डायस्पोरिक पत्रकारिता र फेसबुके पत्रकारिता

डायस्पोराका नेपालीहरूको आकार बढेसँगै नेपाली डायस्पोरिक पत्रकारिता पनि झाँगिदै गएको छ । अनेक चुनौतिकाबीच युरोपेली डायस्पोरामा पनि नेपाली पत्रकारिताले आफ्नो अहम् जिम्मेवारी एक हदसम्म निर्वाह गरेको छ ।

इन्टरनेट र अनेकन् विद्युतिय साधनहरूको विकाससँगै पत्रकारिताको फाँट फराकिलो भएको छ । संचारको डिजिटल विकाससँगै हात-हातका स्मार्टफोन संसारभरिको संजालमा जोडिएपछि ‘नागरिक पत्रकारिता’ अर्थात् हरेक नागरिक संचारकर्मी हुन् भन्ने तथ्य व्यवहारतः स्थापित भएको   छ । जसले गर्दा फेसबुके (पत्रकार) देखि ट्विटे, इन्स्ट्राग्राम संप्रेषक र ब्लगरहरूले संचारलाई सहज र ब्यापक बनाएका छन् । तैपनि विषयवस्तु र प्रस्तुतिको ज्ञान भएका दक्ष पत्रकारहरूको महत्व छँदैछ ।

 प्रवासमा पत्रकारितालाई व्यवसायीक बनाउने कुरा गफभन्दा ज्यादा हुन सकेको छैन । तर, समुदायको सेतु भने अवस्य भएका छन् । यस्ता मिडियाहरू आम्दानी र सुविधाभन्दा पनि भाषाको माया र समुदायको सन्निध्यताले चलेका छन् र यो एकप्रकारको स्वयंसेवा बनेको छ । यो स्वयंसेवी पत्रकारितामा श्रम, सम्पत्ति र समय खर्च गरेर पाइने एउटै परमानन्द हो- आत्मरति । पत्रकारको लागि प्रवासी पत्रकारिता आत्मरति भए पनि नेपाली समुदायको उत्थानमा यो ठुलो योगदान हो ।

प्रवासी पत्रकारितामा गहकिला मुद्दाहरूको उठान यदाकदा देखिए पनि ज्यादातर समाचार संघ-संस्था गठन, तिनको नेतृत्व परिवर्तन, भलिबल, पिकनिक र साँस्कृतिक कार्यक्रमहरू कै सेरोफेरोका समाचारहरूले भरिएका पाइन्छन् । त्यससँग खादा, माला र सम्मानका कुरा जोडिएका  हुन्छन् । त्यसबाहेक, एउटाको पक्षपोषण गर्दै अरू कसैलाई ओल्टाईपल्टाई गाली गर्ने र समाचारमा धेरै क्लिक पाउन ‘हक्की’ पत्रकारिता गर्नेहरू पनि छन् ।

प्रवासी पत्रकारिताको विकासक्रममा केही चाकडी र केही विकृतिले लेपिएका समाचारहरू देखिनु आश्चर्यको कुरा होइन । सबै क्षेत्रमा धेरथोर हुन्छ नै । कति त हाम्रै माउ देशको राजनीति र सामाजिक विसंगतिका ‘बाइप्रोडक्ट’ हुन् । जेजसो होस् टिपनटापन समाचार अपडेट गर्ने मिडियाहरू अहिले धेरै परिपक्व देखिन थालेका छन् । यो सकरात्मक पाटो हो । तर, हामीले चाहेको यति मात्र होइन ।

युरोपेली डायस्पोराको पत्रकारिताको अपरिहार्यता सिद्ध गर्न अनेक तर्कहरू दिन सकिन्छ । अनेक बुँदाहरूलार्इ ब्याख्या गर्न सकिन्छ । त्यसको विवेचनालाई थाँति राखौं यहाँ र सोधौं- यहाँ बस्दै आएका नेपाली समुदायले कर्मभूमि वा मातृभूमिका मूलधार समाचार मात्र पढेर पुग्छ की आफै बसेको समुदायको समाचार पनि आवश्यक हुन्छ ?

यहाँ बसेर सामुदायीक पत्रकारिता गर्नेलाई नेपाल वा युरोपेली सरकारहरूबाट अनुदान वा कुनै सहयोग आउँदैन । यहाँ मिडिया चलाएर यहाँ कै स्तरमा सरदर आम्दानीको श्रोत बनाउन पनि कठिन छ । समुदायमै रहेका व्यवसायी वा सफल पेशेवरबाट आउने विज्ञापन, ग्राहक शुःल्क वा सुविधा मात्रै हो स्थानीय मिडियाकर्मीको आम्दानीको श्रोत । गुगल वा अरू कुनै प्रतिष्ठानको विज्ञापन राखेर आयश्रोत बढाउन पनि कम्युनिटी पत्रकारिताबाट संभव छैन । त्यसैले समुदायका अगुवा, व्यवसायी र सज्जन वर्गले स्थानीय मिडियाहरूलाई प्रोत्साहित गर्नुपर्छ । पत्रकार धानिन सक्ने यही हार्दिकतामा नै हो ।

युरोपेली डायस्पोराको मूलभूत पत्रकारिता भनेको अनलाइन मिडिया नै हुन् । यद्यपि टिभी प्रसारण र प्रिन्ट मिडियाहरूको उपस्थिति हुँदै नभएका होइनन् । ज्यादाजसो अनलाइन पत्रिकाहरू पानीका फोका जस्ता छन् भने थोरै मात्रले निरन्तरता दिन सकेका छन् । थोरैले मात्र स्थापित पहिचानलार्इ निरन्तरता दिन सफल भएका छन् । यीनै हुन्- युरोपेली डायस्पोरिक पत्रकारिताको विकासको कडी । निःसन्देह, युरोपको नेपाली समुदायलाई उकास्न र माैलाउन यसले टेवा दिन्छ । डायस्पोरामा रहेर कलम चलाउनेहरूलार्इ प्रोत्साहन गराैं । (http://www.panchampost.com)

प्रचण्ड, विप्लव, सेना, राजा र काङ्ग्रेस

हिजो पनि जन आन्दोलनमा विजयी पक्षले नै आफ्नो विश्वास अनुरुपको संविधान निर्माण गरेका थिए ! मर्म र सारमा जनताका प्रतिनिधिले नै संविधान लेखेका थिए ! २०४७

प्रधानमन्त्री ओली र रेशमी रुमाल

प्रधानमन्त्री केपी ओलीले नेपाल-भारत द्विपक्षीय विज्ञ समूहका दुई सदस्यहरू नीलाम्बर आचार्य र राजन भट्टराईलाई क्रमश: भारतको लागि राजदूत र

विदेशी संस्थाहरुले नेपालमा गरेका अत्याचारका केही झलक

सेना र बन्दूकले अर्काे देशमा हस्तक्षेप गर्ने युग लगभग सकिएको छ । आजको युगमा हस्तक्षेप र अत्याचारको बलियो हतियार बनेको छ-  संस्था । नेपालमा विदेशी

सांस्कृतिक विश्वव्यापीकरण

मानव चेतना सर्वव्यापक छ । यही एउटा यस्तो जीव हो जहाँ जीवन आफैंमा सचेत छ । मानवलाई कल्पना, विवेक, आफ्नो अस्तित्व, जन्म, मृत्यु एवं सचेत अनुभूति जस्ता