कतै मानसिक रोगीले नानीहरु पढाईरहेका त छैनन् , गाडी पो हाँकीरहेका छन् कि !

करिब ३० वर्ष अगाडि म अध्ययन सकेर भर्खर नेपाल फर्केको थिएँ । मेरो एकजना आफन्तसँग भेट भयो । उहाँले स्नेहपूर्वक भन्नुभयो, ‘बाबु’ तिमी डाक्टरी पढेर त आयौ, तर एउटा कुरा कता–कता खल्लो लाग्यो ।’

‘के होला त्यस्तो जसले तपाईंलाई खल्लो गरायो?’ मैले सोधें । ‘तिमी किन मानसिक रोगसम्बन्धी विषय पढेर आयौ? यो मैले बुझ्नै सकिनँ । यो यस्तो विषय हो जुन हामी नेपालीलाई त्यति आवश्यक नै पर्दैन । तिमीलाई त यस्तो विषय र व्यवसायबाट जीवन धान्न पनि धौ–धौ पर्ला है !’

समय बित्दै गयो, म मानसिक अस्पतालमा काम गर्न थालें । मेरा ती आफन्त बेला–बेला मलाई भेट्न आइरहन्थे । एकदिन उनी मलाई भेट्न आएका बेला म बहिरङ्ग विभागमा व्यस्त थिएँ, बिरामीको निकै घुइँचो लागेको थियो । तीमध्ये कति त शान्त मुद्रामा पत्र–पत्रिका पढिरहेका थिए । कोही चाहिँ बाहिर चौरको छहारीमा सामान्य गफगाफमा व्यस्त थिए । मेरा आफन्तलाई अनौठो लागेछ ।

‘होइन, यहाँ पनि यस्तो भीड ! फेरि बिरामीजस्ता त कोही पनि देखिँदैन नि !’ उनले मुख खोले । बाहिरबाट झट्ट हेर्दा व्यवहार, बोली–चाली र उठ–बस सबै कुरा सामान्य देखिए पनि प्रायः सबै बिरामी ठूलै समस्याले पीडित थिए । यही कुरा मैले ती आफन्तलाई बताएँ । मानसिक रोग भनेको कस्तो हुन्छ, उनलाई अझै स्पष्ट भएको थिएन ।

संयोग भनौं कि के भनौं, केही समयपछि तिनै आफन्तको परिवारको एक सदस्य अर्थात् मेरो काकी साइनो पर्ने एक महिलालाई अनौठो रोग लागेछ । सुरुमा उनीहरुलाई बिरामीको अवस्था सामान्य नै लागेको रहेछ । मसँग सम्पर्क गर्नुपर्ने आवश्यकता पनि कसैले ठानेनछन् । यहाँ उपलब्ध प्रायःजसो सबै परीक्षण रगत, दिसा, पिसाब, एक्सरे, इन्डोस्कोपी आदि धेरैपल्ट भइसक्दा पनि केही पत्ता नलागेपछि सम्पूर्ण परिवार नै चिन्ताले ग्रस्त भएछ । सबै क्षेत्रका विशेषज्ञलाई देखाउँदा पनि केही लागेनछ । तर, कसैले पनि मानसिक रोग विशेषज्ञलाई देखाउने सल्लाह चाहिँ दिएनछन् । धेरै पटक परीक्षण गरेका चिकित्सकले घुमाउरो पाराले ‘मानसिक’ भन्न खोज्दा उनीहरुले ठाडै कुरा सुन्न इन्कार गरेका रहेछन् ।

दीर्घरोग भएपछि मानिसहरुबीच अनेक किसिमका कुरा हुन्छन् । यहाँ पनि मानिसैपिच्छे फरक–फरक विचार व्यक्त हुन थालेछन् । सबै किसिमका प्रतिक्रियाको सारांश एउटै हुन्थ्यो, ‘नेपालका डाक्टर रोग नै चिन्दैनन्, अन्दाजको भरमा उपचार गर्छन् । थोरै कडा रोग लाग्यो भने त नेपाल बाहिर नगई रोग नै पत्ता लाग्दैन ।’

मेरा आफन्तहरुले पनि यही निष्कर्ष निकालेर औकात अनुसार बिरामीलाई भारतको भेलोर पु¥याउने निर्णय लिएछन् । उनीहरुले काठमाडौंका एक वरिष्ठ चिकित्सकलाई भेटेर भेलोरका लागि रिपोर्ट लेखिदिन अनुरोध गरेछन् । डाक्टरले बिरामीको फाइल हेरेपछि अलि हिच्किचाउँदै भनेछन्, ‘तपाईंहरुले सबै विशेषज्ञलाई देखाए पनि एउटा विषय चाहिँ बाँकी नै रहेछ । भेलोर नै लाने भए पनि एकपटक मानसिक ... माफ गर्नुहोस् नसाको डाक्टरलाई पनि देखाउनुहोस् ।’

नसाको डाक्टर भन्नासाथ मेरा आफन्तलाई पहिलो पटक मेरो सम्झना आएछ । म मानसिक रोग विशेषज्ञ भए पनि दुई कारणले आफूलाई मानसिक तथा नसा रोग विशेषज्ञ भनेर चिनाउने गर्छु । एक त धेरै रोगीले आफूलाई नसाको रोगी भन्ने ठान्छन् र असजिलो अनुभव नगरी सहजै जँचाउन मान्छन् । दोस्रो कुरा, नसा रोगका डाक्टरकहाँ जाँदा बिरामीले असहज अनुभव गर्दैन र जँचाउन मान्छ । ती डाक्टरको सल्लाह सुनेपछि मेरा आफन्तले मेरो नाम लिँदै भनेछन्, ‘मेरा नातेदार नसाका डाक्टर छन् । तर, उनी त दिमाग बिग्रेकाको पो उपचार गर्छन् ।’

ती डाक्टरको सल्लाहपछि अन्ततः मेरा आफन्त त्यही दिन बिरामी लिएर सोझै मेरो घरमा आइपुगे । उनले मनको असजिलो लुकाउन खोज्दै भने, ‘तिमी मानसिक रोग मात्रै हेर्दैनौ हैन त? नसा रोगको पनि उपचार गर्छौ होइन ? तर, बिरामीको दिमाग त ठिकै छ जस्तो लाग्छ !’ बिरामी चिन्नै नसक्ने गरी दुब्लाएकी थिइन् । उनको अनुहार मलिन र उदासीन थियो । उनमा रोगका लक्षण नै अनगिन्ती थिए । शिरदेखि पाउसम्मै रोगबाट प्रभावित नभएको अङ्ग थिएन भन्दा पनि हुन्छ । टाउको दुख्ने, रिङ्टा लाग्ने, चक्कर लाग्ने, आँखा तिर्मिराउने, मुख सुक्ने, घाँटीमा केही अड्के जस्तो हुने, बेला–बेला मुटु बढी धड्केको अनुभव हुने, सास फेर्न गाह्रो जस्तो हुने, लामो सास लिन मन लाग्ने, पेटमा गोला हिँड्ने, कोखा दुख्ने, पेट पोल्ने, खान मन नहुने, कब्जियत हुने, पेट कहिल्यै सफा नहुने, हातखुट्टा झम्झमाउने, पोल्ने र चिसो–तातो हुने, छाला लाटो हुने, निद्रा राम्रो नलाग्ने, निदाउन खोज्दा एकैचोटि झस्केर ब्यँुझने र त्यसपछि ठ्याप्पै निद्रा नपर्ने, महिनावारी ठीक समयमा नहुने, ढाड दुख्ने आदि समस्या उनमा देखिए ।

मैले सोधपुछ गरेपछि अरू पनि थप समस्या थपिए– झर्को लाग्ने, रिस उठ्ने, केही गर्न मन नलाग्ने, झस्कने, डराउने, मनमा धेरै कुरा खेल्ने, बिहानीपख बढी नै दिक्क लाग्ने, दिन नै कसरी बिताउने होला जस्तो हुने, आधा दिनपछि चाहिँ केही हल्का हुने आदि । यति कुरा भनिसकेपछि मैले बिरामीलाई सोधेँ, ‘मन पनि कमजोर र चिन्तित छ, हो ?’ बिरामीले तुरुन्तै प्रतिवाद गर्दै भनिन्, ‘हैन, हैन..., मेरो मनलाई केही भएको छैन । भेलोर जानका लागि रिपोर्ट लिन ठूलो डाक्टर भनेर गएको, झन् उल्टो मलाई पागल ठानेर तिमीलाई भेट्न पो पठाइदियो ।’

मैले कुनै विरोध नजनाई सोधेँ, ‘चिन्ता लाग्ने, डर लाग्ने, केही गर्न मन नलाग्ने, झर्को लाग्ने पनि हुन्छ, हैन ?’ बिरामीले तुरुन्तै जवाफ दिइन्, ‘मलाई यस्तो रोग लागेर पो मेरो मन उदासीन र खिन्न भएको त । यो रोग ठीक भयो भने मेरो मन पहिले जस्तै भइहाल्छ नि !’ मेरा आफन्तले पनि पहिले नै ‘यसको मन निकै बलियो र सहनशील छ । यस्तो रोग लागेर पनि अझै हिम्मत हारेकी छैन’ आदि आदि भनिसकेका थिए । शरीरमा रोग लागेर रोगको पीरले मन कमजोर भएको नभई मानसिक उदासीनता, विरक्ति, दिक्दारीले गर्दा थुप्रै र अनेकथरी समस्या उनको शरीरमा जताततै देखिएका थिए । कति जनाले त उनलाई ‘रोग नै छैन, बहाना मात्रै गर्छे’ भनेर दोषारोपण पनि गरेका रहेछन् ।

मैले बिरामीलाई ढुक्क पार्ने उद्देश्यले भनेँ, ‘तपाईं नआत्तिनुहोस् यो दिमाग बिग्रने रोग हैन र तपाईंलाई डाक्टर साहेबले पागल भनेर मकहाँ पठाएको पनि हैन । काकीलाई थाहै छ नि, म नसासम्बन्धी रोगको पनि उपचार गर्छु । अहिलेसम्म तपाईंले नसाको डाक्टरलाई देखाउनुभएको रहेनछ । तपाईं आफँै भन्नोस् त, जे–जे कष्ट तपाईंलाई भएको छ, त्यस्तो सम्पूर्ण शरीर नै छुने रोग नसा रोगबाहेक अरू कुनै हुन्छ ? हाम्रा शरीरभरि नसा छरिएका हुन्छन् । नसा कमजोर भएपछि त्यसको असर जताततै पर्छ ।’ मैले जानी–जानी यसरी गवाँर पाराले अलिकति झुटो पनि बोलँ । उपचार गर्नका लागि मसँग अर्को विकल्प पनि थिएन । मैले उनलाई ‘तपाईं मानसिक रोगबाट पीडित हुनुहुन्छ’ भन्नुको परिणाम उनीबाट ठाडै उपचारको इन्कार निम्त्याउनु हुन्थ्यो । त्यससँगै हाम्रो सम्बन्ध पनि बिग्रन्थ्यो । तर, उनलाई नसाको रोग नै लागेको हो भन्ने अर्धसत्य कुराबाट बिरामीको मनमा प्रभाव प¥यो, ‘नसैले पो हो कि, मलाई यस्तो भाको, मलाई तिम्रो कुरा ठीकै लाग्यो’ उनले अन्त्यमा भनिन् ।

अब उनी मेरो सल्लाह मान्ने मनस्थितिमा पुगिन् । यसको अर्थ म आफ्नो काममा सफल हुँदै थिएँ । तर, अझै बिरामीलाई आफ्नो पूर्ण कब्जामा लिन मैले अर्को रामवाण पनि फ्याँके । ‘काकीलाई सम्पूर्ण रूपमा चेक–अप गर्न म भेलोर पठाउँछ’ । आफ्ना सबै शंकाहरु निवारण गर्नुपर्छ ।’ आफ्नो भेलोर पुग्ने अभिलाषा पूरा गर्न मबाट पनि थप सहयोग पुग्ने विश्वासमा अब उनी मैले भनेका कुरा मान्ने स्थितिमा पुगिन् ।

त्यही दिनदेखि मैले औषधि दिन सुरु गरेँ । उनलाई पहिलो रात नै गाढा र लामो निद्रा परेछ र भोलिपल्ट बिहान केही हल्का भएछ । २–३ दिनपछि खाना पनि मीठो लाग्न थालेछ, रोगका धेरै लक्षण घट्दै गएछन् । हप्ता दिनपछि मैले भेट्दा उनको एक केजी तौल बढेको थियो । मैले देख्नेबित्तिकै उनमा परिवर्तन आएको थाहा पाएँ । उनको ओठमा हल्का मुस्कान पनि थियो । आँखामा पनि केही चमक आइसकेको थियो । मैले भेलोर जाने योजना अलि पछि सार्न आग्रह गरँे । बिरामीले बिना प्रतिवाद आग्रह स्वीकार गरेको देख्दा रोग निको हुँदै गएको मलाई विश्वास भयो । त्यसपछि औषधि हेरफेर गरेर तीन हप्तापछि भेट्न सल्लाह दिएँ । तीन हप्तापछि काकी पूर्ण स्वस्थ भइसकेकी रहिछन् । त्यसपछि बल्ल मैले स्पष्ट शब्दमा भनें, ‘तपाईंलाई एक प्रकारको मानसिक रोग लागेको थियो । मैले तपाईंलार्ई त्यही रोगको औषधि दिएको थिएँ । तपाईंलाई मबाट औषधि गराउन मात्र मैले नसाको रोग भनेको थिएँ ।’

यहाँ वर्णन गरिएको बिरामीको विवरण प्रायजसो मानसिक रोगीका लागि आफूले भोगेको कथा हुन जान्छ । सामान्य र सस्तो उपचारले निको हुने रोग कहिलेकाहीँ बिरामीमाथि ठूलो व्ययभार बोकाएर पनि कम हुँदैन । यसको मुख्य कारण मानसिक रोग बारेको अज्ञान र भएको ज्ञान पनि गलत र भ्रमपूर्ण हुनु नै हो ।

मानसिक रोगबारे समाजमा रहेको पहिलो भ्रम यो रोग कतै–कतै मात्र देखा पर्छ र यस रोगका बिरामीको संख्या अरूको तुलनामा नगन्य छ भन्ने नै हो । अर्को खतरनाक भ्रम मानसिक रोग लागेको व्यक्ति निको हँुदैन र बेकम्मा हुन्छ भन्ने हो । यससँगै मानसिक रोगीलाई अस्पताल लैजाने होइन, यस्तो रोग त धामी–झाँक्रीले मात्र उपचार गर्न सक्छन् भन्ने भ्रम पनि कसै–कसैमा पाइन्छ ।

यसबाहेक मानसिक रोग कस्तो रूपमा देखा पर्छ र यस्ता रोगका के कस्ता लक्षण हुन्छन् भन्नेबारे अधिकांश व्यक्ति अनभिज्ञ हुन्छन् । यही अज्ञानताले गर्दा ठूलो आर्थिक अपव्यय, अनावश्यक दौडधूप, चिन्ता र अन्योलको वातावरण सिर्जना हुन्छ ।

मानसिक रोग तपाईं हामीले सोचेजस्तै कतै–कतै मात्र देखा पर्दैन र यस्ता रोगीको संख्या नगन्य पनि हुँदैन । विभिन्न देश र समाजमा बेलाबेलामा लिइएका सर्वेक्षणले आम जनसमुदायमध्ये विभिन्न खाले मानसिक रोगबाट झन्डै १५ प्रतिशत जनसंख्या पीडित छ । त्यस्तै, कडा खालको (पागलपन) मानसिक रोगबाट २ प्रतिशत जनसंख्या पीडित छ ।

यो तथ्याङ्क नेपालमा पनि लागू हुन्छ । यसबाट के अर्थ लाग्छ भने हाम्रो देशमा ७ लाखजति मानिस कडा खालका मानसिक रोगबाट पीडित भई विक्षिप्त अवस्थामा छन् र करिब ४५ लाख नेपाली हल्का र सामान्य समेत गरी कुनै न कुनै मानसिक रोगबाट पीडित छन् ।

यो विश्व स्वास्थ्य संगठनलगायत प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाको तर्फबाट मान्यताप्राप्त आँकडा हो । यसमा शंका गर्ने ठाउँ छैन । मुलुकमा ७ लाख मगज बिग्रिएका व्यक्ति र ४० लाखभन्दा बढी मानसिक रूपले पीडित व्यक्ति हुनु भनेको सामान्य समस्या होइन । यिनै मानसिक रोगीमध्ये कतिले त तपाईं हाम्रा केटाकेटी पनि पढाइरहेका छन् । कति सुन्दर भविष्य बनाउन कडा मेहनत गरेर पढिरहेका छन् भने कति विभिन्न कार्यालयमा हाकिम भएर पनि बसेका छन् । अझै कतिले त हामी चढेको गाडी हाँकेर हामीलाई गन्ङ्खवयमा पनि पु¥याइरहेका छन् । कतिले निको भएर व्यापार, व्यवसायमा ठूलो सफलता हासिल गर्ने रहरलाग्दो उन्नति गरिरहेका छन् । सामान्य जीवन बिताइरहेकाहरुमा पनि यति धेरै व्यापक रोग अरू कुनै हुँदैन । नसर्ने रोगमध्ये क्यान्सरबाट करिब १५ प्रतिशत, मुटु रोगबाट १६ प्रतिशत र मानसिक रोगबाट झन्डै २३ प्रतिशत जनसंख्या पीडित हुने गरेको तथ्यांक भेटिन्छ । 

अर्को महत्वपूर्ण पक्ष के हो भने मानसिक रोग प्रायजसो किशोरावस्था वा यौवनावस्थामा सुरु हुन्छ । युवा समुदायजस्तो समाजको मुख्य सम्पत्ति नै रोगी भइदिएपछि त्यसबाट देशलाई पर्ने सामाजिक र आर्थिक असरको सहजै अनुमान गर्न सकिन्छ । तथ्याङ्कको चर्चा गर्दा एक–अर्को आँकडा पनि थाहा पाउनु जरुरी छ ।

अस्पतालमा उपचार गर्न आउने व्यक्तिमा प्रत्येक चौथो व्यक्ति मूलतः मानसिक रोगबाट पीडित हुन्छ । यसको अर्थ एक दिनमा एउटा अस्पतालमा ४०० जना रोगी स्वास्थ्य जाँच गर्न आउँछन् भने तीमध्ये कम्तीमा सय जनाको मूल समस्या शारीरिक नभएर मानसिक हुन्छ । तर, आश्चर्यको कुरा के छ भने वीर अस्पतालको बहिरङ्ग विभागबाट मानसिक अस्पताल पठाइने रोगीमा दिनमा एक जना पनि मुस्किलले पर्छन् । यी रोगीहरु शारीरिक रूपमा कुनै रोग फेला नपर्नाले विभिन्न परीक्षण गराउन तल्लीन हुन्छन् । यस्ता रोगीलाई अनावश्यक रूपमा प्रयोगशाला र अरू परीक्षण उपकरणको पङ्तिमा अबेरसम्म उभ्याइदिनाले साँच्चिकै सिकिस्त बिरामीले बेलैमा सेवा पाउँदैनन् । यो तथ्य वीर अस्पतालको सिटीस्क्यान मेसिनमा देख्न सकिन्छ । अहिलेको स्थिति नियाल्दा मानसिक रोगीहरुले सामान्य टाउको दुखेको कारण थाहा पाउनकै लागि पनि सिटीस्क्यान गर्न समय लिइदिन्छन् । त्यहाँ तुरुन्तै भर्ना गरी टाउकोको अप्रेसन गर्नुपर्ने सिकिस्त बिरामीले चाहिँ त्यहाँको सुलभ सेवा लिन कैयौँ दिन कुर्नुपर्ने हुन्छ ।

मानसिक रोग निको हुँदैन भन्ने समाजको ठहर अर्को ठूलो भ्रम हो । सुरुमै औषधि ग¥यो भने मानसिक रोग चटक गरेझँै निको हुनसक्छ । अर्कोतिर प्रारम्भिक अवस्थामा मानसिक रोगको उपचार सरल र सहज छ । बहुसंख्यक बिरामीलाई भर्ना नगरीकन घरमै राखेर पनि औषधि गर्न सकिन्छ ।

मानसिक अस्पतालमा प्रतिदिन औसत ७० देखि ८० जनासम्म बिरामी जँचाउन आउँछन् । तीमध्ये केही रोगको कारणले भन्दा पनि दुर्गम ठाउँबाट आएका र बाहिर बस्न नसक्ने हुँदा भर्ना भएका हुन्छन् । अरू कतिपय रोगभन्दा मानसिक रोगको उपचारको परिणाम प्रभावकारी र सन्तोषपूर्ण हुन्छ । मानसिक रोग–पागलहरु समेत) राम्रोसँग उपचार गरेपछि फेरि काम गर्न सक्ने र प्रगति पनि गर्न सक्ने हुन्छन् । यिनीहरुलाई बेकम्मा भइसकेको ठान्नु ठूलो भूल र दुर्भाग्य हो ।

करिब दुई प्रतिशत विक्षिप्त बिरामीबाहेक अधिकांश मानसिक रोगीले रोगको कारणभन्दा पनि यो मानसिक रोग नै हो भन्ने थाहा नपाएर या थाहा दिँदा पनि स्वीकार नगरेर बढी दुःख पाउँछन् । यिनीहरुमध्ये अधिकांशलाई शरीरमा विभिन्न किसिमको अनुभव हुन्छ । माथि उल्लेख गरेका मेरा नातेदारलाई जस्तै शरीरमा कडा रोग छ, त्यसैले पत्ता लाग्न सकेन भन्ने विश्वास बढ्दै जान्छ । कहिलेकाहीँ बिरामी मात्र हैन, रोगको प्रकृति देखेर हामी चिकित्सकहरु पनि चकित हुन्छाँै । चिकित्सकले मानसिक रोग छ कि भन्ने सम्भावना व्यक्त गर्नासाथ बिरामी डाक्टरसँग विद्रोह गरेर उसको सल्लाह लिन छोड्छ । अर्को डाक्टरकहाँ पुग्छ या आफ्नो दिमाग ठीक अवस्थामा भएको र पागल नभएको अडान लिँदै प्रमाण दिन खोज्छ । सही सल्लाह दिन खोज्ने चिकित्सकलाई नै निरुत्साहित पार्न खोज्दछ । ‘तपाईंलाई पागलपन जस्तो कडा मानसिक रोग हैन, सामान्य मनको अशान्ति हो र यसबाट पागलपन निस्कने सम्भावना छैन’ भन्दा पनि बिरामीको चित्त बुझ्दैन ।

छालामा दाद आएको एउटा रोगीलाई ‘यो कुष्ठरोग हैन, सामान्य छालाको रोग मात्र हो’ भन्दा उसले सहजै स्वीकार गर्छ । तर, मानसिक रोगीलाई ‘तपाईंलाई पागलपन हैन सामान्य मानसिक रोग लागेको रहेछ’ भन्दा उसले स्वीकार गर्न नचाहनु पनि मानवीय स्वभावको अनौठो रूप हो । ‘सामान्य रोग हो, पागलपन हैन’ भनेपछि ‘मेरो मनलाई सामान्य असर परेको रहेछ’ भनेर स्वीकार्न किन सकिँदैन ? अर्को कुरा, रोग, उपचार र परीक्षण भनेपछि हामी शरीरका अङ्गहरुलाई मात्र विचार गर्छौं । तर, सम्पूर्ण शरीरलाई परिचालन गर्ने जटिल र महङ्खवपूर्ण अङ्ग मनलाई हामी बिर्सन्छौँ । पेट जस्तो साधारण अङ्गमा त अनेकाँै रोग लाग्छन् भने मनजस्तो जटिल अङ्ग त्यत्तिकै रूपले प्रभावित हुनु अस्वाभाविक पनि त होइन । तर पनि, मनमा रोग लाग्नुलाई कुनै अभिशापको रूपमा लिएर होला हामी स्वीकार गर्न चाहँदैनौँ । यसरी साधारण रोग लागेको व्यक्तिले पनि अज्ञान र भ्रमपूर्ण विश्वासले गर्दा अनावश्यक दुःख पाउँछ र उसको समयमै उपचार हुन पाउँदैन । जसलाई आफ्नो रोगको सही जानकारी हुन्छ र मानसिक रोगी हुँ भनी स्वीकार गर्छ उसका लागि पनि उत्साहित भएर ढुक्क हुने स्थिति छैन ।

देशभरिका झन्डै ४५ लाख मानसिक रोगीका लागि आज नेपालमा मुस्किलले ६० जना मात्र मानसिक रोग विशेषज्ञ छन् । यीमध्ये अधिकांश काठमाडौंमा छन् । उपत्यकाबाहिर कार्यरत केही मानसिक रोग विशेषज्ञ पनि उचित वातावरणको अभावले आफ्नो सेवा दिन सकिरहेका छैनन् । त्यस्तै, ७ लाखजति विक्षिप्त मानसिक रोगीका लागि सरकारी स्तरमा ५० जति शैय्याको एउटा मानसिक अस्पताल छ । यीभन्दा थप शैय्या देशका शिक्षण अस्पतालहरुमा मात्र छन् । पछिल्ला वर्षमा चाहिँ विराटनगर, वीरगन्ज, भरतपुर, भैरहवा, नेपालगन्ज र पोखराका मेडिकल कलेजमा पनि मानसिक रोगको उपचार हुन थालेको छ । उपचार पाउन नसक्ने बिरामी भने अहिलेसम्म भाग्यमा भरोसा राख्दै रोगबाट मुक्त हुने आशाकै भरमा बाँचिरहेका छन् । परिवारका एक जनालाई मानसिक रोग लागेपछि सम्पूर्ण परिवार नै प्रभावित हुने भएकाले पनि मानसिक रोगका बिरामी र तिनका आफन्तको अवस्था निकै बढी दूर्भाग्यपूर्ण हुनेगर्छ ।

नेपालमा अहिले मानसिक रोगको स्थिति र उपलब्ध सेवाको तुलना गर्दा स्थिति निकै चिन्ताजनक देखिन्छ । तैपनि यसप्रति जनचासो र सरकारी प्राथमिकता निकै कम छ । यो समस्याबाट पीडित व्यक्ति र तिनका आफन्त पक्कै पनि सचेत भएको हुनुपर्छ । उनीहरुलाई आफू या आफ्नो घरमा मानसिक रोगी हुनु कत्तिको पीडादायक हुन्छ भन्ने राम्रो अनुभव छ । यो अवस्था त्यसबेला मात्र फेरिएला जब जनमानसमा मानसिक रोगप्रतिको अज्ञान र भ्रम निवारण हुन्छ र मानसिक रोग लाग्नु पनि अरू रोगजस्तै हो भन्ने पर्छ । त्यो बेला यिनको पनि उपचार हुन्छ भन्ने विश्वास सिर्जना हुन्छ । सचेत हुनुस्, ‘मुलुकभरिका ४५ लाख मानसिक रोगीमध्ये कतै तपाईं वा तपाईंको घरका सदस्य पनि त हुनुहुन्न ?’  

(मञ्जरी पव्लिकेसनले प्रकाशन गरेको मानसिक रोग विशेषज्ञ डा विश्ववन्धु शर्माको पुस्तक मानसिक स्वास्थ्यका विविध अनुभवको एक अंश हो यो यसमा संकलित सामग्री निकै उपकारी ज्ञानवध्र्दक ठानेर प्रकाशकसँगको सहमतिमा हामीले प्रकाशन गरेका हौं पुस्तकका प्रत्येक अंश निकै उपयोगी छन्,जसलाई क्रमश प्रकाशन गरिने

 

 

 

आँखा जोगाउने पाँच तरिका यस्ता छन्

एजेन्सी । हाम्रो शरिरको महत्वपूर्ण अंग आँखाको स्वास्थ्यमा सचेत हुनु जरुरी छ । बेलैमा आँखालाई खराब हुनबाट बचाएन भने दिर्घकालमा आँखाको समस्याबाट

 अंगुरले हर्ट अट्याकबाट जोगाउँछ 

अहिले अंगुरको मौसम हो । हपहपी गर्मीले चिटचिट पसिना आउने मौसम भएपनि यसपाली भने पुरै चैत र वैशाखका दुइदिन सिमसिमे पानीले चिसो बनाएको छ, वातावरण । मौसमले

छ महीनादेखि बन्द अस्पताल सञ्चालन

दमौली, १ वैशाख । जनशक्ति अभावले छ महीनादेखि बन्द रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका–११ साँखेस्थित ढोर फूलबारी शहीद अस्पताल सञ्चालनमा आएको छ । गत

 व्यक्तिलाई आनन्द दिने अनौठो रोग

केही वर्षअघि एउटा पत्रिकामा छारेरोगसम्बन्धी मेरो लेख छापिएपछि क्लिनिकमा छोप्ने भनिने यो रोगका बिरामीको भीड लाग्न थाल्यो । पत्रिका बजारमा