११ वर्षमा ९१ हजार दुर्घटना, २० हजारको ज्यान गयो

 काठमाडौं । नेपालको यातायात सुरक्षित छैन, हवाई होस् अथवा सडक । भौगोलिक जटिलता, प्राविधिक गडबडी र मानवीय त्रुटिले हवाई दुर्घटना हुँदा अमूल्य ज्यान गइरहेको छ । तर, हवाई दुर्घटना हुँदा कम्तीमा छानबिन समिति बन्छ । यद्यपि, त्यसको सिफारिस कार्यान्वयन हुँदैन । तर, सडक दुर्घटनामा त बिरलै छानबिन समिति बन्छन् र त्यसका प्रतिवेदन अलपत्र पर्छन् ।

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक कुवेरसिंह रानाको नेतृत्वमा ११ असोज ०७३ मा एक समिति बनेको थियो । सरकारले यो समितिलाई पूर्वगृहमन्त्री माधव घिमिरेको दुर्घटनाको कारण पत्ता लगाउन, पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडक क्षेत्रमा सुरक्षित सवारी आवागमन र देशभर दुर्घटना न्यूनीकरणका उपायको सुझाब ल्याउन कार्यादेश दिएको थियो । समितिले नौबिसे–मुग्लिन र मुग्लिन–नारायणगढ सडकमा सबैभन्दा बढी दुर्घटना हुने गरेको प्रतिवेदन बुझाएको थियो ।

०७१/७२ मा मात्रै यी सडकखण्डमा एक सय २८ दुर्घटना भएको र एक सय एकजनाको ज्यान गएको प्रतिवेदनको तथ्यांक छ । पूर्वगृहमन्त्री माधव घिमिरेको मुग्लिन–कुरिनटार खण्डमा दुर्घटनामा परी ज्यान गएको थियो । अहिले मुग्लिन–नारायणगढ सडक भने स्तरोन्नति भइसकेको छ ।

राना समितिले ०६८/६९ देखि मापसे गरेर सवारी चलाउनेविरुद्ध राष्ट्रव्यापी अभियान चलाएपछि दुर्घटनामा तुलनात्मक कमी आए पनि ०७१/७२–०७३/७४ मा दुर्घटना ९.५% ले वृद्धि भएको प्रतिवेदन तयार पारेको थियो । सवारीसाधनको संख्यामा वृद्धि र ग्रामीण सडक विस्तारले दुर्घटना बढेको ठहर गरेको थियो ।

समितिले चालक, पैदलयात्री र सवारीसाधनमा यात्रारत यात्रीमा सडक प्रयोगसम्बन्धी ऐन–नियमको जानकारीको अभाव, जानकारी भए पनि उल्लंघन गर्ने प्रवृत्तिका कारण दुर्घटना बढेको जनाएको छ ।

पछिल्ला ११ वर्षमा भएका सवारी दुर्घटनामा २० हजारभन्दा धेरैको ज्यान गएको छ । यो अवधिमा झन्डै एक लाख दुर्घटना भएका छन् । आर्थिक वर्ष ०६४/६५ देखि ०७४/७५ सम्म भएका ९१ हजार ८ सय ५७ सवारी दुर्घटनामा २० हजार १ सय ७७ व्यक्तिले ज्यान गुमाएका हुन् ।

११ वर्षमा भएका सवारी दुर्घटनाका तथ्यांकले प्रत्येक दिन औसत ५ व्यक्तिको ज्यान जाने गरेको देखाउँछ । औसतमा वर्षमा एक हजार आठ सयभन्दा धेरैको ज्यान जान्छ । यो संख्या प्राकृतिक विपद्बाट मृत्यु हुने संख्याभन्दा झन्डै दुईगुणा बढी हो । तथ्यांकअनुसार प्राकृतिक विपद्मा परी वर्षमा औसत नौ सयको ज्यान जाने गरेको छ ।

‘सडक दुर्घटना मानव निर्मित संयन्त्रबाट हुने हो । यसबाट ज्यान गुमाउनेको संख्या प्राकृतिक विपत्तिबाट ज्यान गुमाउनेको भन्दा धेरै देखिन्छ । यो दुःखद पक्ष हो,’ नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तम सुवेदीले बताए ।

चालकको लापरबाहीले ९२ % दुर्घटना
पाँच वर्षको तथ्यांकअनुसार मुलुकभर भएकामध्ये ९२ प्रतिशत सवारी दुर्घटनामा चालकको लापरबाही देखिएको छ । ०७०/७१ देखि ०७४/७५ सम्मको अवधिमा भएका कुल ४६ हजार सात सय ९२ दुर्घटनामा ४३ हजार एक सय दुर्घटना चालकको लापरबाहीले भएका हुन् । यो कुल दुर्घटनाको ९२ दशमलव १२ प्रतिशत हो । मादक पदार्थ सेवन, तीव्र गति, ओभरटेकजस्ता चालकका गल्तीले यी दुर्घटना भएका हुन् ।

यस्तै, यात्रुको गल्तीले पनि केही दुर्घटना हुने गरेका छन् । यस्तो दुर्घटनाको दर ३% छ । यान्त्रिक गडबडीले ३%, ओभरलोडका कारण १% र अन्य कारणले १% दुर्घटना हुने गरेको तथ्यांकले देखाएको छ ।

दुर्घटनाका केही प्रमुख कारण
अदक्ष चालकका कारण धेरै दुर्घटना हुने गरेको छ । जब कि चालक अनुमतिपत्र (लाइसेन्स) वितरण भने सरकारअन्तर्गतकै यात्रायात व्यवस्था विभागले गर्ने गर्छ । आर्थिक अनियमितता गरेर चालकलाई लाइसेन्स थमाएका धेरै घटना सार्वजनिक पनि भएका छन् । यातायातका यस्ता कर्मचारीलाई अख्तियारको टोलीले ठाउँको ठाउँ समातेको पनि छ । चालक गाडी चलाउन असक्षम हुनु भनेको उसलाई लाइसेन्स दिने निकाय पनि असक्षम हुनु हो ।

प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदी भन्छन्, ‘अधिकांश दुर्घटना चालकको लापरबाहीले हुने गरेको देखिन्छ । यसलाई नियन्त्रण गर्न नेपाल प्रहरीले केही नयाँ योजना कार्यान्वयनमा ल्याएको छ । सामुदायिक–साझेदारी प्रहरी अभियान यसैको एउटा पक्ष हो । अभियान चलेपछि दुर्घटना न्यूनीकरण हुनेमा हामी विश्वस्त छौँ ।’

सडक इन्जिनियरिङ पनि असफल
खराब सडकका कारण पनि दुर्घटना हुने गरेका छन् । सहरी क्षेत्र र राजमार्गमा हुने दुर्घटनामा सडक पनि कारक छन् । ‘सडककै कारण दुर्घटना हुनु भनेको सडक इन्जिनियरिङ नै फेल हुनु हो । यसमा पनि रिभ्यु आवश्यक छ,’ प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले भने ।

विश्वमा वर्षमा साढे १२ लाखको मृत्यु
विश्व स्वास्थ्य संगठनको २०१५ को प्रतिवेदनअनुसार सडक दुर्घटनाका कारण संसारभर वर्षमा १२ लाख ५० हजार मानिसको मृत्यु हुन्छ । दैनिक करिब तीन हजार चार सय र प्रति २५ सेकेन्डमा एकको सडक दुर्घटनामा मृत्यु हुन्छ । मृत्यु हुने अधिकांश १५ देखि २९ वर्षका छन् ।

अधिकांश दुर्घटना चालकको लापरबाहीले
उत्तम सुवेदी 
प्रवक्ता, नेपाल प्रहरी

अधिकांश दुर्घटना चालकको लापरबाहीले हुने गरेको देखिन्छ । यसलाई नियन्त्रण गर्न नेपाल प्रहरीले केही नयाँ योजना कार्यान्वयनमा ल्याएको छ । सामुदायिक–साझेदारी प्रहरी अभियान यसैको एउटा पक्ष हो । अभियानपछि दुर्घटना न्यूनीकरण हुनेमा विश्वस्त छौँ । (नयाँपत्रिकाबाट)

 

द्वन्द्वको पीडाः जिते ऐस, हारे जन्मकैद

कालिकोट,२९ कात्तिक ।  शुभकालिका गाउँपालिका–५ का सिंहबहादुर शाही तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका बेला नेपाली सेनामा सिपाही थिए । मुलुकमा

कांग्रेस महासमिति बैठक पुनः सर्ने संकेत

विधानको मस्यौदा लेखन ठप्प, प्रतिवेदन लेखन सुरु नै भएन काठमाडौ,२९ कात्तिक ।   कांग्रेस महासमिति बैठकमा पेस गर्ने विधान मस्यौदा, राजनीतिक, आर्थिक र

डा. दुर्गा थापा पहिलो महिला एआइजी

काठमाडौ,२८ कात्तिक । स्थापनाको ६३ वर्षपछि नेपाल प्रहरीमा महिला पहिलोपटक विशिष्ट श्रेणीमा पुगेका छन् । प्रहरी अस्पतालमा कार्यरत डा. दुर्गा थापा

वामदेवलाई अर्को झड्का

काठमाडौ,२८ कात्तिक ।  सांसद बन्ने आवेगबाट फिर्ता भएका वामदेवद्वारा राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र नेतृत्व आफूलाई दिन प्रस्ताव,