वामदेव काण्ड: प्रचण्ड सफल, ओली विफल

नेकपा नामको जहाजमा दुईजना पाइलट छन् । एकजना केपी ओली, अर्का पुष्पकमल दाहाल प्रचण्ड । ओलीले जहाज एकातिर लैजान खोज्दैछन्, प्रचण्ड विपरिततर्फ जहाज लैजान खोज्दैछन् । वामदेव गौतम काण्डले यही देखायो ।

वामदेव काण्डले धेरै कुरा सतहमा ल्याइदिएको छ । अनेक प्रश्न उठाएको छ । केन्द्रीय प्रश्न हो— केपी ओली सरकारलाई कोबाट, कताबाट र कहाँबाट खतरा छ ?

सुरुमै लेखीहालौं— यो सरकारलाई सबैभन्दा धेरै खतरा कोहीबाट छ भने स्वयं केपी ओलीबाट छ । त्यसपछिको खतरा नेकपा भित्रैबाट हो । नेपालमा बहुमतको सरकारलाई पार्टीभित्रैबाट खतरा हुने गरेको इतिहास छ, वर्तमानले पनि यही भन्दैछ । स्थिर सरकार टिक्न नदिन तथा अस्थिरता फर्काउन विविध शक्तिहरुबाट शानदार प्रयास भइरहेको बुझ्न कठिन छैन ।

देशीविदेशी अनेक कोणबाट ओली सरकारलाई खतरा छ । जुनसुकै कोणको खतरा पनि नेकपा भित्रको आन्तरिक राजनीतिक विग्रहको बुई चढेर सिंहदरबार तथा संसदमा भित्रन चाहन्छ भन्ने प्रष्टै छ ।

घातक वामदेव

घाइते सिंहले झन् ठूलो बल लगाएर हमला गर्छ भनिन्छ । वामदेव अहिले घाइते सिंह हुन् । काठमाडौं—७ बाट उपचुनाव लड्ने उनको प्रयास असफल भएको छ ।

तर, वामदेवका अहिलेसम्मका प्रयत्नहरु नियाल्दा उनी भविष्यमा कुनै न कुनै उपायले उपचुनाव लड्न सक्छन् । कमजोर स्मरण शक्ति भएका नेपाली जनताले काठमाडौं—७ मा वामदेव कसरी असफल भएका थिए भन्ने विर्सनेछन्, त्यसपछि वामदेवले कुनै नयाँ ठाउँमा कोही सांसदको सिकार गरेर चुनाव लड्न सक्छन् । कुनै अनिष्ट घटना नहोस् भनी कामना गरौं तर कुनै ठाउँ हठात खाली हुनसक्छ र त्यो अवस्थामा पनि चुनाव लड्न सक्छन् । 

यो ३० वर्षमा वामदेवलाई नेपाली समाजले जसरी चिनेको छ, उनी हार खाने खालका मानिस होइनन्, जरुर प्रयत्न गर्नेछन् । यहाँ प्रयुक्त ‘हार खाने खालका मानिस होइनन्’ शब्दावलीको खास अर्थ छ ।

वामदेवले हाललाई चुनाव लड्ने प्रयास त्यागेका हुन्, शक्ति संघर्ष नै त्यागेका होइनन् । नेपालमा एकपटक ठूलो हैसियत बनाइसकेको नेताले शक्तिसंघर्ष मृत्युको मुखमा पुग्दासम्म छाड्दैन । झन वामदेव त हट्टाकट्टा र तगडा छन्, उर्जावान छन् । अब उनको सम्पूर्ण ध्यान पार्टीभित्रको शक्ति संघर्षमा केन्द्रीत हुनेछ ।

प्रधानमन्त्री बन्ने इच्छा राख्नु कुनै अपराध होइन, वामदेवले पनि इच्छा राखेका छन् । यसकै लागि प्रतिनिधिसभा ताकेका हुन्, हाललाई असफल   भए । आफैं प्रधानमन्त्री बन्न नसकेपछि अब उनको प्रयास ओलीलाई हटाउने हुनेछ । अरुलाई राजीनामा गराएर उपचुनाव लड्न खोज्नु दुस्साहस नै हो, ओलीलाई हटाउन खोज्नु पनि दुस्साहस नै हुनेछ । इतिहासले भन्छ, वामदेवको अर्काे नाम दुस्साहस हो ।

चुनाव हारेदेखि वामदेव सार्वजनिक कार्यक्रममा विरलै देखिन्थे, सार्वजनिक अभिव्यक्ति विरलै दिन्थे, स्यालले कुखुरा ढुके जसरी उपचुनाव ढुकेर बसेका थिए । उपचुनावको सिकारमा असफल भएपछि वामदेव पूरै घाइते भएका छन् । घाइते वामदेव खतरनाक हुन सक्छन् ओलीका लागि ।

कसले जित्यो ?

वामदेव प्रकरणमा सर्वसाधारण नेपालीले जितेका छन् । अस्थिरताको कारक बन्न सक्ने उपचुनाव जनबलमा अस्वीकृत भएको छ । यति चर्काे जनआवाज उठेको थिएन भने वामदेवलाई चुनाव लड्नबाट शायद ओलीले पनि रोक्न सक्दैनथे । यसको अर्थ यो होइन कि वामदेव नालायक पात्र हुन् । औसत नेताहरुभन्दा क्षमतावान नै हुन् वामदेव । निर्णय क्षमता र हिम्मतका धनी हुन्, कुटिलता र चालवाजीले भन्दा हिम्मत र साहसले यो उचाई बनाएका हुन् । उपचुनावमा उठ्ने खेलमा हार्दा उनी रावणजस्ता देखिन पुगे । केही समयपछि उनको रावण छवी पखालिनेछ । 

नेपालमा संसदीय व्यवस्थाको भनौं या लोकतान्त्रिक व्यवस्थाको सर्वाधिक ठूलो समस्यामध्ये हो गुट व्यवस्थापन । गुट बिनाको पार्टी हुँदैन । गुट व्यवस्थापन गर्न नसक्दा पार्टीहरु सिद्धिएका छन्, पराजित भएका छन्, लोकतन्त्र नै धरापमा परेको छ । नियालेर हेर्ने हो भने गुट व्यवस्थापनको असफलतामा टेकेर नै अस्थिरता आएको देखिन्छ ।

नेकपामा गुट व्यवस्थापनको मुख्य जिम्मेवारी केपी ओलीको हो । तर, उनी गुट व्यवस्थापनमा दक्ष देखिएनन् । हो, आफ्नो गुट बलियो बनाउन उनी सक्षम देखिए । आफ्नो तथा आफ्नो गुटको हातमा पार्टीभित्रको सत्ता आएपछि प्रतिस्पर्धी गुटहरुलाई निषेध गर्ने र नियन्त्रणमा राख्ने दुईटा उपाय हुन्छ । ओलीले प्रतिस्पर्धी गुटहरुलाई निषेध गर्न खोजेको देखिँदैन । उनले प्रतिस्पर्धी गुटहरुलाई स्वतन्त्र पनि छाडेनन् । एक हदसम्म प्रतिस्पर्धी गुटहरुलाई नियन्त्रणमै राखेका थिए । तर, बहुमतको सरकारको प्रधानमन्त्री बनेपछि प्रतिस्पर्धी गुटहरुमाथि ओलीको नियन्त्रण फितलो हुँदै गयो । 
अर्थात्, पार्टीभित्र ओलीको एकछत्र राजको युग सकियो । माधव नेपालले सीधै टाउको उठाएर गुट जगाए । अब वामदेवले त्यही गर्नेछन् । झलनाथ पनि ओली विरुद्ध छन् । 

पार्टी एकीकरण अघि पनि एमालेमा गुट थिए तर गुटले ओलीलाई चुनौती दिन सकिरहेको थिएन । ओलीको सत्तालाई च्यालेन्ज गर्नै नसक्ने अवस्थामा गुटहरु पुगेका थिए । पार्टी एकीकरणपछि नेकपाका पूर्व गुटहरुमा जागरण आएको छ । जागरणका उत्प्रेरक हुन् प्रचण्ड ।

हो, वामदेव प्रकरणमा प्रचण्डले जितेका छन् । पूर्व एमालेलाई माधव खेमा, वामदेव खेमा र ओली खेमामा विभाजित गर्न मात्र नभएर एकआपसमा भिडाउन समेत सफल भएका छन् । वामदेव खेमा प्रचण्डको साथमा छ, माधव खेमा पनि लगभग साथमै छ । झलनाथको समूह गुटको आकारमा छैन तैपनि बेग्लै समूह छ । पूर्व एमाले चिराचिरा भयो, तर, प्रचण्डको नेतृत्वमा पूर्व माओवादी लगभग एक ढिक्का छ । प्रचण्डको साथ केहीले छाड्लान् तर समग्रमा पूर्व माओवादीको एकछत्र कमान उनकै हातमा छ ।

यसरी विचार गर्दा अब नेकपामा सबैभन्दा ठूलो गुटका नेता प्रचण्ड बने । नेकपा भित्रको अवस्था त्रिशंकु बन्न पुग्यो जहाँ कसैको बहुमत छैन, न पार्टीमा कसैको बहुमत छ, न संसदीय दलमा कसैको बहुमत छ । आपसमा भिडिरहेका पूर्व एमालेका गुटहरु प्रचण्डसँग मिल्न लालायित हुनुपर्ने अवस्था देखियो ।

प्रचण्डको रणनीति सुविचारित देखिन्छ, उनी ओलीलाई चिढाउन चाहँदैनन् भन्ने प्रष्ट छ । ढुकेर बस्ने, कसैलाई नचिढाउने प्रचण्डको अहिलेको रणनीति हो । त्यसैले वामदेव प्रकरणमा प्रचण्डको नियत र खेल सतहमा आए पनि ओलीसँग भिड्न जाने छैनन् । ओलीसँग आफू भिड्ने होइन अरुलाई भिडाउने प्रचण्डको रणनीति सटिक सावित भयो वामदेव प्रकरणमा ।

वामदेवले चुनाव लड्न खोज्दा मात्रै पनि नेकपा र ओलीलाई राम्रैसँग क्षति भयो । साँच्चै नै चुनाव लडेका थिए भने झन ठूलो क्षति हुन्थ्यो । वामदेवले चुनाव जित्दा ओलीको विकल्पमा जनताले वामदेवलाई जिताए भनिन्थ्यो, वामदेवले हार्दा ओलीले हराए भनिन्थ्यो, ओली सरकारको अलोकप्रियताले गर्दा हारेको भनिन्थ्यो । जसो गरे पनि सुख थिएन ओलीलाई । चुनावको च्याप्टर नै बन्द भयो, राहत भएको हुनुपर्छ ओलीलाई । 

खतरामा ओली

एक सातामै वामदेवको रावणकरण भयो । विषय नै यस्तो पर्यो कि पूरै समाज उर्लिएर वामदेव र रामवीर मानन्धरमाथि खनियो । तर, नेपालमा रावण बनाउन खोजिएका मुख्य पात्र भने अर्कै छन् । उनी हुन् केपी ओली । 

ओलीलाई रावण सिद्ध गर्न सुनियोजित, सुविचारित र सुव्यवस्थित प्रयत्न भइरहेछ । यो प्रयत्नलाई सबैभन्दा धेरै योगदान भइरहेछ ओली स्वयंबाट । उनले बहुमत प्राप्त पार्टीको जसरी सरकार चलाउन सकेनन्, दुई तिहाईको समर्थनको सरकार जसरी चलाउनुपथर््यो त्यसरी चलाउन सकिरहेका छैनन् । हात्ती लम्किए जसरी काम गर्दै ओली अगाडि बढेका थिए भने कुकुर भुक्दै गर्थे, कसैको केही लाग्दैनथ्यो । तर, भुक्ने कुकुरहरुको घेरामै अल्मलिए ओली । दुई तिहाई स्तरको क्षमता देखाउन सकेनन् ।

त्यसैले यो सरकारलाई कतैबाट खतरा छ भने पहिलो खतरा ओली स्वयंबाट छ । ओलीको निरीहता र गतिहिनता यो सरकारको खतराको कारक बन्दैछ । ओली जति गतिहिन बन्दै जान्छन्, नेकपाभित्र गुट जागरण अभियान त्यति मौलाउने छ, उनलाई रावण सिद्ध गर्ने प्रयास झनझन सफल हुँदै जानेछ ।

स्मरण गरौं— विगतमा ओली पदच्युत हुँदा ‘थ्याङक्यू केपी ओली’ भन्ने अभियान चलेको थियो, ओलीलाई बालुवाटारबाट वालकोट पुर्याउन जुलुस नै गएको थियो । पदच्यूत हुँदा पनि नायक बनेका थिए ओली । यही गति हो भने भोली ओलीलाई पदच्यूत गरिँदा ‘वाईवाई केपी ओली’ भन्ने अभियान चल्न सक्छ । सरकारको सबैभन्दा ठूलो रक्षा कवच जनता हुन्, जनतामा सरकार लोकप्रिय छ भने गिराउनेहरुलाई पनि गाह्रो हुन्छ ।

नेपाली समाजको स्मरण शक्ति अति कमजोर छ । सम्झौं— भारतले नाकावन्दी लगाएका ती दिन, नेपालमा संविधान नै नबनोस् भन्दै भारतले गरेको खुलेआम खेल, संविधान जारी नगर्न दिएको धम्की.. । सम्झनुपर्ने कुरा धेरै छन् । सम्झन थालेपछि केही कुरा स्वत बुझिन्छ पनि । जस्तो कि ः विगतको भारतीय व्यवहार सम्झन्छौं भने उसको नियत पनि बुझ्न सक्छौं । उसको नियत हो नेपालमा कुनै पनि सरकारलाई स्थिर बन्न नदिने । आफ्नो स्वार्थ विरुद्ध नेपाललाई उभ्याउन खोज्नेलाई भारतले खलनायक बनाइदिन्छ, रावण बनाइदिन्छ । मरिचमानलाई त्यही गरियो । अब पालो ओलीको छ । यो कुरा बुझेर ओलीले गति बढाउन पर्दैन ?

नेपालको अहिलेको राजनीतिक कोर्स भत्काउने भारतको उद्देश्य हो भन्ने तथ्य कसैबाट छिपेको छैन, नेपालले चीनसँग सम्वन्ध नराखोस् भन्ने भारतीय चाहना पनि प्रष्टै छ । नेपालले आफ्नो स्वार्थ र हितलाई प्राथमिकता नदिएर भारतको हित र स्वार्थसँग एकाकार हुनुपर्छ भन्ने भारतीय चाहना हो । यो चाहना ओलीले पूरा गरिरहेका छैनन् । त्यसकारण भारतीय स्वार्थ नेकपा भित्रका गुटहरुको घोडा चढेर कार्यान्वयनमा आउन सक्छ । यो खतरा नदेख्नु ओलीको नालायकी हो ।


वामदेवले प्रतिनिधिसभामा पुग्न चाहनु एउटा विषय हो, उनलाई प्रतिनिधिसभामा पुराउन विभिन्न शक्तिहरुले किन प्रयत्न गरे भन्ने अर्काे विषय हो । 
प्रतिनिधिसभामा पुगेर प्रधानमन्त्री बन्ने चाहना वामदेवले पक्कै त्यागेका छैनन्, वामदेव जस्ता पात्रहरुको स्वार्थको घोडा चढेर आउन खोजेको अस्थिरताले पनि हार मान्ने छैन । यो कुरा अरुले भन्दा धेरै ओलीले बुझ्नुपर्ने होइन र ?

प्रचण्ड, विप्लव, सेना, राजा र काङ्ग्रेस

हिजो पनि जन आन्दोलनमा विजयी पक्षले नै आफ्नो विश्वास अनुरुपको संविधान निर्माण गरेका थिए ! मर्म र सारमा जनताका प्रतिनिधिले नै संविधान लेखेका थिए ! २०४७

प्रधानमन्त्री ओली र रेशमी रुमाल

प्रधानमन्त्री केपी ओलीले नेपाल-भारत द्विपक्षीय विज्ञ समूहका दुई सदस्यहरू नीलाम्बर आचार्य र राजन भट्टराईलाई क्रमश: भारतको लागि राजदूत र

विदेशी संस्थाहरुले नेपालमा गरेका अत्याचारका केही झलक

सेना र बन्दूकले अर्काे देशमा हस्तक्षेप गर्ने युग लगभग सकिएको छ । आजको युगमा हस्तक्षेप र अत्याचारको बलियो हतियार बनेको छ-  संस्था । नेपालमा विदेशी

सांस्कृतिक विश्वव्यापीकरण

मानव चेतना सर्वव्यापक छ । यही एउटा यस्तो जीव हो जहाँ जीवन आफैंमा सचेत छ । मानवलाई कल्पना, विवेक, आफ्नो अस्तित्व, जन्म, मृत्यु एवं सचेत अनुभूति जस्ता