बुबा त्यसपछि फर्केरै आउनु भएन !

आठ वर्षकी छँदा म बिर्तामोडको कृषि थोकबजार पस्ने ठाउँमै रहेको खत्री होटेलमा काम गर्थेँ ।

खासमा म त्यति गरीब परिवारमा जन्मिएकी होइन । म सात वर्षकी छँदासम्म हाम्रो घर थियो । परिवार सम्पन्न नभए पनि सुखी थियो । बिरिङपारि सिस्नेमा थियो हाम्रो घर । खोलाछेउमा भएको ऐलानी डेढ बिघा खेतबाट हामीलाई मनग्ये खान पुग्थ्यो । गाईबस्तु, बाख्रा, कुखुरा पालेर हामी थप आम्दानी गथ्र्याैं ।

०४२ सालको बर्खामा ठूलो झरी प¥यो लगातार तीन दिनसम्म । झरीका बेला बुबा भेलबाढी पस्यो कि भनेर हेर्न खेततिर जानुहुन्थ्यो । त्यो दिन पनि जानुभयो । किनकि पानी बढी भएका बेला कतिपय छिमेकी खेतीवालाहरूले पानी कटाएर अर्काको खेततिर लगाइदिन्थे । पानीको भेल पसेपछि रोपेको रोपो छिनभरमै बगाएर सखाप हुन सक्थ्यो ।

तर त्यो दिन बुबा फर्केर आउनुभएन ।

झमक्क साँझ पर्दासम्म पनि बुबा नआउनुभएपछि आमा आत्तिनुभयो । हामी पनि आत्तियौं ।

छरछिमेक गुहारेर आमा खेततिर जानुभयो । म भाइबहिनी रुँगेर घरै बसें । तर बुबा त खेतमा पनि भेटिनुभएनछ ! सोधखोज गर्दा देख्यौं भन्ने पनि कोही फेला परेनछन् ।

आमा र मैले त्यो रात अनिँदैमा काट्यौं । डरले आँखामा निद्रा आए पो निदाउन सक्नु ?

धन्न भोलिपल्ट बिहानीपख पानी थामियो । छरछिमेकीहरू पनि आए । त्यही बेला अलि पर्तिर घर भएका खड्का बाले खबर ल्याए– “उनलाई खोलाले बगाएको हाम्रो गोजेले दिसा बस्न गएका बेला देखेको रहेछ । दाउरा झिक्न जाँदा बगाएको रे ।”

गोजे भनेको खड्का बाकहाँ काम गर्न बसेको केटो । बोली त थियो तर प्रस्ट बोल्न सक्तैनथ्यो । त्यसैले उसलाई सबैले हेपेर गोजे भनेर बोलाउँथे ।
हाम्रा बुबालाई बगाएको कुरा उसले इसाराले भनेको रहेछ खडका बालाई ।

आमा र म भक्कानियौं । हामी रोएको देखेर भाइबहिनी पनि रmन लागे ।

छिमेकीमध्ये खोला तर्नसक्ने एकजना शनिश्चरे पुलिस चौकीमा खबर गरिदिन साइकल लिएर दौडिए । त्यस बेला अहिलेजस्तो मोबाइल सर्वसुलभ भइसकेको थिएन । टेलिफोन गर्न पनि बिरिङ तरेर दुई किलोमिटर पूर्वको जयपुरचोक पुग्नुपथ्र्यो ।

मदनपुरमा साइकल राखेर उनी शनिश्चरे चौकी पुगेछन् । हाम्रो बुबाको हुलिया बताएपछि त्यहाँको हवल्दारले भनेछन्– “एउटा बेवारिसे लास अर्जुनधारापारि जुकेखाडी जाने बाटाको छेउखोला किनारमा भेटिएको भन्ने खबर आएको छ । सा’बहरू त्यति जानुभएको छ । तपै“ पनि त्यतै जाने हो कि ?”

उनी साइकल लिएर त्यतै दौडेछन् । पुलिसलाई पछ्याउँदै ।

नभन्दै लास बुबाकै रहेछ, खोलाकिनारमा उत्तानो परिरहेको । गाउँलेहरूले भेट्ता उहाँको लास बालुवाले आधा छोपेर घोप्टिएको अवस्थामा थियो   रे ।

पोस्टमार्टमपछि बुबाको लास ल्याएर काजक्रिया ग¥यौं । हलगोरू बेचेर बुबाको काजक्रिया खर्च ति¥यौं । जोत्ने मान्छे नै नभएपछि गोरm राखेर काम पनि थिएन ।

भाइबहिनी सानै थिए अढाई र चार वर्षका । आयस्रोत केही थिएन । आमा अरूकहाँ काम गर्न मेला जान थाल्नुभयो । मैले घर बसेर भाइबहिनी हेर्न थालें । पढ्ने कत्रो धोको हुँदैहुँदै पनि बाध्यताले गर्दा मेरो पढाइ छुट्यो । किनकि घर बसेर मैले भाइबहिनी नहेरे आमाले मेला जान पाउनुहुन्नथ्यो । हाम्रो मुखमा माड लाग्न मुस्किल हुन्थ्यो ।

स्याहार गर्न नभ्याएपछि गाईबस्तु पनि कम गर्दै लग्यौं ।

बुबा बितेको अर्को वर्ष निकै दुःख गरेर खेती लगाइयो । आमाले हलगोरू हुनेहरूको खेतीमा गएर काम गरिदिनुभयो । बदलामा उनीहरूले आएर जोतिदिए ।

प्रकृति पनि बेसहारामाथि कति निर्दयी हुन सकेको ! त्यति दुःख गरेर लगाएको बाली हामीले खान पाएनौं ।

बर्खा लागेदेखि नै बिरिङको भँगालो हाम्रो खेततिर सोझिएको थियो । आमाले कत्ति हारगुहार गर्दा पनि गाउँलेहरू कसैले पनि बाँध हालेर खोला अर्कोतिर फर्काउने चासो देखाएनन् । अन्ततः भदौमा आएको भेलले हाम्रो खेत पूरै बगाएर बगर बनाइदियो । हामी बेसहारा भयौं ।

हाम्रो घर अरूकै जग्गामा थियो । उनीहरूले पनि हामीले जग्गा खाली गरिदिए हुन्थ्यो भन्नेजस्तो व्यवहार गर्न थाले । मुखले त केही भनेनन् तर आमालाई मेलामा काम गर्न प्रायः सधैं बोलाउने । त्यसबापतको हाजिरा दिन चैं सधैं आनाकानी गर्ने । उपाय नभएपछि हामीले ऋण काढ्दै, घरमा भएका गाईबस्तु बेचेर तिर्दै गुजारा गर्न थाल्यौं ।

एक दिन हाम्रो गोठ पनि रित्तियो । धान रोप्ने, काट्ने र मकै गोड्ने बेलामा भ्याइ–नभ्याइ भए पनि अरू बेला खासै काम पाइँदैनथ्यो । जङ्गलबाट दाउरा बोक्ने काम गर्दा त पाइन्थ्यो तर आमा त्यस्तो काम गर्न नसक्ने । शरीरिक रूपमा अलि कमजोर । अरू काम गरे पनि उहाँ दाउरा चिर्ने, मल बोक्नेजस्ता भारी काम गर्न सक्नुहुन्नथ्यो ।

आजित भएपछि आमाले सिस्नेगाउँलाई सधंैका लागि छाड्ने निर्णय गर्नुभयो । त्यतिबेला हामीसँग सम्पत्तिका नाममा एउटा थोत्रो घरमात्रै बचेको थियो ।

हिँड्नुअघि आमाले त्यस घरको काठपात बेच्न खोज्नुभयो, दुईचार दिनका लागि भए पनि बाँच्ने खर्च हुन्छ भनेर । तर किन्न कोही तयार भएनन् ।
आफूसँग भएका स्टिल र आल्म्युनियमका थोत्रा भाँडाकुँडा र लुगाफाटो बोकेर घरबाट निस्क्यौं । सप्पै गर्दा एउटा डोको र एउटा पोको भरियो । डोको आमाले बोक्नुभयो, पोको मैले ।

निस्कन त निस्क्यौं तर कहाँ जाने भन्ने कुनै टुङ्गो थिएन ।

बेसहारा भएपछि हरेक महिलालाई माइतीको आस हुन्छ । तर मेरी आमाको त त्यो पनि थिएन । किनकि उहाँ अर्काको घरमा बसेर हुर्केकी टुहुरी हुनुहुन्थ्यो ।

हामीलाई आमाले हिँडाएरै बिर्तामोड पु¥याउनुभयो । सानी बहिनीलाई चैं बेलाबेला आमाले बोक्नुहुन्थ्यो । ऊभन्दा अलि ठूलो भाइलाई चैं मैले डो¥याएकी थिएँ ।

शनिश्चरे बजारको एउटा होटेलमा मटर र चिउरा किनेर खुवाउनुभयो । तैपनि बिर्तामोड पुग्दा मेरो पेट खाली भइसकेको थियो । तर मैले आमालाई केही भन्न सकेकी थिइनँ । किनकि हामीलाई खुवाए पनि आमा आफूले भने अघिल्लो दिनदेखि केही खानुभएको थिएन ।

कृषि थोकबजारको एउटा होटेलअगाडि पुगेर आमाले झोला बिसाउनुभयो । त्यतिबेला भाइबहिनी भोकले रून थालिसकेका थिए ।

आमाले होटेल साहुनीसँग खान पकाएर खानका लागि ठाउँ माग्नुभयो । के सोचिन् कुन्नि ! उनले ठाउँ मात्र दिइनन् अलिकति दाउरा पनि दिइन् । भाँडा र अलिकति चामल हामीसँग थियो ।

“मिल्छ भने तिम्री ठूली छोरी मलाई देऊ ।” खान खाइसकेपछि होटेल साहुनीले मलाई देखाउँदै भनिन्– “मेरा आफ्ना छोरी पनि छैनन् । म यसलाई आफ्नै छोरीजस्तै गरेर पाल्छु ।” भात पकाउँदै गर्दा उनले आमासँग सबै कुरा सोधिसकेकी थिइन् ।

मेरी सोझी आमाको मन छिनभरमै पग्लियो । उहाँका लागि न्यानो खोज्दा बर्को नै फेला परेजस्तै भएको थियो ।

“आमा, तपैं अब कहाँ जानुहुन्छ ?” भावुक हुँदै मैले सोधें । त्यतिखेर मलाई आमाले भाइबहिनीलाई के गरी पाल्नुहुन्छ भन्ने चिन्ता लागेको थियो । बिछोडिनुपर्छ भन्ने कुरा त दिमागले सोच्नै भ्याएन ।

“म जाँ भए पनि बेलाबेला तँलाई भेट्न आउँछु छोरी । तेरो कर्ममा यस्तै भोग्न लेखेको रै’छ ।” मैले बोकेर ल्याएको भारीसमेत आफ्नो पिठ्यूँमा खप्ट्याएर बोक्दै आमाले भन्नुभयो । अनि आँखामा आएको आँसु पुछेर हतारहतार बाटा लाग्नुभयो ।

उहाँले मलाई फर्केर एकपटक पनि हेर्नुभएन । बरू भाइबहिनीले निकै पर पुग्दासम्म पनि फर्कीफर्की मलाई हेरिरहेका थिए ।
(कृष्ण अविरलको हालै सार्वजनिक भएको उपन्यास छलीयुगबाट)

  मेरी ‘सुजाता’लाई शुभकामना !

  सोचेको होलाऊ तिमीले प्रिया, म चोट र पीरमा चुर्लुम्मै डुबेर हतास र दुःखी छु भनि– सोचेको होलाऊ तिमीले प्रिया, नशाको वेहोसी हालतमा अर्धचेतन वनि

इलाममा दुइ दिने साहित्य महोत्सव शुरु : नेपाली भाषाले एकता बलियो बनाएको नेम्बाड.को भनाई

इलाम, २४ चैत । इलामको देउमाई नगरपालिकाको मंगलबारेमा ‘देउमाई साहित्य महोत्सव २०७५’ शुरु भएको छ  । दुइ दिने साहित्य महोत्सव उद्घाटन गर्दै पूर्व

बजारमा आयो पहाडीको नयाँ कृति

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीको २८ औँ कृति ‘पच्चीस आलेख’ प्रकाशित भएको छ ।  यसअघि प्रकाशित भैसकेका

पलेँटीमा आभासको सांगीतिक यात्राको संघर्ष

  काठमाडौं । शनिबार संगीत साधनाका विभिन्न कोणहरुबाट आफूलाई हुर्काउँदै आएका गायक एवं संगीतकार आभासले अन्तरालपछि फेरि शुक्रबार आफूलाई पलेँटीका