रानीपोखरीमा डढेलोको डर 

 जमलको आकाशे पुलमाथि चढेर दक्षिणतर्फ हेर्दा सायद कसैको पनि मन शान्त रहँदैन होला । जोसुकैको पनि मन हुँडलिएर आउँछ । दिक्दार लाग्छ र राज्यको ठेक्का लिएका शासकहरुमाथि रिस पनि उठेर आउँछ । हो, आजको रानीपोखरीले नेकपाको शक्तिशाली सरकारलाई गिज्याएको मात्र होइन,उसको अकर्मण्यतालाई छताछुल्ल पारिदिएको छ । भूकम्प भएको ३ वर्ष ६ महिनापछि पनि रानीपोखरीको पुनर्निर्माण हुन सुरु नहुनु भनेको हाम्रो सरकारको चानचुने कमजोरी होइन ।

स्थानीय निर्वाचन भएको २२ महिना पुगिसक्यो । नेकपाको शक्तिशाली सरकार गठन भएको पनि ९ महिना भयो । रानीपोखरीको बिजोग जस्ताकोतस्तै छ । बरु रानीपोखरीको पुनर्निर्माणलाई लिएर काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीवीच एकसरो लडाईं भइवरी सकिएको छ । तर पानी र माछा हुने पोखरीमा आज सुकेको झारले ढाकेको छ । र कुनै चुरोट तान्ने बटुवाले सलाई कोरेर वा चुरोटको ठुटो त्यता फाल्यो भने हिजोको रानीपोखरीमा आज डढेलो लाग्ने डर छ ।

 साँच्चै भन्ने हो भने अहिलेको सरकार र नेकपाकै प्रतिनिधिले नेतृत्व गरेको काठमाडौं महानगरपालिकाको अकर्मण्यताले पोखरीको परिभाषा नै परिवर्तन भएको छ एक अर्थमा । पोखरी भन्नेबित्तिकै त्यसमा पानी हुन्छ । तर रानीपोखरीमा झार र घाँस छन् । हाजिरी जवाफ र कहिलेकाहीं लोकसेवा आयोगले सोध्ने सामान्य ज्ञानको प्रश्नमा पोखरीको वीचमा के हुन्छ भनेर सोध्दा धेरैले पानी वा माछा भन्थे । अबका परीक्षार्थीले त्यसमा घाँस थप्ने छन् यदि तिनीहरुले अहिलेको रानीपोखरीको हालत देखे भने ।

माथि भनिए झैं रानीपोखरीमा आगलागी भयो भने के होला ? सुख्खा समयमा यस्तो हुने धेरै सम्भव रहन्छ । यदि त्यस्तो घटना भैगयो भने हाम्रा संचार माध्यमहरुले ‘रानीपोखरीमा डढेलो’ भनेर मूख्य समाचार बनाउने नै छन् । त्यस्तो डढेलोको त्राशमा त्यस क्षेत्रका धेरै संरचनाहरुमा बस्ने आत्तिने नै छन् । महानगरीय प्रहरी प्रभागको मूख्य कार्यालय देखि त्रिचन्द्र क्याम्पस अन्य भवन जोगाउन दमकल प्रयोग हुने गर्छ । त्यसको फुटेज टिभी र सामाजिक सञ्जालमा छाउने छ । र नेपाल संसारमा पोखरीमा आगो लाग्ने एउटैमात्र देश भनेर चिनिने छ । पोखरीमा आगो लाग्ने स्थिति आउनु भनेको नेकपाको सरकार हल्लिने स्थिति आउनु हो ।

४–५ महिनासम्म निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न अपराधी पत्ता लाउन असफल यो सरकारले अर्को झट्का बेहोर्नु पर्नेछ । सन् २०१५ भूकम्पमा भत्किएका सम्पूर्ण संरचनाहरुको पुनर्निर्माण भैरहँदा पनि रानीपोखरीको पुनर्निर्माणको काम अझै सुरु भएको छैन । रानीपोखरीमा जस्तै विवाद भएको काष्ठमण्डपको काम सुरु भैसकेको छ । धरहरा बनाउन धमाधम छ र रानीपोखरी नजिकैको दरबार हाईस्कूल पनि चिनियाँ सहयोगमा बन्न थालिसकेको छ । तर रानीपोखरी अझै पनि सुकेका झारले छोपिएर बसेको छ ।

अहिले राष्ट्रपतिलाई १८ करोडको गाडी किनिने भन्ने समाचारले राष्ट्रपतिको मानमर्दन भएको छ । सरकारको आलोचना गर्नेको संख्या बढिरहेको  छ । मिडिया र सामाजिक संजालमा आएका सामग्रीलाई हेर्दा जर्ज अरवेलले लेखेको ‘एनिमल फार्म’ लाई अहिले नेपालमा मंचन गर्ने प्रयाश गरिएको देखिन्छ । किन कम्युनिष्ट पार्टीबाट निर्वाचित राष्ट्रपतिलाई १८ करोडको मोटर चढ्नु पर्यो ? बरु सरकार र स्वयं राष्ट्रपतिले घोषणा गरेर राष्ट्रपतिलाई गाडी किन्न छुट्याएको १८ करोड रानीपोखरी पुनर्निर्माणमा खर्च गरे सरकारको गिर्दो लोकप्रियता र राष्ट्रपतिको गरिमा बच्ने थियो । तर यतापट्टि कसैको ध्यान गएको देखिँदैन ।

प्रताप मल्लले ४०० वर्ष अघि बनाएको रानीपोखरीको यस्तो हालत कहिल्यै भएको थिएन होला । मल्ल,शाह,राणा,पंचायत र बहुदलीयकालसम्म राम्ररी संरक्षित रानीपोखरी अहिले गणतन्त्र नेपालमा पुनर्निर्माणको लागि याचना गरिरहेको छ छातिमा सुकेका घाँस बोकेर । हो भूकम्पले पोखरी भत्कियो रे । तर चारचार वर्षसम्म भूकम्पलाई मात्र दोष दिन भएन । यसको पुनर्निर्माण नहुनु भनेको सरकार,पुनर्निर्माण प्राधिकरण र महानगरपालिकाको अकर्मण्यता हो । राजधानीको महत्वपूर्ण स्थानमा रहेको रानीपोखरीको विजोग प्रदर्शन गरेर सरकार र महागनरले के गर्न खोजेका हुन् बुझ्न सकिँदैन ।  धरहरा बनाउन जसरी स्रोत जुटाईयो,त्यसैगरी रानीपोखरीका लागि किन जुट्दैन ?

कतै रानीपोखरीले चर्चेको जग्गा हडप्ने दाउमा यो विलम्व त भैरहेको होईन ? किन कि नेकपा कै नेताहरुले यो सरकारलाई दलाल र बिचौलियाले छेकिरहेको भन्न थालिसकेका छन् । रानीपोखरीको पुनर्निर्माणमा तदारुकता देखाएर काम सुरु गराईहाले पनि अहिले भैरहेको सरकारी प्रभावकारिता र लोकप्रियताको क्षयिकरणमा कमी ल्याउन सकिन्छ । तर यसतर्फ कसैको ध्यान गएको देखिँदैन । 
 

भारतका दुई राज्यमा क्षेत्रीय पार्टी अत्यधिक बहुमत नजिक

काठमाडौं । भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनमा दुई राज्यमा क्षेत्रीय पार्टी अत्यधिक बहुमत नजिक पुगेका छ । नरेन्द्र मोदीको सत्तारुढ भारतीय

 धर्म र रिलिजन एकै होइन 

हामी कहिलेकाहीं गुटुमुटु भएर लत्रिएको डोरी देखेर झसङ्ग हुन्छौं, मुटु ढक्क फुल्छ डरले । किनभने हामी डोरीमा सर्पको मिथ्यानुभूति गछौं । यो मिथ्याभाषलाई

म महिलावादी होइन, मानवतावादी हूँ

म आफूलाई महिलावादी भन्दिन । महिलावाद र पुरुषवादमा मलाई विश्वास पनि छैन । म मानवतावादी हूँ । मानिसलाई महिला या पुरुषका रुपमा नहेरेर मानवका रुपमा

क्रिस्चियन ‘ब्लेसिङ’ र समृद्धि

इसाई धर्मको एउटा मत प्रतिनिधित्व गर्ने युनिफिकेसन चर्चको प्रचारका लागि त्यसैसँग आबद्ध गैरसरकारी संस्था, युनिभर्सल पिस फाउन्डेसनले काठमाडौंमा