‘सामान्य ज्ञान नभएका व्यक्तिलाई निगम जिम्मा लाउनु नै ठूलो भूल’

अहिले पछिल्लो समय नेपाल वायुसेवा निगम (नेवानि) ले खरिद गरेको एयरबस ए ३३० वाइडबडी जहाजबारे खबरहरु आइरहेको छ । नेवानिले जहाज ल्याउनु अनिवार्य नै थियो । 

मेरो अनुभव अनुसार भन्ने हो भने एयरबसको तुलनामा बोइङ धेरै नै अब्बल छ । विश्वबजारमा नै यो तथ्य स्थापित छ । विश्वका चर्चित कम्पनीहरु इमिरेट्स र कतार एयरवेजहरुमा बोइङ र एयरबस दुबैको जहाज भएपनि बोइङ ठूलो संख्यामा हुन्छ । यदि बोइङको तुलनामा एयरबस उत्कृष्ट भए पक्कै पनि यी नाम चलेका कम्पनीमा एयरबसका जहाजहरु नै धेरै हुन्थे ।

बोइङको साटो वाईडबडी किन ?

त्यस्तै एयर इन्डियासँग जति पनि जहाज छन्, वाइवबडी जहाजहरु सबै बोइङकै मात्र छन् भने न्यारोबडी जहाजहरु सबै एयरबसको मात्र छन् । नेवानि व्यवस्थापनले बोइङको जहाज छोडेर एयरबस ल्याएको बिषयमा म धेरै भन्न चाहन्न ।

टेन्डर आव्हान देखिनै त्रुटी

यसअघि एयरबसको ए३२० (न्यारोवडी) जहाज ल्याउने बेलामा म त्यहाँको अपरेशन विभागको निर्देशक थिए । हामीले जहाज खरिद गर्दा सिधा एयरबस कम्पनीसँग खरिद गरि ल्याइएको हो । त्यसबेला जहाज बेच्नको लागि बोइङ कम्पनी पनि प्रतिस्पर्धामा थियो । एयरबसको ए३२० तुलनामा बोइङ ७२७ जहाज महँगो थियो । त्यही कारण एयरबस खरिद गरियो । सुरुवातमा उक्त जहाज पनि पाइलटको अभावको कारण उड्न नसके पनि अहिले राम्रोसँग संचालन भइरहेको छ । तर पछिल्लो समय खरिद गरिएको ए३३० सिरिजको वाइडवडी जहाजको कुरा गर्दा यसमा टेन्डर आव्हान देखिनै त्रुटी भएको देख्छु । 
 

ब्राण्डेड जहाज मात्र ल्याईएको इतिहास

नेवानिको इतिहासमा आजसम्म कुनै पनि जहाज खरिद गर्दा नयाँ जहाज मात्र ल्याईएको इतिहास छ । चाहे त्यो ट्वीन अटर होस् या हेलिकप्टर, बोइङका जहाजहरु, एयरबसका जहाजहरु ल्याउँदा होस् हरेक पल्ट नयाँ जहाज मात्र खरिद गरिएको छ ।  यसको विपरित टेण्डरमा जहाज ‘१ हजार घण्टा उडान भएको’ हुनुपर्ने भनिएको छ र ती बिषयलाई मन्त्रीपरिषदबाट समेत पास गराइएको खबर आइरहेको छ । यसमा गम्भीर प्रश्न रहेको देख्छु । यसो हुनुको मुख्य कारण बिचौलिया खडा गरि चलखेल गर्ने नियत नै नै नै रहेको देखिन्छ । 

पुरानो जहाजको माग किन ?

पुरानो जहाज भन्नुपर्ने अवस्था किन आयो भनेर म आफैं चकित छु । नयाँ जहाज किन्न नपाइने होइन । एयरबस र बोइङको विकल्प हाम्रो सामु छ । मेरो व्यक्तिगत अनुभव अनुसार एयरबसको न्यारोवडी चाहिं बजारमा राम्रो गरिराखेको छ भने ए३३० सिरिजको वाइडबडी जहाज नचलेर बन्द हुने अवस्थामा रहेको छ । यस्तो जहाज नेवानिले किनेर ल्याएको छ । यदि एयरबसनै किन्नु परेको भए ए३५० सिरिजको ल्याएको भए तुलनात्मक रुपमा राम्रो मान्न सकिन्थ्यो । जुन बजारमा आइसकेको छ । 

आफ्नो गल्ती लुकाइ बजारमा भ्रम छर्न अहिले पछिल्लो समय कार्यकारी निर्देशकले ए३२० को न्यारोवडी जहाज र ए ३३० को वाइडबडी जहाजमा धेरै समानता रहेको बताइरहेका छन् । तर सत्य चाहिं दुईवटा जहाज एउटै कम्पनीको भएपनि इन्जीन फरक हो, स्पेसीफिकेसन फरक हो । सोही कारण पनि एउटाको स्पेयर पार्टस् अर्कोमा लाग्दैन भने एउटा जहाज उडाउने पाइलटले अर्को जहाज उडाउन पनि सक्दैनन् । वजन नै फरक पर्ने जहाजमा समानता छ भन्नु सरासर गलत हो । 
 

गल्ती लुकाउन भ्रमको खेती

यसको विपरित एयरबसको न्यारोवडीहरु ए२९०, ए३२० र ए३२१ हरुचाहिं एकआपसमा समान छन् । त्यस्तै बोइङमा ७७७ र ७८७ पनि धेरै नै समानता छ । दुबै जहाज वाइडबडी भएकोले इन्जीन एउटै हुनेहुँदा त्यसलाई संचालन गर्न तुलनात्मक रुपमा सजिलो छ । एयरबसकै ए३३० र ए३४० दुबै वाइडबडी भएकाले तिनमा पनि समानता छ । अहिलेको सबैभन्दा बढि विवाद भएको विषय जहाजको वजनको पनि हो । टेन्डर अनुसार २४२ टनको हुनुपर्छ भनिएको जहाज १२ टन (१२ हजार केजी) कम अर्थात् २३० टनको मात्र दिइएको छ । सबैभन्दा पहिले जहाजको वजनको विषयमा कुरा गरौं ।

कुनै ७७७ सिरिजको वाइडबडी जहाज ६ घण्टा मात्र उड्न सक्ने हुन्छन् भने सोही सिरियल नम्बरको जहाज कुनै १८ घण्टासम्म उड्ने पनि हुन्छ । यस्तो हुनुमा जहाजको टेकअफ वजनले फरक पार्छ । यसमा भएको तेल बोक्न सक्ने क्षमता, यात्रु बोक्ने क्षमता र लगेज बोक्ने क्षमता अनुसार जहाजको वजन हुने हो । जहाजले बोक्न सक्ने क्षमता नै जहाजको वजनमा भर पर्छ । १२ टन क्षमता घट्दा तेल बोक्ने क्षमता घट्नुको साथै पैसा कमाउने मुख्य श्रोत कार्गोको क्षमता पनि घट्छ । 

जस्तो क्षमता उस्तै उडान

जहाजको तेल बोक्ने क्षमता कम भएपछि धेरै लामो दुरीको यात्रा गर्न सकिँदैन । कम्तीमा १२ घण्टा माथि उड्दा नाफा कमाउने जहाज छोटो दुरीमा वजन नै कम भएको कारणले गर्दा उडाउँदा जहाजको आयु पनि घट्दै जाने र छोटो दुरीमा लागत पनि उच्च पर्न जाँदा यसले नेवानिलाई अपेक्षाकृत नाफा दिन सक्दैन ।

१२ टन किन कम ?

स्पेसीफिकेसनमा २४२ टन लेखेर जहाज २३० टनको ल्याउने कार्य कुनै पनि आधारमा सहि हुन सक्दैन । १२ टन घट्नासाथ जहाजको क्षमतामा ठूलो कमि भइसक्यो । तर अचम्मको कुरा छ, हामीले मूल्य भने २४२ टनकै तिरेका छौं । यस्ता कारणले पनि वायुसेवा संचालकले जहाज किन्नु अघि नै निर्माता कम्पनीलाई कुन क्षेत्रमा उडाउने, कस्तो आवश्कता हो, त्यो सबै बताउनु पर्छ । अनि निर्माताले आवश्यकता बुझेर उपयुक्त जहाज दिन्छन् । 

यसको विपरित हचुवाको आधारमा जहाज किन्ने अनि २४२ टनको जहाज ल्याउने भन्दै १२ टन कम क्षमताको जहाज ल्याइ यति क्षमता नभएर केहि फरक पर्दैन भन्दै मजाक बनाउने कुरा अपाच्य छ । यसको असर भोलिका दिनमा देखिन्छ । १२ टन कम हुँदा अर्बौं रुपैंयाँ नेवानिलाई घाटा पुग्छ । 
त्यस्तै जहाज आउने मिति यसअघि नै थाहा हुँदा पनि गन्तव्य टुंगो लगाउन नसक्नु पनि नेवानिको कमजोरी देखिएको छ । जहाज आउनुअघि नै आउने मिति थाहा भइसकेपछि पाइलट र क्रुहरुलाई तयार पार्नुपर्छ । कुन क्षेत्रमा उडाउने हो, त्यसको स्वीकृती लिनु पर्नेमा अहिलेको व्यवस्थापने नागरिक उड्डयन प्राधिकरणबाट एयर अपरेटर सर्टिफिकेट (एओसी) लिन पनि धेरै समय लाग्यो । 

लाजमर्दो लापरवाही

नेवानिले वाइडबडी जहाज किन्दा अपनाएको लापरबाही शैली त सामान्यता मान्छेहरुले गाडी किन्दा पनि गर्दैनन् । गाडी किन्नेले पनि कमसेकम यो भन्दा बढि ध्यान दिन्छन् । जहाज आउनु अघि तयारी नगरेर जुन किसिमको समस्या भएको छ र जहाजलाई अहिले जसरी संचालन गरिएको छ, यसले पनि नेवानिलाई अर्बाैं घाटा पर्ने पक्का छ । 

जहाजको आयुलाई उडान घण्टा, जहाजको समय सीमा र टेकअफ र ल्याण्डीङको साइकलको आधारमा हेरिन्छ । ठूला एयरलायन्सहरु साइकलको आधारमा जहाज संचालन गरेर अत्यधिक मुनाफा आर्जन् गर्दछन् । हाम्रो जहाज पार्किङमा राख्ने र छोटो गन्तव्यमा उडाउने काम गरेर नेवानि डुबाउने काम भइरहेको छ । 

यसरी आयु घट्दै गएपछि केहि समयमा रेगुलर चेक गर्न, इन्जिन परीक्षण गर्न पठाउँदा फेरी करोडौं रकम खर्चनु पर्छ । जहाजले छोटो दुरीमा उडान गर्दै घटाएको आयुले नेवानिलाई आर्थिक रुपमा असर पार्ने पक्का छ । 

कंसाकार जिम्मेवार 

व्यवसायिक योजनाको अभावमा पनि कम्तिमा १५–१६ घण्टा उडाउनु पर्ने जहाज नउड्दा नेवानि व्यवस्थापनलाई अहिले छट्पटी हुनुपर्ने हो । तर त्यस्तो भएको देख्न सकिएको छैन । यसरी हरेक क्षेत्रमा भएको कमजोरीको जिम्मेवारी वाइडबडी जहाज खरिद गर्दा नेतृत्व लिएका प्रबन्ध निर्देशक सुगत रत्न कंसाकारले नै लिनुपर्छ । सामान्तया हरेक क्षेत्रमा नेतृत्वले नै हरेक कमजोरीको जिम्मेवारी लिने चलन हुन्छ । जस्तो म क्याप्टेनको रुपमा लामो समय काम गरेको व्यक्ति हुँ । म क्याप्टेन रहेको जहाजमा को–पाइलट हुन्छन्, क्याबिन क्रु हुन्छन् । मैले जहाज उडाउनको लागि सहिछाप गरेपछि उक्त जहाज मेरो जिम्मेवारी भित्र आउँछ  । केहि कमजोरी हुँदा मैले जहाज, उत्पादन, इन्जिन कसैलाई जिम्मेवारी देखाउँदै म पन्छिन मिल्दैन । नेतृत्वले नै सबै जिम्मेवारी लिनुपर्छ,पन्छिन मिल्दैन ।

अन्य मन्त्रीले राम्रो वा नराम्रो गर्दा प्रधानमन्त्रीले नै त्यसको श्रेय पाउने गरेको हाम्रो अगाडि स्पष्ट देखिएको छ । सोहीकारण पनि यस घटनामा प्रबन्ध निर्देशकले जिम्मेवारी लिनुपर्छ । राम्रो भएको भए पनि उहाँले नै श्रेय पाउनु हुन्थ्यो । 

त्यस्तैगरी सानो सानो कारण देखाउँदै यहाँ नेवानिको जहाजहरु ग्राउन्डेड हुने समस्या पनि देखिन्छ । विश्व आकाशमा ७२७ सिरिजका जहाजहरु उडिरहेका छन् । म अहिले भारतमा बोइङको ७५७ सिरिजकै जहाज उडाईरहेको छु । आजको मितिसम्म मैले त्यहाँ जहाज उडाउँदा केहि समय उडानमा ढिलो हुने बाहेक जहाज ग्राउन्डेड भएको थाहा पाएको छैन । यसको मुख्य कारण जहाजको पर्याप्त ‘मेन्टेनेन्स’ नै हो । 

हाम्रो बोइङ ७५७ मा सधैं समस्याको थाक देखाउने प्रवृत्ति चाहिं ‘नाच्न नजान्ने आँगन टेढो’ मात्र हो । उडाउन योग्य जहाजमा हुँदैनभएको समस्याहरु देखाउने प्रवृत्ति राम्रो होइन । यदि सबै पुरानो जहाजमा समस्या छ भन्ने हो भने नयाँमा त्यो समस्या नदेखिनु पर्ने हो । तर नेवानिको वाइडबडीमा समेत समस्याहरु आइरहेका छन् । 

यी सबै समस्याको जड भनेको, बिना योग्यताको व्यक्तिलाई नेवानिको प्रबन्ध निर्देशक नियुक्ती गर्नु नै हो । भारतको उदाहरण लिने हो भने एयरलायन्सको प्रमुख पदमा नियुक्त हुन एउटा एभिएसन भन्ने परीक्षा पास गर्नुपर्ने हुन्छ । उक्त पदको लागि योग्य हुन एभिएसन पढ्नै पर्ने र एयरलायन्सको बारेमा बुझ्नै पर्ने हुन्छ । 

ज्ञान नभएका व्यक्तिलाई जिम्मेवारी दिँदाको फल

नेपालमा त्यति ठूलो जिम्मेवारीको पदमा पुग्न पनि केहि योग्यता नै नचाहिने ? टेक अफ वजन र ल्याण्डिङ वजन कम हुँदा के फरक पर्छ ? १२ टन कम हुँदा के असर पर्छ भन्ने जानकारी नभइ कसरी नेवानिको प्रमुख पदमा पुग्न सकिन्छ ? बुझ्न गाह्रो छ ! अष्ट्रेलियाको सिधा उडान गर्ने उद्घोष गर्दै ल्याएको भन्दै प्रचार गरिएपनि म ठोकुवा गरेर भन्छु, यो जहाजले अष्ट्रेलियाको सिधा उडान गर्न सक्दैन । यसको मूल कारण भनेकै जहाज २३० टनको मात्रै हुनु हो । 

क्षमता कम हुने बित्तिकै जहाजले इन्धन कम बोक्छ । कम इन्धन हुने बित्तिकै दुरी पक्कै पनि कम हुन्छ । यो जहाज बढिमा ८ घण्टा भन्दा बढि उड्न सक्दैन । सोही कारण युरोप उड्ने कुरा चाहिं गफमै सीमित हुने पक्का छ । यहि हिसाबले अबको १०–१२ बर्षमा नेवानिले २० औं अर्ब नोक्सानी व्योहोर्नु पर्नेछ । (सरल पत्रिकाले क्याप्टेन शर्मासँग शनिबार गरेको वार्ताको सम्पादित अंश

 


 


 

\"शेरबहादुरजीले आफू पनि बाँधिन्छु भन्ने कुरा बुझ्नुभएन\": शेखर कोइराला

डाक्टर साब, कांग्रेसको स्वास्थ्य कस्तो छ ? बिरामी अवस्थामा देख्छु । कताकता मलाई लाग्छ, संविधान बनाउँदा नै हामी पछाडि पर्‍यौँ । हाम्रो नेतृत्वमा

 ‘निर्मला पन्तका हत्यारा पत्ता लाउनु पानी तताएजस्तो काम होईन’–बिष्णु रिमाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका हत्यारा पत्ता लाउनु

   जेठो टेलरिङ्ग सेन्टरको कथा

यो हो काठमाडौंको श्रेष्ठ टेलरिङ्ग सेन्टरको कथा । काठमाडौंको बागबजारमा चलिरहेको श्रेष्ठ टेलरिङ्ग सेन्टर कपडाका पारखीका लागि नौलो नाम होईन

प्रदेशलाई प्रदेशकै रुपमा बुझ्नुपर्छ, ती अलग राष्ट्र होइनन्ः प्रम ओली

काठमाडौँ ।  संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको आजै सात महीना