‘हितैले बोलाई दरौंदीलाई मर्स्याङ्दी मिसियो’

‘असोज सात गते मेरो जन्मदिन । अब अन्ठानब्बे लाग्छु ।’ दुइ वर्ष अघिको भदौको पहिलो साता लैनचौरको कालधारास्थित निवासमा भेट हुँदा आफ्ना हातले मेरा हात च्याप्प समातेर राष्ट्रकविले भन्नुभयो— ‘महाकाव्य सक्नैछ,अहिले भर्खर दुइवटा लाइन सकेर झरेको ।’ 

मध्यान्हमा एक झप्को निदाएर तल बैठकमा ओर्लिएपछि उहाँले आफ्ना दैनिकी पनि सर्सर्ती सुनाउनु भएको थियो ।

सधैं भेट हुँदा एउटा प्रश्न दोहोर्याई रहनुहुन्छ – बा आमालाई कस्तो छ ?

बा’को खबर त सर्सती सुनाउने गरेको छु तर आमाका बारेमा बताउने बेला अवरुध्द हुँदोरहेछ गला अनि कविवरको प्रतिकृया हुन्छ – ए ! भैगो भैगो यस्तै हो..... ! 

राष्ट्रकवि माधवप्रसाद घिमिरेले ७ असोज ०७५ का दिन जीवनको सय वर्ष पार गर्नुभएको छ । अथक लेखन यात्रा अझै विश्राम लिन चाहिरहेको छैन उहाँको । समयले उहाँको जीवनमा वर्षहरु थप्दै गएपनि कविवरमा सजगता उस्तै ताजा छ जति सायद सुरुका दशकहरुमा थिए । सय वर्ष जन्मदिवसमा राष्ट्र प्रमुखदेखि देशका विभिन्न अंगका पदाधिकारी मात्र होइन,समाजका अनेक क्षेत्रका नागरिक स्वतस्फुर्त गएर कविवरलाई सम्मान,माया र शुभकामना दिए । प्रत्यक्ष परोक्ष रुपमा उहाँलाई अर्पण गरिएको यो सम्मानले जनजनमा परेको कविवरको छाप प्रकट भएको छ । 
 त्यहीबेला आफ्नो बैठक कोठामा पस्दैगर्दा भन्नुभएको थियो – अचेल बाहिरफेर हिड्न त्यति मन लाग्दैन । समय त्यत्तिकै खेर जान्छ । लेख्ने बिषय सोचेर बस्यो अनि त्यहीबेला बाहिर जानु पर्यो भने सबै भताभुंग ।

उमेरले शताव्दि टेक्दा पनि तर उहाँका लेखनीका भावी योजना  लाइनमा छन् । कुरा सुन्दा यस्तो लाग्छ, राष्ट्रकवि “गौरी”कालको युवावयमै हुनुहुन्छ र उहाँका तमाम कृतिहरु लेखिन बाँकी नै छन् । पछिल्लो भेटमा उहाँ भन्दै हुनुहुन्थ्यो,“समय त्यत्तिकै बिताउन सक्दिन ।  केही न केही लेख्ने कि आराम गर्ने , होइन भने मौन बसेर आव्हान  गर्ने केही न केही त लेख्ने बिषय आइ नै  हाल्छ ।”

०७१ को  दशैंमा म र शकुन्तला राष्ट्रकविकहाँ टीका थाप्न गएका थियौं ।  टीका लगाइदिइसकेपछि उहाँले भन्नुभयो,‘तिमीले माइपोखरीका बारेमा मलाइ केही सूचनाहरु दिनुपर्छ है,महाकाव्य लेखिसिध्याएपछि त्यहाँको बारेमा लेख्नुपर्नेछ ।’

हस्, मैले स्वीकारोक्तीमा टाउको हल्लाएँ ।

गत वर्ष भेट भयो, उहाँले इलाम फेरि सम्झनु भयो । माइपोखरीको यतिधेरै मोह किन छ, मैले उहाँसँग सोधेको छैन । धार्मिक र प्राकृतिक सौन्दर्यका दृष्टिले इलामको माइपोखरीको आफ्नै प्रशिध्दि छ । जहाँ देशदेशावर देखि श्रध्दालुहरु पुग्ने गर्दछन् ।

२७ वर्ष अघि काठमाण्डौं पसेपछि मैले बर्ष नबिराइकन राष्ट्रकविसँग भेटेको छु र घर नगएको बर्ष दशैं टीका लगाएको छु । कहिले सपरिवार त कहिलेकाहीं एक्लै । २०४८ मा काठमाण्डौं बस्नेगरी पसेपछि ‘स्वतन्त्रता’ मा काम गर्न थालियो । अरु क्षेत्रको रिपोर्टिङ्ग गर्दागर्दै मैले साहित्य क्षेत्रको बिषय पनि लेख्न थालें । मेरो रुचि अनुसार त्यतातिर पनि कलम चलाउन थालें साहित्यकारहरुसँग अन्तर्वार्ता गरेर । किशोर दाईको प्रोत्साहन र प्रेरणाले पत्रकारितामा लहसिएको मलाई यो रुचिको बिषयमा पनि काम गर्न हौसलाको कमी थिएन । 

पहिलो वार्ता थियो,उपन्यासकार दौलत बिक्रम बिष्टसँग । बिष्टको उपन्यास “चपाइएका अनुहार” मलाइ मन पर्छ । उपन्यासका दुइजना पात्रहरु किमरिख र बेरगितले जंगलमा भोगेको अनुभव अहिलेसम्म बिर्सनसकेको छैन ।

तेस्रोपटक म पुगेको थिएँ राष्ट्रकविको निवासमा बडो उत्सुकता र पर्याप्त संकोचले थिचिएर । उहाँले अन्तर्वार्ताका लागि प्रश्नहरु छोड्न लगाएर तीन दिनपछि जवाफ दिनुभएको थियो रातो मसिले लेखेर । बर्तुलाकार उहाँको हस्ताक्षर अझ सुरक्षित छ मसँग । त्यसपछि धर्मराज थापा, इश्वर वल्लभ,दिनेश अधिकारी, हुँदै हृषिकेश शाहसम्म पुगेर त्यो क्षेत्रको रिपोर्टिं त्यहिं रोकियो । त्यसको कारण पछि अर्कै प्रसंगमा ।

‘मालती मङ्गले’ कविवरकै एउटा जिवन्त कृति हो भन्ने थाहा नपाउने कमै हौंला । ‘मालती मङ्गले’ का गीतहरुले झंकृत भैरहने म भने त्यसको मंचन हेर्न औधि उत्सूक थिएँ तर कसरी ? यसको उपाय संभव लाग्दैनथियो । चालिसको दशक सुरुमै प्रज्ञा भवनमा ‘मालती मङ्गले’ धुमधामसँग चलिरहेको थियो । पहुँच नपुग्नेले टिकट हात पार्न हम्मे हम्मे नै पथ्र्यो । तर मैले चैं कुनै सास्ती नभोगी नै ‘मालती मङ्गले’ हेर्ने मौका पाएको थिएँ । हेरिसकेपछि यसका रचयिता भेट्न पाए हुन्थ्यो भनेर कम छटपटाएको थिइन ।

‘मालती मङ्गले’ मा खासगरी ‘हितैले बोलाई दरौंदीलाई  मर्स्याङ्दी मिसियो, म केले बोलाउँ मालतीलाई मुरली खोसियो’ यो गीत निकै मन परेको थियो । यसको गहिरो छाप अझै ताजै छ ।

त्यहीबेला स्वर सम्राट नारायण गोपालको पहिलो झल्को पाउँदा जीवनको एकमात्र लक्ष पूरा भए झैं लागेको थियो । पछि त त्यस्ता अवसरहरु दोहोरिंदै आए ।

त्यसैगरी कविवर माधवप्रसाद घिमिरेलाई पनि भेट्न देख्न चाहन्थें । तर समय मेरो इच्छा सुन्न तयार थिएन । पहँुच भन्दा निकै परको इच्छा थियो त्यो मेरो । तर समयले एकदिन भेट जुराइ छाड्यो । र उहाँकै निवासमा चिरपरिचित झैं वार्ता गर्ने अवसर पो पाएँ । त्यसपछि खुलेको ढोकाबाट म अनेक पटक जानेआउने गरिरहेको छु कविवर निवासमा आजसम्म पनि ।

कविवरको अमर कृतिहरुले हामी नेपालीलाई सदा नै जागरुक बनाई नै रहने छन् । उहाँको जन्मशताव्दिका अवसरमा ह्रदय देखि नै सम्मान अर्पण गर्दछु । (तस्बिर नागरिक न्युजबाट)

८ करोड शब्दको महाकाव्य आउँदै 

  चेङ्दु । विश्वमै सबैभन्दा लामो लोककाव्य मानिएको राजा गेसारको काव्यको सङ्कलन अर्को वर्ष अर्थात् सन् २०१९ प्रकाशन गरिने भएको छ ।  “इपिक अफ किङ

दिलिप कुमारलाई निमोनिया, मुम्बईमा उपचार हुँदै

मुम्बई, २५ असोज । बिरामी भएर अस्पताल भर्ना भएका ९५ वर्षीय भेट्रान अभिनेता दिलिप कुमारको स्वास्थ्यमा सुधार आइरहेको जनाएको छ । उपचारमा संलग्न

  दशैं आएछ !

 असारे चपेटालाई साउने झरीले स्याहारसुसार गरी चिटिक्क पारेर नाटकघरको पर्दा सर्लक्क खोले जसरी आँखाले हेर्दा देखिने हिमाली शीरमा हरिया पहाड

प्रधानमन्त्रीले \'गौरी\'का पंक्ति पढे, राष्ट्रकविका आँखाबाट चारपटक आँशु बगे 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेका काव्यमा विविधतामा एकता प्रतिविम्वित भएको प्रतिक्रिया दिएका   छन्