यसरी गुप्तचरको निशानामा थिए पद्मरत्न

काठमाडौं । द्वन्द्वकालमा भारतीय मिडियामा प्रकाशित एउटा तस्वीरले सनसनी मच्चायो । जसले गर्दा लैनचौरस्थित पद्मरत्न तुलाधरको निवास आसपास गुप्तचर र प्रहरीको बाक्लै चियो हुन थाल्यो । 

द टाम्स अफ इन्डीया र द स्टेशम्यानले नेपालमा माओवादी विद्रोह संचालन गरिरहेका सर्वोच्च कमाण्डर प्रचण्ड भनेर तुलाधरको तस्वीर छापेका थिए । जी न्यूजले ओसामा बिन लादेनभन्दा बढी खोज गरिएका नेता प्रचण्ड भन्दै तुलाधरकै तस्वीर देखायो । 

काठमाडौंका कतिपय मानिसमा पनि हो न हो प्रचण्ड भनेका तुलाधर नै हुन् भन्ने भान परेको थियो । यसका पछाडि तुलाधरको बिगतको उग्र भूमिका पनि जिम्मेवार थियो । चर्को र विचारोत्तेजक भाषण गर्नमा मदन भण्डारीपछिका प्रखरवक्ताको पहिचान बनाएका तुलाधरलाई नै प्रचण्ड ठान्नेहरुको कमी थिएन । 

तर, सत्य के थियो भने त्यतिबेला उनी सरकार र माओवादीवीच शान्ति बार्ताको पक्षमा मध्यस्थता गरिरहेका थिए । कसरी हुन्छ माओवादी विद्रोहको शान्तिपूर्ण हल खोज्न तल्लीन थिए । भाषीक आन्दोलन उनको आफ्नो संघर्ष थियो, तर उनले न त माओवादीको पक्षमा आफुलाई उभ्याए, न विरोधमै । 

जीवित किँवदन्ती झैं लाग्ने यिनै स्वतन्त्र बाम एवं मानवअधिकारबादी नेता तुलाधरको मष्तिकघातबाट आईतबार निधन भएको छ । ‘कालजयी’ भएर गए ४८ दिनअघि मात्र उनको भव्य नागरिक अभिनन्दन गरिएको थियो । मानवअधिकार, नेपाल भाषा, पत्रकारिता, साहित्य तथा नाटक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पद्मरत्न तुलाधरलाई शताब्दि पुरुष सत्यमोहन जोशीले अभिनन्दन गरेका थिए । 

पुरै भदौ महिनाभरी उनको सम्मानमा विभिन्न कार्यक्रमकहरु आयोजना गरिएको थियो । नेवारी परम्परा अनुसार ७७ वर्ष ७ महिना ७ दिन ७ घडी र ७ पलाको अवसरमा गएको भदौ १६ गते तुलाधरको ज्याः जंक्व (भीमरथारोहण) पनि गरिएको थियो । 

सो अवसरमा शताब्दि पुरुष जोशीले भनेका थिए, ‘काललाई जितेर ७७ वर्ष पार गर्ने मानिसलाई कालजयी भनिन्छ । तुलाधरजी कालजयी   हुनुभयो ।'

भिमरथारोहण गरिने दिन मानिस भइ जन्म लिएपछि एउटा अध्याय पुरा भएको मानिँदोरहेछ । अर्थात् नेवारी परम्परा अनुसार ७७ वर्ष पारगरेपछि मानिसको एउटा अध्याय पुरा हुन्छ र दोश्रो अध्याय सुरु हुन्छ । 

जीवनको पहिलो अध्याय पुरा गर्नासाथ अन्ततः बामपन्थी नेता तुलाधरले जीवनबाटै बिदा लिए । जीवनको दोश्रो अध्यायतर्फ उनी लागेनन् । भिमरथारोहण र अभिनन्दन नै उनको जीवनको उत्कर्ष र अन्तीम उल्लासमय घटना बन्न पुग्यो । सायद त्यसपछि उनको शरीर, मन र आत्माले ठान्यो, अब अर्को अध्याय सुरु नगरौं ।


हुन पनि, उनले जीवनको पहिलो अध्यायमै सारा भूमिका निर्वाह गरिसकेका थिए । भोग्नुपर्ने सारा कष्ट भोगिसकेका थिए । अनि पाउनुपर्ने सम्मान पनि पाइसकेका थिए । सायद, पहिलो अध्याय नै पर्याप्त भयो । 

विद्रोही ‘पंच’

पंचायतकालमा जनपक्षीय उम्मेद्वारका रुपमा राष्ट्रिय पंचायत सदस्य बन्न सफल तुलाधर नै यस्ता नेता हुन्, जसले त्यो निरंकुश कालखण्डमा पनि बहुदलको पक्षमा आवाज उठाइरहे । २०४२ सालमा जनपक्षीय उम्मेद्वारका रुपमा खडा भएपछि चुनावी सभामा उनले गरेका भाषणका क्यासेटसमेत बिक्थे । हिन्दु सम्राट अर्थात राजाको शासनको जगजगी भएको कालखण्डमा ‘गाइ काट्न पाउनुपर्छ’ भन्ने चर्को भाषण गरेर चर्चामा आएका तुलाधरको भाषणका चक्काहरु ती दिनमा ब्ल्याकमै बिक्थे । मानिसहरु लुकीलुकी ती क्यासेट चक्काहरु सुन्थे । राष्ट्रिय पंचायतमा उनका भाषणहरु पंचहरुले समेत चाख मानी मानी सुन्थे । 

तुलाधर भावुक थिए । उनी राष्ट्रिय पंचायतमा भाषण गर्दागर्र्दै रुन्थे । उनी रोएको घटना समाचार हुन्थ्यो । कहाँसम्म भने तुलाधरले रुँदै भाषण गरेको सुनेपछि अर्का रापंस रुपचन्द बिष्टले सभामुखलाई रुलीङ गर्नसमेत आग्रह गरेका थिए । तुलाधरको भावुकता र आँसु नाटक भने थिएन । बहुदल आएपछि पनि विभिन्न ठाउँमा भाषण गर्दा उनी रुने गर्थे । उनको भनाई थियो, ‘आँसु नै अभिव्यक्तिको शसक्त माध्यम हो ।’

काँग्रेस र कम्युनिष्ट दुबै शक्ति मिलेको खण्डमा मात्र बहुदलीय व्यवस्था स्थापना गर्न सकिने मान्यताका पक्षपाती तुलाधरले २०४६ सालमा सर्वोच्च नेता गणेशमान सिंह र त्यसबेलाका बाममोर्चाका नेताहरु राधाकृष्ण मैनाली र सहाना प्रधानवीच संवाद र सहकार्यको मध्यस्थता गरेका थिए, फलस्वरुप संयुक्त जनआन्दोलनको बातावरण तयार भएको थियो । 

बहुदल आएपछि उनले आफुलाई स्वतन्त्र बामपन्थीका रुपमा स्थापित गराए । उनको मान्यता थियो, नेपालका कम्युनिष्टहरु मिल्नुपर्छ, कम्युनिष्ट नमिलेसम्म कुनै पनि कम्युनिष्ट पार्टीमा आवद्ध नहुने । तर, २०४८ साल र २०५२ सालमा उनले तात्कालीन नेकपा एमालेका तर्फबाट काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । २०५३ सालमा उनी श्रम तथा स्वास्थ्यमन्त्री पनि भए । 

पछिल्लो कालखण्डमा राजनीतिकभन्दा मानवअधिकारवादी आन्दोलनमा लागेका तुलाधरले माओवादी हिंशात्मक विद्रोहलाई शान्तिपूर्ण रुपान्तरणका लागि विशेष योगदान दिएका छन् । बिगतमा पटक पटक भएका सरकार माओवादी बार्तामा तुलाधरले मध्यस्थकर्ता या सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । 

हालै माओवादी केन्द्र र एमालेको एकताको पृष्ठभूमि तयार गर्न पनि तुलाधरले मुख्य भूमिका निर्वाह गरेका थिए । सोही कारण पार्टी एकतापछि उनलाई औपचारीक रुपमै धन्यबाद दिन नेकपाका नेताहरु विष्णु पौडेल र योगेश भट्टराई उनको निवासमै पुगेका थिए । 

भाषिक अभियन्ता

नेपाल भाषाको बिकास र पहिचानका पक्षमा तुलाधरको विशेष योगदान छ । नेपाल भाषा मँका खलःको नेतृत्वमा रहेका तुलाधर लामो समयसम्म ‘नेपाल भाषा’ पत्रिकाको सम्पादक रहे । उनले कम्युनिष्टहरुले प्रकाशित गर्ने ‘रातो युगधारा’ साप्ताहिकको पनि सम्पादन गरेका थिए । नेपाल संवतलाई राष्ट्रिय संवत र शँखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गराउन उनले धेरै संघर्ष र पहल गरेका थिए । नेपाल भाषामा नाटक र निबन्ध लेखेका छन् । हालसम्म उनका १६ वटा पुस्तक प्रकाशित छन् । पत्रकारितामा उनको योगदान यति मात्र हैन, राष्ट्रिय समाचार समितिको बुलेटीन नेपाल भाषामा अनुबाद गरेर उनले प्रजातान्त्रिक आन्दोलनलाई सघाएका थिए । 

अधिकारकर्मी मल्ल के सुन्दरका अनुसार चर्चित हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कुनै पनि प्रहशन या नाटक तयार गरेपछि एक पटक तुलाधरलाई देखाएपछि मात्र सार्वजनिक प्रदर्शनीमा लैजान्थे । 


 

 श्रीलंकाको घरेलु राजनीतिमा भारत र चीनको स्वार्थको लडाईं

काठमाडौं । नेपालको संसदमा उठाउन नमिल्ने कुर्सी व्यवस्था गर्न लागिएको छ । नेपालको आफ्नै अनुभव हेर्दा पनि संसद वैठकभित्र सुरक्षा कडा बनाउनुपर्ने

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै

काठमाडौं, ३० कात्तिक । संघ र प्रदेशसँग बाँझिएपछि स्थानीय सरकार संचालनसम्बन्धी बनेको ऐन संशोधनन गरिने भएको छ । ‘सङ्घीय मामिला तथा सामान्य प्रशासन

भारत र चीनको गिद्देदृष्टिले श्रीलंकामा गडबडी

काठमाडौं । नेपालको संसदमा उठाउन नमिल्ने कुर्सी व्यवस्था गर्न लागिएको छ । नेपालको आफ्नै अनुभव हेर्दा पनि संसद वैठकभित्र सुरक्षा कडा बनाउनुपर्ने

राज्य विद्रोहको मुद्दामा सिके राउतको पेशी आज

काठमाडौं, २९ कात्तिक । राज्य विद्रोहकोे मुद्दा लगाइएका तराईमा आन्दोलनरत सिके राउनको आज सर्वोच्च अदालतमा पेशी रहेको छ । राउतको मुद्दामा सुनुवाइका