व्यक्तिलाई आनन्द दिने अनौठो रोग


केही वर्षअघि एउटा पत्रिकामा छारेरोगसम्बन्धी मेरो लेख छापिएपछि क्लिनिकमा छोप्ने भनिने यो रोगका बिरामीको भीड लाग्न थाल्यो । पत्रिका बजारमा निस्किएकै दिन क्लिनिकमा जम्मा भएका बिरामीका केही आफन्तले मेरो लेखले उनीहरुलाई धेरै सहयोग गरेको प्रतिक्रिया दिए । ‘मेरो बिरामी निको नै हुँदैन, उपचार नै छैन भन्ठानेर बसेको थिएँ । तपाईंको लेख पढेपछि छोपुवा पनि सजिलै निको हुन्छ भन्ने थाहा पाएर खुसी लाग्यो’, अधिकांशको भनाइ थियो ।

आफ्नो लेखले यस्तो प्रभाव पारेको सुनेर म पनि मख्ख परें । संयोगवश त्यसदिन मेरो प्रतीक्षामा बसेका प्रायः सबै छोप्ने रोगका बिरामी परेछन् । एउटा लेखले मात्र पनि एकै दिनमा यति मानिस आइपुगेको देख्दा छारेरोगसम्बन्धी लेख लेखेर गतिलै काम गरेंछु’ जस्तो पनि लाग्यो । तर जब बिरामी जाँच्न थालेँ, गमक्क फुलेको मेरो मन खुम्चिन थाल्यो । त्यो लेख पढेर आउने बिरामी प्रायः सबैको एउटै भनाई थियो । धेरै बिरामीले डाक्टरलाई जचाउँदा र अस्पताल धाउँदा थाकेर धामी झाँक्रीतिर लागेपछि केही आराम भएको महसुस गरेका रहेछन् । ‘छोपीहाल्यो भने पनि धूप बाल्दा, हनुमान चालिसा सुनाउँदा र भाकल गरेपछि छोप्न छोड्ने र ब्युँझिने हुन्छ ।’ त्यसपछिको साझा चिन्ता मसमक्ष आइपुग्यो । केही बिरामीको छोप्ने अवस्था त कहिलेकाहीँ घन्टौं र दिनभर पनि हुने गर्दोरहेछ । छोपेको बेला काम्ने र दाँत बाँध्ने हँुदोरहेछ । धेरैले बक्दै बेसुरमा आक्रामक हुने, ‘देवी हूँँ, अजीमा हूँँ, नेपाले देवता हूँ, काँचो वायु हूँ, कालो वीर हूँ’ आदि भन्दा रहेछन् । अरू बेला जानकारी नभएका कुरा ज्योतिषीले झँै ठीक–ठीक बताउने, भविष्यवाणी गर्ने जस्ता कामले बिरामीका आफन्त र छिमेकी पनि प्रभावित हुँदा रहेछन् । कुनै–कुनै बिरामीलाई कुल देवता र इष्ट देवीले बास गरेको विश्वासमा परिवारले आदर सम्मान गर्ने, शुद्ध खानपिनको निहुँमा मीठो मात्र खान दिनेजस्ता सुविधा पनि पु¥याउने गर्दा रहेछन् । 

एकजना महिला बिरामीको त निकै फरक र रोचक विवरण थियो । रजस्वला भएको बेला उनी कुल देउताको रूप धारणा गरेर बेहोसीमा बर्बराउँदी रहिछन् । कुल देवताको तर्फबाट बोल्दै यस्तो अशुभ अवस्थामा काम गराउँदा अशुभ हुने, खाद्य वस्तु छुन नहुने, पानी छुन नहुने, खेतमा जान नहुने भन्दी रहिछन् । कुल देवताको आज्ञाअनुसार उनलाई रजस्वला भएको बेला सम्पूर्ण घरायसी कामबाट मुक्त राखिएको रहेछ । उनको रजस्वला अवधि ७–८ दिनसम्म चल्दो रहेछ । फेरि २४ दिनमै रजस्वला दोहोरिने हुँदा झन्डै महिनामा १०–१२ दिन उनी मान सम्मानका साथ बसीबसी खान पाउने रहिछन् । जबकि उनी सरहका देउरानी र जेठानीहरु महिनामा तीसै दिन घर र खेतीमा खट्नुपथ्र्यो । 

त्यतिबेला नै छोपुवा भनेर ल्याइएका अर्का बिरामीको पनि म उपचार गरिरहेको थिएँ । उनी हेर्दै खाइलाग्दा, गोरो वर्णका, सुकोमल र सुन्दर किशोर थिए । मुसुक्क हाँसेको उज्यालो अनुहार हेर्दा उनी रोगीजस्ता लाग्दैनथे । त्यसमाथि उनको हाउभाउ, बसाइ र हेराइबाट रोगको चिन्ता देखिँदैनथ्यो र उनमा छिटो निको हुने चाहना झल्कँदैनथ्यो । सोधपुछपछि पत्ता लाग्यो, ती उमेरले १७ वर्षका भए पनि चौथो कक्षामा पढ्दा रहेछन् । कारण, उनी ३ कक्षामा २ पटक र ४ कक्षामा अहिलेसहित ३ पटक फेल भएका रहेछन् । यसरी लगातार अनुत्तीर्ण भएको कारण बुझ्न खोज्दा उनी बुद्धिको विकास नभएको लठेब्रो जस्तो लागेन । बरु गमक्क फुलेर बस्ने, प्रश्नको जवाफ झट्ट नदिने र लगातार फेल भएकोमा गर्व गरेजस्तै लाग्यो । 

मेरो जिज्ञासामा छोराको सट्टा बाबुले जवाफ दिए, ‘परीक्षाको त वास्तै भएन हजुर । जब जाँच आउन लाग्छ अर्थात् कात्तिके ठूलो एकादशीदेखि छोपुवाले भेट्छ । माघे संक्रान्तिपछि बल्ल छोड्छ । धूपबत्ती र तन्त्रमन्त्र गरेपछि मात्र छोड्ने गर्दछ । तैपनि निको हुन्छ कि भनेर एक पटक फेरि उपचार गर्न ....’ प्रत्येक वार्षिक परीक्षा हुनुभन्दा केही हप्ता अगाडिदेखि नयाँ कक्षा सञ्चालन भई नसक्दासम्म घन्टौँ छोप्ने, बक्ने बानी लागेको   रहेछ । तैपनि सकीनसकी जाँचमा बसेर हरेक विषयमा फेल मात्र लिएर आउँदा रहेछन् । कसैले चर्चा ग¥यो भने ‘विचरा, कसरी पास होओस्, रोगै त्यस्तै लागेको छ,’ भनेर सफाइ पाउँदा रहेछन् । ती किशोर बेहोस भएर लड्नेबाहेक अपर्झट दृष्टि लोप हुने, कान नसुनेर बहिरो हुने, बान्ता भइरहने, बोली बन्द भएर लाटो हुने र फेरि आफैँ ठीक भएर जस्ताको त्यस्तै हुँदा रहेछन् ।

बेहोस हुँदा हात खुट्टा फाल्ने तर चोटपटक नलाग्ने, जथाभावी बोल्ने, चिथोर्ने, कोपर्ने र पिट्न जाने पनि गर्दा रहेछन् । केही समयपछि होसमा आउँदा आफूले गरेको कामको उनलाई याद नै नहुँदो रहेछ । प्रत्येक वर्ष ठूलो एकादशीबाट माघे संक्रान्ति अर्थात् तत्कालीन समयमा वार्षिक परीक्षाको बेला बिरामी पर्ने गरेको हुँदा दैवी असर भनेर लिइएको रहेछ । लाठे भइसक्दा पनि ४ कक्षामै झुन्डिरहेकोमा न ती किशोरलाई चिन्ता थियो, न त अभिभावकलाई नै । बरु केटो झन् आनन्दित भएको भावमा हुन्थ्यो भने आफन्तहरु चाहिँ रोग निको मात्रै भइदिए न पढे पनि हुन्छ भन्ने मनस्थितिमा थिए ।

छारेरोगसम्बन्धी लेख पढेर जँचाउन आउने अर्की एक महिलाको चाहिँ फरक कहानी थियो । उनको मुख्य लक्षण हल्का बेहोस जस्तो भई दुवै ख’ट्टामा पक्षघात हुने, जुन बेला उनी टेक्न, हिँड्न र उभिन नसक्ने थिइन् । तर, प्यारालाइसिसका बिरामीका लक्षण उनको शरीरमा थिएनन् । उनमा लक्षण पनि सधैं देखिँदैनथ्यो, केही समय देखिएर आफैं हटेर जान्थ्यो । विशेष गरेर आफ्ना श्रीमान् घरमा भएको बेला पक्षाघात बढी जटिल हुने र दुवै खुट्टाले नटेक्ने हुनाले लोग्नेको सहयोगले उनी यताउता सर्ने गर्दिरहिछन् । लोग्ने घरमा नभएको बेला केही हल्का हुने र सकीनसकी घिस्रिएर कामचलाउ गर्दिरहिछन् । तर श्रीमान् पेशाले ड्राइभर हुनाले प्रायः धरान घर नआउने बरु इटहरीमै अर्की महिलासँग बस्ने गरेको उनलाई थाहा भएको रहेछ । त्यसपछि नै उनमा यो रोग निस्किएको रहेछ । श्रीमतीलाई यस्तो कडा रोग लागेकाले श्रीमान्ले घर छोड्न पाएनन् । त्यति मात्र होइन, श्रीमती सदाका लागि अपाङ्ग पो हुने हुन् कि भन्ने चिन्ताले पनि उनलाई पिरोलेको रहेछ । ती महिलाले आफ्नो श्रीमान् केही सुध्रिएको सोचे पनि उनलाई सधैं आफूसँगै राख्ने अन्तस्करणको चाहना भने पूरा गर्न सकेकी थिइनन् । 

यहाँ वर्णन गरिएका तीनै जना बिरामीमा मुर्छा पर्ने र छोप्ने भए पनि त्यो छोपुवा या छारेरोग थिएन । उनीहरु सबै हिस्टेरियाबाट पीडित थिए । यहाँ उल्लेख गरिएका बिरामीको उपचार गर्दा मलाई ठूलै समस्या आइलाग्यो । महिनावारी हुँदा कुल देवताको रूप धारण गर्ने महिलाबारे मैले छारेरोग होइन, हिस्टेरिया हो मात्र के भनेको थिएँ, उनका आफन्तहरुले एकै स्वरमा आक्रोेश, खेद, अविश्वास र धम्कीको बम पड्काए । उनीहरु पूरै कुरा नै नसुनी “४–४ वटा बच्चाकी आमा भइसकेकी, आवश्यक परे चौबीसै घन्टा आफूसँगै बस्न तैयार हट्टाकट्टा श्रीमान् भएकी महिलालाई हिस्टेरिया भन्न पाइन्छ ? उनको लोग्ने नपुंसक छ र स्वास्नीलाई हिस्टेरिया हुने ?” भन्न थाले । उनीहरुले मेरो कुरा झुटो मात्र हैन, आफ्नो परिवारको बेइज्जती भएको भन्दै मसँग ठाडो प्रतिवाद गरे– “बिरामीको शरीरमा कुल देवताले नै बास गरेकी स्त्री हाम्रो परिवार र पूरै कुलकी शोभा र गहना हुन् । यति पवित्र महिलालाई हिस्टेरियाकी रोगी भनेर आरोप लगाउनु हाम्रो कुलको अपमान हो ।”

परिवारका अन्य सदस्यले त्यसरी मेरो दोहोलो काढेको देख्दा बिरामी महिला चाहिँ गमक्क फुलेकी थिइन् । त्यो बेला उनी खुबै खुसी जस्तै देखिन्थिन् । 

अर्का १७ वर्षे किशोर बिरामीलाई जाँच्दा म पहिलो घटनाको तीतो अनुभवबाट केही सतर्क थिएँ । मैले ठट्टा गरेझैं भने, ‘तपाईं छोरालाई चाहिनेभन्दा बढी माया गर्नुहुन्छ जस्तो छ । हेर्दा पल्टनमा भर्ती हुन लायक देखिन्छ, बानी चाहिँ बच्चाको जस्तो, हैन ?’ एक छिनको मौनतापछि बाबुबाट कुनै  प्रतिक्रिया नआएपछि मैले फेरि भनेँ, ‘बच्चाले जे गल्ती गरे पनि माफ दिने र उसको कुरामा सही थापेर कहिल्यै हप्कीदप्की नगर्ने गरेपछि पछिसम्म त्यस्तै चाहना रहन्छ ।’

मेरो यति कुरा सुनेपछि बिरामीकी दिदीलाई साह्रै घत लागेछ । उनी चूप लागेर बस्न सकिनन्, मेरो कुरामा सही थप्दै भनिन्, ‘हो ब्यारे, त्यस्तै हो । बाबाले हामी छोरीलाई खूब कडा अनुशासनमा राख्नुहुन्छ । जाँचमा फेलको त कुरै छाडौँ, कम नम्बर ल्यायौँ, घरको काममा सघाएनौँ भने पनि हप्की खानुपर्र्छ ।’ उनले भाइलाई भने सबै कुराको छुट भए पनि दिदी–बहिनीले बढी सास्ती खेप्नुपरेको बताउँदै भनिन्, ‘हाम्रो झगडा प¥यो भने गल्ती कसको भनेर कसैले सोध्दैन, सिधै हामी दिदी–बहिनीले झापु खान्छौँ । पहिला त बाबाको अगाडि यति बोल्न पनि असम्भव थियो । तर अहिले म क्याम्पस पढ्ने र गाउँका केटाकेटीलाई ट्युसन पढाउने भएकाले साँचो बोल्ने आँट छ ।’

छोरीले यति भनिसक्दा पनि बाबुचाहिँ चूपचाप थिए । छोरीले फेरि थपिन्, ‘एकपल्ट के कुरामा हो भाइलाई बाबासँग रिस उठेपछि उहाँकै गालामा चड्कायो । बाबाको गालामा भाइको हातको रातो डाम प्रष्टै देखिन्थ्यो । तर बाबाले उल्टै ‘बाब’ तिम्रो नरम हात त दुखेन’ भन्दै भाइकै हात सुमसुम्याउन थाल्नुभयो । भाइ साँच्चिकै दुखेर आत्तिएजस्तो गर्दै हात झड्कार्न थाल्यो । दिदी र मलाई यो सब देखिनसक्नु भएपछि ‘यो के गर्नु भा’को ?’ भनेर बाबालाई सोध्दा उल्टै ‘भाइको रिस गर्छौ ?’ भनेर हामीलाई झपार्नु भयो ।’ उनले निष्कर्ष निकालिन्, ‘आज यहाँ आएपछि पो बल्ल हामीलाई थाहा भयो, जाँचमा पास हुन पढ्नुपर्छ भनेर यो पटमूर्ख बिरामी पर्दोरहेछ । चाडपर्वमा बिरामी हुँदा मान पनि पाउने, छुट पनि पाउने !’

मैले भन्न खोजेको कुरा घरकै मान्छेले भनिदिएपछि मलाई धेरै सजिलो भयो । रोगबारे जानकारी गराएर रोगीसँग अब कस्तो व्यवहार गर्ने र छोपेको बेलामा के गर्ने सल्लाह दिएर पठाएँ । बिदा हुने बेला बल्ल यस्तो रोगलाई हिस्टेरिया पनि भन्छन् भनेर बताउने वातावरण तयार भयो । 

तेस्रो बिरामीमा खासै समस्या थिएन । किनभने लोग्नेलाई आफ्नै कारणले श्रीमती बिरामी परेकी हुन् भन्ने राम्ररी थाहा थियो । यससँगै इटहरीको मायाप्रेम भलेर नियमित घर आउने हो भने श्रीमती ठीक हुन्छिन् भन्ने पनि उनलाई थाहा थियो । त्यसैले श्रीमतीलाई के रोग, किन लागेको, कसरी निको पार्ने आदि कुराभन्दा पनि आफूलाई पिछा गर्ने लत छुटाएर घरमा चाहिने खर्च पु¥याउने र मुक्ति पाउने उनको ध्याउन्न थियो । श्रीमतीबाट उम्केर इटहरीतिर लाग्ने मौका पाऊँ भन्ने नै उनको भित्री इच्छा थियो । उनी रिसको झोकमा ‘मलाई सताउन बिरामी भएकी छ, बरू कमाई नगरी आधा पेट खाएर सधैँ यसैसँग बस्छु भन्यो भने यो आफँै ठीक हुन्छे’ भन्ने आरोप पनि लगाउँथे ।

मैले उनलाई यति मात्रै भनेँ, “तपाईंको सोचमा आंशिक सत्यता छ ।” सत्यता यस कारण कि लोग्ने र घरको अवस्थाकै कारण ती महिलामा त्यस्ता लक्षण देखिएका    थिए । आंशिक यस कारणले कि तैपनि त्यो बनावटी व्यवहार नभएर रोग नै थियो । त्यसैले यसको उपचार गर्न जरुरी छ । श्रीमतीको रोग परिस्थितिजन्य भएकाले उनको उपचारका लागि औषधि खुवाउनुभन्दा व्यवहार बदल्नुपर्छ । श्रीमतीसँग कुरा गर्दा चाहिँ मैले रोगको चर्चा नै गरिनँ । उनको समस्यामा केन्द्रित रहेर श्रीमान्सँग छलफल गर्न सल्लाह दिएँ । मनमा लागेको शंका निवारण गर्न र चलेको हल्ला कत्तिको साँचो हो पत्ता लाउन पनि सल्लाह दिएँ । मैले रोगभन्दा घरको समस्यालाई ध्यान दिँदै भनेँ, ‘श्रीमान्ले अर्की स्वास्नी राखेका रहेछन् भने पनि उनको घर र खेतीपाती आफ्नो कब्जामा लिएर अलग्गै बसेको भए उनी आफैँ तपाईंसँग सम्झौता गर्न आइहाल्थे नि ।’

मैले कडा रोगको वास्तै नगरी घरको समस्यालाई महत्व दिएपछि उनको हाउभाउ बदलियो । पक्षाघात भएको कुरो बिर्से जस्तै गरी खुट्टा चलाउन थालिन् । समस्याबारे केही खुल्दै भनिन्, ‘श्रीमान्सँग मन खोलेर इटहरीको कुरो उठाउन आँट नै आउँदैन । मेरो रोगका कारणले म मात्र हैन मेरा सन्तान र श्रीमान्लाई समेत गाह्रो भएको छ । अहिले सबै कुरा खोल्दा उनले मलाई छाडिदिए भने म कता लाग्ने ? बरु कान्छी ल्याउन्, मलाई एक्लै बस्ने आँट आउँदैन ।’ श्रीमान् र श्रीमतीसँग अलग–अलग र सँगै राखेर कुरा गरेपछि विवादको विषय उनको रोगबाट उनीहरुको सम्बन्धमा स¥यो । केही समयपश्चात् उनी लगभग ठीक भएर घर फर्किन् ।

यहाँ वर्णन गरिएका तीनै जना बिरामी हिस्टेरिया पीडित थिए । हिस्टेरिया एक साधारण मानसिक रोग हो । यौन चाहना र यौन अतृप्तिसँग यसको कुनै सम्बन्ध छैन । यो रोग एक विशेष प्रकारको स्वभाव भएको व्यक्तिलाई लाग्छ । केटाकेटीदेखि बढी नै माया पाएका, अनुशासनमा बस्ने बानी नपरेका, आफ्ना चाहनालाई अरूले पनि महत्व दिनुपर्छ भन्ने विचार भएका स्वार्थी व्यक्तिलाई यो रोग लाग्छ । हिस्टेरियाका रोगी आफ्नो गुणगान र प्रशंसा सुन्न मन पराउँछन् । यिनीहरु सबै काम अरूले नै गरिदिऊन्, सबैले सधैँ वाह ! वाह ! भनून् भन्ने आशा राख्छन् । गमलामा मलजल हालेर कोठाभित्र हुर्काएको बिरुवाले घामपानी खप्न नसकेजस्तै अनावश्यक संरक्षण र सेवा दिएर हुर्काइएका यस्ता व्यक्ति साधारण समस्या पनि समाधान गर्न सक्दैनन् । केही आइप¥यो भने सधँै अरूकै भर पर्छन् । संयोगवश त्यस्तो बेला काँध थापिदिने र कमी–कमजोरी ढाकछोप गरिदिने कोही भएन भने तनाव पैदा हुन्छ, त्यही तनावबाट यिनीहरुमा हिस्टेरिया निस्कन्छ । यो रोगबाट पीडित व्यक्ति धेरै भीडभाड र हूलमूल देख्यो भने बढी छटपटाउँछन् । प्रायः अल्पशिक्षित महिलाहरु अरूमा निर्भर रहने, मनको कुरा खोल्न नसक्ने र समस्या समाधान गर्न नसक्ने हुँदा उनीहरुमा यस्तो तनाव बढी हुन्छ र हिस्टेरिया पनि बढी नै देखिन्छ । युवतीहरूमा हिस्टेरिया बढी देखिएर नै यसलाई यौन चाहना र अतृप्तिसँग जोडिएको अनुमान लगाउन सकिन्छ । 

हिस्टेरियाका अनेक रूप छन् । यसका धेरै जसो रोगीहरु घन्टौँ मुर्छा पर्ने, बेहोसीमा बर्बराउने, जथाभावी गर्ने र बोक्सी बक्ने गर्छन् । यिनीहरुमा पक्षाघात हुने, बोली बन्द हुने, कान नसुन्ने, अन्धो हुने, बान्ता भइरहने जस्ता लक्षण पनि देखिन्छन् । हिस्टेरियाका बिरामीलाई कुनै पनि रोगका लक्षण देखा पर्न सक्छन् । तर, अरू सामान्य रोगभन्दा यसमा केही अन्तर हुन्छ । सर्वप्रथम हिस्टेरियाका लक्षण नाटकीय रूपका हुन्छन् । अस्वाभाविक रूपले तिनले मानिसको जीवनलाई प्रभाव पारिरहेका  हुन्छन् । दोस्रो, रोगका लक्षण बिनाकुनै पूर्वसंकेत अकस्मात देखा पर्छन् र त्यसैगरी हराउँछन् पनि ।

देख्दा जतिसुकै कडा लागे पनि मानिसको स्वास्थ्यमा स्थायी असर रहँदैन । त्यसैले हिस्टेरियाबाट मुर्छा पर्दा सामान्यतयाः चोटपटक लाग्ने, अङ्ग–भंग हुने वा आगोमा परिहाल्ने हुँदैन । सबैभन्दा महत्वपूर्ण कुरा के हुन्छ भने रोगको रूप जति गम्भीर देखिन्छ, त्यस अनुपातमा बिरामी चिन्तित हुँदैन । त्यति मात्र नभएर उसले ‘म कहिले निको हुन्छ’ ?’ भनेर पनि सोध्दैन । अझ कति जना बिरामी त आफ्नो रोगको वर्णन गर्न पाउँदा आनन्द अनुभव गर्छन् र बिरामी हुन पाएकोमा गर्व गर्छन् । यस्ता रोगीलाई रोगको वास्तविक कुरो बताउँदा भन्दा बढाइचढाई कडा रोगको वर्णन गरेमा खुसी हुन्छन् । 

समग्रमा हिस्टेरिया साधारण भए पनि यो आफन्तलाई तर्साउने र बिरामीलाई आनन्द दिने अनौठो मानसिक रोग हो । रोग लागिसकेपछि यो कस्तो रोग हो, यसका कारण के हुन सक्छन् र कसरी समाधान गर्ने भनेर चिन्ता त लागी नै हाल्छ । वास्ङ्खवमा यस्तो रोग लाग्न नदिन मानिसलाई केटाकेटीदेखि नै आत्मबल, स्वाभिमान, अनुशासन र कर्तव्यको बोध गराउन जरुरी छ । छारेरोग लागेका बिरामी जहाँ र जुनसुकै अवस्थामा पनि ढल्छन् । उनीहरुको ओठ काटिन्छ, कपडामा दिसा–पिसाब छोड्छन् र अचेत हुन्छन् । जबकि हिस्टेरियाका बिरामी बेहोसीमा पनि सुरक्षित हुन्छन्, चोटपटक लाग्दैन । 

 (मञ्जरी पव्लिकेसनले प्रकाशन गरेको मानसिक रोग विशेषज्ञ डा. विश्ववन्धु शर्माको पुस्तक ‘मानसिक स्वास्थ्यका विविध अनुभव’को एक अंश हो  यो । यसमा संकलित सामग्री निकै उपकारी र ज्ञानवध्र्दक ठानेर प्रकाशकसँगको सहमतिमा हामीले प्रकाशन गरेका हौं । पुस्तकका प्रत्येक अंश निकै उपयोगी छन्,जसलाई क्रमश: प्रकाशन गरिने छ ।)
 

 झापाका बजारमा पिउन अयोग्य पानीको बिगबिगी

बिर्तामोड । झापाका बजारमा निम्न गुणस्तरका पानी छ्यापछ्यापी भएको पाइएको छ । पिउन योग्य पानीका लागि खाद्य प्रविधि तथा गुणस्तर विभागले पानीमा पीएचको

शरीरलाई ‘हाइड्रेटेड’ राख्न अत्याधिक धेरै पानी पिउनु पर्दैन

  काठमाडौँ, २ भदौ । शरीरमा पानीको कमी, ‘डिहाइड्रेसन’ अर्थात जलवियोजनले व्यक्तिको प्रदर्शनमा ठूलो असर गर्न सक्छ । विशेषगरी खेलाडीहरुमा र साधारण

अफिसमा कामको प्रेसर खतरनाक हुन सक्छ

  काठमाडौं ३२ साउन । आफ्नो दौडधुपपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुट्टी लिनुहोस् र तनाव कम गर्नुहोस् । अफिसबाट लिइने यस्ता छुट्टीले तपाईलाई

औषधीय गुणले भरिपूर्ण पुदिना

  काठमाडौँ ३० साउन । पुदिनाको अचार स्वादिलो हुने कुरा त सेवन गर्नेहरुलाई थाहा नै छ । पछिल्लो समय खास गरी शहरको घरको कौसीमा र गमलाहरुमा तरकारी,