नेत्री सु कीले भनिन्, ‘काठमाडौं त परिवर्तन भएछ’

काठमाडौं, १४ मंसिर । म्यानमारकी स्टेट काउन्सिलर आङ सान सु कीले काठमाडौं परिवर्तन भएको बताएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा म्यानमारकी नेत्री सु कीले ४५ वर्ष अघिको काठमाडौंका सम्झिदै पुराना स्मरण ताजा बनाएकी हुन् । उनले प्रधानमन्त्रीसँगको भेटमा भनिन, ‘काठमाडौं त धेरै परिवर्तन भएछ । अब पहिले जस्तो छैन ।’

उनी सन् १९७३ मा काठमाडौं आएकी थिइन् । उनको सन् १९७२ मा बेलायती नागरिक माइकल एरिससँग बिहे भएको थियो । माइकल अनुसन्धानका क्रममा सन् १९७३ मा नेपाल आएका थिए । उनीसँगै सु की पनि नेपाल आएकी थिइन् ।

त्यतिबेला लामो समय नेपालमा बसेकी सु कीले पुराना कुरा गरिन् । उनले जेठो छोरालाई काठमाडौंमै हुर्काएकी थिइन् ।