वामदेवले चुनाव जिते देशले चाहिँ हार्नेछ

उपचुनावमा वामदेव गौतम हारे भने के हुन्छ ? जिते भने के हुन्छ ?

१) जिते भने : वामदेवको जितलाई नेकपाको जित मानिने छैन । यो सरकारको जित पनि मानिने छैन । सिर्फ वामदेव गौतमको जित मानिने छ । अस्थिरतावादीहरुको जित मानिने छ । जनतालाई भेडाबाख्रा मान्नेहरुको जित हुनेछ । नेपालमा सरकारलाई स्थिर बन्न नदिनेहरुको जित हुनेछ ।


२) हारे भने- वामदेवले हारे भने नेकपाले हार्नेछ, यो सरकारले हार्नेछ । यो सरकारमा पनि केपी ओलीले हार्नेछन् । वामदेव हार्दा ओलीको पराजय ठानिनेछ ।  

वामदेवको हारजितमा ओलीलाई पर्ने प्रभाव भने रोचक हुनेछ । वामदेवले जिते भने पनि ओलीले हार्नेछन्, वामदेव हार्दा पनि ओली हार्नेछन् । 
त्यसैले ओलीले हार्नु अघि नै प्रयास गर्नेछन् रामवीरको राजीनामा रोक्न । रामवीरले सभामुखलाई राजीनामा पत्र नबुझाएसम्म वामदेवको भाग्य अनिश्चित नै हुनेछ ।

वामदेव बाहेक अरु कसको जित ठहरिनेछ अनि ओली बाहेक अरु कसको हार ठानिनेछ भन्नेले आगामी राजनीति निक्कै तताउने छ । पेचिलो हुनेछ वामदेवको उम्मेदवारी । उम्मेदवारी भन्दा पेचिलो ठहरिन सक्छ काठमाडौं–७ मा हुने संभावित चुनावको परिणाम ।

अन्तर्घातको बाँसुरी धून

कृष्णप्रसाद भट्टराई ०४७ सालमा अन्तरिम प्रधानमन्त्री बने । उनलाई सन्त भन्ने–भनाउने काम गरियो । ती सन्त ०४८ को चुनावमा पराजित भए । त्यसबेला साप्ताहिक विमर्श सुपर हिट थियो, त्यसका सम्पादक हरिहर विरहीले कालोलाई सेतो लेख्दा पनि समाजले पत्याउने अवस्था थियो । मिडियामा आएका समाचार र बिचार पछाडिको नियत या त्रुटी के छ भनेर पहिचान गर्नसक्ने सचेत मानिसको संख्या अहिले त सीमित छ भने त्यसबेला झन् सीमित थियो । चुनावमा पराजित भएर प्रधानमन्त्री निवास वालुवाटारबाट बाहिरिँदा भट्टराई छाता र सुराही मात्र बोकेर  बाहिरिए भनी विरहीले लेखिदिए । दुनियाँले पत्यायो । नेपाली समाजको चरित्र यस्तै छ– त्यसपछि भट्टराई झन ठूला ‘सन्त’ प्रचारित भए ।

बालुवाटारबाट निस्कँदा भट्टराई छाता र सुराही बाहेक अरु पनि केही खास चिज लिएर निस्किएका थिए । त्यो कुरा विरहीले लेखेनन् । त्यो लेखे किशोरीरमण राणाले । केही समय पछि ।

ती ‘सन्त’ प्रधानमन्त्री निवासबाट बाहिरिँदा विरही त्यहाँ थिएनन् । पत्रकारमा त्यहाँ थिए किशोरीरमण राणा । राणा त्यसबेला सत्तरी आसपास उमेरका थिए, विरहीका पनि अग्रज श्रमजीवी पत्रकार थिए । भट्टराईका अन्तरंग मित्र थिए राणा । गणेशमान, गिरिजाप्रसाद, मनमोहन अधिकारी जस्ता त्यसबेलाका शीर्ष नेताहरु पनि राणालाई पत्रकारभन्दा अन्तरंग मित्र ठान्थे । 

भट्टराई बालुवाटारबाट बाहिरिएको र गिरिजाप्रसाद भित्रिएको त्यो समयमा किशोरीरमणले पुराना कुराहरुको वृत्तान्त खोल्ने संस्मरणात्मक लेखमाला लेख्ने घोषणा हामी कनिष्ठहरु माझ गरिसकेका थिए । र, उनले त्यस्तो लेखनको थालनी बालुवाटारबाट भट्टराई बहिर्गमनको प्रत्यक्ष दृष्यबाट गरे ।

बालुवाटारबाट बाहिरिँदा भट्टराई पूरै आक्रोशित थिए । छाता र सुराही मात्र नभएर आक्रोश, बदलाको भावना, पद त्याग्नु पर्दाको क्षोभ र लोभ पनि बोकेर निस्किएका थिए भनी राणाले आफ्नै नाममा शानदार लेख लेखे । बालुवाटारबाट बाहिरिँदा भट्टराईले लगभग ताण्डव नै गरेको विवरण लेखे । त्यो लेख नेपालीपत्र साप्ताहिकमा प्रकाशित भयो । भट्टराईले पनि पढे । त्यसपछि पनि भट्टराई र किशोरीरमणबीच गहिरो मित्रता थियो । 

ती त्यागी ‘सन्त’ लाई फेरि पनि प्रधानमन्त्री बन्ने रहर जाग्यो । काठमाडौंको क्षेत्र नम्बर एकबाट उपचुनाव लडे । अहिले वामदेव गौतमले जसरी राजीनामा दिने सांसद खोज्दै भट्टराईले हिँड्न परेको थिएन । मदन भण्डारीको निधनपछि काठमाडौं १ मा उपचुनाव भयो, भट्टराई उम्मेदवार बने, पराजित भए, तत्कालीन एमालेकी विद्यादेवी भण्डारी (अहिलेकी राष्ट्रपति) विजयी भइन् । 

भट्टराई कसरी पराजित भए ? त्यसबेलाको अर्काे चर्चित साप्ताहिक जनमञ्चमा रेवतीरमण सुवेदीले लेखे–‘अन्तर्घातको कारणले ।’ त्यसबेला अन्तर्घात शब्द सटिक प्रयोगमा पहिलो पटक ल्याएका थिए पत्रकार सुवेदीले । त्यस यताको तीन दशक नेपाली राजनीतिको अभिन्न क्रिया बनिरहेछ– अन्तर्घात ।

रेवतीरमणले प्रयोगमा ल्याएको अन्तर्घात शब्दले वामदेवको उम्मेदवारी सँगै एउटा दुर्दान्त चक्र पूरा गर्नेछ (यदी उम्मेदवारी दिन पाए भने) । चुनाव हारे भने नेपाली राजनीतिले अन्तर्घातको बाँसुरी नयाँ धूनमा बजाउने छ । 

भट्टराई उपचुनावमा पराजित भएपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको बहुमतको तत्कालीन सरकार अस्थिर बन्यो । भट्टराईले जितेका थिए भने पनि अस्थिर नै बन्ने थियो, हार्दा पनि अस्थिर नै बन्यो । त्यो चुनावमा व्यक्ति विद्या भण्डारीले जितिन्,एमाले पार्टीले जित्यो तर देशले चाहिँ हार्यो । तर, अब वामदेवको जित नेकपाको जित ठहरिने छैन, देश र नेकपा दुवैको पराजय ठहरिने छ । नेपाल र नेपालीको भाग्यमा अस्थिरता नै लेखिएको रहेछ, अन्तर्घातको त्यो क्षणबाट नेपालमा कुनै पनि सरकार स्थिर रुपमा टिक्दैन र टिक्न दिइँदैन भन्ने मान्यता प्रवल बन्यो । 

ती भट्टराई र यी वामदेव

इतिहास दोहोरिन्छ तर उही रुपमा होइन । उस्तै रुपमा दोहोरियो भने पनि दोहोरिएको घटनाले परिणाम उस्तै दिँदैन । तर, ऊ बेला भट्टराई उपचुनाव लड्नाले जे राजनीतिक परिणाम आयो अब वामदेव चुनाव लड्दा एउटा परिणाम चाहिँ त्यस्तैत्यस्तै खालको आउने आशंका गर्न    सकिन्छ । परिणाम अर्थात् अस्थिरता । वामदेवको उम्मेदवारीले राजनीतिक अस्थिरता बाहेक के ल्याउँछ ? बिकास ल्याउँछ कि ? समृद्धि ल्याउँछ कि ? भारत र चीनबाट रेल ल्याउँछ कि ? चीनबाट तेल ल्याउँछ कि ? स्थिरता ल्याउँछ कि ? के ल्याउँछ ?

वामदेव संसदमा आएपछि देश र जनताको भाग्यमा केके चमत्कार हुन्छ भनेर चुनावी सभामा नेकपाका मुख्य नेताहरुले पक्कै बोल्ने छैनन्, एकखालको गुटीय प्रजातिकाहरुले मात्र बोल्नेछन् । करिब तीन करोड नेपाली मध्ये वामदेव गौतम नामका एकजना मानिस प्रतिनिधिसभामा आउनै पर्ने, नआई नहुने कारण के हो ? वामदेवलाई उपचुनाव जितेर प्रतिनिधिसभा सदस्य बन्ने कानुनी अधिकार छ । तर आमचुनाव हारेका उनलाई उपचुनाव लड्ने नैतिक अधिकार छ ? गत चुनावमा वामदेव मात्र नभएर अरु पनि पराजित भएका थिए । उनीहरु मध्ये वामदेव चाहिँ जसरी पनि सांसद बन्नैपर्ने किन ? 

अतिततिर फर्केर हेरौं, सबैले प्रष्टै बुझिसकेको कुरा हो– ऊ बेला भट्टराईले उपचुनाव जितेका भए पनि अस्थिरता नै आउने रैछ । कालान्तरमा भट्टराई दोस्रो पटक प्रधानमन्त्री बने तर कुनै स्मरणीय र दूरगामी काम गर्न सकेनन् । 

तर, वामदेव भने पहिलो पटक प्रधानमन्त्री बन्ने चक्करमा छन् । संसदमै आउने हो, मन्त्रिमण्डलमै पुग्ने हो भने राष्ट्रिय सभा सदस्य बन्ने सजिलो बाटो थियो । त्यो बाटो नसमातेर प्रतिनिधि सभामै आउन खोज्नु भनेको प्रधानमन्त्री बन्न खोज्नु नै हो । उसै पनि नेकपामा भूपू प्रधानमन्त्री तथा ‘भविष्यका प्रधानमन्त्री’हरुको क्लब नै छ । त्यो क्लबमा एकजना थपिनुले देश र जनतालाई के फाइदा हुन्छ ? नेकपालाई के फाइदा हुन्छ ? राजनीतिक स्थिरतामा के योगदान हुन्छ ?

वामदेवले चुनाव जिते पनि नजिते पनि देशले चाहिँ हार्नेछ– अस्थिरतामा प्रवेश गरेर । 

मान्छे साट्ने खेल

नेपालमा राजनीतिक अस्थिरता चाहने तत्वहरु खोज्न धेरै टाढा जान पर्दैन । अस्थिरताका लागि अनेक कोणबाट प्रयास भइरहेछ, आगामी दिनमा पनि हुने नै छ । अहिले काठमाडौं–७ का जनताको अपमान गरेर अस्थिरता मञ्चन गर्ने सशक्त प्रयास भइरहेछ । वामदेवको महत्वाकांक्षामा सवार भएर अस्थिरता भित्र्याउन खोजिँदैछ ।

सांसदले पदबाट राजीनामा दिनु आफंैमा जनताको अपमान होइन । केका लागि राजीनामा दिए भन्ने कुराले अपमान निर्धारण गर्छ । आफ्नो क्षेत्रको बिकास निर्माणमा सरकारी निकायहरुले ध्यान दिएनन् भन्दै या अन्य कुनै उच्च नैतिक कारण देखाउँदै रामवीर मानन्धरले राजीनामा दिन्छन् भने त्यसको खास अर्थ हुन्छ । तर, काठमाडौं–७ का जनताले दिएको भोट पोको पारेर रामवीरले बिक्री गर्न खोजेका हुन् । रामवीरले राजीनामा दिए भने अभागी ठहरिनेछन् काठमाडौं–७ का जनता । तिनले आमचुनावमा दिएको भोट खेर जानेछ । उपचुनावमा फेरि पनि भोट दिनेछन् र त्यो भोटले चाहिँ राजनीतिक अस्थिरता आमन्त्रण गर्नेछ । राजनीतिक विकृति, विसंगति, लोभ, पाप, षड्यन्त्रका लागि हुनेछ अब काठमाडौं–७ मा चुनाव । 

रामवीरको ठाउँमा वामदेव नामका मान्छे साट्न चुनाव प्रणालीको दुरुपयोग गर्न खोजिँदैछ । फगत मान्छे साट्नका लागि मात्र गरिने चुनाव लोकतन्त्रको उपहास हो । मान्छे साटेर भए पनि संसदमा ल्याउनुपर्ने खालका मानिस हुन् र वामदेव ?

वामदेव यो देशका नायक त हुँदै होइनन्, खलनायक पनि होइनन्, उनी फगत एक औसत नेता हुन् । उनी अस्थिरताको घोडा चढेर उपचुनावको मैदानमा अवतरण गर्न खोज्दैछन् । वामदेवले विगतमा अरु केही सांसदलाई राजीनामा गराउन खोजेका थिए, सकेनन् । अहिले रामवीरलाई सिकार बनाउन खोजेका छन् । कथंकदाचित रामवीर तयार भएनन् भने वामदेवले अर्काे सिकार (सांसद) खोज्नेछन् ।

वामदेवको महत्वाकांक्षा र अस्थिरता एकै सिक्काको दुई पाटा बनेर देखा पर्दैछ । सिक्काको एउटा पाटामा सिर्फ वामदेव छन्, अर्काे पाटामा चाहिँ कोको छन् भन्ने भविष्यले खोल्दै जानेछ । तर, यो सबै खुल्ने दर्दनाक परिस्थिति आउनु अघि नै रामवीरको राजीनामा रोकिनुपर्छ, वामदेवलाई महत्वाकांक्षाको घोडाबाट तल उतार्नुपर्छ । कसले गर्ला यो काम ?


 

आईजी सा‘पलाई प्रश्न

विगत केहि महिना अगाडिबाट एक पछि अर्को गर्दै निकै रफ्तारमा हाम्रो समाजमा घटनाहरु घटिरहेका छन् । भक्तपुरमा ११ वर्षको बालक निशान खड्का यहि वर्ष अगष्ट

वामदेव काण्ड: प्रचण्ड सफल, ओली विफल

नेकपा नामको जहाजमा दुईजना पाइलट छन् । एकजना केपी ओली, अर्का पुष्पकमल दाहाल प्रचण्ड । ओलीले जहाज एकातिर लैजान खोज्दैछन्, प्रचण्ड विपरिततर्फ जहाज लैजान

बौद्धिकता राजनीतिः के हो बौद्धिकता ?

बौद्धिक वा बौद्धिकता भन्ने अवधारणाहरू जति पुराना हुन, तिनमा अन्तर्निहित राजनीति पनि त्यति नै पुरानो हो । समय अनुसार यो राजनीतिका स्वरूप परिवर्तन भए

 खनाल र नेपालको चलखेलले हल्लियो ओलीको सिंहाशन

सरकार गठनको सात महिना । समयको तुलना गर्दा झन्डै एउटा बच्चाको जन्मने प्रक्रियाको अवधि ।  जनमतको शक्ति सहित जनचाहनाको ठूलो भारी बोकेको दुइतिहाईको