श्रीलंकामा गम्भीर गडवडी, नेपाललाई महत्वपूर्ण पाठ

काठमाडौं । श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेनाले संसद भंग गरेर नयाँ चुनाव घोषणा गरेका छन् । राष्ट्रपतिले प्रधानमन्त्री रणिल विक्रमसिंघेलाई वर्खास्त गरेपछि श्रीलंकाको राजनीति तरल बनेको थियो। विक्रमसिंगेको ठाउँमा आफ्ना चीर प्रतिद्धन्दी महिन्दा राजापाक्षेलाई सिरिसेनाले प्रधानमन्त्री नियुक्त गरेका थिए । 

राजापाक्षेले संसदमा आफ्नो पक्षमा बहुमत सिद्ध गर्न प्रयास गरेका थिए तर सकेनन् । त्यसपछि राष्ट्रपतिले संसद नै भंग गरेका हुन् ।


श्रीलंकालाई संवैधानिक रुपमा अस्थिर देश मानिन्छ, खासगरी कार्यकारी अधिकार राष्ट्रपति र प्रधानमन्त्री कसमा रहने भन्ने विषयमा । कुनैबेला त्यहाँ राष्ट्रपति कार्यकारी बने, कुनैबेला प्रधानमन्त्री कार्यकारी बने । अहिलेको संविधानले राष्ट्रपति र प्रधानमन्त्रीमा कार्यकारी अधिकार धेरै हदसम्म बाँडेको छ । तथापि राष्ट्रपति नै निर्णायक छन् ।

नेपालमा कतिपय राजनीतिक समूहहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ भनेर रुमानी सपना बाँडिरहेका छन् । सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले पनि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ भनिरहेका छन् । पार्टी एकीकरणको मेलोमेसो मिलाइँदै गर्दा उनले प्रधानमन्त्री र राष्ट्रपतिमा कार्यकारी अधिकार बाँड्ने र दुई पदमध्ये एक लिने मनसुवा देखाएका थिए ।

श्रीलंकामा अहिले विगतदेखि जे भइरहेछ र अहिले जे भइरहेछ त्यसबाट नेपालले पाठ सिक्नुपर्छ । नेपालले विगतदेखि अपनाउँदै आएको कार्यकारी प्रधानमन्त्रीको प्रणालीबाट दायाँवायाँ हुन हुँदैन । प्रणाली फेरेर नेपालको समस्या समाधान हुँदैन, प्रणालीभित्र पद्धति स्थापित गरेर मात्र कुनै पनि मुलुकले राजनीतिक स्थायित्व पाउन सक्छ ।

भारतको गुप्त खेल

सेना पठाएर अन्य देशमा हस्तक्षेप गर्ने युग सकिएको छ । सेनाभन्दा सशक्त एजेण्डा हुन्छ, आफ्नो हित अनुकूलको एजेण्डा अन्य देशमा स्थापित गर्ने नयाँ विश्वव्यवस्था अहिले चलिरहेछ । यो विश्वव्यवस्थामा बलिया देशहरुले कमजोर देशमा आफू अनुकूलका सरकार स्थापित गर्न होडवाजी चलिरहेछ । दक्षिण एसियामा यस्तो होडवाजीमा भारत र चीन मुख्य खेलाडी हुन् । श्रीलंकामा पनि भारत र चीनकै खेल देखियो ।

श्रीलंकाको अघिल्लो चुनावमा अहिलेका प्रधानमन्त्री सिरिसिना र हालै अपदस्थ प्रधानमन्त्री विक्रमसिंघेको गठवन्धनले चुनाव जित्यो । तत्कालीन राष्ट्रपति राजापाक्षेको पार्टी पराजित भयो । यो जय पराजयमा आफ्नो भूमिका भएको लगभग खुलेआम भारतले घोषणा गर्यो । राजापाक्षेलाई जसरी पनि पराजित गराउने भारतीय रणनीति सफल भयो । 

यो प्रकरणमा ध्यानयोग्य कुरा के छ भने भारतले श्रीलंकाको चुनावमा धाँधली गरेर मतपत्र बदलेको थिएन, मतदाताको मन बदलिदिएको थियो । अर्काे देशका मतदातालाई आफ्नो स्वार्थ अनुकूल हिँडाउन, मत दिने बनाउन अनेक जालझेल गरिन्छ, नानाथरीको एजेण्डा र अफवाह फैलाइन्छ ।

भारतले राजापाक्षेलाई जसरी पनि हराउनुको कारण थियो— उनले चीनसँग सम्बन्ध विस्तार गर्न थाले । चीनसँग सम्बन्ध बढाएको ‘अभियोग’मा श्रीलंकाकै मतदातालाई अगाडि सारेर भारतले राजापाक्षेलाई दण्ड दियो । आफू अनुकूल हिँड्न नमान्ने पार्टी र नेतालाई दण्ड दिने यस्तो भारतीय नीति नेपालमा पनि प्रयोग हुँदै आएको छ र आगामी दिनमा पनि प्रयोग गर्न भारतले अवश्य प्रयास गर्नेछ ।

शत्रु बनेका मित्र

भारतको नजरमा नेपालका केपी ओलीजस्तै श्रीलंकाका राजापाक्षे पनि चीनपरस्त हुन् । चुनावमा पराजित भएपछि राजापाक्षेले भारतसँग हिमचिम बढाउन थाले । भारतले पनि राजापाक्षेलाई च्याप्न थाल्यो । छिमेकमा राजनीतिक स्थिरता हुन हुँदैन भन्ने भारतीय नीति अनुसार राजापाक्षेलाई भारतले उपयोग गर्न खोज्नु स्वाभाविक थियो । सत्ताको भोका दक्षिण एसियाली नेताहरुको साझा चरित्र हो— देशलाई लात मारेर भए पनि कुर्सीमा पुग्नु । यो चरित्र राजापाक्षेमा पनि नहुने कुरै भएन । 

भारतले राजापाक्षेलाई च्याप्नुको मुख्य कारण चाहिँ श्रीलंकाका राष्ट्रपति सिरिसेना चीनतिर ढल्किुन नै हो । आफ्नो सहयोगमा राष्ट्रपति बनेपछि सिरिसेनाले चीनसँग श्रीलंकाको सम्बन्ध कटौती गर्दै जानुपर्छ भन्ने भारतीय चाहना थियो । यस विपरित सिरिसेनाले चीनसँग सम्बन्ध बढाउँदै लगे । 

त्यसपछि मित्र सिरिसेना भारतका शत्रु बने । 

विदेशी हस्तक्षेपको पराकाष्ठा


आफ्नो हित विपरित जाने प्रधानमन्त्री—राष्ट्रपतिको हत्या गराइने चलन नयाँ होइन । श्रीलंकाका  राष्ट्रपति सिरिसेनाले केही दिन पहिले भारतीय गुप्तचर संस्था ‘रअ’ले आफ्नो हत्या गर्न खोजेको दावी गरे । दावीको प्रतिवाद गरे प्रधानमन्त्री विक्रमसिंघेले ।
ख्याल रहोस्, विक्रमसिंघे चाहिँ चरम भारतीय समर्थक मानिन्छन् । 
छिमेकी देशले आफ्नो हत्या गर्न खोजेको जस्तो संगीन आरोप लगाइनु विदेशी हस्तक्षेपको पराकाष्ठा नै हो । यसबाट दक्षिण एसियामा भारत र चीनको पर्दा पछाडिको द्धन्द कुन स्तरको छ भन्ने पनि उजागर हुन्छ । अर्काे देशसँग सम्बन्ध बढाउन खोज्ने राष्ट्रपतिले आफ्नो हत्या होला भनेर डराउनुपर्नेसम्मको अवस्था छ । 

अब के हुन्छ ?

श्रीलंकामा भइरहेको राजनीतिक उथलपुथल भारत कि चीनको पक्षमा भन्दै अन्तर्राष्टिय संचार माध्यमहरुले लख काट्न थालेका छन् । तर, भारत र चीन दुवैले ठोस प्रतिक्रिया दिएका छैनन् । श्रीलंकाको सत्ताको खेलमा खेलाडीहरुले भारत र चीन दुवैलाई रनभुल्लमा पार्न खोजेको टिप्पणी पनि आइरहेको छ ।

राष्ट्रपति सिरिसेनाले आउँदो पुस २१ मा चुनाव हुने घोषणा गरेका छन् तर बर्खास्त प्रधानमन्त्री विक्रमसिंगेको युनाइटेड नेसनल पार्टीले चुनाव अस्वीकार गर्दै आन्दोलन घोषणा गरेको छ । उनले प्रधानमन्त्रीको सरकारी निवास पनि नछाड्ने घोषणा गरेका छन् । 

श्रीलंकामा अब राजनीतिक तथा संवैधानिक अस्थिरता आउने आशंका गरिएको छ र विक्रमसिंगे सडकसँगै अदालत पनि जाने भएका छन् । श्रीलंकाको आगामी राजनीतिक भविष्यमा अदालतको महत्वपूर्ण भूमिका रहनसक्ने अन्तर्राष्टिय संचार माध्यमहरुले जनाएका छन् ।

 झडपमा आठ प्रहरी मारिए  

कान्दाहार । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा भएको एक झडपको क्रममा कम्तीामा ८ प्रहरी अधिकारी मारिएका छन् ।  यस झडपको क्रममा ११ तालिबान

विधानसभा निर्वाचनः भाजपा पाँचै राज्यमा पछाडी, कांग्रेसको तीन राज्यमा अग्रता

काठमाडौं, २५ मंसिर । भारतका पाँच राज्यमा भएको निर्वाचनको मतगणना शुरु भएको छ । मंगलबार बिहानदेखि शुरु भएको मतगणनामा प्रधानमन्त्री नरेन्द्र मोदीको

भारतको केन्द्रीय बैंकका गभर्नरद्वारा राजीनामा

नयाँदिल्ली,२५ मंसिर । भारतको केन्द्रीय बैंकका प्रमुखले सोमबार राजीनामा दिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी र उनको प्रशासनसँगको पटकपटकको

 स्क्रीनमा बढी समय बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव

वासिङ्टन । अनुसन्धाताहरुले प्रारम्भिक तथ्याँकहरुको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो खेलमा बढी समय बिताउने