चिटिक्क बन्यो चिनसँगको कोराला सडक

मुस्ताङ, १९ मंसिर । चीनसँगको सीमाना कोराला जोड्ने छोसेर–कोराला सडक चिटिक्क बनेको छ ।
स्तरोन्नति गरिएपछि मुस्ताङ सदरमुकाम जोमसोमलाई कोरालासम्म जोड्ने यो सडक रमणीय बनेको हो । कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाले लोमान्थाङ गाउँपालिका–१ छोसेरदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा पर्ने कोरला नाकाको २४ नम्बर पिलरसम्मको १६ किलोमिटर सडक स्तरोन्नति गरेको हो ।
जोमसोम–कोरला खण्डमा सात वटा प्याकेजमा भइरहेको सडक स्तरोन्नति आयोजना मध्ये कोरला नाकातर्फको अन्तिम प्याकेजको काम सकिएको आयोजनाका इञ्जिनीयर जगत प्रजापतिले बताए ।
ट्रयाक मात्र खोलिएको अवस्थामा रहेको सडकलाई ११ मिटर फराकिलो, नाली, ग्यावियन पर्खाल, मेशिनरी पर्खाल निर्माण र ग्राभेल गरिएको छ । २०७३ देखि सडक स्तरोन्नतिको काम शुरु भएको थियो ।
४८ करोड लागत अनुमान गरिएको छोसेर–कोरला सडक स्तरोन्नतिका लागि दिवा–रौताह–एपेक्स जेभीले २९ करोडमा ठेक्का लिएको थियो । समुद्री सतहदेखि चार हजार ६ सय मिटरको उचाइको भूगोलमा प्रतिकूल मौसम भएपनि पर्याप्त मजदुर र उपकरण परिचालन गरेर सम्झौता अवधिभित्रै काम सकेको निर्माण कम्पनीका प्रतिनिधि सकबहादुर लालचनले बताए ।
११० किलोमिटर दूरीको जोमसोम–कोरला सडकअन्तर्गत अन्य छवटा प्याकेजको भौतिक प्रगति ७० प्रतिशतभन्दा बढी रहेको आयोजनाले जनाएको छ । सडक स्तरोन्नति भएपनि कोरला नाका भने बन्द नै छ ।