दम्पतीको आत्मवृत्तान्त र यथार्थ

सत्यं ब्रुयात् प्रियं ब्रुयात्, न ब्रुयात् सत्यम् अप्रियम् ।
प्रियं च नानृतम् ब्रुयात्, एष धर्मः सनातनः ।।
(सत्य बोलौँ, प्रिय बोलौँ । सत्य तर अप्रिय नबोलौँ । प्रिय तर असत्य पनि नबोलौँ । यही नै सनातन धर्म हो)

सत्य बोल । प्रिय वचन बोल । असल कुरा सोच । खराब कुरा सुन्दै नसुन । राम्रो देख्ने चेष्टा गर । कसैका प्रति पनि राग, द्वेष, घृणा इत्यादि भावनाबाट टाढै रहने कोसिस गर । हाम्रो सनातन संस्कार, पूर्वीय दर्शन र सभ्यताको यो मूलमन्त्रबाट सिंगो विश्व नै परिचित र प्रभावित छ । तसर्थ हाम्रो कुनै पनि बोली र वचन यो आदिम आस्था र विश्वास धर्मराउने कारक बन्नुहुँदैन । अनि हाम्रो व्यवहार चाँदनीलाई ढाक्ने कालो बादल पनि बन्नुहुँदैन । सकारात्मक सोच राख्ने हरेक मानिसभित्रको यो दियो प्रकट भइरहनुपर्छ ।

यही सोच र सत्य प्रकट गर्न र त्यसको प्रेरणालाई उजागर गर्न विश्वका धेरै मानिसले आत्मकथा लेखेको पाइन्छ । जीवनयात्राका कठिनाइ, सफलता र विफलताका अनेकौँ उदाहरण, अनुकरणीय अनुभव, जीवन र जगत्लाई पर्गेल्ने सन्देशले भरिएको दस्तावेज हो आत्मकथा अनि आफैँभित्रको भूल स्वीकार गरी लेखिएको एउटा साबिती पनि हो । अहिलेसम्म मैले करिब-करिब ५० जना जति महापुरुषको आत्मवृत्तान्त पढेँ हुँला । ती आत्मकथाको अध्ययनबाट मैले बुझेको निचोड के हो भने त्यहाँ कसैप्रति सहमति वा विमति, कसैको भन्दा फरक सोच, समझ वा दृष्टिकोण हुन सक्छ, तर कसैप्रतिको प्रतिशोध, घृणा र परपीडामा रमाउने मनोविज्ञान कदापि अभिव्यक्त गरिँदैन । कसैलाई दुःख दिएर, समाज र राज्यलाई आतंकित पारेर, त्यसमा क्रान्ति र बहादुरी देख्नेहरूले आफैँभित्रको विकृति अरूमा सार्ने र अराजक गतिविधिलाई मलजल गर्ने कलुषित मगजको उपज पनि हुन सक्दैन आत्मवृत्तान्त ।

त्यसो त बोकोहराम, आईएसएस, तालिवान, रेड आर्मी, भारतको झारखण्डतिर माओवादको नाममा फैलाइएका अनेकन त्यस्ता विचारबाट प्रभावित भएर कतिपयले नाम, दाम र शान कमाएको पनि देखिएला । तथापि त्यो कार्य मानव सभ्यताको विकासक्रममा कत्तिको उपयोगी वा फलदायी छन् भन्ने विषय इतिहासले नै बताउनेछ । कुरा जे भए पनि द्वन्द्ववादी विचारभन्दा संरचनात्मक प्रकार्यमा विश्वास गर्नेहरूले नै दिगो शान्ति र मानव कल्याणको उत्तम कार्य गरिरहेको तथ्यलाई स्मरण गर्ने पर्याप्त आधारहरू देखिन्छन् ।

आत्मवृतान्तभित्र आफ्नो भनाइ र अरूको बद्ख्वाइँ हुनु राम्रो मानिँदैन । परनिन्दाले भरिएको बनावटी र कुरौटे अभिव्यक्ति पनि आफैँमा हानिकारक हुन सक्छ । कसैप्रतिको दुराग्रह, पूर्वाग्रह र अतिरञ्जनाबाट बच्न सकेमा त्यसले पाठकमार्फत सिंगो समाजमा केही न केही सन्देश प्रवाह गर्न सक्छ । अन्यथा त्यो आत्मवृत्तान्त नभएर प्रतिशोधपत्रको पुलिन्दा बन्न पुग्छ । बिजनेस टाइकुन र मिसन मिडियाको साक्षी र सहयोगी एजेन्ट बनेर लेखिएका भ्रामक र असत्य अभिव्यक्तिले द्वेष र घृणा फैलाउनेबाहेक केही सन्देश दिन सक्दैन ।

पछिल्ला केही सातामा आत्मवृत्तान्त भन्दै एक दम्पतीका एकपछि अर्को गरी दुई थान पुस्तक प्रकाशित र प्रचारित भएका छन् । पछिल्लो आत्मकथा मिडिया चलाउन गरिएको लगानी र कसैप्रतिको कलुषित भावनाको प्रस्फुटनसँग सोही मिडियाले फैलाएको असत्यलाई सत्य साबित गर्ने अभियानको रूपमा आएको पाएँ । अनि उक्त लगानीभित्रको एउटा पाटोकै शृंखला बनाएर भ्रमको खेती गर्ने, हल्लाको सुरताल मिलाउने अनि अनुत्तरदायी गतिविधिहरूलाई प्रेरित गर्ने प्रतिनिधिको स्वरूपमा पाएँ ।

पुलिंगी आत्मवृत्तान्तले एक विद्रोही मगजलाई बहादुरीको रूपमा प्रकट गरेको देखिन्छ । फोकल्यान्डको युद्धमा सोझै खुकुरीले गर्धन काटेर ब्रिटिसहरूले विजय प्राप्त गर्दा ब्रिटिस सेनालाई बहादुर र विजयीको माला पहिराउँदा विश्व समुदायले उठाएको मानवअधिकार हननको झिनो आवाज त्यसै बिलाएर गएको सम्झना दिलाउँछ उक्त आत्मवृत्तान्त पढ्दा । राष्ट्रले र अन्तर्राष्ट्रिय जगत्ले समेत अपराध घोषणा गरेको कार्यमा संलग्न हुँदा गौरवशाली अनुभवको गाथा कथिएको र अमूक पार्टीको आडबलमा त्यो विद्रोह गरिएको भनी शान–मान पाएको आत्मबोध देखिन्छ । तर, त्यसभित्र कतै न कतै हिंसालाई प्रेरित गर्ने मसिनो अस्त्रको अंग बन्न पुगेको प्रस्टै छ । अपहरण काण्डपछि पैसा वितरणमा भएका गल्तीलाई अर्कै परिवेशमा गालाको थप्पडका रूपमा वर्णन गरेको पनि देखिन्छ । जे होस्, बालसुलभ अवस्थाको विद्रोहमा अज्ञानतावश परिवर्तनलाई मूर्तरूप दिन गरिएको कार्यभित्र खराब नियत थिएन भने त्यो कार्यले समाज र राष्ट्रको इतिहासमा एउटा स्मरण गराउँछ । बाल्यकालमा म पनि त्यस्तै विद्रोही थिएँ, तसर्थ म पनि सलाम गर्छु त्यो अबोध चेतनालाई र उहाँको कतिपय विचारहरूलाई । यद्यपि सकारात्मक सोच अझै हुन जरुरी छ ।

स्त्रीलिंगी आत्मवृत्तान्तले कुनै एक मिडियाले मेराविरुद्धमा प्रकाशन गरेको समाचारको स्रोत आफू नै हो भन्ने दर्शाउन खोजेको देखिन्छ । पुस्तकको परिशिष्टबाहेकको ३५० पृष्ठभरिमा करिब ५० भन्दा बढी ठाउँमा त मेरै नाम उल्लेख गरिएको पाएँ– एक पौराणिक पात्र अजामिलले रामको नाम बिगारेर उल्टो बोल्दा पनि मुक्ति पाएको कथाजस्तै । ठाउँ-ठाउँमा मानौँ मेरो नाम जपेकोजस्तो ।

पृष्ठ ३ को अन्तिम अनुच्छेदमा ‘मपछि प्रधानन्यायाधीश हुने पालोमा रहेका व्यक्ति न्यायाधीश नभएर दलका कार्यकर्ता थिए’ भन्ने वाक्यांश आफैँमा मेरा उपरको प्रतिशोध, कुण्ठा र बौद्धिक दिवालियापनको शब्द–संरचनाजस्तो लाग्छ । त्यो अभिव्यक्ति पक्कै पनि अरू कसैको लागि सिर्जना गरिएको वा पदबाट निवृत्त भएपछि पनि कुनै पद हत्याउने लालसाले कसैप्रति गरिएको चाकडी वा मिसन मिडिया रिझाउन गरिएको हुनुपर्छ । उहाँकै नाता पर्ने एक पूर्वप्रधानन्यायाधीश र उहाँलाई सर्वोच्च अदालतमा नियुक्त गर्नेले पनि मसमेतका न्यायाधीशहरूलाई ‘ऐरे गैरे नथ्थु खैरे’ भनी त्यस्तै पत्रिकामार्फत सार्वजनिक रूपमै यस्तै अभिव्यक्ति दिएका थिए । यी दुवैका गुरु एउटै हुन् जसले म न्यायाधीशमा नियुक्त भएपश्चात् मेराविरुद्ध लगातार करिब १९ वटा लेख लेखेका थिए र झन्डै ५० ठाउँ भाषण पनि गरेका थिए । यिनीहरूको सांगठनिक शक्तिलाई टेवा दिन पनि आत्मवृत्तान्त नामको ढाेंग सिर्जना गरिएको हुन सक्छ । मसँग न त कुनै मिसन मिडिया छ न कुनै संगठित शक्ति । करिब २७ वर्ष स्वतन्त्र न्यायालयको लागि समर्पित मेरो कुन कर्म र कार्यशैली राजनीतिक आस्थाबाट प्रेरित भयो त ? बरु वस्तुनिष्ठ रूपमा देखाइदिए मैले पनि जस्ताको तस्तै आफ्नो आत्मवृत्तान्तमा लेख्ने थिएँ । होइन भने आफू स्वयं कसैको कार्यकर्ता भई बनारस गएको, राजदूतावाससँग हिमचिम बढाएको भनी अमूक पार्टीको कार्यकर्ताकै हैसियतमा आफूलाई उभ्याउने पात्रले अरूलाई कार्यकर्ता भनी सम्बोधन गर्नु हास्यास्पद छ ।

न्यायाधीश नियुक्त गर्दा अपनाउनुपर्ने संवैधानिक र कानुनी व्यवस्थालाई कुल्चनकै लागि आफ्नो विदेश भ्रमण छोट्याएर नेपाल आई निवेदन दरपीठ गरेको इतिहास पनि मैले रच्न सकिनँ होला । आफ्नै आत्मालाई सोध्नुहोस् कि मध्यरातमा उच्च अदालतका न्यायाधीशको नियुक्ति र त्यसभित्रको छद्मभेषी योजना, भनसुन र दबाबभित्र तपाईंलाई डुबाउनेहरूको कर्तुत किन ढाकछोप गर्दै हुनुहुन्छ ?

पुस्तकको पृष्ठ १० मा ‘धर्म, बुद्धि, विवेक, इमान, नैतिकता, भाइचारा, सहिष्णुताजस्ता मानवीय गुण र चरित्र हराउँदै गएका छन्’ भनी उल्लेखित अभिव्यक्ति उहाँको हकमा लागू हुन्छ कि हुँदैन ? पाठकले पक्कै विचार गरेका होलान् । एउटा न्यायाधीशले अर्को न्यायाधीशलाई गर्ने भाइचाराको भाषा के मेराउपर प्रयोग गरियो त ? स्टेफेन कोवेको भनाइ म यहाँनेर सम्झन्छु– To know and not to do is really not to know. उहाँले मेराउपर कस्तो भाइचारा निभाउनुभयो त ? बरु मैले नै उच्च अदालतमा ८० जना न्यायाधीशको नियुक्ति प्रकरणपछि उहाँ विराटनगर जाँदा कालो झन्डा देखाउने योजना थाहा पाएपछि त्यस्तो कार्यले कालान्तरमा स्वतन्त्र न्यायालयलाई नै आघात पुर्याउँछ भनेर त्यो योजनालाई रोक्न र उहाँको असम्मान हुन नदिन सफल भएको थिएँ ।

त्यति मात्र होइन, उहाँले आफूमाथिको महाअभियोगको तानाबाना बुन्ने पात्रको रूपमा मलाईसमेत प्रस्तुत गर्न भ्याउनुभएको छ । यहाँनेर के बुझ्न जरुरी छ भने महाअभियोगका विरुद्ध सर्वोच्च अदालतमा रिट ल्याउँदा रजिस्ट्रारले ‘यस्तो रिट आयो दरपीठ गरौँ कि के गरौँ ?’ भनी सोध्दा मैले नै ‘न्यायको मार्ग बन्द गर्नुहुँदैन, मेरैविरुद्ध कसैले केही लेखी ल्याए पनि निःसन्देह दर्ता गर्नुस्’ भनेको थिएँ ।

उहाँले जसरी राजनीतिक स्वार्थ भएकाहरूलाई न्यायाधीशमा नियुक्ति गरी छाती ठोक्ने पात्र म पक्कै होइन । न्यायाधीश नियुक्त गर्दा अपनाउनुपर्ने संवैधानिक र कानुनी व्यवस्थालाई कुल्चनकै लागि आफ्नो विदेश भ्रमण छोट्याएर नेपाल आई निवेदन दरपीठ गरेको इतिहास पनि मैले रच्न सकिनँ होला । आफ्नै आत्मालाई सोध्नुहोस् कि मध्यरातमा उच्च अदालतका न्यायाधीशको नियुक्ति र त्यसभित्रको छद्मभेषी योजना, भनसुन र दबाबभित्र तपाईंलाई डुबाउनेहरूको कर्तुत किन ढाकछोप गर्दै हुनुहुन्छ ? त्यसरी अराजक ढंगबाट संविधान, कानुन, विधि र पद्धति सबैलाई त्याग्न सक्ने तपाईंको त्याग र तपस्यालाई भने मान्नैपर्ने हुन्छ । उक्त नियुक्तिपश्चात् उत्पन्न परिस्थिति, बारद्वारा इजलास बहिष्कार, सरकारी वकिलहरूको अनुरोधलाई समेत लत्याउन सक्ने तपाईंको साहसलाई पनि मान्नैपर्छ ।

मैले फुलकोर्टमा भनेको अभिव्यक्तिलाई बिलकुल तोडमोड गरेर अपत्यारिलो किसिमबाट झुटको प्रचार गर्नुभएको छ । बरु मलाई न्यायपरिषद् ऐन, २०७३ ले उमेरको सम्बन्धमा निर्धारण गरेको कानुनी व्यवस्थालाई कुल्चेर ६७ जना न्यायाधीशको हकमा एउटा निर्णय र मसँगै सुरेन्द्रवीर सिंहको हकमा भने पूर्वाग्रहपूर्ण छुट्टै निर्णय गरी कानुनकै बर्खिलाप गर्नुभयो । हुन त सर्वोच्च अदालतबाटै उक्त निर्णय उल्टिएको थियो, तर त्यसलाई उल्लेख गर्नुभएन ।

मैले फुलकोर्टमा महाभारतको कुनै प्रसंगमा युधिष्ठिरको एउटा महत्वपूर्ण अभिव्यक्तिलाई अघि सार्दै भनेको थिएँ, ‘परस्परविरोधेतु वयं पंचश्च ते शतम्, परस्तु विग्रहे प्राप्ते वयं पञ्चाधिकं शतम् ।’

उक्त अभिव्यक्तिको तात्पर्य के थियो भने जब दुर्योधनले गान्धर्व कन्यालाई अनुचित कार्य गर्न लाग्दा गान्धर्वहरूले खाँबामा बाँधेर उनलाई सजाय दिइरहेको खबर पञ्चकुटीमा बसेका युधिष्ठिरलाई भीम र सहदेवले सुनाए तब युधिष्ठिरले अरूसँगको युद्धमा हामी एक हुनुपर्छ भनेर त्यो वचन बोलेका थिए । सय भाइ कौरव र पाँच भाइ पाण्डव एकैसाथ हुनुपर्छ भन्ने उपदेश भीम र सहदेवलाई त्यसबेला अनौठो लागेको थियो । त्यही श्लोक सुनाउने क्रममा मैले उहाँलाई सिंगो जुडिसियरीको अभिभावक बन्न अनुरोध गर्दै मसमेतलाई विरोधीको दृष्टिकोणले हेर्नु उपयुक्त हुँदैन, अरूले न्यायालयमाथि आक्रमण गर्न खोज्दा हामी एक हुनुपर्छ, केवल चाटुकारहरूको कुरा मात्र सुन्न हुँदैन भनेको थिएँ । मेरो अनुरोधमा व्यक्त भाइचारा र न्यायिक मित्रताको त्यो कालजयी अभिव्यक्ति उहाँले भुल्नुभएको छ आफ्नो लेखाइमा ।

मेरो स्मरणमा अझै ताजै छ, विराटनगरको कुनै मुसलमानको मुद्दामा तपाईंले मसँग कसरी भनसुन गर्नुभएको थियो र मैले कसरी तपाईंको अपरिपक्व निर्णयबाट अदालतलाई नै दूषित पार्ने प्रयत्नसँग सम्झौता गरेको थिइनँ । सायद त्यसैको परिणाम पो हो कि मसँग अनावश्यक निहुँ खोज्ने अनि असहिष्णु र उपहासपूर्ण व्यवहारको सुरुवात गर्नुभएको ।

नत्र किन विराटनगर, हेटौँडादेखि विभिन्न स्थानमा बोल्ने क्रममा सार्वजनिक रूपमै मेरो प्रशंसा गर्दै ‘मुद्दा छिटो बुझ्ने, अनुभवी र उदार विचार भएको सेकेन्ड म्यान साथी पाएको छु । मेरो कार्यकाल सफल हुनेछ’ भन्नुभएको थियो । उक्त यथार्थलाई किन लुकाउनुभयो ? मलाई प्रधानन्यायाधीश हुनबाट रोक्ने अन्तिम अस्त्रस्वरूप आफ्ना नातेदार पर्ने रजिस्ट्रारसँगको गठखामसमा एक अधिवक्तामार्फत रिट दर्ता गराएर अन्तरिम आदेश जारी गर्ने असफल कोसिस र केही दूषित अधिवक्ताहरूसँगको गुप्त साँठगाँठलाई किन लेख्न सक्नुभएन आफ्नो आत्मकथामा ?

मलाई प्रधानन्यायाधीश हुनबाट रोक्ने प्रयत्न सफल नभएपछि उनै नातेदारसँगको साँठगाँठमा अराजक गोविन्द केसीलाई उचाल्ने र केही सीप नलागेपछि उनैद्वारा गैरकानुनी पत्र लेखाई जग हँसाउन पनि पछि पर्नुभएन । एउटा अनुशासनहीन रजिस्ट्रारलाई दिइएको पुट गठखामसलाई पनि लेख्न भुल्नुभएछ । मैले अझै बुझ्न नसकेको यो कस्तो धर्म, बुद्धि, विवेक, इमान र नैतिकता हो– आजपर्यन्त पनि तिनकै इर्दगिर्दमा रहेर अराजक, अनुत्तरदायी व्यक्तिहरू र मिसन मिडियाको सहायता गर्दै हुनुहुन्छ ? यो कस्तो भाइचारा र सहिष्णुता हो– कुनै पूर्वाग्रह नराखी दिदी भनेर सम्बोधन गर्ने पात्रका विरुद्ध रावणपुत्र मेघनाथले जस्तै लुप्त युद्ध गर्न सक्षमहरूले षड्यन्त्र गर्दा उनकै प्रशंसा गरेर थाक्नुहुँदैन । अनवरत रूपमा मलाई न्यायालयको नेतृत्ववाट च्यूत गर्न गरिएका अनेक षड्यन्त्र र तानाबानाको उहाँ त एक पात्र मात्र हुनुहुन्छ । समग्र पुस्तक मेराविरुद्धको विषवमनबाहेक केही हुन सक्दैन । (पूर्व प्रधान न्यायाधीश पराजुलीको प्रकाशोन्मूख पुस्तकको एक अंश)

आईजी सा‘पलाई प्रश्न

विगत केहि महिना अगाडिबाट एक पछि अर्को गर्दै निकै रफ्तारमा हाम्रो समाजमा घटनाहरु घटिरहेका छन् । भक्तपुरमा ११ वर्षको बालक निशान खड्का यहि वर्ष अगष्ट

वामदेव काण्ड: प्रचण्ड सफल, ओली विफल

नेकपा नामको जहाजमा दुईजना पाइलट छन् । एकजना केपी ओली, अर्का पुष्पकमल दाहाल प्रचण्ड । ओलीले जहाज एकातिर लैजान खोज्दैछन्, प्रचण्ड विपरिततर्फ जहाज लैजान

बौद्धिकता राजनीतिः के हो बौद्धिकता ?

बौद्धिक वा बौद्धिकता भन्ने अवधारणाहरू जति पुराना हुन, तिनमा अन्तर्निहित राजनीति पनि त्यति नै पुरानो हो । समय अनुसार यो राजनीतिका स्वरूप परिवर्तन भए

वामदेवले चुनाव जिते देशले चाहिँ हार्नेछ

उपचुनावमा वामदेव गौतम हारे भने के हुन्छ ? जिते भने के हुन्छ ? १) जिते भने : वामदेवको जितलाई नेकपाको जित मानिने छैन । यो सरकारको जित पनि मानिने छैन ।