झारपातबाट सुन्दर चित्र बनाउँछिन् कलाकार मिलन  

चिप्लेढुङ्गा । पोखरा महानगरपालिका माछापुच्छ्रे मार्ग्स्थित मिलन शेरचनको घरभित्र पस्दा कोठाका भित्ता वरिपरि व्यवस्थित कलाकृतिको उत्कृष्ट नमूना देख्न सकिन्छ । 

जापान बसाईका क्रममा सिकेको हानानो ओशिआना सीपलाई नेपाल फर्केपछि प्रयोगमा ल्याएर कला क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल भएकीछिन् कलाकार मिलन । हानानो ओशिआना अर्थात् सुकाइएका झारपातबाट चित्र बनाउने कलाले स्थापित गरेको छ शेरचनलाई । 

हानानो ओशिआना जापानी शब्द हो । दाजु अमेरिकामा भएका कारण उनलाई पनि अमेरिका जाने अवसर मिल्यो । केही समय अमेरिका बसाइपछि त्यतैबाट उनी जापान छिरिन् । जापान बसाइमा साइतो सान भन्ने साथीसँग उनी एउटा कला प्रदर्शनीमा पुगिन् । त्यहाँको कलाबाट उनी प्रभावित भईन् । जापानी कलाकार नोहारा उमीबाट हानानो ओशिआनाका बारेमा सिकिन् । जापान बसाइकै क्रममा पहिलेदेखिकै चिनजान भएका सत्यनारायण शेरचनसँग उनको विवाह भयो । बिहेको केही समयपछि उनीहरू दुवै नेपाल फर्किए । 

पाँच वर्ष जापान बसेपछि सन् १९९८ मा नेपाल फर्केसँगै यो कलालाई भित्र्याएर व्यावसायिकतामा प्रवेश गरेकी हुन् शेरचन । रहरको कलालाई व्यावसायितकतामा पु¥याउन उनी सफल भएकी छिन् । सानैदेखि फरक काममा रुचि राख्ने र सिर्जनामा रमाउने बानीले हानानो ओशिआनाको कलामा स्थापित गरेको उनको भनाइ छ । “केही न केही नयाँ कर्ममा रमाउने बानी थियो । घर र कोठा सजाउन मकैका भुत्ला हुन् कि, दिदीले स्वेटर बुन्दा फालेका धागाका टुक्रा, जे पाए त्यसलाई कुनै कलामा सजाउन मन लाग्थ्यो । मेरो रगतमै सिर्जनशीलता दौडिरहन्थ्यो । त्यसले सफल बनायो”, कलामा लगाव र धैर्य चाहिने उल्लेख गर्दै उनले भनिन् । 

विद्यालय तहमा गृह विज्ञान लिएकाले पनि कलासँग जोडिन अझै सहज भएको उनको भनाइ छ । उनका हजुरबुबा भीमबहादुर भट्टचन धनशमशेर जबराको मोहारियाटोलस्थित दरबारमा सीतारावादक र तवलावादक थिए । बुबा झपटबहादुर भट्टचन पनि हस्तकलामा पोख्त थिए । कला र सङ्गीतको पारिवारिक पृष्ठभूमि भएर पनि होला मिलनमा पनि त्यो गुणको प्रभाव भेटियो । उनी चित्रकलामा मात्र नभई साहित्य र सङ्गीतमा पनि उत्तिकै रुचि राख्छिन् । 

विसं २०३४ मा मकैको भुत्लाबाट बनाएको पुतलीको चित्र राम्रो भएको भन्दै पोखरेली युवा सांस्कृतिक परिवारले महिला तथा बालबालिका हस्तकला प्रदर्शनीमा उनलाई पुरस्कृत ग¥यो । त्यसपछि २०४१ सालमा पनि उनले पुरस्कार पाईन् । उनको ऊर्जा झनै बढ्यो । 

त्यसपछि पोखराका स्थापित कलाकारसँग उनको सङ्गत भयो । कलाकार बुद्धि गुरुङले उनलाई चित्रकलाको बारेमा सिकाए । चित्रकलाको ज्ञानले स्तरीय सिर्जनाका लागि मिलनलाई हौस्यायो । 

यही हौसलाकै कारण उनले पहिलोपटक २०५८ सालमा थकाली सेवा समिति नदीपुरमा पहिलो एकल चित्रकला प्रदर्शनी आयोजना गरिन् । सोचेभन्दा धेरै दर्शक आए । कलाको निकै प्रशंसा भयो । यही प्रेरणाले उनले पोखरा र काठमाडौँमा लगातार चार वर्षसम्म एकल चित्रकला प्रदर्शनी आयोजना गरिन् । सामूहिक चित्रकलामा भने उनले दर्जनौँपटक सहभागिता जनाएकीछिन् । 

रातको समयमा सिर्जना गर्न उत्कृष्ट लाग्छ उनलाई । “कल्पनाका विभिन्न चित्राकृतिलाई उतार्न शान्तिपूर्ण वातावरण चाहिन्छ । सबै सुतिसकेपछि आफ्नो सिर्जनामा तल्लीन हुन मन पराउँछु”, उनी सुनाउँछिन् । प्रकृतिलाई जीवन्त उतार्न बढी मन पराउने उनी आफ्ना सिर्जनालाई रु २०० देखि दश हजारसम्ममा बिक्री गर्छिन् । शेरचनले कास्कीका विभिन्न गाउँमा कला कार्यशाला गोष्ठीको संयोजक भएर कार्यक्रमसमेत गरेकीछिन् । 

हानानो ओशिआना भनेको सुकाइएको झारपातको उचित समिश्रण गरी जीवन्त राख्नु हो । यसरी प्रयोग हुने झारपात हाम्रै वरपर पाइन्छ । आफू यताउता डुल्दा देखिने मौसमी फूल तथा घाँसपात नै कला सिर्जनाका लागि उपयुक्त सामग्री हुन् । घर आँगन, करेसाबारी, खेतबारी, भिरपाखा चौरतिर उम्रने झारपातको सदुपयोग गर्न जाने झारपातलाई जीवन्त पार्न सकिन्छ र आर्थिकरूपमा सशक्त बन्न सकिन्छ भन्ने नमूनाकी पात्र हुन् शेरचन । कलाको मर्म बुझ्नेले मात्र चित्र किन्ने गरेको शेरचन बताउँछिन् । 

नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान हस्तकला विभागबाट विद्वत्वृत्तिसमेत पाइसकेकी शेरचन दर्जन बढी सङ्घ संस्थाबाट सम्मानित भइसकेकी छिन् । ‘प्रथम नेपाली १०१ महिला’ पुस्तकमा समेत उनी समावेश भएकी छिन् । केही न केही गरिरहन मन पराउने शेरचनले कला क्षेत्रभन्दा बाहिर पनि निकै उदाहरणीय काम गरेकी छिन् । सामाजिक सेवामा समेत उत्तिकै सक्रिय शेरचनले ‘सुन्दर पोखराका कर्मठ नारी भाग १ र २’ को प्रकाशन गरेर विभिन्न क्षेत्रका महिलालाई समाजमा चिनाउने कामसमेत गर्दै आएकी छिन् । (राससमा जमुना वर्षा शर्माको रिपोर्ट ।)

 पलेँटीमा संगीतकार विक्रम गुरुङ

साउन  ।  यो महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा प्रसिद्ध संगीतकार विक्रम गुरुङको प्रस्तुति हुने भएको छ । यसका निम्ति हङकङबाट

उनकै स्मृतिमा: गायक अरुण थापा र चोटको कथा-व्यथा

अहिले जुन ठाउँलाई ‘ठमेलको भाइ झमेल’ भनिन्छ, त्यही झम्सीखेलमा एउटा चर्चित घर थियो । नेपाल बैंक लिमिटेडका वरिष्ठ अधिकृत गन्जुबहादर थापाको त्यो घर,

बालिकालाई ‘युवा प्रतिभा पुरस्कार’

इलाम । पत्रकार जसुदा प्रधानको स्मृतिमा स्थापित ‘युवा प्रतिभा पुरस्कार’ कवयित्री बालिका थपलियालाई प्रदान गरिएको छ । शनिबार यहाँ आयोजित

सलमानको भिडियो भाइरल

एजेन्सी । पछिल्लो समय सामाजिक संजालमा भाइरल भइरहेको ‘बोतल क्याप च्यालेन्ज’ मा बलिउड स्टार सलमान खान पनि सामेल भएका छन् । उनले यसमा आफ्नो