बौद्धिकता राजनीतिः के हो बौद्धिकता ?

बौद्धिक वा बौद्धिकता भन्ने अवधारणाहरू जति पुराना हुन, तिनमा अन्तर्निहित राजनीति पनि त्यति नै पुरानो हो । समय अनुसार यो राजनीतिका स्वरूप परिवर्तन भए तर पनि त्यसको जगमा बौद्धिक करार गर्न आवश्यक कुराहरू उस्तै उस्तै नै रहेका देखिन्छन् । यो अनुसन्धानमूलक लेखले बौद्धिकताको राजनीति, यसका विविध पक्षहरू तथा बौद्धिकको दुविधायुक्त र विभाजनकारी सामाजिक भूमिकामा छलफल गरेको छ । 
कोटरी बौद्धिकतारबौद्धिकता माथि राजनीतिः कति नयाँ, कति पुरानो ?

प्राचीन ग्रीसको एथेन्सलाई बौद्धिकताको खानी मानिन्छ, दार्शनिक सुकरातलाई rationality अर्थात reason मा आधारित ज्ञानका शुरूवाती हस्ती मानिन्छ । सुकरातकै समयमा एथेन्समा एक हुल विदेशी, व्यापारिक बौद्धिकहरू थिए, जसलाई सोफिस्टहरू भनिन्छ । सोफिस्टहरूले पहिलो पटक ज्ञानलाई व्यापारीकरण गरे, तर तिनले ज्ञानको व्यापारीकरणमात्र गरेनन, तात्कालिन युवाहरूलाई एथेन्सको पब्लिक जीवनमा सफल हुन “आक्रामक र व्यवहारिक पाठ्यक्रम” समेत दिए । (कपल्याण्ड, २००२ः ४४) सुकरात एथेन्सका स्थानीय थिए, उनलाई तिनले ज्ञान बेचेको मन पर्दैनथ्यो, त्यसैले उनले र उनका चेला मुख्यत प्लेटोले सोफिस्टहरूको तीव्र आलोचना गरेका छन । स्टिभ फुलरले लेखेका छन् ।

“प्राचीन ग्रीसमा सोफिस्ट शब्दको अर्थ सामान्यतया बुद्धिमान मान्छे भन्ने मात्र लाग्थ्यो, तर जब यो शब्द प्लेटोको हातमा पर्यो, उनले यो शब्दको अर्थ सुकरात जस्तो वास्तविक दार्शनिकसँग स्तर नै नमिल्ने हठी ठगहरू भन्ने लाग्न थाल्यो । आफ्ना दत्तचित्त विद्यार्थी प्लेटोको कारण नै सुकरात आजसम्म पश्चिमा आलोचनात्मक विवेक (rationality) र बौद्धिकताका प्रमुख हस्ती मानिन्छन । ऐले सोफिस्टहरूलाई उनीहरूको स्तरमा पुनस्र्थापित गर्न एकदमै कठिन संघर्ष गर्नुपर्ने हुन्छ ।” (फुलर, २००२ : ८) प्लेटोले सुकरातलाई सर्वमान्य विद्वान तथा एकमात्र बौद्धिक दार्शनिकको रूपमा स्थापित गर्न अनेक प्रपञ्च गरेको देखिन्छ । प्लेटोले आफ्ना लेखनमा सोफिस्टहरूलाई बाठा पात्रको रूपमा ल्याए र तिनलाई सुकरातसँग तर्क वितर्कमा सामेल गराएर तिनको बौद्धिकताभन्दा सुकरातको बौद्धिकतालाई अब्बल देखाईदिए ।

फुलरले अगाडी लेखेका छन, “सोफिस्टहरूलाई प्रायस उनका शत्रुहरूले परिभाषित गरेका छन् । सोफिस्ट भन्नासाथ प्लेटोका संवादमा उल्लेखित सुकरातका बाठा परिपुरक हुन् भनेर मानिन्छन् । उनका धेरै संवादहरूमा प्रोटगोरस, जर्जिअस जस्ता प्रसिद्ध सोफिस्टहरूका नाम प्रयोग भएका छन् ।” (फुलर, २००२ : ७–८) प्लेटो र अन्य सुकरातका चेलाहरूले शत्रुवत व्यवहार गर्दै सोफिस्टहरूलाई नकारात्मक तवरले प्रस्तुत गरेको र उनीहरूको छविलाई उकास्न नै नसक्ने गरि डुबाएको र सुकरातको छविलाई सर्वमान्य बौद्धिकको रूपमा स्थापित गरेको प्रष्ट देखिन्छ । 

सोफिस्टहरू र सुकरातको अवस्था पनि आकाश जमिन फरक थियो । सुकरात एथेन्सकै स्थानीय बासिन्दा थिए, उनीसँग ‘सैनिक पेन्सन र पुख्र्यौली सम्पत्ति’ पुग्दो मात्रामा भएकोले गर्दा फुर्सद नै फुर्सद थियो र उनी एथेन्सका युवाहरूका अघि दिनभर बौद्धिक गफ हाँकेर बस्न भ्याउँथे । तर ‘सोफिस्टहरू विदेशी ब्यापारीहरू थिए, जसको लागि सुकरातसँग बौद्धिक बहसमा भिड्नु भाषिक दक्षताको हिसाबले पनि विज्ञापन र जानकारीको मिश्रणजस्तै हुन्थ्यो र उनको बोल्ने तरिकाको कारण सुन्ने सबैले तिनले दिएको ज्ञान सहजै लिनसक्थे ।

अनपढ एथेन्सबासीहरूको दृष्टिमा सुकरात र ती व्यापारीहरूको संवादको बीचमा कुनै अनौठो कुरा हुँदैनथ्योस् धनी एथेन्सबासीहरू विदेशी सामान भिंडाउन खोज्ने व्यापारीहरूका लागि अति अप्ठेरा ग्राहक बनिदिन्थे । यो अवस्थामा सुकरात र तिनीहरू बीचको प्रष्ट फरक के थियो भने तिनले जुन कुरा बेच्न भनेर आएका हुन्थे, सुकरातले तिनका सामानको अस्तित्वमै दलाली गरिदिन्थे ।’ (फुलर, २००२: ८) यसबाट के देखिन्छ भने आफ्नो समय, परिस्थिति, आफ्ना पछाडी बोल्ने मान्छे (कोटरी) र तिनका प्रोपगण्डा अनुरूप बौद्धिकताको उचाई निर्धारण हुन्छ । समयान्तरमा त्यो उचाईलाई अझ अतिरन्जित गर्दै लगिन्छ । जस्तो कि भारतमा गान्धी जति बौद्धिक र धार्मिकताका पक्षपाती थिए, उनका हत्यारा गोड्से पनि उत्तिकै बौद्धिक नै देखिन्छन् ।

समय क्रममा आफ्नो अहिंसावादको अडानको कारण विष्णुको दशौँ अवतार मानेर गान्धीलाई पूजा गर्नेहरू पनि निस्किए, उनलाई राष्ट्रपिता मान्ने पनि भए, त्यसको ठीक विपरित गान्धीलाई राष्ट्रद्रोही मानेर गोड्सेलाई सही रूपमा राष्ट्रवादी, धार्मिक, कट्टर हिन्दुवादी मान्नेहरू पनि छन्, तिनीहरू कुन किसिमका कोटरीले घेरिएका छन, त्यस अनुकूलका बेग्लाबेग्लै इथिक्स निर्माण भएका छन् । यसर्थ ज्ञानको हिसाबले बौद्धिकताको उचाईमात्र होइन, इथिक्स समेत कोटरीले निर्धारण गर्नु बौद्धिकताको पहिचान हो ।

    नेपालको सवालमा पश्चिमा ग्लोबलाइजेसनको बहाव अनुकुल, पश्चिमा मानवअधिकार, अंग्रेजी भाषा र पश्चिमा लिबरल डेमोक्रेसीको पक्षमा वकालत गर्नेलाई बौद्धिक भनिँदै आएको देखिन्छ । अधिकारको नाममा नेपाली समाजमा विग्रह ल्याउने सम्मका आक्रामक भाषा बोल्ने र गतिविधि गर्नेहरू नेपालका मिडियामा जहिले पनि विज्ञ र राजनैतिक विश्लेषकको रूपमा छाउँछन् । यसको कारण छ, तिनलाई अनेक परियोजना मार्फत पश्चिमा लगानी परेको छ, ग्लोबलाइजेसनको नाममा खुला बजार बिस्तार गर्न र नेपाललाई सांस्कृतिक रूपले पश्चिमा चीजहरूको उपभोक्ता बनाउन यिनलाई हाइलाइट गरिन्छ । तेस्रो विश्वमा जुनसुकै हिसाबले पनि आफ्नो भौतिक तथा सांस्कृतिक बजार विस्तार गर्न नसके र तिनलाई पश्चिमा उत्पादन नै ठीक हुन्छन् भन्ने विश्वासमा पारेर आफ्नो दीर्घकालीन उपभोक्ता बनाउन नसके पुँजीवादमा ठूला सङ्कट देखापर्नेछन, पुँजीवादको विशेषता नै नाफाखोरी हुन्छ, नाफाको लागि लगानी गर्नैपर्छ, यो अर्थशास्त्रको सामान्य नियम हो ।

बौद्धिक को ?

कोटरी बौद्धिकता र यसका राजनीति परापूर्वकाल देखि नै चल्दै आएका हुन् भन्ने हामीले माथि छलफल गरिसक्यौं । कुनै पनि क्षेत्र यसबाट अछुतो छैनन र जो जो बौद्धिकताको बहस गर्छन्, ती पनि कुनै न कुनै हिसाबले यही कोटरी बौद्धिकताको कुरो गरिरहेका हुन्छन, वा उनीहरू स्वयम् एउटा बौद्धिकताको ट्रेन्डलाई खुइल्याएर अर्को बौद्धिक ट्रेन्ड गतिलो भन्दै आफू पनि त्यही कोटरी बौद्धिकताको दलाली गरिरहेका हुन्छन् । 
दर्शनका : Metaphysics, Epistemology, Aesthetics र Ethics गरेर चारवटा प्रमुख खण्डहरू छन् । मेटाफिजिक्सले सत्य के हो, अर्थात म को हुँ ? मेरो पृथ्वीमा भएको अस्तित्व के हो ? जस्ता कुराको सत्य खोज्न सिकाउँछ, इपिस्टमलजीले मान्छेमा ज्ञानको स्रोत के हो, मान्छे जन्मने क्रममा नै दिमागमा निश्चित ज्ञान लिएर आएको हुन्छ कि सबै ज्ञान मान्छेको जन्म पश्चात पृथ्वीरसमाजबाट नै सिकिने हुन् भन्ने कुराको चिन्तन गर्न सिकाउँछ, एस्थेटिक्सले कलाको कलात्मकता र सुन्दरताका विविध पक्षहरू र तिनलाई कसरी कलात्मकता दिईएको हुन्छ भन्ने कुरामा सोच्न सिकाउँछ भने इथिक्सले हरेक कुराका कार्यसन्चालन पक्षहरू, सही र गलत व्यवहारबीचका भेदहरू तथा समाजमा कसरी अरूको स्वतन्त्रता कब्जा नगरी आफ्नो अधिकारको सही ढङ्गले उपभोग गर्ने भन्ने कुरा सिकाउँछ ।

सामान्यतया दर्शनका यी प्रमुख चार पक्षमध्ये कुनै पनि पक्षको बारेमा राम्रो ज्ञान राख्ने मान्छेलाई बौद्धिक भन्न सकिन्छ । तर ज्ञान हुँदैमा बौद्धिक हुँदैन, त्यसमा आफ्नो चल्ने आचरण पनि सही हुनुपर्छ अर्थात बौद्धिक आफैंले पनि सही इथिक्स पछ्याएको हुनुपर्छ भनेर कसैले तर्क दिन्छ भने त्यो तर्क जायज हुन्छ ।

हामीले बारबार चुरोट खानु हुँदैन भनेर पढाउने शिक्षक आफैंले चुरोट खाएकोमा आवाज उठेको वा आलोचनाको तारो बन्नुपरेको देखेका छौं । अनुशासन सिकाउने मान्छे आफैं अनुशासित हुनुको पूर्वशर्तमा उसको वैचारिक र बौद्धिक तागत रहेको हुनसक्ने कुरालाई नजरअन्दाज गर्न  सकिन्न । एक बच्चाले चिनी धेरै खाएको गुनासो सहित गान्धी कहाँ बच्चा सम्झाई माग्न पुगेकी एक आमालाई गान्धीले एक महिना पछि फेरी बोलाएर सम्झाएको तथा त्यो एक महिनाको अवधिमा आफैंले चिनी खान छोडेको कथा बारबार सुनिने कथा हो, त्यो कथा इथिक्ससँग सरोकार राख्छ । कसैलाई केही काम गर्न उपदेश दिनु छ भने पहिला आफैंले त्यो काम गर्न छोड्नुपर्छ, त्यो नै आफ्नो विचार, बौद्धिकता वा उपदेशलाई सही सावित गर्ने एक बलियो आधार हो । इथिकल वा नैतिक रूपले सही मानव कल्याणको लागि बौद्धिकता, धर्तीलाई अझ राम्रो पार्न बौद्धिकता हुनुपर्छ भन्नु इथिक्सको काम हो । यस दृष्टिकोणमा आधारित भएर हिजो आफैं मान्छे मार्ने वा मार्न लगाउने मान्छे आज मान्छेको कल्याण गर्छु भनेर हिँड्न सुहाउँछ ? भनेर प्रश्न गर्नु इथिक्ससँग सरोकार राख्ने कुरा हो । तर इथिक्स समेत कोटरीले निर्माण गर्ने परिस्थिति पनि बन्ने रहेछन भन्ने हामीले माथि नै छलफल गरिसक्यौं । 

बौद्धिकतामा अडान र ढिपीको भूमिका 

विश्वमा पछिल्लो समय हाँसो उठ्दो पाराले लिंडेढिपी गर्ने गर्नु समेत बौद्धिकता मानियो । उत्तरआधुनिकतावादी वा विनिर्माणवादीहरू यस किसिमका बौद्धिकमा पर्दछन् । यिनले हरेक सत्य वा तथ्य निर्मित वा बनावटी हो र हरेक कथनहरू निर्मित वा सापेक्ष हुन् भन्ने आधारभूत अवधारणा राख्दछन् । ज्याक डेरिडा, मिसेल फुको आदि विनिर्माणवादीहरूलाई यस किसिमका बौद्धिकताका प्रेरक मानिन्छ । यिनीहरू सबै कुरा संस्कृति र समाजले निर्मित गरेका कथा हुन् भन्ने मत राख्छन् । यो अडान नै हरेक सत्य वा तथ्यको विनिर्माण गर्न काफी थियो, कुनै पनि सत्य अन्तिम होइन, सबै निर्मित हुन् भन्नु नै सत्यलाई मार्न काफी थियो । तर यहाँ उल्लेख गरेको लिँडेढिपी चैं यो भन्दा पर गयो र चिन्तनका केस्रा केस्रा हुँदै सापेक्ष सत्यबाट पनि तर्किन थाल्यो । यो लिंडेढिपी हेर्दा यस्तो लाग्छ, आफ्नो आधारभूत मान्यताको आधारमा शुरूमै मरिसकेको लाशलाई यिनीहरू फेरी गोली हान्न उद्यत छन् । मरिसकेको, मानिसकिएको सत्यबाट चिढिनु अनि यसलाई थप गोली हान्नु हदैसम्मको पागलपन वा हाँस्यास्पद लिंडेढिपी हो । यसको एउटा उदाहरण पेश गरें ।

दार्शनिक डेविड डेटमरले उत्तरआधुनिक, विनिर्माणवादी दार्शनिक लुरी काल्हुनसँग गरेको गफलाई आफ्नो पुस्तकमा यसरी उल्लेख गरेका छ । ‘कमिलाहरू भन्दा जिराफहरू अग्ला हुन्छन् भन्ने कुरो तथ्य हो कि होइन भनेर उनलाई प्रश्न सोध्ने मौका पर्यो, उनले उत्तर दिईन, यो तथ्य होइन, यो त हाम्रो संस्कृतिमा भएको धार्मिक विश्वासको एउटा अंश हो ।’ (डेटमर, २००३ः२६) जिराफहरू कमिला भन्दा अग्ला हुन्छन्, यो एकको सापेक्षतामा, तुलनामा उभिएको सत्य हो, सबै सत्य निर्मित र समाज, संस्कृति सापेक्ष हुन्छन भनेर शुरूमै मानिसकेपछि काल्हुनले ‘हो, सत्य तुलनात्मक वा सापेक्ष हुन्छ, कमिलाको सापेक्षतामा जिराफ अग्लो देखिन्छ’ भनिदिएको भए पनि उनी कम विनिर्माणवादी, कम उत्तरआधुनिकतावादी हुने थिईन र ? यो हदैसम्मको शाब्दिक ज्यादती र बौद्धिक उग्रवाद किन चाहिएको थियो ? सजिलै विनिर्मित हुने कुरालाई बढाई चढाई गरेर धार्मिक विश्वास नै भन्नु हाँसो उठ्दो लिँडेढिपी होईन ? यो बौद्धिकता कि पागलपन ? बौद्धिकता देखाउन यो हद सम्म जानु जरुरी थियो ? बौद्धिकता पनि चरम रूपमा गएपछि मरिसकेको झिंगालाई गोली चलाउने पागलपन र हदैसम्मको लिंडेढिपी हुँदो रहेनछ त ? 

अर्कोतर्फ उनको यो लिंडेढिपी सैद्धान्तिक रूपले सही छ किनभने यिनीहरूमा एउटा सही केन्द्र निर्माण होला, कुनै कुराको सही अर्थ आउला र हरेक कुरालाई कथा, कहानी भनेर विनिर्माण गर्न नसकिने परिस्थिति आउला भन्ने सन्त्रास छ । विनिर्माणवाद आफ्नो सबैभन्दा ठूलो डरबाट जोगिन चाहन्छ, त्यो डर कुनै पनि ‘विचार र वैचारिक सोचले दबाउला’ कि भन्ने डर हो । (अमिन, १९९८ः ११२) यसबाट के देखिन्छ भने कुनैपनि मान्छे एउटा सैद्धान्तिक धारणाको पछि लाग्छ र त्यस अनुसार हरेक कुरालाई हेर्छ र त्यसमा अडान लिन्छ भने त्यसलाई बौद्धिक मान्नुपर्ने विवशता हुन्छ । यसर्थ कोटरी, बाह्य लगानीका अतिरिक्त, सैद्धान्तिक अडान (ढिपी) पनि बौद्धिक मानिन आवश्यक कुरा हो, वैचारिक अडानमा टिकेर रहनु इथिक्स हो । यसबाट प्रष्ट हुन्छः कसैलाई बौद्धिक करार गर्नका लागि ज्ञान, कोटरी, लगानी (मिडिया समेतको), ढिपी र इथिक्सले उत्तिकै भूमिका खेल्न सक्छन् । 

बौद्धिकरबौद्धिकता दर्जा कति समाजको लागि कति आवश्यक ?

बौद्धिक भन्ने दर्जा निर्माण समाजको लागि विज्ञ वा विशेषज्ञ जस्तो हितकर छैन, यसले समाजमा एउटा विभाजन रोप्छ र कथित बौद्धिकहरूले कथित अबौद्धिकमा माथि अनावश्यक दबदबा खडा गर्छन् । अधिकांश अवस्थामा विज्ञ वा विशेषज्ञहरूको राय बिना कुनै आग्रह पूर्वाग्रह सुन्नुपर्ने हुन्छ तर कथित बौद्धिकको राय त्यसरी नै सुनिन्न, सुन्ने मान्छेले समेत त्यसमा विभिन्न स्वार्थहरू, पक्षधरता, होच्याउने कार्य आदि पहिल्याउन र पूर्वाग्रह राख्न सक्छ (राख्छ) ।

त्यसैले बौद्धिक भनिएकाहरूका धारणाहरू प्राय आलोचित हुन्छन् । समाजमा भएका सबै मान्छेमा बौद्धिकता भन्ने कुरा हुन्छ, मात्र त्यो गुणात्मक र परिमाणात्मक रूपले घटीबढी हुनसक्छ । तर मान्छेमै वर्गीकरण गरेर फलानो यो दर्जाको बौद्धिक भन्नासाथ त्यसको वरपर समाजमा रहेका मान्छेहरूको ठूलो हिस्सा अकारण अबौद्धिक ठहर हुनजान्छ । हेलेन स्मलले अमेरिकी लेखक जोयस क्यारोल ओट्सको अन्तर्वार्ता उद्धृत गर्दै लेखेका छन्ः “यस विषयमा हालसालैको अन्तर्वार्तामा जोयस क्यारोल ओट्स भन्छन्, ‘अमेरिकामा बौद्धिक भन्ने शब्द आत्मकेन्द्रीत मानिन्छ । कसैले कसैलाई बौद्धिक भन्नुलाई आक्रामकता र अहंकारवादको पर्यायको रूपमा प्रस्तुत गर्नु हो किनभने यसले समाजमा एक वर्गका व्यक्ति छन जुन अबौद्धिक छन भन्ने जनाउँछ ।” (स्मल, २००२ः१) यसबाट बौद्धिक भन्ने दर्जाप्रति समाज जति उन्नत हुँदै गयो त्यति नै आश्वस्त हुन सक्दैन भन्ने प्रष्ट देखिन्छ । बौद्धिकहरू निर्माण गर्ने विभिन्न कारक हुन्छन्, कारक नहुने हो भने बौद्धिक भन्ने दर्जा नै बन्दैन, निश्चित क्षेत्रको विज्ञमात्र बन्छ र त्यसलाई समाजले सहज रूपमा स्वीकार गर्छ भन्ने कुरालाई हामीले कहिले बिर्सनु हुँदैन । 

प्रचण्ड, विप्लव, सेना, राजा र काङ्ग्रेस

हिजो पनि जन आन्दोलनमा विजयी पक्षले नै आफ्नो विश्वास अनुरुपको संविधान निर्माण गरेका थिए ! मर्म र सारमा जनताका प्रतिनिधिले नै संविधान लेखेका थिए ! २०४७

प्रधानमन्त्री ओली र रेशमी रुमाल

प्रधानमन्त्री केपी ओलीले नेपाल-भारत द्विपक्षीय विज्ञ समूहका दुई सदस्यहरू नीलाम्बर आचार्य र राजन भट्टराईलाई क्रमश: भारतको लागि राजदूत र

विदेशी संस्थाहरुले नेपालमा गरेका अत्याचारका केही झलक

सेना र बन्दूकले अर्काे देशमा हस्तक्षेप गर्ने युग लगभग सकिएको छ । आजको युगमा हस्तक्षेप र अत्याचारको बलियो हतियार बनेको छ-  संस्था । नेपालमा विदेशी

सांस्कृतिक विश्वव्यापीकरण

मानव चेतना सर्वव्यापक छ । यही एउटा यस्तो जीव हो जहाँ जीवन आफैंमा सचेत छ । मानवलाई कल्पना, विवेक, आफ्नो अस्तित्व, जन्म, मृत्यु एवं सचेत अनुभूति जस्ता