यस्ता छन् 'बामदेव पुराण'का दश अध्याय

‘सत्तासमीकरण गर्नेक्रममा बामदेव गौतमले पहिलो पटक २ करोड र अनि दोस्रो पटक ५० लाख र त्यसपछि पनि करोडौं रुपैया र सुरासुन्दरी आपूर्ती गर्ने घृणित काम पनि उहाँले गर्नु भयो ।’–ईश्वर पोखरेल, (तत्कालीन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार र सचिवालय प्रमुख)
पोखरेल आरोपको बुँदा नम्वर १७ मा भनिएको छ- ‘एयरपोर्टमा आएका तस्करको सुन सत्तारुढ पार्टीको उपमहासचिवको हैसियतले छुटाएर कमिशन लिनुका साथै अर्बाैं रुपैंयाँको विदेशी मुद्रा अपचलन गरेको ।’

अध्याय एक: दुइदिन नटिक्ने दूरदृष्टि 

बुधवार (२४ असोज) बीबीसीको नेपाली प्रसारणमा ‘म संसदमा जानलागेको, त्यहाँ गएर बिकास प्राधिकरण बनाउने, त्यसको अध्यक्ष हुने र देशको पुरै बिकास निर्माण गर्ने हो, सरकारसँग पैसा छैन भने त्यो पनि म नै जुटाउँछु’ भनेका बामदेवले बिहीबार फेस बूकमा लेखे ‘म नउठ्ने भएँ, सहयोग गर्ने सबैलाई धन्यवाद छ ।’ 

उनलाई ठाउँ छाड्ने सन्दर्भमा काठमाण्डौ क्षेत्र नं ७ का सांसद रामबीर मानन्धरले २३ गते पत्रकार सम्मेलनमार्फत आफूले राजिनामा गर्न लागेको जानकारी गराएपछि बामदेवले भनेका थिए–‘नतमस्तक छु कमरेड रामबीर मानन्धर, तपार्इंले आज पत्रकार सम्मेलन गरेर जुन अभिब्यक्ति दिनुभयो, त्यो बिचारले मेरो कद अझ उँचो बनाएको छ । संगठनका लागि हामी दुवै जना सिपाही हो । भोलिका दिनमा संगठनले मलाई दिने भूमिका र तपाईंले गरेको त्यागप्रति आँच आउन दिने छैन । पार्टीको गरिमालाई उँचो राख्न र तपार्इंले मप्रति देखाउनुभएको विश्वासलाई कायम राख्न कुनै कसर बाँकी राख्ने छैन । पार्टीले हामीलाई भूमिका र जिम्मेवारी जे जस्तो दिए पनि जनताको काममा सधंै सँगै रहनेछौं ।’


तर रामबीरको बामदेव त्यागको कुनै अर्थ रहेन । यसो भनेको भोलिपल्ट नै आफू नउठ्ने भए र रामबीरलाई नै अलपत्र पारे । यसले बामदेवको दूरदृष्टिलाई पनि बुझाउँछ, जो दुइदिन पछि के हुन्छ भन्ने आँकलन समेत भएन  । यसले उनको नेतृत्व र व्यक्तित्व दुवैलाई बुझाउँछ ।  

अध्याय दुइ: सत्ता कव्जाको मन 

वामदेव आखिर एउटा निर्वाचित सांसदलाई हटाएर आफू सांसद बन्न किन चाहन्छन् भन्ने प्रश्नको उत्तर आएको छैन उनको मनमौजी बोली बाहेक । उनको मरिहत्तेको कारण पछिसम्म नै खुलेन । उनी स्वंयमले भने जे तर्क गरेका छन् । त्यो हेर्दा त लाग्छ – बामदेव सांसद नबन्ने हो भने न यो सरकारले केही काम गर्न सक्छ, न पार्टी नै अघि बढ्छ । पार्टीभित्रै उठेका विरोधका स्वरप्रति लक्षित गर्दै आफू किन उठ्न लागेको भनी यस अघि उनले धेरै ठाउँमा धेरैपटक भनेका थिए तर यो भनाइ आफैँमा अनौठो थियो । 

 ७ नम्वरमा उनको नजर परेर धेरै गहिरोसम्म पुगेकै हप्ता एक अन्तर्वार्तामा उनले भनेका थिए– बुझीबुझी जसले नियोजित रूपमा प्रतिनिधि सभामा मेरो उपस्थितिको विरोध गरेका छन्, तिनीहरुलाई मेरो प्रश्न छः तपाईंहरू सरकारमा हुनुहुन्छ । तर, सरकार किन प्रभावकारी हुन सकेन ?

तपाईंहरू प्रतिनिधि सभामा हुनुहुन्छ । तर, संसद किन प्रभावकारी हुन सकेन ? दुई ठूला कम्युनिष्ट पार्टी मिलेर नेकपा बन्यो । तर, एकतापछि पनि पार्टी किन प्रभावकारी भएन ? किन कम्युनिष्ट सरकारप्रति जनता निराश हुँदै गएका छन् ? किन पार्टी कार्यकर्ताहरू निराश बन्न थालेका छन् ? यत्ति प्रश्नको सकरात्मक उत्तर दिन सक्नेले संसदमा मेरो उपस्थितिको आवश्यकता देखिहाल्छ । जतिबेला वामदेव संसदमा हुन्छ, त्यतिबेला कम्युनिष्टको सरकार प्रभावकारी हुन्छ, संसद पनि प्रभावकारी बन्छ, पार्टी पनि प्रभावकारी हुन्छ ।’ 

यहाँ सरकार र संसद भन्दा पनि बामदेवले यो बहानामा समग्र सत्ता कव्जा गर्न खोजेका बुझ्न सकिन्छ । बिकास प्राधिकरण बनाउने, त्यसको प्रमुख हुने र सारा बिकास निर्माणको काम आफूले गर्ने । त्यसका लागि रकम समेत आफैँले जुटाउने भन्ने कुराको अर्थ त्यही हो । यसको अर्को अर्थ हो राज्य वा सरकार भनेकै बामदेव हो । राज्यको स्रोत जुटाउन अर्थमन्त्रालय पनि चाहिएन । 

उनले भनेजस्तो बिकास प्राधिकरणका लागि प्रतिनिधिसभाको सदस्य भैरहनु पर्दैन । एउटा कानुन बनाएर सरकारले यस्तो निकाय बनाउन    सक्तछ । यसअघि उनले पुननिर्माण प्राधिकरणको प्रमुख हुन खोजेका थिए । त्यो पुरा भएन । त्यसपछि बिकास प्राधिकरणको कुरा आएको हो उनको मनमा । यस्तो निकाय बनाउनेबारे सरकारले यो बेलासम्म सोचसमेत बनाएको थिएन । यस्तो बेला सरकारले गर्ने सारा बिकास निर्माणको कामका लागि चाहिने पैसा सरकारसँग छैन भने आफैंले जुटाइदिने भन्ने कुने एउटा व्यक्तिले दावी गर्छ भने त्यो आफैंमा कति पत्यारिलो होला भन्ने अनुमान गर्न सकिन्छ । 

अध्याय तीन: हारेकै दिनदेखि जितेकामाथि आँखा 

गौतमको यो योजना अर्थात कसैलाई हटाएर आफू त्यो ठाउँमा जाने प्रयाश चुनाव हारेकै दिन देखि सुरु भएको थियो । अरु कोही पनि चुनाव हारेपछि अर्को चुनाव जित्ने तयारीमा लाग्छन् । बामदेव त चुनाव हारेकै क्षणदेखि जितेकाहरुबाट ठाउँ छोडाउन लागे । गौतमले सुरुमा बर्दिया–२ बाट निर्वाचित सांसद सन्तकुमार थारूलाई राजीनामा गराएर सांसद बन्ने प्रयाश गरेका थिए । त्यो प्रयाश असफल भएपछि उनले पूर्वी रुकुममा सांसद कमला रोकालाई राजीनामा गराएर सांसद बन्न खोजेका थिए । उनको त्यो प्रयाश पनि असफल भयो । त्यसपछि दैलेखका सांसद रवीन्द्रराज शर्मालाई राजीनामा गराएर सांसद बन्ने प्रयाश पनि गरेका थिए । दैलेखमा पनि सफलता नपाएपछि गौतमले डोल्पाका सांसद तथा हाल राज्यमन्त्रीसमेत रहेका धनबहादुर बूढालाई राजीनामा गराउन प्रयाश गरे ।

बूढा सुरुमा गौतमलाई ठाउँ छाड्न तयार भए पनि पछि उनले राजीनामा दिन अस्वीकार गरेका थिए । बुढालाई राजीनामा गराएर गौतमलाई सांसद बनाउने प्रस्ताव नेकपाको सचिवालयसम्म पुगको थियो । यसपछि उनी नवलपुर २ का सांसद तिलक महतसमक्ष पुगे तर त्यहाँ पनि यो प्रस्ताव अस्वीकृत भयो । त्यसपछि गौतमको नजर आफ्नै जन्मथलो प्युठानमा परेको थियो । उनले त्यहाँबाट राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई राजीनामा गराएर चुनाव लड्न चाहेका थिए । त्यो प्रस्तावलाई राष्ट्रिय जनमोर्चाले लिखित रूपमै अस्वीकृत गरिदियो ।

गौतमले ललितपुर–१ का सांसद नवराज सिलवाललाई पनि राजीनामा दिन दबाब दिएका थिए । सिलवाल पनि गौतमलाई पद छोड्न तयार    भएनन् । त्यसपछि उनी बाँके–३ का सांसद नन्दलाल रोकायलाई राजीनामा दिन दबाब दिन थाले । रोकायले पार्टी नेतृत्वले सामूहिक निर्णय नगरेसम्म आफूले पद नछाड्ने बताएका थिए । बाँकेमा रोकायले पनि सांसद पद छाड्न तयार नभएपछि गौतमको नजर बैतडी–१ मा पुग्यो । कांग्रेससँग ११ हजार मतान्तरमा विजयी भएका बैतडीका सांसद दामोदर भण्डारीलाई राजीनामा गराएर सांसद बन्न गौतमले पहल गरे । त्यसपछि उनले कञ्चनपुरका सांसद दीपप्रकाश भट्टलाई पनि राजीनामा गराउने प्रयाश गरेका थिए । यी सबैतिर चहारेर यो बेलासम्मको अन्त्यमा उनी काठामाण्डौ ७ मा आएका हुन् ।

राजनीतिक नेतृत्वले आफूबाहेक अरुलाई कतै देख्दैन, त्यहीबाट सुरु हुन्छ अनर्थ । गौतमका लागि उनी बाहेक यो देशमा अरु कोही छैनन् । निर्वाचनमा पराजय भएको पाँचसात महिनाकै बीचमा आफ्ना लागि उनले यतिधेरै व्यक्तिका बीचमा गरेको अध्यास वास्तवमा नै एउटा ठूलो दुस्साहस नै हो । 

अध्याय चारः मनै विकृत 

पाँच वर्षकालागि भएको निर्वाचनमा आफू आफ्नो क्षेत्रबाट पराजीत भएपछि जहाँजहाँ जसजसले बढीमत ल्याएर विजय पाएका थिए तिनलाई वर्षदिन पनि नवित्दै आफ्ना लागि पद छाड्न दवाव दिनु एउटा राजनीतिक विकृति नै हो । कुनै भवितव्यबाट कुनै क्षेत्र खाली भयो भने त्यहाँ चुनाव लड्ने इच्छा राख्नुलाई स्वाभाविक भन्नुपर्छ । तर यहाँ त बल प्रयोग गर्न खोजियो । उनले यस्तो बल प्रयोग गरेका यस्ता धेरै उदाहरण बनिसकेका छन् । आफ्ना कार्यकर्ताले जहाँजहाँ बढी मत ल्याएर जितेका छन् ती ती ठाउँलाई धराप बनाएर जनताबाट निर्वाचित प्रतिनिधिलाई आफ्ना मतदाता बीच गरिएको बाचाको अभ्यास समेत गर्न नदिनु भनेको विकार युक्त मनस्थितिको उपज नै हो । हो, सरकारले नियुक्त गर्ने पद थिए भने गौतमको संसदमा पुग्ने रहर केही हदसम्म उपयुक्त मानिने थियो होला । यो त जनताले छान्ने पद हो । निर्वाचन भएको एघार महिना पनि नपुगी एघारै ठाउँमा पद खाली गर्न भनिनु र कतिपय अवस्थामा त अर्को दलबाट छानिएका जनप्रतिनिधिलाई समेत पद छाड भन्नु कुनै पनि स्वस्थ मन भएको व्यक्तिले गर्दैन । अस्वस्थ मनभएको व्यक्ति यस्तो ठाउँमा पुगे भने त्यो ठाउँमा के होला अनुमान गर्न सकिन्छ ।

अध्याय पाँचः सुरा सुन्दरीको भारी 

बिषय भिन्न होलान तर बामदेवबाट बिकृतिको  चरम नै भए पहिले पनि । यसका दर्जनौ अभिलेख बनिसकेका छन् । एमालेको २०५३ फागुन १३ मा बसेको ३२ सौं बैठकमा तत्कालिन केन्द्रिय सचिवालय प्रमुख तथा केन्द्रिय सदस्य इश्वर पोखे्रलले प्रस्तुत गरेको २१ बुँदाको एउटा लिखित दस्तावेजले बामदेवको बिकृतिलाई सधैं स्मरण गराउला । यो मनमोहन अधिकारी विरुद्ध आएको अविश्वासको प्रस्तावका सन्दर्भमा थियो । यी दुवैजना अहिले पनि यही संसारमा र यतिखेरको नेकपाको सचिवालयमा सँगै छन् । त्यसकारण यसलाई आरोेप नमानिएला ।

त्यो पत्रमा भनिएको छ – ‘सत्ता समीकरण गर्ने क्रममा बामदेव गौतमले पहिलो पटक २ करोड र अनि दोस्रो पटक ५० लाख र त्यसपछि पनि करोडौं रुपैयाँ र सुरासुन्दरी आपूर्ती गर्ने घृणित काम पनि उहाँले गर्नु भयो ।’

यो एकपटकमा रोकिएन । त्यसपछि यही वर्षको फागुनमा एमालेले शेरबहादुर देउवाको राप्रपा सम्मिलित सरकार ढाल्न राप्रप्रपाका चार जना केन्द्रिय सदस्यलाई यो सरकार विरुद्ध केन्द्रिय समितिमा मतदान गर्न पहिलो किस्तामा प्रतिव्यक्ति २५ लाख दिइयो र काम भैसकेपछि अर्को २५ लाख दिने सम्झौता भएको कुरा पनि पोखे्रलको आरोप वा भनौ उजुरी पत्रमा उल्लेख छ । पैसाको यस्तो चलखेलबारे त्यो बैठकले छानविन समितिनै बनाएको थियो ।

अध्याय छः आरोपको स्वीकारोक्ती 

पोखे्रल आरोपको बुँदा नम्वर १७ मा भनिएको छ–‘एयरपोर्टमा आएका तस्करको सुन सत्तारुढ पार्टीको उपमहासचिवको हैसियतले छुटाएर कमिशिन लिनुका सार्थ अर्बौंं रुपैयाँको विदेशीमुद्रा अपचलन गरेको ।’ पोखे्रल तत्कालीन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार पनि हुन् । त्यसकारण उनको यो बुँदा विशेष जानकारी भएर नै आएको मान्नु पर्छ । विदेशबाट टनका टन सुन तस्करी भएर आएका सूचना प्रहरी पाइरहेका तर यता पक्राउ चाहि एकजना पनि नपरेको सन्दर्भमा पोखे्रलले यस्ता जानकारी पार्टी बैठकमा गराएका हुन् ।

 
उल्लेख भएका यस्ता दुइवटै  आरोप लागेको कुरालाई बामदेवले इन्कार गरेनन् बरु स्वीकारे नै । ‘मैले जे गरेँ यो सबै पार्टीका लागि गरेको हुँ । अहिले मलाई व्यक्तिगत आरोप किन लाग्छ ।’ बामदेवको सुरासुन्दरी त यो बेलासम्मनै चर्चामै छ प्रतिनिधिसभामा विकृति भित्रिएको बारे । मनमोहन विरुद्ध नेपाली कांग्रेसले ल्याएको अविश्वासको प्रस्तावलाई सत्तापक्षबाट नै तुहाउन गौतमले उपमहासचिवको हैसियतबाट एमालेको पार्टी कार्यालयको गाडीमा यसरी हप्ता दिन भरी नै रक्सीका वोतल र सुन्दरीहरु बोकेर समिट होटेलमा सेवा गरेका थिए । यी विवरणहरु रेकर्ड भएका छन् । 

अध्याय सातः अर्ब खर्चको कुरा  

‘तपाईं र बामदेवका बीचमा पैसाको कुरा भयो भन्ने सुनिन्छ नी केहो खास ?

त्यो अब चुनाव भयो भने लाग्ने खर्चसँग जोडेर भएको हो सामान्य रुपमा । अहिले मतदाताहरु सरकारसँग, महानगरसँग अलि रिसाएका छन भन्ने सन्दर्भमा उहाँले पुरै सयन्त्र परिचालन गरेर त्यसै अनुसार खर्चको ब्यवस्थापन गर्नुपर्छ भन्नुभएको हो ।

एक अर्ब खर्च गर्न तयार छु भन्नुभएको हो ?

ठ्याक्कै एक अर्बको कुरा चै भएन । तर त्यसैको हाराहारीमा गर्ने कुरा भएको थियो । ’

यो बेला चर्चामा आएको काठमाण्डौ ७ मा बामदेवले खर्च गर्ने रकमको अंक एकअर्बमा हिसाव भयो । यो कुरा यो ७ नम्वर छाड्न तयार भएका रामबीरले नै वताएका हुन् । खर्चको अंक अर्ब नपुग्ने थियो भने यो कुरा आउने थिएन । सामाजिक सञ्जामा आएका सूचना अनुसार रामबीर आफंैले १० करोड लिएको वा लिन लागेको कुरा आएको थियो । आफ्नो संसदीय दलको नेता भन्दा बाहिरबाट उनले राजीनामाको जस्तो प्रस्ताव गरे ती आफैं केही संकेत हुन् । कुनै पनि सांसद सम्वन्धित दलको नेता मातहत रहनु पर्छ । यहाँ त्यस्तो भएन । यसले बुझाउँछ बामदेव यो बेलापनि पैसाबाट नै राजनीति गरिरहेका छन् जस्तो २३ वर्ष अघि भएको थियो । 

अध्याय आठ: संग्रौला काण्ड 

बामदेवको प्रशासन कस्तो हुन्छ भन्ने उनी गृहमन्त्री भएको बेलाको एउटा घटना राज्यको अभिलेखमा अहिले पनि कायम रहेको हुनुपर्छ । नरहरि संग्रौंला काण्ड भनी त्यसबेला चिनिएको यो घटना बामदेव वास्तवमा नै सत्तामा गए भने के गर्छन् भन्ने सधैँका लागि उदाहरण हुनुपर्छ । 

नरहरि संग्रौला त्यस्ता पात्र हुन जो पूर्व कोशी व्यारेज क्षेत्रको प्रहरी कार्यालयको प्रमुख हुँदा प्रहरीले पक्राउ गरेर ल्याएका गाँजाका टक«हरुलाई आफैं त्यसमा चढेर सीमापार गर्थे । पछि प्रहरीले नै अनुसन्धान गर्दा यो प्रमाणित भयो ।  उनले मुखैले रकम लिएर छुटाएको भनी बयान दिएका  थिए । त्यही आधारमा उनलाई भविष्यमा सरकारी नोकरीकालागि अयोग्य हुने गरी वर्खास्त गरिएको थियो । एकदिन गौतमले तिनै इन्स्पेक्टरबाट वर्खास्तमा संग्रौलालाई प्रथम श्रेणीको विशेष प्रहरीको प्रमुख बनाए । त्यसबेला अख्तियार भन्दा विशेष प्रहरी शक्तिशाली थियो । 

यसको एमालेकै सांसदबाट छानविन भयो जसमा ३० वटा कैफियत फेला परे । तर यता गौतमले चाहि यो नियुक्तिका पक्षमा अडान लिइरहे । उनले त्यसबेला भनेका कुरा संसदमा अभिलेख हुनुपर्छ । उनको भनाइ थियो– यो नियुक्ति गृहमन्त्रीको नियमित प्रशासनिक कार्य अन्तर्गत भएको छ ।’
भ्रष्टाचारको दक्षतालाई यसरी कदर गरिएको विषय गौतमको प्रशासनिक कुशलताकाबारे चर्चा हुँदा जहिले पनि आउने गरेको छ आजसम्म नै ।         

अध्याय नौः  संसदबाटै शंका  

 यतिबेला गौतम जहाँ जान यस्तो प्रयाश गरिहेका थिए त्यो ठाउँबाटै उनीमाथि धेरै शंका भएको थियो पहिले । तत्कालिन दोस्रो प्रतिनिधिसभामा बि.सं. २०५५ पुस २८ गते संसदीय समितिले पेश गरेको प्रतिवेदन हेरौं । जसमा भनिएको छ, ‘अवैध रुपमा बिदेशी मूद्रा, सुन, बहुमूल्य मालसामान ओसारप्रसार गरिदिनेमा विमान चालक, परिचारिका, लोडर, क्लिनरलगायतका कर्मचारी संलग्न भएर क्याटरिङ सेवा गर्ने गाडी, फोहोर फाल्ने थैला प्रयोग गर्दै सामान वारपार गर्ने गरिएको देखियो । जसमा उच्चपदस्थ कर्मचारी र राजनीतिक व्यक्तिको संलग्नता पनि देखियो ।’ 

यो उच्च पदस्थ  राजनीतिक व्यक्तिको संलग्नता कसको थियो भन्ने गौतमकै सहयोगी पोख्रेलको केन्द्रिय समितिमा राखिएको विवरण नै पर्याप्त होला ठम्याउन । तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री र नेकपा एमालेका वामदेव गौतम उपप्रधानमन्त्री तथा गृहमन्त्री रहेको सरकारको पालामा तस्करी संस्थागत भएको आवाज संसदमा उठेपछि बि. सं. २०५४ सालमा संयुक्त संसदीय समिति बनाइएको थियो । सम्पूर्ण राजनीतिक दलको संलग्नतामा बनेको प्रतिवेदन त्यसपछि गायव बनाइयो । यो लरतरो शक्तिले पुग्नेकुरा थिएन । 

अध्याय दश: नम्वर १ भ्रष्टाचारी

यो पुराणमा सधैँ वाचन हुँदै आएको एउटा प्रसंग उल्लेख भएन भने अधुरो नै होला । अरुले त सम्झिएका छन् छैनन् तर एमालेका कार्यकर्ताले त नोटमा नै रोखेको हुनुपर्छ बामदेव कस्ता व्यक्तिहुन भन्ने । एमाले पार्टी फुटेपछि एमालेका नेता प्रदिप नेपालले खुलामञ्चबाट भ्रष्टाचारीको नाम घोषणा गर्ने कार्यक्रममा १ नं. भ्रष्टाचारी भन्दै बामदेव गौतमलाई घोषणा गरेका थिए । यो घोषणा सभामा तत्कालीन एमालेले पाँचलाख मान्छे भेला भएको दावी गरेको थियो । अर्थात् यो घोषणा यति ठूलो सख्यका बीचमा भएको थियो । यो सभा कुनै एकजनाको लहडमा आयोजित थिएन । यहाँ यो दलका सबैनेता उपस्थित थिए र सम्वोधन पनि सबैले गरे । खुलामञ्चबाट औपचारिक रुपले यस्तो भ्रष्टाचारी भनी घोषित भएका जीवित पात्र मध्ये गौतम एक हुन् । यसरी उनीप्रति ठडिएको औँला अझै तल झरेको छैन । 

सरकारी कदमको परिणाम : आम्दानी आठ खर्व, खर्च ३२ खर्व !

सबैलाई थाहै छ, गत भदौ १४–१५ मा आयोजित विम्स्टेक सम्मेलनका अवसरमा राजधानी सिँगार्ने क्रममा एउटा ठूलो पोष्टर निकै चासो र चर्चाको बिषय बनेको थियो। त्यो

शपथ लिँदै घूस खाने १९ कर्मचारी कानूनी पिँजडामा

  दुइतिहाइको सरकार नौ महिना पूरा गरेर दशौंमा प्रवेश गर्दैछ कार्तिक ३ बाट । तर यसका कामहरु भने कतिपय अस्वाभाविक र शासकीय रुपले एकप्रकारले असफल नै

एक कर्मचारीलाई प्रधानमन्त्रीको आशिर्वाद: उमेर हद एकवर्ष बाँकी हुँदा चारवर्षे नियुक्ति

प्रधानमन्त्री केपीशर्मा ओलीले जबजब ‘म भ्रष्टाचार गर्दिनँ र हुनपनि दिन्नँ’ भन्छन्, तबतब यो एउटा घटना त्यही छेउमा प्रकट हुँदो रहेछ ऐना भएर ।

प्रधानमन्त्रीको ठाडो प्रस्तावले ७० अर्व स्वाहा 

दुइहजार पचहत्तर सालको असोज ५ लाई देशले नै नोटमा राख्नुपर्ने भएको छ। खासगरी बिकास निर्माणसँग सम्वन्धित आयोजनाहरु सञ्चालनका सन्दर्भमा। यो परम्परा