क्रिकेटर दिल्सान अब राजनीतिमा

२९ कात्तिक । श्रीलंकाका पूर्व क्रिकेटर तिलकरत्ने दिल्सान राजनीतिमा प्रवेश गरेका छन् । दिल्सानले बुधबार माहिन्दा राजापाक्षेको पार्टीमा सहभागी भएर राजनीति यात्रा शुरु गरेका हुन् ।
राष्ट्रपती मैथ्रीपाला सिरिसेनाले गत अक्टोबर महिनामा रनिल विक्रेमेसिंघेलाई अपदस्त गरी राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । तथापी राजापाक्षेले संसदमा विश्वासको मत भने लिन असफल भए ।
४२ वर्षीय दिल्सानले राजपाक्षेले हालै बनाएकौ श्रीलंका पिपल्स फ्रन्ट पार्टीको सदस्यता लिएका हुन् । श्रीलंकामा अहिले चरम राजनैतिक संकट छाएको छ ।
सन् २०१६ मा क्रिकेटबाट सन्यास लिएका दिल्सानले यस विषयमा आधिकारीक रुपमा केहि नबोलेपनि राजापाक्षेको पार्टीले दिल्सानले सदस्यता लिएको तस्विर सार्वजनिक गरेको छ ।
दिल्सानले क्रिकेट जिवनमा ८७ टेष्टमा ५ हजार ४ सय ९२ रन बनाए भने ३९ विकेट पनि लिएका थिए ।
श्रीलंकामा क्रिकेट करियर पछि राजनीतिमा लाग्ने दिल्सान पहिलो व्यक्ति भने होइनन् । श्रीलंकाका धेरै क्रिकेटरहरु यसरी राजनीतिमा होमिएका छन् ।
श्रीलंकाको विश्वकप विजेता टोलीको कप्तान अर्जुना रनतुंगा पनि राजनीतिमा प्रवेश गर्दै विक्रेमेसिंघेको क्याबिनेटमा मन्त्री नै रहेका थिए ।