ओलीको बोली– सुगा रटाइ, झुठ अनि अरिंगाल

पूर्वमाओवादीका दिवंगत नेता पोष्टबहादुर बोगटीको चौथो स्मृति सभालाई भदौ ३० मा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने– ‘सरकारले ज्यादै राम्रो काम गरेको छ, यति राम्रो काम यसअघि नेपालका कुनै पनि सरकारले गरेका थिएनन्, तर राम्रा कामको पनि गलत प्रचार भएको छ, सरकारका राम्रा कामको गलत प्रचार गर्नेविरुद्ध कालो अरिंगालको गोला जसरी खनिन म आमकार्यकर्तालाई आग्रह गर्छु ।’

हिंसालाई निम्ता

प्रधानमन्त्री ओलीले यस्तो निर्देशन जारी गरेकै दिन देशैभरी सामाजिक अन्याय विरुद्ध एउटा ठूलो प्रदर्शनी भएको थियो । सुदूर पश्चिम कन्चनपुर देखि सुदूर पूर्व झापासम्म फैलिएको र पहाड र तराइ सबैतिर एकैदिन एकैपटक २६ ठाउँमा आयोजित यो प्रदर्शनीको विषय थियो वलात्कार पछि हत्या गरिएकी एउटी किशोरीले न्याय पाउन, हत्याराहरु समातिउन् भन्ने । यो त्यस्तो हत्या भएको ५३ औं दिनको कुरा हो, जुनबेलासम्म ओली प्रशासनको प्रहरीले दोषी उम्काउनेकाम मात्र गरिरहेको थियो । यो प्रदर्शनी कुनै विपक्षी दलको थिएन । देशभरीका आमाबाबु–दाजुभाइ र दिदीवहिनीले आयोजना गरेका थिए र सहभागी पनि उनै थिए । त्यो सहभागिताका तस्वीरहरु हेर्न सकिन्छ । यसमा प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा पनि यस्तै कार्यक्रम भएको थियो ।

त्यसदिन प्रधानममन्त्रीले आफ्ना कार्यकर्तालाई जस्तो स्वरुप धारण गर्न आह्वान गरे, स्वाभाविक छ यसको केन्द्र त्यही प्रदर्शनी थियो भन्ने बुझ्न सकिन्छ र बुझाउन खोजिएको पनि यही हुनुपर्छ । अरिंगाल, सर्प, कुकुर भनेका अत्यन्त हिंस्रक तथा विषालु जीव हुन् । यी जीवले आक्रमण गर्दा सामान्य उपचारले मान्छे बाँच्न सक्दैन । सर्प तथा कुकुरले टोकेको उपचार गर्ने औषधीहरू छन् तर अरिंगालले टोकेको औषधि छैन । दुई–तीनवटा अरिंगालले टोक्यो भने मान्छे ठहरै हुन्छ । अरिंगाल कति आतंकको प्रतीक हो भन्ने कुरा एउटा नेपाली उखानले नै पुष्टि गर्छ । त्यो उखान हो– ‘सातवटा अरिंगालले एकैचोटि टोक्यो भने सात वर्षको राँगोसमेत मर्छ ।’ वरिष्ठ चिकित्सक डा.झलक शर्मा गौतमका अनुसार अरिंगालको टोकाइको उपचार सहज हुँदैन । यसका उदाहरण कायम भैसकेका छन् । केहीदिन अघिको एउटा घटनाबारे गोरखापत्रको एउटा समाचार –

‘अरिङ्गालले टोक्दा बालिकाको मुत्यु, सल्यान समाचारदाता, अरिँगालको टोकाईबाट एक बालिकाको ज्यान गएको छ । सल्यान कालागाउँ ८ झारकाडा की पाँच वर्षिया टीका कुमाइको अरिङ्गालको टोकाइवाट ज्यान गएको हो । विद्यालयवाट घर फर्कने क्रमममा अरिङ्गालले टोक्दा घाइते वालिकाको उपचारका क्रममा निधन भएको वुवा तुलाराम कुमाईले जानकारी दिनुभयो । मृतक वालिका श्री न्यु ब्राइटपल फियुचार एकेडेमी स्कुल कालागाउ २ दोभानखोला एल के जि मा अध्यनरत   थिइन ।’

प्रधानमन्त्रीको यस्तो आह्वान भनेको आफुले गरेका कुनैपनि काम कुराको  विरुद्ध कसैले आवाज उठाउँछन् भने तिनलाई ठाउँका ठाउँनै समाप्त पार भन्ने सन्देश दिन खोजेको बुझ्न सकिन्छ । धन्न त्यसदिन उनका कार्यकर्ता कालो अरिँगालको रुप लिएर यस्ता प्रदर्शनीमा प्रकट भएनन् । यदि त्यस्तो भएको थियो भने अनुमान गर्न सकिन्छ त्यसले कस्तो आकार लिने थियो ।

मुलुकका प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई अरिंगाल बनेर आक्रमण गर्न निर्देशन दिनु भनेको सामान्य कुरा होइन, त्यो पनि सामाजिक न्याय माग्दा । कुनैपनि हत्यारा समात्ने काम सरकारको प्रथम दायित्व भित्र पर्छ । त्यसदिन प्रवुद्ध नागरिकले त्यसलाई सम्झाएका मात्र हुन् । अर्कोतर्फ सरकारका अरिँगाल भनेका सेना प्रहरी हुन।् यसले के अब सत्ताका काला अरिंगालका गोला सरकारको आलोचना गर्ने नागरिक पंक्तिमाथि खनिने नै हो त ? यो आह्वानले उव्जाएको यो प्रश्न निरुत्तरित नै छ ।

संहिता भन्छ ठूलो कसुर

जब प्रधानमन्त्री नै खुलेआम हिंसाका लागि निर्देशन दिन्छन् भने सर्वसाधारणको राज्यप्रति कसरी भरोसा रहला ? हिंसाका लागि प्रेरित गर्नु भनेको पनि हिंसा गर्नुसरह नै हो । आफैंले भदौ १ देखि लागु गरेको मुलुकी अपराध संहिता ऐन २०७४ ले समाजमा आतंक र त्रास फैलन सक्ने अभिव्यक्तिलाई सार्वजनिक सुरक्षाविरुद्धको कसुर मानेको छ । प्रधानमन्त्री ओलीले कार्यकर्तालाई अरिंगाल जस्तै भएर आलोचकविरुद्ध खनिन दिएको आदेश यस्तै कसुरजन्य बोली हो कि होइन भन्ने प्रश्न उठ्छ नै । प्रधानमन्त्रीको यो भनाइ त्यो संहितालागु भएको ३० औं दिनमा आएको हो ।

खुट्टा ताछ्ने फर्मूला

ओली प्रधानमन्त्री भएको लगत्तै यस्ता हिंसाका कुरा आउन थालेका थिए । उनी फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भए र फागुन ७ को एउटा सार्वजनिक समारोहमा आह्वान गरे खुट्टा ताछ्ने बारे । दुइपार्टी एकीकरणको प्रस्ताव गर्न आयोजित समारोहमा उनले आफ्ना कार्यकर्तालाई आह्वान गरे ‘जुत्ताको साइज मिलेन भने खुट्टा ताछेर मिलाउनू ।’ यो भनाइले यो बेलासम्म प्रचलनमा रहेको ‘खुट्टा अनुसारको जुत्ता’ भन्ने उखानमा परिवर्तन भएर ‘जुत्ता अनुसारको खुट्टा’ भन्नेमा परिणत भयो । यहाँ अर्को आश्चर्य के देखियो भने उनले त्यो भव्य मञ्चबाट यस्तो निर्देशन दिँदा तल बस्ने कार्यकर्ताले गडगडाहट  तालि बजाएका थिए । यता अरु नागरिकले चाहिँ यो के भएको हो भन्ने भेउनै पाउन सकेनन् । वास्तवमानै नेता यस्तो जुत्ताका लागि खुट्टा काट्ने कुरा गर्ने र कार्यकर्ता ताली बजाउने ! हतपत्ति बुझिने कुरा थिएन पनि यो । खुट्टा होस वा घाँटी कुरा त काटमारकै हो । यसो भनिँदा तालि बजाउने कार्यकर्ता  कालो अरिँगाल बन भन्दा नबन्ने कुरा नआउला, भलै यो पटक चाहिँ त्यस्तो हुनबाट जोगियो नै ।

निन्द्रा हराएको दिन

प्रधानमन्त्री ओलीले फागुन २७ मा संसदबाट विश्वासको मत लिँदै भनेका थिए ‘मलाइ मत नदिनेहरु राती सुत्न सक्ने छैनन् ।’ त्यसबेला उनको यो भनाइ चोटिलो मानिएको थियो विपक्षी प्रति । प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये कम्तीमा १ सय ९४ सांसदको समर्थन देखिएको थियो त्यसबेला । उनलाई मत नहाल्ने कांग्रेसमात्र थियो । त्यसकारण पनि यो भनाइ उसप्रति नै लक्षित भएको बुझ्न सकिन्छ । तर उनको छ महिना पुगेको बेलाको एक दिन वास्तवमा नै निन्द्रा नलाग्ने अवस्थामा पुगेछ समग्र समाज । असोज २ गते यो सरकारको छ महिना पुरा भएर सातौं महिना लाग्ने दिन हो । यो दिनको एउटा समाचार पढौं –

‘अपराधी कति ढुक्क छन् भने निर्मलाको बलात्कारपछि देशव्यापी आन्दोलन भइरहेका वेला ५२ दिनमा दुई सय २५ चेली बलात्कृत भए । राजधानीमा मात्रै ४५ दिनमा ४२ बलात्कार । पीडितलाई प्रहरीको जवाफ– फरार आरोपीहरू कतै देखे खबर गर्नू, हामी समात्छौँ ।

महानगरीय प्रहरी कार्यालयका अनुसार ४५ दिनमा राजधानीमा मात्र ४२ महिलामाथि बलात्कार तथा बलात्कार प्रयास भएको उजुरी परेको छ । १ साउनदेखि १५ भदौसम्म काठमाडौंमा मात्र बलात्कारका २८ घटना भए त्यस्तै, ललितपुर र भक्तपुरमा ७ घटना भए । कञ्चनपुरमा दुई महिनाको अवधिमा दुई बालिकाको बलात्कारपछि हत्या भएको छ । गत २६ असारमा घरबाट किताब किन्न हिँडेकी १७ वर्षीया कविता विष्टको बलात्कारपछि हत्या भएको महिना दिन नपुग्दै ११ साउनमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो ।

कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी कविताको बलात्कारपछि हत्याराले प्रमाण नष्ट गर्न लालझाडी जंगलमा शव गाड्यो । १ साउनमा पुनर्वास नगरपालिकाकी ३९ वर्षीया महिलालाई भैँसी चराउन गएका वेला ३० वर्षीय नरेश रानाले बलात्कार गरे । ४ साउनमा ९ वर्षीया बालिका बलात्कृत भइन् ।  १० साउनमा शुक्लाफाँटा नगरपालिका–८ नौखुरीकी २० वर्षीया महिलालाई ३२ वर्षीय बिन्तीराम चौधरीले बलात्कार गरे । १६ साउनमा पुनर्वास नगरपालिका–२ की १६ वर्षीया बालिकालाई २६ वर्षीय विकास बुढाले बलात्कार गरे । १९ साउनमा भीमदत्त नगरपालिका–१० जिमुवाकी ५ वर्षीया बालिकालाई ४० वर्षीय लक्ष्मण कोलीले बलात्कार प्रयास गरे । २६ साउनमा वेदकोट नगरपालिका–७ का पाँच वर्षीय बालिका किरण धामीमाथि ६६ वर्षीय धामीले यौन दुराचार गरेका थिए । २७ भदौमा महाकाली नगरपालिकाकी १० वर्षीया बालिका बलात्कृत भइन् ।

दिनदिनै यस्तो भपछि को निदाउन सक्तछ ? उत्तर ओलीले नै देलान् । उत्तर आयो पनि तर यस्तो रुपमा ।

पार्टी विरुद्ध षडयन्त्र !

ओलीको अरिँगाल आक्रमण हुनुपर्ने ठाउँ थियो यी वलात्कारका घटना विरुद्ध । तर भयो उल्टो । यस्ता घटना रोक भन्नेहरुमाथि खनिन भनियो । हुँदै जाँदा यस्ता वलात्कारका घटना सत्तारुढ दल नेकपा र उसले भन्ने गरेको समृद्धिका विरुद्ध षड्यन्त्र भएको भन्ने निष्कर्ष आयो ।

समाचारको एउटा अंश– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले देशमा बढ्दो महिला हिंसा र बलात्कारका घटना ‘सरकार र पार्टीविरुद्ध नियोजित षड्यन्त्र हुनसक्ने’ बताएका छन् । विद्यार्थी नेताले लेखेको किताब विमोचन गर्दै अध्यक्ष दाहालले भदौ २८ मा यस्तो टिप्पणी गरेका हुन् । ‘अहिले हेर्यो भने एकातिर दुईतिहाइ बहुमतको सरकार छ । कम्युनिष्ट पार्टीले नेतृत्व गरिराखेको छ । समृद्ध समाज निर्माण यात्रामा बढ्ने संकल्प गरेका छौं । हामीले लगातार सुशासन, भ्रष्टाचारमुक्त समाज, तीव्र गतिमा देश विकास गर्दै समाजवादको आधार निर्माण गर्ने कुरा गरेका छौं भने अर्कातिर, दिनदिनै समाजमा विकृति र विसंगतिका घटना अझ बढेका हुन् कि भनेझैं गरी देखिएको छ । चाहे महिला हिंसाका घटना हेरौं या कालोबजारीसँग सम्बन्धित कुरा । तिनीहरु अझ नियोजित रूपले अगाडि आउन खोजेका हुन् कि यो सरकार र पार्टीविरुद्ध एउटा षड्यन्त्रका रूपमा आउन खोजेको हो कि भन्याजस्तो गरी देखिन्छ ।’

सुगा रटाइ

बलात्कारका यी घटनामा नेकपाका तल्ला तहका नेताहरु पनि  सुगा रटाइ जस्तोहुने गरी सरकारमाथि षड्यन्त्र भएको भन्नेलाई नै दोहो¥याउन थाले ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बलात्कार, यौनजन्य हिंसा, महिला हिंसामा दिनप्रतिदिन बढोत्तरी आउनु सरकार विरुद्धकै षड्यन्त्र भएको ठोकुवा नै गरे असोज ४ को एउटा कार्यक्रममा । अखिल नेपाल महिला संघको आयोजनामा भएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले दिनानुदिन बढ्दै गएको बलात्कारको घटना सरकारलाई असफल बनाउने नियोजित षड्यन्त्र भएको टिप्पणी गरेका थिए । यसअघि १७ गते प्रतिनिधिसभा बैठकमा नेकपाकी सांसद शशी श्रेष्ठले कम्युनिस्ट सरकारलाई बदनाम गराउन बलात्कारका घटना बढेको भन्ने दिव्यज्ञान सुनाएकी थिइन् । त्यसबेला उनको धेरै आलोचना भएको थियो । वलात्कारका घटना सरकारविरुद्ध षड्यन्त्र नभएर दण्डहीनताको उपज थियो त्यसलाई छोप्न  जव शीर्ष नेताबाट यस्ता कुरा आउन थाले अनि त वास्तवमा नै यस्ता घटना सरकार र पार्टी विरुद्ध षड्यन्त्र नै हो भन्ने स्थापित गर्न होडवाजी नै चल्योे । नेकपाकी नेतृ कल्याणी श्रेष्ठले सरकारलाई बदनाम गराउन संगठित गिरोह सक्रिय भएको वताइन् त्यो कार्यक्रममा । उनको भनाइ थियो सरकारलाई बदनाम गराउन संगठित गिरोह त सक्रिय छैन ? नेकपाकी अर्की नेतृ भगवती चौधरीले एकपछि अर्को गरी बलात्कारका घटनामा बढोत्तरी आउनुलाई  सरकारविरुद्धको षड्यन्त्र होइन भनेर पन्छन नमिल्ने सुझाव नै दिइन् । नेतृ कमलादेवी महतो, कल्याणी खड्का आदिका भनाइ पनि उस्तै थिए– वास्तवमा यस्ता घटना सरकार विरुद्ध षड्यन्त्र नै हुन् । नेताको बोलीको प्रभाव कस्तो हुँदो रहेछ भन्ने यो एउटा उदाहरण हुनुपर्छ ।

झुठ बोल्दै उक्साउँदै

वलात्कारका दोषीलाई कार्वाही गर भनेर यतिबेला देश जस्तो रुपमा आन्दोलित छ यो भन्दा झनै बढी थियो यसअघि करको आतंकबाट । केन्द्रको र स्थानीय सरकारले यस्ता कर लगायो जसलाई धान्न नसक्ने भए गरिव जनता । कतिसम्म भने करेसावारीमा लगाएको सागमा पनि कर लाग्यो । गाउँ घरमा पालिएको कुखुराले एउटा अण्डा दिँदा पनि त्यो करयोग्य भयो । यस्तै धेरै नै अचाक्ली भएपछि दूरदराजदेखि शहरबजारका जनता स्वस्फूर्त रुपले आन्दोलनमा आए । तर यता प्रधानमन्त्रीले भने यस्ता कर लगाउनेहरुलाई उक्साइरहे । यसकालागि गलत प्रकारका आँकडा प्रस्तुत गर्नपनि पछि परेनन् । यही बेला हो उनले आफुलाई करप्रसाद भन्न थालिएको भनी जानकारी गराएका पनि । 

देशभरी यस्तो आन्दोलन चलिरहेका बेला प्रधानमन्त्री ओलीले नेपालको कर संसारकै सस्तो भनेर जानकारी गराएका थिए । विराटनगरको एउटा गोवर ग्याँसको उद्घाटन गर्न जाँदा विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले नेपालमा लगाइएको कर संसारकै सस्तो भएको दावी गरे । तर यता वास्तविकता चाहिं दक्षिण एसियाकै सवैभन्दा महंगो कर नेपालमा रहेको पाइयो अध्ययनबाट । कुल ग्रार्हस्त उत्पादनको आधारमा लाग्ने कर नेपाल दक्षिण एसियाकै महंगो रहेछ । नेपालले जीडीपीको आधारमा नेपालीलाई करको भार २४ प्रतिशत पर्ने गर्दछ । जुन दर सात वटा मुलुकको भन्दा बढी हो । दोस्रो धेरै कर लिनेमा माल्दिभ्सले २१ प्रतिशत कर लिने गरेको छ  भने तेस्रोमा भारतले १८ प्रतिशत, चौथोमा श्रीलंका १२ प्रतिशत, पाँचौमा बंगलादेश ९ प्रतिशत रहेको छ । स्थानीय तहले जनतालाई मार पर्नेगरी कर लगाएको भन्दै सरकार र स्थानीय तहको आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले स्थानीय तहले लगाएको करको बचाउ गरे यस्तो झुठ बोलेर ।

लाज लाग्ने कुरा

–  भदौ १२ को संसद बैठकमा भदौ १४ र १५ गते बिमस्टेक सम्मेलनको विषयमा प्रतिनिधि सभालाई जानकारी गराएपछि प्रधानमन्त्री ओलीले समसामयिक विषयमा समेत धारणा राखे । त्यसमा उनले विगतको सरकारले विरासतमा छाडेका समस्याका कारण सरकारले ६ महिनामा काम गर्न नसकेको टिप्पणी समेत गरे । कानुन नभएको तथा प्रतिपक्षीले संसद अवरोध गरेका कारण कतिपय काम गर्न नसकिएको उनको भनाइ थियो ।

यसैक्रममा आयो उनको अर्को जवाफ । कांग्रेस सांसद सञ्जयकुमार गौतमले प्रश्न गरेका थिए ‘महिलाको अस्मिता लुटिएका घटनाले प्रधानमन्त्रीलाई लाज लाग्दैन । शीर निहुरिँदैन’ । जवाफका क्रममा ओलीले भने – प्रधानमन्त्रीलाई लाज लाग्दैन भनेर एकजनाले भन्नुभयो । यस्तो असभ्य बोल्ने साथी देख्दा किन लाज नलाग्ने ! ओलीले गौतमलाई दिएको जवाफमा नेकपाका सांसदले टेबल ठोकेका थिए । यो उत्तर सत्तारुढ पक्षका सांसदलाई घतलागेर नै ताली वजाएको हुनुपर्छ । यसको गुह्य चाहिँ अर्कै थियो – प्रधानमन्त्रीलाई यस्तो प्रश्न सोध्ने व्यक्तिनै लाजका विषय हुन् ।

चित्र विचित्रका कुरा

अर्को एकदिन संसदमा नेकपाकै एक सांसदले एउटा खोलाले दुख दिएको, बाढी आएको हुँदा तटवन्धन गरिदिन प¥यो भनी माग गरे । प्रधानमन्त्रीले जवाफ दिए– ‘त्यो खोलो यो सरकारले छ महिनामा ल्याएको हो र ?’

  असारको मध्यमा बलुवाटारमा एउटा दिवाभोज भयो । पात्र थिए गीतका लेखक र गायकहरु । त्यहाँ प्रधानमान्त्रीले भनिदिए –‘ अव गरिवीका गीत नलेख्नू,    नगाउनू’ ।

–  भदौको मध्यमा ओली आफंैले राजधानीका सम्पादकहरुलाई वोलाएर करिव दुइ घण्टा आफ्ना कुरा सुनाए । यो कन्चनपुर घटनाले उत्कर्ष पाएको बेलाको कुरा   हो । समाचार सरकारका पक्षमा थिएनन् । घटना नै त्यस्तै थियो । एक वालिकाको क्रुरतम हत्या भएको र महिनादिन बढी हँुदापनि हत्यारा पत्तानलोगको घटनाले वास्तवमानै समाज निराश थियो । यस्तो बेला त्यहाँ ओलीले भनिदिए–‘समाजमा निराशा जगाउने समाचार दिँदै नदिनू ।’

यसको अर्थहुन्छ यस्ता समाचार पत्रकारहरुले आफंै उत्पादन गरेका हुन् ।

–  रारा सम्वोधन प्रधानमन्त्रीको एउटा चर्चित कुरा मध्येमा पर्छ । खर्चकै हिसावले पनि यो धेरै महँगो थियो । अघिल्लो दिन नौवजे त्यता लागेका प्रधानमन्त्री भोलीपल्ट साँझमात्र फर्किएका थिए । यो सम्वोधनकाबारे धेरै  प्रतिकृया आए ।  १० बैशाखमा उनले यसको प्रतिकृया दिँदै भने ‘मैले देश विकास र समृद्धिको कुरा गर्दा महेन्द्रसँग दाँजिँदैछ । मैले जनतालाई सुखी राख्ने कुरा गर्दा यो त महेन्द्रले बोलेको भन्छन्, विकास कुरा गर्यो भने जनताका कुरा गरेन भन्दै उल्टै प्रश्न गर्छन् । यस्ता पनि बुद्धिजीवी हुन्छन् ? नेपालका बुद्धिजीवी मुसा जस्ता छन् । माइत जान लागेकी बुहारीको साडी काटेर मुसाले अलपत्र बनाइदिन्छ । ससुराली जान लागेको ज्वाइँको कोट काटिदिएर मुसोले बदमाशी गर्छ ।’

यो सम्वोधन कति कार्यान्वय होला भनी एकजना विश्लेषकले राजा महेन्द्रले पनि यस्तै गरेको भनी त्यसको हविगत सम्झाएका थिए । त्यसको उत्तरमा उनले यस्तो प्रतिकृया दिएका हुन् ।

  पार्टी एकिकृत भएपछिको केन्द्रिय समितिको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले धेरैपटक दोहो¥याएको एउटा कुरा थियो –‘पार्टी चौतर्फी आक्रमणमा प¥यो, यो पार्टीमा वोलेर लेखेर प्रतिवाद गर्ने कोही एकजना पनि रहेनछन् ?’

त्यसपछि एकजना मन्त्री कडारुपले प्रतिवाद गर्न उत्रिए । त्यसबेला डा. गोविन्द केसीको अनसनले देश पुरै आन्दोलित थियो । त्यसका विरुद्ध आफ्नो बलवूताले भ्याएजति रुपमा  प्रतिवाद गर्न वंगलादेशमा अध्ययनरत चिकित्सा शास्त्रमा अध्ययनरत छात्राहरुको अस्मिता जोड्न पुगे । केसीको आन्दोलनलाई निरर्थक भनी बुझाउन उनले यो अस्त्र प्रयोग गरेका थिए जो उनी आफैंप्रति फर्कियो । परिणाम रुँदै राजीनामा दिनप¥यो  ।

 

 सरल साता डायरी: सातदिनमा के के भएछन् ?

महंगो गाडी किन्ने राष्ट्रपति विद्यादेवी भण्डारीको महत्वाकांक्षाको विरोधस्वरुप युवाहरुले एक/एक रुपैयाँ उठाएर प्रतीकात्मक रुपमा बनाएको गाडी

के कांग्रेस दण्डभागी हुन तयार छ ?

नेपाली काङ्ग्रेसको महासमितिको बैठकको पूर्ब संध्यामा महासमिति सदस्यहरूहरूमा अपील ! ***** ***** नेपाली काङ्ग्रेसले माओवादीहरू र कम्युनिस्टका नीति र

जियोनीका अध्यक्षले जुवामा हारे डेढ खर्ब

काठमाडौं, १४ मंसिर । स्मार्टफोन उत्पादक चिनीया कम्पनी जियोनीका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत (सिईओ) लिउ लिरोङले जुवामा एक खर्ब ६० अर्ब रुपैयाँ

अमिताभ बच्चनले तिरिदिए किसानहरुको ऋण

मुम्वई,मंसिर । बलिउड अभिनेता अमिताभ बच्चनले किसानहरुको चार करोड भन्दा बढी ऋण चुक्ता गरिदिएका छन् । मंगलबार अमिताभले आफ्नो ब्लगमार्फत् यो जानकारी