पञ्चकुमारी दिदीको लोकप्रिय सेल

 तिहारको मौसम छ । नेपालीले धुमधामसँग मनाउने तिहार भन्नेबित्तिकै गरिष्ठ भोजनका परिकारहरु सामुन्नेमा आउँछन् । मीठो मीठो खाने र परम्परागत संस्कृति पनि मनाउने  यो पर्व नेपाली समाजको एक महत्वपूर्ण पर्व रहिआएको छ । फूल र रंगको पर्व पनि भनेर जानिने यस्तो संस्कृति सायदै विश्वका अन्य मुलुकमा पाईएला ।

परम्परागत शैलीमाथि आधुनिक सरसुविधाको थिचोमिचो बढ्दै गएको यो पर्वमा आजकल फेसनको बोलवाला देखिन्छ । गाउँघर र शहर बजारमा यो पर्व मनाउने शैलीमा आकाश जमिनको अन्तर देख्न सकिन्छ ।  

तिहार र सेल रोटी एकअर्काका परिपूरक  हुन् भनिदिँदा खासै फरक पर्दैन । किनभने सेल नपाकेको तिहार के तिहार भन्ने चलन नै छ । यो तिहार र सेलको प्रसंग आउँदा हामीले एक दशकदेखि सेललाई व्यवसाय कै रुपमा अपनाईरहेकी पञ्चकुमारी दिदीसँग कुराकानी गरेर उनको रोचक अनुभव लिएका थियौं । काठमाडौंको बानेश्वर बत्तिसपुतली निवासी पञ्चकुमारीको अनुभव उनकै शब्दमा पढौं-

जतिबेला मैले सेलरोटी पकाउन सुरु गरेँ धेरैले यो व्यवसायलाई सानो भनेर हेप्ने गर्थे । म भने कुनै पनि काम सानो ठूलो हुँदैन भन्ने मान्यता राख्थेँ । मेरा साथीभाईले बारम्बार भन्थे, ‘यो पञ्चकुमारीको के ताल हो ? घरमा सेल बनाएर बेचेर व्यवसाय हुन्छ ?’ तर आज म सत्य प्रमाणित भएकी छु,  धेरै खुशी छु मैले सानो ठाउँबाट शुरु गरेको यो व्यवसायले आज धेरैको पेट पाल्न सकेकी छु । हिजो मेरो व्यवसायलाई कमजोर ठान्ने साथीहरु नै आज मेरो पसलमा सेल किन्न आउँछन् । उनीहरु अहिले मेरो काम देखेर आश्चर्यमा पर्छन् ।

खोटाङमा जन्मेकी मैले पढाइ लेखाइमा ध्यान दिन सकिन । तर पनि सानैदेखि केही गर्नुपर्छ भन्ने सोच चाहिँ थियो । हरेक मानिसको जस्तै मेरो पनि ठूलो मान्छे बन्ने, राम्रो पैसा कमाउने र सुखको जिन्दगी जिउने सपना थियो । आफ्नो मेहनतले आज केही पाएको अनुभव गरेकी छु । साँच्चिकै अहिले म एकदमै सुखी र खुशी पनि छु ।

विशेष गरी चाडपर्वका बेला आमाले सेल पकाउँदा आमासँगै बसेर मनमनै सोच्थेँ, कसरी बनाउने होला यस्तो गोलो रोटी  । साँच्चि भन्नुपर्दा मैले सेल पकाउन सिकेको आमाले सेल पकाएको हेरेर नै हो । प्राय चाडपर्वमा सेलरोटी बनाउँदा म आमासँगै नै हुन्थेँ ।

मैले यो व्यवसाय सुरु गरेको २०६३ साल देखि हो । दिनभर घरमा बसिराख्नु भन्दा केही गरौँ भनेर यो व्यवसाय सुरु गरेकी हुँ । मैले यो व्यवसायी सुरु गर्दा यति धेरै चल्छ भनेर सोचेकी पनि थिइन । एकपटक आफैंलाई खानका लागि भनेर सेल बनाउँदै थिएँ, अचानक मनमा के आयो सेलरोटी व्यवसाय गर्ने बारेमा सोचेँ । आफूलाई आम्दानी पनि हुने र ग्राहकहरुलाई घरमा सेल बनाउने झन्झट हट्ने भएकाले यतातर्फ मेरो ध्यान गयो ।   
सेलरोटीको व्यवसायले मलाई यतिधेरै चर्चित बनायो कि अहिले सबैले मलाई ‘सेल दिदी’ भनेर बोलाउने गर्छन् । यसरी बोलाउँदा मलाई रमाइलो पनि लाग्छ किनकी यही व्यवसायले मलाई आजको ठाउँसम्म पु¥याएको हो । यही व्यवसायकै कारण मेरा सबै इच्छा आकांक्षा पूरा भएका छन् । यसबाटै कामदारलाई  तलव दिन, घरभाडा तिर्न, परिवार पाल्न पुगेको छ । म एक्लैबाट भने यो सबै सम्भव भएको होइन । म एक्लैले चाहेर सबै काम गर्न सक्दिनथें होला पनि । मेरो काममा श्रीमानको धेरै ठूलो सहयोग छ । उहाँँ बिना यो काम सम्भव नै थिएन ।

हामी दुवैजनाको मेहनतले आज यो सफलता मिलेको हो । सुरुमा यो व्यवसाय थाल्दा मेरो श्रीमानले मलाई पिठो बनाउने काममा सहयोग  गर्नुहुन्थ्यो । सेल बनाउँदै गर्दा यसको डिमाण्ड पनि बढ्दै गयो । माग धेरै भएपछि हामी श्रीमान श्रीमतीले मात्र यो काम गर्न नभ्याउने भयौं । त्यसपछि केही स्टाफहरु राख्नुपर्ने भयो । तर भन्ने बित्तिकै भनेजस्तो मान्छे पाइने सम्भावना कम हुन्छ । अरु बेला भन्दा पनि चाडपर्वको बेलामा सेलरोटीको डिमाण्ड धेरै आउने गर्छ । सबैलाई पुर्याउनै पर्ने हुन्छ । पहिले पहिले चिनजान भएका ठाउँमा मात्र सेलरोटी दिन्थौँ तर विस्तारै बजार बड्दै गयो । त्यसपछि हामीले तीन जना स्टाफ राखेर काम गर्न थाल्यौँ ।

हामी बिहान ९ बजे देखि बेलुकी ५ बजेसम्म सेलरोटी बनाउछौँ । चाडपर्वको बेलामा भने राती अबेरसम्म पनि पकाउनु पर्ने हुन्छ । नेपालभरी नै हाम्रो व्यवसाय चलेको छ । राजधानीभित्र मात्र नभएर बाहिर जिल्लाहरुमा पनि हमीले बनाएको सेलरोटीको माग छ । अझ अहिले त बिदेशबाट पनि यसको माग आउन थालेको छ । बिदेशमा जानेहरुले कोसेलीको रुपमा लैजानका लागि सेल खरिद गर्न आउँछन् ।  अमेरिका, जर्मन, बेलायत, भारत लगायतका देशबाट हाम्रोमा  सेलरोटीको माग आउने गरेको छ । अहिले एक दिनमा तीनहजार जतिको आम्दानी हुन्छ । बढि आम्दानी हुने चाडपर्वमा भने रोटी पकाउनै भ्याइ नभ्याइ हुन्छ । हाम्रो सेलको यतिधेरै माग हुन्छ कि माग गर्नेहरुले समेत नपाउने अवस्था हुन्छ ।

सेलरोटी बेचेर पैसा कमाइ त हुन्छ तर उधारोमा लगेको पैसा उठाउन चांिह अलि गाह्रो हुन्छ । पैसा लिन धेरै धाउनु पर्छ । विशेष गरेर राजधानीका पसल तथा डिपार्टमेन्टल स्टोरमा धेरै सेलरोटी जाने गर्छ । प्रति गोटा सेल २५ रुपैयाँमा बिक्री हुन्छ । अहिले सेलरोटीसँगै निमकी, फुरनदाना र अनारसा पनि बनाउने गरेका छौँ ।  तर धेरै जाने भनेको सेलरोटी नै हो । मैले सेल पकाउन शुरु गरेको १० वर्ष जति भयो । यो व्यवसाय सुरु गर्दा १५–२० हजार जति खर्च भएको थियो । सामान्य अवस्थाबाट सुरु भएको यो व्यवसाय अहिले ठूलै भइसकेको छ । अहिले चाडपर्व बाहेकका बेला पनि एक दिनमा ४०० वटा जति पकाउछौँ । हुन त पैसाले कसैलाई पनि पुग्दैन तर यो काम गरेर कमाएको पैसाले सन्तुष्टि भने दिएको छ । (पुनर्प्रकाशन गरिएको)  
 

प्रदेश प्रमुखको कार्यालय नजिकै युवकको शव भेटियो, एकजना पक्राउ

धनगढी,१ मंसिर । कैलालीको धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालय नजिकै एक युवकको शव फेला परेको छ । घटनाको अनुसन्धानका लागि एक जनालाई

जीपी संग्रहालय र जीपी अस्पताल खोलिने

विराटनगर, २९ कात्तिक । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको नाममा विराटनगरमा जीपी संग्रहालय र अस्पताल

जीपी संग्रहालय र जीपी अस्पताल खोलिने

विराटनगर, २९ कात्तिक । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको नाममा विराटनगरमा जीपी संग्रहालय र अस्पताल

धर्नामा बसेका निर्मलाका बुवाको स्वास्थ्य अवस्था बिग्रिदै

महेन्द्रनगर, २९ कात्तिक । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायका लागि धर्नामा बसेका उनका बुवा यज्ञराजको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ