संसारकै धनी बिल गेट्स किन सुखी थिएनन् ?

एक दिन मैले ईश्वरलाई संवोधन गर्दै भनें, ‘प्रभु, तिमी कहाँं छौ ? के साँच्चै तिम्रो कतै अस्तित्व त छ ? छ भने एक पटक प्रकट भएर आफ्नो अस्तित्वको प्रमाण पेश गर ।’

मैले चुनौती दिँदा पनि ईश्वर कतै प्रकट भएनन् । मैले यसरी ईश्वरलाई संवोधन गर्नुको खास कारण थियो । एकपटक चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रले मसँग भनेका थिए, ‘म यो ईश्वर भन्ने कुरामा पटक्कै विश्वास गर्दिन । किनभने मैले धेरैपटक बोलाउँदा पनि ईश्वर भन्ने जिनिस प्रकट नै भएन । बरु कुकुरले चे..भन्दा भुकेर मेरो संवोधनको जवाफ दिन्छ, तर ईश्वरलाई बोलाउँदा बोलेन । त्यसैले म ईश्वर मान्दिन । यसको मतलब म कम्युनिष्ट भने होईन है ।’ 

मनुजबाबुले झैं मैले पनि ईश्वरलाई बोलाएँ, कतै ‘हजूर’ भन्छन् की भनेर । तर अहँ कतै चाईंचुईं खाक्खाक् खुक्खुक् केही सुनिएन, ईश्वरको । त्यसैले म पनि ईश्वर छैनन् नै भन्ने निश्कर्षमा पुगेको थिएँ । आफूले ईश्वर नदेखेको, ईश्वर महसुस नगरेको तथा त्यसको काल्पनीक छविसमेत मनमा प्रकट नभएको हुँदा मैले ईश्वरको अस्तीत्वमा विश्वास गर्न छाडेको थिएँ ।

करीब पैंतीस वर्षको उमेर टेक्दै गर्दा मेरो जीवनमा एउटा चमत्कार भयो । त्यो चमत्कार के भने मेरो मनमा एउटा प्रश्न उत्पन्न भयो । त्यो प्रश्न थियो, इश्वर छन् की छैनन् भन्ने विषयमा मैले धेरै दिमाग खियाएँ । तर ईश्वर आफैंमा के हुन् त ? केलाई ईश्वर भन्ने ? यसबारेमा भने मेरो ध्यान गएको रहेनछ । 

हो त नी । खासमा ‘ईश्वर छन्’ वा ‘ईश्वर छैनन्’ भन्ने दुबैलाई ईश्वर के हुन् भन्नेबारे पूर्ण जानकारी छैन । जस्तो की ‘घरमा राम छन्’ वा ‘घरमा राम छैनन्’ भन्नका लागि कमसे कम राम को हुन् भन्नेबारे जानकारी हुनुपर्छ । ईश्वर को हुन् भन्नेबारे स्पष्ट नभई ईश्वर छन् की छैनन् भन्ने बहस गर्नुको कुनै औचीत्य नहुने ठहर मेरो अभ्यन्तरले ग¥यो ।

स्वतः प्रश्न उठने नै भयो, ईश्वर को हुन् त ? मैले यो प्रश्न धेरैलाई सोधें । धेरैले प्रायः अमूर्त र शास्त्रीय जवाफ दिए । यसवीचमा धेरै धर्मशास्त्रका ठेली पल्टाएँ । तर मैले ईश्वर यही नै हुन् भन्ने ठम्याउन सकिन । 

एकदिन मैले बाल्यकालदेखीका घटना सम्झिएँ । ओ हो, सानो उमेरमा म केही न केही रमाईलो क्षणको प्रतिक्षा गरिरहन्थें । चकलेट खाने, पौडी खेल्ने, फिल्म हेर्ने, रुखमा चढेर आँप र अम्बा टिप्ने, गुलेलीले चरा वा बल्छीले माछा मार्ने । बाबु आमाको पैसा चोरेर चलचित्र हेर्न जाने । स्कूलबाट भागेर नदीको बगरमा बालुवाको घर बनाएर बस्ने । यस्तो धेरै कुराहरुमा म आनन्द अनुभव गर्थें । 

उमेर बढदै जाँदा मेरा मस्तीका माध्यम र चाहना बढ्दै गए । अब गुलेलीले चरा मार्दा मजा नआउने भयो । तन्नेरीमा त युवतीसँगको प्रेम वा यौन सम्बन्धमा पो मजा आउने भयो । युवतीलाई स्पर्श गर्न पाउँदाको मजा कस्तो होला ? भन्ने कुतुहलता हुन थाल्यो । त्यस्तैमा एउटी कन्यासँग मेरो प्रेम भयो । उनलाई देख्दा रोमांचीत हुन थालें । उनलाई चुम्बन गर्न पाए कस्तो हुन्थ्यो भन्ने हुन्थ्यो । एकदिन उनलाई धित मर्नेगरी चुम्बन पनि गरें । त्यसपछि उनीसँग यौन सम्पर्क राख्ने इच्छा पलायो । मेरो त्यो इच्छा पनि पूरा भयो । तर त्यसले पनि मलाई तृप्त पारेन । 

साथीहरुको संगतमा लागेर मदिरा पिउन थालें । मदिरा पिउँदा धेरै आनन्द हुन थाल्यो । कालान्तरमा मदिराबाट पनि मेरो प्यास तृप्त हुन सकेन । फेरी पनि मन ब्याकूल भई नै रह्यो । आखिर मेरो चाहना के थियो ? म ठम्याउन सकिरहेको थिईन । म खासमा के प्राप्त गर्न चाहन्छु ? ममा केको रिक्तता छ ? ममा केको प्यास छ ? मेरो असली भोक के हो ? त्यो ठम्याउन सकिरहेको थिईन । तर म प्यासी थिएँ, भोको थिएँ र अतृप्त थिएँ । 
एकदिन बल्ल बोध भयो, मेरो त्यही भोक, प्यास र अतृप्ती नै ईश्वरको अस्तित्वको प्रमाण हो । म मात्र हैन, सबै मानिस आनन्दको प्यासी छन् । त्यो आनन्द पनि एक घन्टा, एक दिन, एक महिना, एक वर्ष वा एक जुनीका लागि हैन, सदाका लागि आनन्दीत हुन् चाहन्छन् । तर त्यो सदानन्द अवस्थामा पुग्न कोही पनि सकिरहेका हुँदैनन् । त्यो आनन्दमा पुग्न त रिस उठ्नु भएन, कसैले गाली गर्दा चित्त दुःखनु भएन । अर्थात दुःखबाट मुक्त हुनसक्नुप¥यो । जुन दिन मानिस दुःखबाट मुक्त भएर सदानन्द अवस्थामा पुग्न सक्छ, त्यसैदिन उ नरबाट नारायण बन्न सक्छ । यसको अर्थ एउटा त्यस्तो अवस्था छ, सदानन्दको अवस्था–जहाँसम्म मानिस पुग्न चाहन्छ । हो, त्यही सदानन्द अवस्था नै ईश्वर हो । यस हिसाबले ईश्वर भनेको कुनै शक्ति, व्यक्ति वा पात्र भन्दा पनि चेतनाको सदानन्द अवस्था हो, यसैलाई सतचित आनन्द भनिएको रहेछ ।

विश्वमा धेरैले ईश्वरको खोजी गरे । तर उनीहरुले कहिल्यै ईश्वरलाई फेला पारेनन् । बरु आफैं ईश्वरमा परिणत भए । ईश्वर वा परमात्माको परम रहष्य यसैमा छ । जसले यो गुहय बुझनसक्छ, उसले ज्ञात, अज्ञात, गेय र अगेयको गणीतमा रुमलीनुपर्दैन । तर ईश्वर खोज्नेहरुले ईश्वरलाई कहिल्यै भेटेनेन् । खोज्दै जाँदा उनीहरु आफैं ईश्वर भए । बुध्दले ईश्वर खोजे, भेटेनन् । उनी आफैं इश्वर भए । महावीर हुन या ओशो, सबैको प्रारम्भ ईश्वरकै खोजीबाट भएको हो । तर उनीहरु पनि ईश्वरमै परिणत भए । यही नै ईश्वरको सत्ता र महत्ताको परम रहष्य हो । 

यो रहष्य धेरै मानिसलाई थाहा हुँदैन । मानिस आफैंभित्र ईश्वर छ, वा मानिस आफैं ईश्वर बन्न सक्छन् भन्ने कुरा अधिकांशलाई बिश्वास हुँदैन । आचार्य रजनीश अर्थात ओशोले ‘भगवान रजनीश’ भनेर आफंैलाई सम्बोधन गर्दा भारतमा धेरै बबाल भयो । एउटा दार्शनीक, तार्कीक वा आध्यात्मीक गुरुले आफूलाई भगवान भनेर घोषणा गर्दा अमीताभ बच्चनका बाबु हरिबंश राय बच्चन र खुशवन्त सिंहजस्ता लेखकले चर्को आलोचना गरेका थिए । तर ओशोको मनसाय अर्कै थियो । उनले मानिसभित्रको ईश्वरतर्फ संकेत गरेका थिए । हरेक मानिसभित्र ईश्वर हुन्छ र त्यो ईश्वरीय गुणलाई जगाउन सके मानिस स्वयं ईश्वर हुनसक्छ भन्ने ओशोको आशय थियो । त्यसैले ओशोले आफ्नो हरेक प्रवचनको अन्त्यमा साधकलाई सम्बोधन गर्दै भन्थे, ‘तपाईंहरुभित्रको परमात्मालाई प्रणाम ।’ 

मानिसलाई जव शरीर, मन, विचार, सांसारीक उहापोह, लोभ, अहंकार र विषय भोगको वासनाले घेर्छ, तब उभित्रको ईश्वर लुप्त हुन्छ । उसको सदानन्द स्वरुपलाई सांसारीक आवरणले छोप्छ । खासमा जन्मबाट नै मानिसको दुःखको यात्रा सुरु हुन्छ । उसलाई शरीर, नाम, जात, धर्म, संस्कार, समुदाय, देश, राजनीतिक दल, कालो,  गोरो, आदि पोशाकले बेरीन्छ । त्यसपछि बालक यसकै मानसीक उतार चढावमा रुमलीन्छ । सांसारीक मायामा अल्झीए पनि उसको अभ्यन्तरमा आनन्दको स्मृति भने जीवीतै हुन्छ । उसको अवेचतन मष्तिष्श्कमा त्यो आनन्द संरक्षित भएर रहेको हुन्छ । र जीवनभर मानिसको अभ्यन्तरको कोशीस रहन्छ, त्यही आनन्दमा फर्किने । 

तर, मानिसलाई थाहा हुँदैन, त्यो आनन्द कसरी प्राप्त हुन्छ । त्यसैले उसले रक्सी पिउँछ । यौन सम्पर्कबाट त्यो आनन्द प्राप्त गर्न चाहन्छ । धन सम्पत्ती कमाएर त्यहाँसम्म पुग्ने कोशीस गर्छ । प्रधानमन्त्री वा राष्ट्रपती भएर त्यो आनन्द प्राप्त गर्ने कोशीस गर्छ । तर मानिसले एकपटक हैन, ६–६ पटकसम्म प्रधानमन्त्री भएर पनि त्यो आनन्द प्राप्त गर्न सक्दैन । बिल गेट्स झैं संसारकै धनी भएर पनि सन्तुष्ट हँुदैन र आनन्दका लागि बिल गेट्सले झैं संसारभरी अरुलाई सहयोग गर्दै हिड्नुपर्ने हुन्छ । 

किनकी, सुख र दुःख दुबै उत्तेजना हो । आनन्द भनेको परम विश्रामको अवस्था हो । त्यही भएर कार्लमाक्र्सको खण्डन गर्दै ओशोले भने, ‘मानिस श्रम हैन, विश्राम खोजीरहेको छ ।’ तर त्यो परम विश्रामको अवस्था वा सदानन्दको अवस्थामा पुग्न संसारमा कुनै भौतीक प्रविधि आविष्कार भएको छैन । यो संसार त दुःखको संसार हो । यहाँ आनन्दको कुनै उपाय छैन । त्यसैले यदि आनन्दको अवस्थामा वा ईश्वरीय अवस्थामा पुग्ने हो भने यो संसारबाट, यो मनबाट, यो मनको गणीतबाट पारी पुग्नैपर्छ ।

मनबाट पारी अर्थात उन्मनी अवस्थामा पुग्न हाम्रा पहिलेका ऋषिमुनी झैं जंगल नै जानुपर्छ भन्ने छैन । सांसारीक कर्म गरेर पनि सदानन्द अवस्थामा पुग्न सकिन्छ । त्यसका लागि ध्यान एउटा उत्तम उपाय हो । यहाँ म तपार्इंलाई सांसारीक दृश्यबाट आफैंभित्रको ईश्वरको बाटोतर्फ लाग्ने सानो उपाय बताउँछुः

विहानै उठ्नुस । ट्वाईलेट गएर ‘फ्रेस’ भएर आउनुस र ओछयानमा बस्नुस् । आँखा बन्द गर्नुस् । लामो सास तानेर छाडनुस् । करीब पाँच मिनटसम्म लामो सास तान्दै छाडदै गर्नुस । केहीबेरपछि लामो लामो सास तान्न छाडनुस् र सासलाई आफ्नै गतीमा भित्र र बाहिर हुन दिनुस । बिस्तारै सासले भित्र र बाहिर गरीरहेको हेर्नुस् । अर्थात् आफ्नो ध्यान सासको गतिमा लगाउनुस् । कसरी सास भित्र गईरहेको छ र कसरी बाहिर गईरहेको छ, त्यसलाई हेर्नुस् । यो स्वासप्रश्वास तपाईंले गरेको हैन, हेक्का रहोस । तपार्इंले गरेको भए सुतेको बेलामा स्वासप्रश्वास बन्द हुनुपर्ने । तर स्वासप्रश्वास अस्तित्वले गराईरहेको छ । ब्रम्हाण्डीय उर्जाले गराईरहेको छ । त्यसको गहिराईमा पुग्नुस् । 

जव तपाईंको ध्यान सासमा केन्द्रीत हुन्छ, केही समयका लागि भए पनि तपाईंको मन विचाररहीत हुन्छ । त्यो एक मिनट वा दुई मिनट मात्र किन नहोस् । तपाईलाई तनावमा पार्ने बिचारबाट तपाईं केही समयका लागि भए पनि टाढा हुनुहुन्छ । तपाईं निर्विचार अवस्थामा पुग्न सक्नुहुन्छ । त्यसक्रममा कुनै बिचार आईहाले पनि सकारात्मक बिचार आउन थाल्छ । 

यही यात्राका क्रममा तपाईं बिस्तारै आनन्दको रसको स्वाद थाहा पाउन थाल्नुहुन्छ । तपार्इं आफंैभित्र फर्कनुहुनेछ । आफ्नो नैसर्गिक आनन्द स्वभावमा फर्कने कार्यको श्रीगणेश हुनेछ । निर्विचार वा साक्षी भावको अभ्यास गर्दै जाँदा एक दिन तपाईंले ईश्वरीय अनुभव गर्नुहुनेछ । तर, यसका लागि निरन्तर साधना गर्नुपर्छ । (पत्रकार कुसुम भट्टराईले सरल पत्रिकाका लागि  तयार पारेको यो सामग्री पुनःप्रकाशन गरिएको हो)


 

सडकमा घिस्रिए विराटनगरका मेयर

विराटनगर, २७ कात्तिक । विराटनगर महानगरपालिका मेयर भीम पराजुली सडकमा घिस्रिएका छन् । नगरको शान्ति र विकासका लागि छठमा ब्रत बसेर घिस्रिएको उनले बताएका

 जीवनमा के के त्याग गर्दा के पाईन्छ

त्यागको ठूलो चर्चा हुन्छ । त्यागबाट मोह नाश हुन्छ भन्ने मान्यता छ । तर त्याग्नको लागि आफूसँग हुनुप¥यो । त्याग्न जरुरी छ । त्याग्ने अभ्यास हुनुपर्छ ।

चितवनमा  ८० करोडको बहुदेश्यीय धाम बन्दै

चितवन । भरतपुर महानगरपालिका–११ मा रहेको धार्मिक एवं ऐतिहासिकस्थल गणेशस्थानलाई ८० करोड खर्चेर गणेश धामको रुपमा विकास गरिने भएको छ ।  भरतपुरको

किन भनियो गोवर्धन पूजा

🌹  गोवर्धन पूजको दिन तिहार ९यम पञ्चक०को चौथो दिनमा पर्दछ र त्यसदिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा