सोधपुछमा प्रहरीको जोड, अपराधी पक्रन असफल

काठमाडौं, २५ असोज । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रहरी तथा अनुसन्धान टोलीहरु हालसम्म असफल भएका छन् ।
करिब २४७ जनालाई सोधपुछ गरिसकेको प्रहरीले निर्मलाको हत्यारा बारे कुनै सुराक पाउन सकेको छैन । प्रहरी भने शंकाको घेरामा रहेका सबैलाई सोधपुछ गरिराखेको र यसै क्रममा हत्याबारे केहि सूचना पाइने विश्वास रहेको बताइरहेको छ ।
जटिल बन्दै गइरहेको निर्मला पन्तको हत्याको प्रारम्भीक अनुसन्धान टोलीका २२ जना प्रहरीहरु पनि अहिले अनुसन्धानको घेरामै छन् । एकपछि अर्को गर्दै गठन गरिएका अनुसन्धान टोलीहरुपनि तथ्यपरक अनुसन्धानमा सफल हुन सकेको छैनन् ।
प्रारम्भीक अवस्थामै घटनास्थल पुगेका प्रहरीहरुले प्रमाणहरु नष्ट गरेकोले पनि अनुसन्धान लम्बीएको र हालसम्म ठोस सफलता हात पार्न नसकेको अनुसन्धानमा संलग्नहरु बताइरहेका छन् । तथापी प्रहरी भने विगतमा अनुसन्धानको विषयमा खबर बाहिरिएर अनुसन्धाननै प्रभावित भएकोले अहिलेको अनुसन्धानमा प्राप्त ‘प्रगती’ भने सार्वजनिक गर्न नमिल्ने बताउँछन् ।
यो सँगै हालसालै सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिले गृह मन्त्रालयमा बुझाएको प्रतिवेदन अनुसार पनि प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।
निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको र शब साउन ११ गते बिहान स्थानिय उखुबारीमा फालिएको अवस्थामा भेटिएको थियो ।