मुआब्जा नदिँदा महाकाली पुल निर्माणमा ढिलाइ

कञ्चनपुर, १२ कात्तिक । कञ्चनपुरको भीमदत्तनगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलसँगै बन्ने ६ लेनको सडक निर्माण मुआब्जाका कारण ढिलाइ हुँदै गएको छ ।

महाकाली पुलसँगै निर्माण हुने पहुँचमार्गअन्तर्गत पर्ने सडक विस्तारका लागि जग्गा र घरको मुआब्जा वितरण प्रक्रियामा ढिलाइ हुँदा योजनाका काम अघि बढाउन कठिनाइ भएको हो । झण्डै १४ महीनाअघि शिलान्यास भएको पुल निर्माणको काम महाकाली नदीमा पानी नघटेकाले केही समय प्रभावित भएको महाकाली पुल योजना कार्यालय भीमदत्तनगरले जनाएको छ ।

पुलसँगै भीमदत्त नगरपालिका–११, १२ र महाकाली नगरपालिका–१ मा घर र जग्गाको मुआब्जा वितरण कार्य पूर्णरुपमा सकिएको छैन । त्यसले गर्दा निर्माण कम्पनीले चाहेर पनि ६ लेनको सडक विस्तार गर्न गाह्रो परेको छ । “महाकाली नदी वारी र पारी गरेर साढे १६ हेक्टर पुर्जा भएको जग्गा अधिग्रहण गरेर सडक विस्तार गर्नुपर्नेछ”, महाकाली पुल आयोजना कार्यालय कञ्चनपुरका प्रमुख प्रदीप भण्डारीले भने, “अहिलेसम्म जग्गाको मात्रै ८३ प्रतिशत मुआब्जा वितरण भइसकेको छ ।”

उनले सडक विस्तारका क्रममा झण्डै ३.५६ हेक्टर ऐलानी जग्गा परिरहेको बताए । “ऐलानी जग्गाको मुआब्जा दिन मन्त्रिपरिषद्कै निर्णय चाहिन्छ”, पुल योजना कार्यालयका प्रमुख भण्डारीले भने, “त्यसका लागि एक साताभित्रै जिल्ला प्रशासनबाट निर्णय गराएर ऐलानी मुआब्जाका लागि फाइल मन्त्रिपरिषद् पठाउने कुरो भएको छ ।”

जिल्ला प्रशासनबाट ऐलानी र घरको मुआब्जाको विषय टुङ्ग्याउने विषयमा छलफल भएको उनले जानकारी दिए । “योजनाको पहुँच मार्गअन्तर्गत दुवैतर्फ गरी ११३ परिवारलाई घरको मुआब्जा दिनुपर्ने छ”, भण्डारीले भने, “मुआब्जाका कारण पुलसँगै बन्ने सडक विस्तारमा केही समस्या आएको हो ।”

हालसम्म ४६ करोड ३१ लाख जग्गाको मुआब्जा वितरण भइसकेको पुल योजना कार्यालयले जनाएको छ । “नदीमा पानी नघट्दा विभिन्न उपकरण सामान लैजान समस्या हुँदा मुख्य पुल निर्माण कार्य प्रभावित भयो”, पुल योजना कार्यालयका प्रमुख भण्डारीले भने, “पहुँचमार्गमा पर्ने अन्य दुई वटा पुल निर्माण भने धमाधम हुँदैछ ।”

पुलसँगै भीमदत्त नगरपालिकामा ६ किमी र महाकाली नगरपालिका (महाकाली नदी पारी) तर्फ डेढ गरी साढे सात किमी सडक निर्माण पुलसँगै ठेक्का सम्झौता भएको छ । “पहुँचमार्गअन्तर्गत हामीले गड्डाचौकी नहरमा बन्ने पुलको जग हालिसकेका छौँ”, भण्डारीले भने, “अहिले ऐरीमा ‘पायल’ खन्ने काम हुँदैछ ।”

पुल निर्माणको जिम्मा पाएको कुमार सिएसइसी जेभीका इञ्जिनीयर किशोरराज पाण्डेयले जग्गा र घरको मुआब्जा वितरण कार्यले गर्दा पुल निर्माण ढिलाइ हुँदै गएको जानकारी दिए । “मुआब्जाको टुङ्गो नलाग्दा हामीले पहुँच मार्गमा ग्राभेल बिछ्याउनसमेत पाएनौँ”, इञ्जीनियर पाण्डेयले भने, “मुआब्जाका कारण सडकको केहीकेही भाग विस्तार गर्दै काम अगाडि बढाएका छौँ ।” उनले मुआब्जाको समस्या समाधान भए पहुँचमार्ग निर्माणमा ढिला नहुने बताए ।

“मुआब्जाको समस्या सुल्झिएको भए हामी नदीमा पानी हुँदा सडक विस्तारमा लाग्थ्यौँ”, उनले भने, “मुआब्जाको विषय चाँडो टुङ्गो लगाए हामीलाई पनि तीव्र गतिमा काम गर्न सहज हुन्थ्यो ।” लामो समयदेखि महाकाली नदीको तटीय क्षेत्रको ऐलानी जग्गामा बसोबास गर्दै आएका स्थानीयवासीले आफूहरुलाई मुआब्जा दिनुपर्ने माग राख्दै आएका छन् ।

तीन अर्ब २७ करोड ९३ लाख ३४ हजारमा सो योजना निर्माणको सम्झौता भएको छ । निर्माण अवधि तीन वर्ष तोकिएको छ ।

कर्णाली सडकको स्तरोन्नति गर्दै सेना

जाजरकोट, २४ पुस । जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत सुंपानीदेखि सदरमुकाम दुनैसम्म सडकको स्तरोन्नति काम शुरु भएको छ । नेपाली सेनाको निर्माण

 हुलाकी राजमार्ग निर्माणको ढिलासुस्ती हटाउँदै निर्माणको गति बढाउन माग

काठमाडौं, १८ पुस । राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको निर्माण कार्य रोक्ने षड्यन्त्र भैरहेको भन्दै स्थानीय तहका प्रमुखले विरोध गरेका छन्

मेलम्चीको काम ९३ प्रतिशत पूराः मन्त्री मगर

काठमाडौँ, १२ पुस । मेलम्भी खानेपानीको आयोजनाको काम अन्तिम चरणमा पुगेको खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले बताएकी छन् । बिहीबार प्रतिनिधिसभा,

प्रधानमन्त्रीद्वारा दोस्रो पटक धरहराको शिलान्यास

काठमाडौं, १२ पुस । भूकम्पमा भत्किएको धरहरा पुनःनिर्माणको प्रधानमन्त्री केपी शर्मा ओलीले नै दोस्रो पटक शिलान्यास गरेका छन् । साढे तीन वर्ष अघि