के हो ध्यान, को हुन् अप्सरा ?

प्रश्न आएको छ, कथा पुराणहरुमा दानवहरुले ध्यान भंग गराएको कुरा आउँछ । काहीँ अप्सराहरुले ध्यान भंग गराएको कुरा आउँछ । यो के हो ? वास्तवमै इन्द्रले अप्सरा पठाएर कुनै तपस्वीको तपस्या भंग गराएको हो ? त्यस्तो हो भने अहिले अप्सरा पठाउँछन् कि पठाउँदैनन् ? अहिले ध्यान गर्न बस्यो भने अप्सराहरु या दानवहरु ध्यान भंग गर्न आउँछन् कि आउँदैनन् ? सुन्दर प्रश्न छ । 

आउँछन् । अहिले पनि आउँछन् । 

अहिले पनि अप्सराहरु तपस्या भंग गर्न आएका छन् । ध्यान भंग गर्न आएका छन् । अहिले पनि दानवहरुले ध्यान भंग गरेका छन् । ध्यानमा बसेर त हेरौं, अनि थाहा हुन्छ । कस्ता–कस्ता अप्सराहरु ध्यान भंग गर्न आउँदा रहेछन् ? मेनका, उर्वशी विभिन्न प्रकारका सुन्दर अप्सराहरु आज पनि ध्यान भंग गर्न आउँछन् । तर हामीले चिन्न सक्नुपर्छ । इन्द्र के हो ? अप्सरा के हुन् र दानवहरु के हुन् ? जसले हाम्रो ध्यान भंग गराउँछन् । 
म शान्त हुन्छु, एकैछिन चित्तलाई स्थिर गर्छु । शान्त भएर बस्छु र आफ्नै आनन्दमा डुब्छु । बाहिरको आनन्द त खूब भोगियो, अस्थायी आनन्द, अस्थायी सुख यसलाई कति भोग्ने ? यो छोडिदिउँ । आफ्नैबाट उत्पन्न हुने सुखतिर जाऊँ । चित्तलाई शान्त हुन दिउँ भनेर बस्यो त्यही बेलामा नकारात्मक विचारहरु आउँछ । नराम्रा विचारहरु आउँछन् । यी नराम्रा विचारहरु नै दानवहरु हुन् । यिनीहरुले हाम्रो ध्यान भंग गराउँछन् ।

ध्यानमा बस्दा डर उत्पन्न हुन्छ । काहीँ अँध्यारोमा प्रवेश गरेको र त्यो अँध्यारोमा एक्लै भएको अनुभव हुन्छ र यो बेलामा हामीलाई डर लाग्छ । यो डर नै दानव हो जसले हाम्रो ध्यान भंग गराइदिन्छ र डरबाट हामी त्रसित भएर ध्यानबाट बाहिर आउँछौं । मनमा आउने नकारात्मक विचारहरु दानव हुन् जसले हाम्रो ध्यान पनि भंग गर्छ र हामीलाई कहिल्यै सुखी हुन पनि दिँदैन । दुःखतिर लिएर जान्छ र सुख प्राप्त गर्छु भन्ने भाव इन्द्र हो । अहिले जस्तो छ, त्यसले पुगेन, सुखको कल्पना गर्छौं । स्वर्गको कल्पना । स्वर्गमा कति सुख होला । कति राम्रो होला । यो कल्पना, यो भाव राजा  हो । यो स्वर्गको राजा । किनभने सुखको भावले हामीलाई सुखतिर लिएर जान्छ । तर भावना हो, कल्पनाको लड्डू खाएर पेट त भरिँदैन नि ।

हो, कल्पना गर्दा पनि मजा आउँछ । यो दानव हैन, यसले दुःख दिँदैन । कल्पना गरेको छ तर प्रिय कल्पना । बडो मिठासपूर्ण कल्पना । सौन्दर्यको कल्पना गरेको छ, सुखको कल्पना गरेको छ, आनन्दको कल्पना गरेको छ, राम्रो हो । नकारात्मक विचारहरु भन्दा सकारात्मक विचारहरु अति नै उत्तम हुन् । तर कल्पना त कल्पना हो । धारणा त धारणा हो । सत्यचाहिँ हैन । यिनीहरुले सत्यमा जानबाट रोक्छन् । यो कल्पना, यो सुख पाउने भाव, यो भाव मात्रै हो । यो स्थायी हुँदैन । र, यहाँ कति सुन्दर कल्पनाहरु हुन्छन् । आहा, कति राम्रो दृश्य होला । कति राम्रा मानिसहरु होलान् । स्वर्गमा मीठामीठा खानेकुराहरु खान पाइएला । राम्रा–राम्रा स्त्री पुरुषहरु होलान् जसको सान्निध्यमा बसेर रमाउन पाइएला । यिनै हुन् अप्सराहरु । यो सुन्दरताको कल्पनामा हामी रमाउँछौं, यी अप्सराहरु हुन् । यिनीहरुले हाम्रो ध्यान भंग गर्छन् । ध्यानमा चुपचाप बस्यो, विचारहरु आउन थाल्छन्, आहा, म ध्यानमा छु, ध्यान गर्दा कस्तो रमाइलो हुने हो । अब के–के दृश्यहरु आउँछन् होला । आँखा बन्द गरेपछि के–के देखिन्छ होला । हामी कल्पनाको दुनियाँमा प्रवेश गर्छौं । विचार त विचार हो । राम्रो विचार भए पनि विचार हो, नराम्रो विचार भए पनि विचार हो । किनभने विचारले सत्यलाई हेर्नचाहिँ दिँदैन । सत्यमाथि पर्दा लगाइदिन्छ । सत्यको पर्दा विचारहरु हुन् ।

त्यसैले शुभ हुन् या अशुभ हुन् विचारप्रति सजग हुनुपर्छ । विचारहरुले यति मीठोसँग झुक्याइदिन्छन् हामीलाई जब ध्यानमा जान्छौं, व्यक्ति झुक्किन्छ । यति राम्रा–राम्रा दृश्यहरु देखिन्छन्, अनि त्यही दृश्यको पछाडि लाग्छौं । मेरो मनकै खेल हो, मेरो मनले नै अप्सरा पठाएको हो । मनले खेल खेल्छ । म उच्चतम सुख भोग्न सक्छु, भोग्छु भन्ने मन छ । त्यो मनले खेल खेल्छ । सुख पाएकै छैन । कल्पना गरेर यही हो सुख बाबु भनेर बनाएर पठाइदिएको छ । नक्कली सुख पठाएको छ । मनले नक्कली भगवान् पठाइदिएको छ । सक्कली भगवान् त आएकै छैन । सक्कली भगवान्को दर्शन गर्न बाँकी छ । पहिल्यै नक्कली भगवान् पठाइदिएको छ । मनले बडो खेल खेल्छ, छल गर्छ । यही छली हो इन्द्र । सुखको छल जसले गर्छ जुन मनले सुख पाएको भ्रम उत्पन्न गराएर छल गर्छ, यही हो इन्द्र । र, यो छल गरेर पठाइएका सुन्दर दृश्यहरु अप्सराहरु हुन् ।


साधकहरुले बच्नुपर्छ । जसले साधना गर्छ, जो आफूभित्र प्रवेश गर्छ, शुरुमा यस्ता अनगिन्ति दृश्यहरु आउँछन् । यहाँबाट बच्नुपर्छ । हो, आउन दिऊँ, जस्ता–जस्ता दृश्यहरु आउँछन्, आउन दिऊँ । कल्पनाहरु आउँछन्, धारणाहरु आउँछन्, आउन दिऊँ । तर आफू उनीहरुको संसर्गमा नजाऊँ । तटस्थ बनौं । मेनका आओस्, या उर्वशी आओस्, उनीहरुको मोहमा नपरौं । हामी मोहित हुन्छौं कहिल्यै देख्न नपाएको दृश्य देख्न पाइयो नि त ।

‘ए बाबा, यस्तो दृश्य कहिल्यै देखेको थिइनँ । यस्ता भगवान्हरुको दर्शन कहिल्यै भएको थिएन । यो त चमत्कार भयो’– हामी उसको पछि लाग्छौं । र यदि हामी ती दृश्यहरुको, ती कल्पनाहरुको, आप्mनै मनको, धारणाहरुको जालोमा फस्यौं भने अगाडिको यात्रा बन्द हुन्छ । हैन, यहाँ रोकिनुछैन, निरन्तर अगाडि बढ्नु छ । यसैलाई भगवान् बुद्ध भन्नुहुन्छ, चरैवेदि, चरैवेदि । हिँडिराख, हिँडिराख । नरोक्किउँ । रोकियो कि गयो । हामीलाई यी दृश्यहरुले रोक्छन् । अति नै प्यारा छन्, सुन्दर छन्, हेर्दाखेरि नै मनलाई मोहित गर्ने प्रकारका छन् । यस्तो त बाहिरी संसारमा कहिल्यै देखेको थिएन । फेरि आनन्ददायी छन् । सुखदायी छन् । रमाइलो पनि लाग्छ । सुखको अनुभव पनि हुन्छ । अनि हामीलाई लाग्छ– अन्तिम यही   हो । ध्यानको अन्तिम उपलब्धि यही नै हो । यस्तो सुख भएको छ, यस्तो आनन्द आएको छ, यस्ता सुन्दर दृश्य देख्न पाएको छु, पुगिहाल्यो नि अब । यही अन्तिम हो भन्ने हामीलाई लाग्छ । तर यो मनको खेल हो । यो भ्रम हो । यसबाट अगाडि जानुपर्छ । यी अप्सराहरुले हामीलाई सताउँछन् । विभिन्न प्रकारका सुखका, आनन्दका र सौन्दर्यका दृश्यहरु हामीभित्र उत्पन्न हुन्छन् ।

हामीले कथा, पुराणहरुमा सुनेको प्रसंग यही हो । कथा, पुराणहरुले भित्रको कुरा बताएको हो । बाहिरको कुरा हैन । ध्यान गर्दाखेरि कुनै मानिस बाहिर आएर नाचेर उसलाई मोहित बनाएर, छल गरेर ध्यान भंग गर्ने हैन, ध्यान भंग बाहिरबाट हुँदैन । ध्यान भंग भित्रबाट हुन्छ । मेरो मनमा चल्ने कल्पना, विचारहरुबाट ध्यान भंग हुन्छ । मेरो मनले ध्यान भंग गर्ने हो र यी कथा, पुराणहरुले यतातिर संकेत गरेका छन् । हामीले पुराणहरुलाई बुझ्न सकेनौं । यसको रहस्यलाई जान्न सकेनौं । त्यसैले हामीले मेनका, उर्वशी, इन्द्र इत्यादिलाई व्यक्ति बनायौं ।

बाहिर कुनै व्यक्तिहरु छन् । बाहिर कुनै स्वर्ग छ र त्यो स्वर्गबाट कोही व्यक्ति आएर हाम्रो ध्यान भंग गर्छन् । यस्तो रुपमा बुझ्यौं । 
तर यो बुझाइ ठीक हैन । यी सबै कथाहरु प्रतीकात्मक हुन् । हामीभित्रको अवस्थालाई व्याख्या गर्नका लागि, हामीभित्रको अवस्थालाई देखाउनका लागि, बाहिर उदाहरण प्रस्तुत गरिएको मात्रै हो । स्थिति भित्र छ, ध्यानको अवस्थामा राम्रा कुराहरुले पनि हामीलाई विचलित गर्छ । नराम्रा कुराहरुले पनि हामीलाई विचलित गर्छ । हाम्रो बाटोबाट, पथबाट, नराम्रा कुराहरुले मात्रै पथ भ्रष्ट गर्छ भन्ने लाग्छ । हैन, राम्रा कुराहरुले पनि पथ भ्रष्ट गरिरहेको हुन्छ । 

तर साधनाको लागि न सकारात्मक न नकारात्मक दुवै प्रकारका विचारहरुबाट मुक्त हुनुपर्छ । न स्वर्ग न नर्क, दुवैबाट मुक्त हुनुपर्छ । न पाप, न धर्म दुवैबाट मुक्त हुनुपर्छ । यो नै मुक्ति हो । मुक्ति भनेको पापबाट मुक्त भएर धर्ममा प्रवेश गर्नु मुक्ति हैन । मुक्ति भनेको दुवैबाट माथि उठ्नु हो । 
दुवै प्रकारका विचारहरुले सत्य हेर्न रोक लगाउँछन्, सत्यचाहिँ निर्विचारमा छ । जहाँ विचार शून्य हुन्छ, खाली हुन्छ, भगवान् बुद्धको शून्यता, यहाँ छ सत्य । कुनै पनि प्रकारको विचार रोकुन्जेलसम्म हामी त्यो सत्यलाई हेर्न सक्दैनौं । यो सत्यलाई जान्न सक्दैनौं । त्यसैले विचार शान्त हुनुपर्छ । निष्तरङ्ग हुनुपर्छ । मनमा कुनै प्रकारको तरङ्ग आउनु हुँदैन र कुनै पनि प्रकारको विचारले हाम्रो मनलाई तरङ्गित गर्छ । चाहे शुभ, चाहे अशुभ जेसुकै आओस्, राम्रो आओस् नराम्रो आओस्, तटस्थ भएर बस्नुपर्छ । राम्रो विचार आयो त्यो पनि ठीक, नराम्रो आयो त्यो पनि ठीक । दुवै क्षणमा तटस्थ हुने र आफ्नै विचारहरुको निरीक्षण गर्ने, थाहा मात्रै पाउने, राम्रो विचार आए पनि मलाई थाहा छ, नराम्रो विचार आए पनि मलाई थाहा   छ । थाहामा रोकिने, थाहा हो ध्यान । सजग हुनु हो ध्यान । विषयमा जानु ध्यान हैन । सम्पूर्ण विषयबाट मुक्त हुनु ध्यान हो । हामी सबैलाई ध्यान गर्ने अवसर मिलोस् ।  

(जीवन विज्ञान प्रतिष्ठानका संस्थापक तथा जीवन विज्ञान विशेषज्ञ रमेश नेपालको रेडियो प्रवचनबाट उतारिएको सामग्री)
 

 जीवनमा समस्या आयो भने के गर्ने ? यस्ता छन् समाधानका उपाय

जीवनमा समस्या आउँछ । जीवन छ समस्या पनि छ । जीवन भएपछि दुःखसुख आउनु स्वाभाविक हो । किनभने सुख र दुःखबाटै जीवन सञ्चालित हुन्छ । जीवनका दुईटा खुट्टाहरु

डिजे र लाउडस्पिकर चर्को स्वरमा बजाउन नपाइने

नेपालगञ्ज, १९ मंसिर । नेपालगञ्जमा अबदेखि चर्को स्वरमा लाउडस्पिकर र डिजे बजाउन नपाइने निर्णय गरिएको छ । नेपालगञ्जमा भएको सर्वपक्षीय बैठकले यस्तो

अब भक्तको काखमा बस्दिनँ, जथाभावी नाच्दिनँ: राधे माँ

काठमाडौं । राधे माँका नामले चर्चित सुखविन्दर कौरमाथिको कारवाही हटाइएको छ । उनले लिखित रुपमा माफी मागेपछि जूना अखडाले उनीमाथि गरेको कारवाही फिर्ता

जानकी मन्दिरबाट मुख्यमन्त्री स्वच्छता अभियान शुरु

जनकपुरधाम, १३ मंसिर । प्रदेश २ सरकारले जानकी मन्दिर परिसरको सौन्दर्यीकरण कार्यक्रमबाट विकास निर्माण कार्यको शुभारम्भ गरेको छ । मुख्यमन्त्री