दशैं खानपानबारे आयुर्वेद के भन्छ ?

दशैंमा नेपालीको भान्छामा मासु अत्यधिक परिमाणमा पाक्ने गर्छ । यसैगरी चिल्ला मिठाई र रोटी, पिरो र अमीलो अचार धेरै खाने गरिन्छ । मदिराको त खोलो नै बग्छ । खसीको कवाब बनाएर एक दिन हैन, तिन चार दिनसम्म राखेर खाने हाम्रो चलन छ । तर के यसो गर्नु स्वास्थ्यबर्धक हो त ? पक्कै हैन । दशैंको बेला दुइ चार दिन जिब्रो स्वादका लागि खाइने यस्ता परिकारले अन्ततः महिनौं दिनसम्म हाम्रो शरीरमा नकारात्मक असर पारीरहेको हुन्छ । यसो भन्दैमा यी परिकारको मजा लिनै हुँदैन भन्ने पनि हैन ।

यस्ता चाड पर्वका बेला खानपीनमा रमाउँदा के के कुरामा ध्यान दिनुपर्छ भन्नेबारे हाम्रो प्राचीन चिकित्सा विज्ञान आयुर्वेदले धेरै कुरामा प्रकाश पारेको छ । धनवन्तरी, चरक, सुश्रुत र देवकुमार अश्वीनीजस्ता ती प्राचिन ऋषिहरुले हजारौं वर्ष पहिले नै हामीलाई भोजन कला सिकाएर गएका छन् । आउनुस्, दशैंको खानपिनमा रमाउँदै गर्दा हामी आर्युवेदको त्यो पक्षको चर्चा गरौं, जसले हामीलाई ठीक ठीक ढंगले उचित परिकार खान सिकाउँछ ।

पथ्यापथ्यको महत्व

‘पथ्य’ भन्नाले संस्कृतमा पथको लागि हितकारी भन्ने बुझिन्छ भने अपथ्य त्यसको विपरित । पथ भनेको शरीरमा विभिन्न तत्वहरुको आवागमनका लागि स्रोत वा अवकाशयुक्त बाटाहरु हुन् । पथ्य आहार विहारले शरीर र मन दुबैलाई सुखी र सन्तुष्टि दिलाउँछ ।
सामान्य भाषामा भन्नुपर्दा रगत बग्ने शिरा, धमनीदेखि लिएर श्वास बग्ने श्वासनली र अन्न बग्ने अन्न नलीसम्म सबै पथ वा स्रोत हुन् । हरेक बिरामीले मात्र नभई स्वस्थ व्यक्तिले पनि उसको शारीरिक तथा मानसिक अवस्था, प्रकृति व्यक्तिको मौलिक गुण, देश (भौगोलिक अवस्था), काल(बर्षको हिउँद र बर्खा याम), वय, अग्नि(व्यक्तिको पचाउने क्षमता), सात्म्य(मन पर्ने, नपर्ने) आदि बिचार गरि खान/गर्न हुने(पथ्य) र खान/गर्न नहुने (अपथ्य) पक्षलाई राम्रोसँग बुझ्नु आवश्यक छ ।

आयुर्वेदमा पथ्यापथ्यको निकै महत्व छ । आयुर्वेद पद्धति अनुसार रोग उत्पन्न हुनुमा एउटा मुख्य भूमिका अपथ्य आहार/विहारको हुने गर्दछ । उदाहरणका लागि चिल्लोको मात्र रगतमा बढी भएका बिरामीहरुका लागि रातो मासु तथा बोसो भएको मासु खानु अपथ्य हो, किनभने यसो गर्दा तुरुन्त रोगीको रक्तमा टिजी, एलडीएलको मात्रा बढाईदिन्छ र यसले दीर्घकालिन रुपमा रक्तनलीमा र त्यसमा पनि विशेषगरी मुटुको कोरोनरी आर्टरीमा चिल्लोको मात्रा (प्लेक)जम्न जान्छ । जसबाट मायोकार्डील इन्फार्कसन(हृदयाघात)को सम्भावना रहन्छ ।

हिमाली भेगमा बसोवास गर्नेका लागि चिसो वातावरणलाई छल्न उष्ण, गुरु खानपान र न्यानो कपडा लगाउनु पथ्य हुन्छ । तराईमा भने उष्ण मौसमबाट बच्न पातलो कपडा, चिसो पानी र शितल गराउने खानपान पथ्य हुन्छ । त्यस्तै कब्जियत हुनेका लागि सागसब्जी, गहुँ खानु पथ्य हुन्छ भने मासु, गेडागुडी बढी खानु अपथ्य हुन्छ ।

मासुको मात्रा

अहिलेको अस्तव्यस्त समाजमा उचित रुपमा व्यायाम, आराम र खानाको अनुपात नमिल्दा कैयौं नसर्ने रोगहरु जस्तैः सुगर, उच्च रक्तचाप, युरिकएसिडलगायत उत्पन्न हुन्छन् । र दशैं नै यस्तो पर्व हो, जहाँ हाम्रो खानाको सन्तुलन मिल्दैन । टिका लगाउन विभिन्न आफन्तकहाँ जाँदा केही न केही खान दिन्छन् । नखाए आफन्तले चित्त दुःखाउलान भनेर एक दुइ टुक्रा मासु खाइहालिन्छ । यो स्वाभाविक हो ।

तर हामीले बुझ्नुपर्छ, दशैं शरद् ऋतुमा पर्छ र यस ऋतुमा पित्तको प्रकोप हुन्छ । अर्थात शरीरको अग्नि क्षीण हुन्छ । यसकारण खानामा रुची पनि कम नै हुने गर्दछ, तैपनि खाइरहनुपर्छ । हो असन्तुलन यहींनेर हुनजान्छ । शरद् ऋतुलगत्तै हेमन्त ऋतुको आगमनसँगै हिउँदयाम सुरु हुन्छ । शरद् ऋतुको उत्तराध्र्दबाट नै केहि अग्नि बल र खानामा रुचीमा वृद्धि महशुस गर्न सकिन्छ ।

दशैंमा बिशेष रुपमा मासुजन्य पदार्थको उपभोग गरिने भएकाले अग्निको ख्याल राख्नु पर्दछ। मासु पचाउन गाह्रो पर्छ । तसर्थ वयस्क व्यक्तिले मासुमा नियन्त्र नै कायम गर्नुपर्छ । एक व्यक्तिले मासुको उपभोग दिनमा बढीमा १०० ग्राममा सीमित गर्नु वेश हुन्छ। बढी मासु खाँदा अग्निले काम गर्न सक्दैन अपच भई समस्या हुन्छ ।

मसला कस्तो ?

मसला पनि खानपिनको मुख्य पक्ष हो । दालचिनी, जिरा, धनियाँ, लसुन, अदुवा, सुकमेल प्रयोग गर्दा यसले शरीरको अग्नि बढाई भोक जगाउँछ र खाना पचाउँछ । यस्ता मसला सकेसम्म बाहिरबाट किनेर ल्याउनुभन्दा घरमै तयार गर्नु उपयुक्त हुन्छ । बजारमा पाइने मसलाह?मा अनेक मिसावट हुने भएकाले घरमै ओखलमा पिसेर तयार गरिने मसाला उत्तम हुन्छ । हेक्का रहोस्, यहाँ उल्लेख गरिएका धेरै मसलाहरु औषधीय गुणले भरिपूर्ण हुन्छन् ।

झोलमा डुबेर मरिंदैन

नेपालीमा एउटा उखान छ, ‘चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी’ ।

चोक्टा भन्नासाथ मासुको कुरा आउँछ । तर, स्वास्थ्यका दृष्टिले हेर्दा यो उखानमा थोरै सच्याउनुपर्ने हुन्छ । चोक्टै चोक्टाले भरिएको र डिप फ्राइ गरिएको मासु भन्दा झोलिलो मासु सुपाच्य हुन्छ । अतः झोलमा डुबेर मरिंदैन । 

मासुलाई पोलेर, तारेर, बार्बेक्यू गरेर र खासगरी बोसैबोसो हुने  गरी कबाब बनाएर खाने चलन छ । यस्तो मासुले कब्जीयत मात्र गराउँदैन, रगतमा टिजी , एलडीएल बढी भएकालाई अपथ्य हुन्छ । बरु, झोल बनाएर खाँदा बोसो पग्लिन्छ र चिल्लो खपत कम हुन्छ । तार्दा र पोल्दा प्रोटिनको झनै सुगठन हुन्छ, झोल मासु भने पचाउन पनि सहज हुन्छ ।

दशैंमा परिवारका सबैजना जम्मा भई तास इत्यादि खेल्ने गरिन्छ । यसरी जुवाको खालमा अहोरात्र बस्ने प्रवृत्ति पनि हामी पाउँछौं । यसले शरीर चलायमान हुन पाउँदैन र खाएको पनि राम्ररी पच्दैन । त्यसमाथि अनिद्रा । अतः जुवा तासमा अलमलीनुभन्दा घुम्नु, टहलिनु, पिङ खेल्नु शरीर र मष्तिष्क दुबैका लागि उत्तम हुनेछ । यसो गर्दा व्यायाम पनि हुन्छ र अग्नि बढी पाचनमा पनि सहयोग पुग्छ ।

सँधै पालना गरौं:
पथ्यापथ्यको बिषयमा ‘वैद्य जीवनम’मा भनिएको पनि छः
‘पथ्ये सति गदार्तस्य किमौषधनिषेवणै्र
पथ्येऽसति गदार्तस्य किमौषधनिषेवणै’

अर्थात यदि पथ्यको पालना गरिएको छ भने औषधिको के खाँचो ? यदि पथ्यको पालना गरिएको छैन भने औषधिको प्रयोग गरेर पनि के नै हुन्छ    र ?

आयुर्वेदले सन्तुलित आहार/बिहारलाई कति महत्व दिएको छ भन्ने यस श्लोकबाट स्पष्ट हुन्छ ।  आयुर्वेदको मुख्य ग्रन्थमध्ये चरक संहितामा ऋतुचर्या (ऋतु अनुसार पालना गर्नुपर्ने नियम), दिनचर्या (बिहान निद्राबाट जागेपछि फेरी सुत्नुअघि दिनभर पालना गर्नुपर्ने नियम) जस्ता सुक्ष्म बिषयमा व्याख्या गरिएको पाइन्छ।

आयुर्वेदको उपयोगिता दशैं चाडमा मात्र नभइ यो जीवन विज्ञानको उपयोगिता सार्वभौम छ । सनातन विद्या भएकाले युग युगान्तरसम्म यसको महत्ता कायमै रहनेछ । यस विद्याको  शिघ्रातिशिघ्र उचित प्रयोग, संरक्षण र प्रवध्र्दनमै मानवताको हित देखिन्छ ।

(डा. बस्नेत आयुर्वेद क्याम्पस, स्वतन्त्र बिद्यार्थी यूनियनमा अध्यक्ष हुन्)


 

आज विश्व मधुमेह दिवसः नेपाली उच्च जोखिममा

काठमाडौ,२८ कात्तिक । निष्क्रिय जीवनशैली र अव्यवस्थित खानपानका कारण शरीरमा सुगरको मात्रा बढ्छ। जसले शरीरका अन्य अंगलाई प्रभावित पारी विभिन्न समस्या

यसरी निमोनियाबाट जोगाउन सकिन्छ बालबालिकालाई

काठमाडौं, कात्तिक २७ । जाडो महिना शुरु भएसँगै मानिसहरुमा चिसोको कारण लाग्ने रुघाखोकी जस्ता रोगले सताउन थालिसकेको छ । यो समयमा विशेषगरी साना

   शरीरका महत्वपूर्ण अंग यसरी जोगाउन सकिन्छ

शरीरका आन्तरिक अंगहरु सहि रुपमा संचालनको लागि ती अंगहरु स्वस्थ्य रहनु जरुरी छ । तैपनि हामीले कतिपय स–साना बिषयमा ध्यान नपु¥याउनाले यस्ता

प्रदेश नं १ मा १४ औलो रोगी

दमक ।  झापासहित प्रदेश नं १ मा यस वर्ष १४ जनामा औलो रोगको संक्रमण भेटिएको छ । दमक नगरपालिकाको नगर स्वास्थ्य शाखाले उक्त रोगसम्बन्धी शुक्रबार यहाँ