु हुन्छन् । निस्क्रियता, अपाङ्गता, शरीरको कुनै अंग नहुनु अपाङ्गता हैन, एउटा अंग छैन, केही फरक पर्दैन । उसको शक्ति यथावत् रहन्छ र त्यो शक्तिलाई अर्को अंगबाट प्रयोग गर्छ र पूरै पूर्णतामा जान्छ । अभाव हुँदैन । निस्क्रियताचाहिँ अपाङ्गता हो । कुनै व्यक्तिलाई अपाङ्ग भन्नुपर्छ भने जुन व्यक्ति निस्क्रिय छ, जुन व्यक्ति अल्छी छ, आलस्यले भरिएको छ, यही व्यक्ति अपाङ्ग हो । कुनै अङ्ग नहुने व्यक्तिलाई अपाङ्ग भन्नु गलत हुन्छ । अहिले यस्ता धेरै व्यक्तिहरु छन्, जो शारीरिक रुपमा अपाङ्ग छन्, तर सिर्जनशीलताको हिसाबले हेर्ने हो भने यी भन्दा सपाङ्ग अरु कोही छैनन् । साह्रा सपाङ्गहरुलाई उछिनेर अघि बढेका छन् । 

सबैभन्दा ठूलो बल हो आत्मबल र सिर्जनशील व्यक्तिले मात्रै त्यो आत्मबल प्राप्त गर्छ । आलस्यताले त्यो आत्मबललाई क्षय गर्छ । जो मानिस अल्छी छ, उसले आफ्नो आत्मतत्वको क्षय गर्छ । आफ्नो आत्मविश्वासलाई गुमाउँछ । सक्रियताबाट आत्मबल निर्माण हुन्छ । ठीक छ, सक्रिय रहँदाखेरि काहीँ त्रुटि होला, गल्ती होला, कहिले फाइदा होला, कहिले नोक्सान होला, आफ्नो ठाउँमा छ । प्रत्येक नोक्सानबाट सिक्छ, प्रत्येक दुर्घटनाबाट सजग हुन्छ र प्रत्येक प्रतिकूल घटनाबाट जीवनलाई अरु विकसित गर्छ, सक्रिय व्यक्तिले सिक्दै जान्छ तर निस्क्रिय व्यक्तिले आफ्नो क्षमतालाई चिन्ने अवसर कहिल्यै पाउँदैन ।    
 

सबै समस्याको एउटै मात्र जड हो– आलस्यता, निस्क्रियता । आफूसँग भएको शक्तिलाई प्रयोग नगर्नु सबैभन्दा ठूलो अपराध हो । आलस्यताको कारणले आफ्ना सम्भावनाहरुलाई विकसित हुन नदिनु– यही हो अधर्म । आफ्नो क्षमतालाई भरपूर प्रयोग गरौं । मसँग जे हुनसक्ने क्षमता छ, म जस्तो बन्न सक्छु, बनौं र यसबाट आएको परिणाम मेरा लागि मात्रै हैन, समाजको लागि पनि हितकर होस् । जाँगरिलो व्यक्तिले मात्रै शुभकर्म गर्न सक्छ । कर्म दुई प्रकारका हुन्छन्– शुभ या अशुभ । तर अशुभ कर्म गरे पनि त भोलि सच्याएर शुभ कर्म गर्न सक्छ नि । यो त सिक्दै जाने हो नि । जो सक्रिय छ त्यो त अशुभबाट शुभमा जान सक्ला, तर जो निस्क्रिय छ, अल्छी छ, त्यो त कहिल्यै शुभमा जानै सक्दैन । सदा–सदा दुःखी हुन्छ । त्यसैले जीवनमा त्याग्न योग्य एउटै मात्र तत्व छ, त्यो हो आलस्य । 

अरु सबैलाई प्रयोग गरे हुन्छ । हाम्रा अग्रजहरु भन्छन्, काम, क्रोध, लोभ, मोह, ईष्र्या, द्वेष इत्यादि अवगुणहरु त्याग्नुपर्छ । तर म भन्छु– त्याग्नु पर्दैन । यिनीहरुलाई प्रयोग गर्नुपर्छ । यिनीहरुलाई उपयुक्त ढंगले प्रयोग ग¥यौं भने हामीले आफू र अरुको भलाइ गर्न सक्छौं । क्रोध त्याग्नुपर्छ भन्ने छ, तर क्रोध किन त्याग्ने ? रिसलाई त्याग्यौं भने हामीलाई कसैले पत्याउँदै पत्याउँदैन । बच्चालाई पनि अलिकति हप्काइदिएन भने उसले पनि टेर्दैन । काम गर्दैन । बच्चालाई पढाउन बस्नुभएको छ, अलिकति रिस देखाउनुभएन भने तपाईंको कुरा उसले किन मान्छ र ? ऊ त खेल्न हिँड्छ । मान्दैन । अलिकति रिसको प्रयोग त गर्नुपर्छ । तर यो रिसलाई कसरी प्रयोग गर्ने ? यो कलाचाहिँ सिक्नुपर्छ । यो त्याग्न योग्य छैन । काम, क्रोध, लोभ, मोह, ईष्र्या, द्वेषलाई सदुपयोग गर्नुपर्छ, दुरुपयोग गर्नु हुँदैन । यी त्याग्ने कुरा हैनन् र त्यागिँदा पनि त्यागिँदैनन् । हामीसँग जे गुणहरु छन्, कसरी त्याग्ने ? सम्भव पनि हुँदैन र अहिलेसम्म कसैले काम, क्रोध, लोभ, मोह, ईष्र्या, द्वेषलाई त्यागेको मानिस पनि भेटेको छैन । तर आलस्य यस्तो गुण हो जसलाई त्याग्नुपर्छ र त्याग्न सकिन्छ । आलस्यलाई हामी पूर्ण रुपमा त्याग्न सक्छौं र त्याग्न योग्य अवगुण यही नै मात्रै हो । सबै रोगको जननी हो, सबै अवगुणहरुको खानी हो, माता हो यो ।

यसले सब अवगुणलाई उत्पादन गर्छ । हाम्रो जीवनमा जति पनि विकारहरु छन्, दुःख छ, तनाव छ, जे–जे समस्याहरु छन्, यी सब समस्याहरुलाई आलस्यले बढाएको छ । जुन व्यक्ति अल्छी छ, यही व्यक्ति तनावमा जान्छ । डिप्रेसनमा जान्छ । सक्रिय मानिसलाई तनावमा जाने अवसर पनि हुँदैन । काम गर्ने फुर्सद छैन केको चिन्ता गरेर बस्नु ? ऊ त यति सक्रिय छ, आफ्नो काम गरेर फुर्सद छैन, कसले मनमा कुरा खेलाएर बसोस् । चिन्ता गरेर बसोस् । जीवन सक्रिय व्यक्तिका लागि हो ।

जीवनको भोग सक्रियताले गर्छ । जाँगरिला, जिउँदा व्यक्तिहरुको लागि हो जीवन । अरुले त जीवन पाउनु या नपाउनुको केही मतलबै छैन । जीवनको भोग नै गर्न सक्दैनन् । जीवनको मजा लिन सक्दैनन् । जीवन मजा लिनु छ, जीवनलाई प्रयोग गर्नु छ । हाम्रो शरीरलाई जति बढी प्रयोग ग¥यौं, त्यति बढी स्वस्थ हुन्छौँ । 
हामीलाई लाग्छ– काम गरेर मानिस रोगी हुन्छ । काम गरेर दुब्लाइन्छ । काम ग¥यो भने छिट्टै मरिन्छ । हामीलाई त्यस्तो लाग्छ । तर हैन त्यस्तो हुँदैन । व्यक्ति जति सक्रिय छ, जति काम गर्छ, त्यति नै स्वस्थ हुन्छ र दीर्घजीवी हुन्छ । लामो समयसम्म बाँच्न सक्छ र त्यति नै सुखी रहन्छ । 

केही कुराहरु छन्, जसलाई जति प्रयोग गर्यो, त्यति नै राम्रो हुन्छ । सम्पत्तिलाई जति प्रयोग गर्नुभयो, त्यति बढ्छ । पानी जति सक्रिय रुपमा बगेको छ, त्यति नै स्वच्छ हुन्छ । निर्मल हुन्छ । पानीलाई पोखरीमा थुनेर राख्नुभयो, भने दूषित हुन्छ । पिउन योग्य हुँदैन । तर नदीमा प्रवाहमा बगेको पानी फोहोरबाटै आएको भए पनि बिस्तारै शुद्ध हुन्छ । पिउन योग्य हुन्छ । हावा जति चल्छ, हिँड्छ, त्यति स्वच्छ बन्छ । हावालाई रोकेर राख्यौं भने दूषित हुन्छ । हावा, पानी, सम्पत्ति, शरीर, विद्या यसलाई खूब–खूब चल्न दिऊँ । जति ज्ञानको प्रयोग गर्नुहुन्छ, त्यति बढ्छ । विद्यालाई जति प्रयोग गरिन्छ, त्यति खारिएर आउँछ । यसलाई रोक्नु हुँदैन । जहाँ–जहाँ रोक्यौं यी शक्तिलाई, त्यहाँ–त्यहाँ दुःख शुरु भयो । आलस्यले शरीरको सक्रियतालाई रोक्छ ।

शरीर नै सिद्धिएपछि सबै कुरा सक्किहाल्यो । किनभने बाहिर हामी जति पनि सम्पदा प्राप्त गर्न सक्छौं, जति सुविधा जति सुखको कमाइ गर्न सक्छौं, शरीरको सक्रियताबाट न कमाउने हो । शरीरलाई निस्क्रिय बनाएर बसेपछि के कमाउनु, सबै कुरा गुम्यो । शरीरलाई आलस्यमा लिएर जानु, अल्छी बन्नु नै मानिसले गर्ने एउटै मात्र अपराध हो । यो भन्दा ठूलो अपराध मानिसले गर्नै सक्दैन । सबैभन्दा ठूलो अपराध आफ्नो शरीरलाई निस्क्रिय बनाउनु हो र धर्म त्यो हो जसले शरीरलाई सक्रिय बनायो र शुभकार्य ग¥यो । यो हो धर्म । शरीर सक्रिय पनि छ र सर्वकल्याणका लागि पनि सक्रिय छ, अरुको हितका लागि सक्रिय छ, अरुको उन्नतिका लागि जसले शरीर सक्रिय गरायो, आफ्नो शरीरलाई जसले जाँगरिलो बनायो, आफ्नो मनलाई जाँगरिलो बनायो, यही नै यक्ति धार्मिक व्यक्ति हो । हामी सबैलाई पनि आफ्नो शरीरलाई सक्रिय बनाउने अवसर मिलोस् । आफ्नो जीवनबाट आलस्यलाई सदा–सदाका लागि हटाउने जोश, जाँगर, उत्साह, उमङ्ग र आत्मविश्वासलाई जगाउने अवसर मिलोस् । यो मङ्गल भावका साथमा हरि ॐ ।  (जीवन विज्ञान प्रतिष्ठानका संस्थापक तथा जीवन विज्ञान विशेषज्ञ रमेश नेपालको रेडियो प्रवचनबाट उतारिएको सामग्री)  (सुन्सरीको एक गाउँमा सूर्यमुखी ढकमक्क भएको खेतमा नानी बोकेर टहल्दै एक गृहिणी/ वीवीसी  फायल तस्बिर)

  

                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                       

 अशुभ हटाउने यस्ता छन् विधि, कसरी गर्ने ?

ज्योतिषले दानद्वारा पाप नाश गर्न सकिन्छ भन्ने मान्यता राख्दै आएको छ । दान पनि सम्बन्धित ग्रह अनुसार भिन्न भिन्न जो वस्तु जुन ग्रहसित सम्बन्ध राख्दछ ।

सेतो मच्छेन्द्रनाथको रथ लगनटोलमा

           काठमाडौँ, ३ वैशाख । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथलाई सोमबार राति लगनटोल पु¥याइएको छ । हनुमानढोका दरबार

पोखरामा पनि सिरुवा पर्व

              पोखरा, २ वैशाख । नववर्षको आगमणसँगै पूर्वी तराईका जिल्लामा मनाइने गरिएका सिरुवा पर्व पोखरामा बस्दै आएका मिथिलावासीले

सिन्दुरले रंगियो मध्यपुर थिमि

बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले आज विहानैदेखि हर्षोल्लासका सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन् । विहानैदेखि