प्रधान न्यायाधीश कल्याणले झुट बोलेपछि...

पुनरावेदन अदालत विराटनगरमा म ०६७ पुस ३ गते मुख्य न्यायाधीशका रूपमा हाजिर भएँ । काम गर्दै जाँदा त्यहाँ केही समस्या रहेछन् भन्ने थाहा भयो । एक दिन वरिष्ठ अधिवक्ताहरूले मलाई भेटेर भन्नुभयो, ‘एउटै हतियारमा ४–५ जना मानिसलाई फसाइएको छ । हातहतियार खरखजानाको झुटा मुद्दा लगाइएको छ । श्रीमानसित धेरै अपेक्षा गरेका छौँ । कसरी हुन्छ श्रीमानले यसमा एउटा निकास दिनुपऱ्यो ।’ मैले धेरै ठूलो आश्वासन दिन त मिल्दैनथ्यो, तर यसको उपाय के रहेछ त हेरौँला भनेँ ।

एक दिन अर्धन्यायिक निकायहरूको निरीक्षण गर्ने कार्यक्रमअन्तर्गत मोरङ जिल्ला प्रशासन कार्यालयमा पुगेँ । सुरेश अधिकारी प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो । उहाँ अदालतप्रति सकारात्मक सोच नै राख्ने व्यक्ति हुनुहुन्थ्यो । ‘यस कार्यालयमा हातहतियार खरखजाना मुद्दा कति जति होला’ भनेर सोधेँ । ‘करिब–करिब ४६० थान जति छ कि श्रीमान्,’ उहाँले भन्नुभयो । मैले त्यसको अकर्ण माग गरेँ । उहाँले अकर्ण देखाउनुभयो । २०० थान जति फैसला भइसकेको र बाँकी त्यहाँको लगतमा रहेछ । ‘बरामद भएको हतियार र विस्फोटक पदार्थहरू कहाँ राख्नुभएको छ त’ भनेर मैले फेरि सोधेँ । ‘त्यो त सीडीओ कार्यालयमा नराखिने भएकाले सबै प्रहरी कार्यालयमा नै हुन्छ,’ उहाँको जवाफ थियो । ‘त्यसो भए दशी त हेर्नुपर्ने भयो, जाऊँ’ भनेर सीडीओसहितको हाम्रो निरीक्षण टोली जिल्ला प्रहरी कार्यालयमा पुग्यो ।

प्रमुख जिल्ला अधिकारीले जिल्लाका प्रहरी प्रमुखलाई ‘बरामद भएका हतियारहरू कहाँ राख्नुभएको छ’ भनी सोधे । ती प्रहरी अधिकारी अलिक झस्किए । ‘किन र हजुर ?’ उनको जिज्ञाशा थियो । ‘एउटै हतियारले धेरै मुद्दा चलाइएको छ भनेर गुनासाहरू आएका छन्’ भनी मैले सुनाएँ । ‘त्यस्तो त कहिलेकाहीँ भइहाल्छ नि,’ प्रहरी प्रमुखले गैरजिम्मेवारपूर्ण जवाफ दिए । निरीक्षण टोलीमै रहेका पुनरावेदन अदालतका इजलास अधिकृतलाई ‘हतियारहरू कहाँ छन् ? मुद्दा चलेका हतियारहरूसँग त्यसको लगत मिलाएर मुद्दासितको नम्बर मिलेको छ–छैन जाँचेर लिएर आउनुहोस्,’ भनेँ । निरीक्षणमा गई हेर्दा उनले २७–२८ वटा हतियार भेटेछन् । त्यसमा पनि कतिपय चाइनिज खेलौना, नक्कली पेस्तोल र पटाकाहरू रहेछन् । म झसंग भएँ । यो देशमा कानुन छैन ? कि शक्तिवान्हरूले जे गरे पनि हुन्छ ? यहाँ कानुनबमोजिम मुद्दा चलाइँदैन कि ? यावत् प्रश्नहरू मनमा उठे ।

प्रहरीसँग मुद्दाका विषयमा जानकारी लिन पाइने भए पनि उसकै भण्डारमा गएर मुद्दा चलाइएका दशीका रूपमा राखिएका हतियारहरूको खोजीनिती गर्नु केही जोखिमपूर्ण काम थियो । तथापि मैले त्यहाँका प्रहरी प्रमुख (एसपी) सँग अलिक कड्केरै कुरा गरेँ, ‘यो त अति भएन र ? यसरी पनि मुद्दा चल्छ ?’ गल्ती स्वीकार गर्नुको साटो उल्टो उनले मुद्दा चलाउने या नचलाउने यो त सरकारको अधिकारको कुरा हो भन्ने खालको कुरा गरे । म सरासर गएर निरीक्षण पुस्तिकामा लेखेँ, ‘अब जति पनि हतियार बरामद भएका छन् । घातक र खतरनाक भएदेखि त्यसको टिप्पणी उठाएर भरपाई राखेर प्रहरीमा दिनू अन्यथा एउटा स्टोरमा राख्नू ।’ एउटै हतियारले धेरैजनालाई खरखजाना मुद्दा चलाएमा त्यो पनि दूषित हुन सक्छ भनेर लामै फेहरिस्त बनाएँ ।

त्यसमा मैले पाँच–सातवटा कुरा गरेको थिएँ । कसरी मुद्दा चलाउने ?, मुद्दा चलाउनुपर्ने कारण, कहाँबाट बरामद भएको हो ?, बरामद भएको हतियार कस्तो प्रकारको हो ?, सक्कली हो कि नक्कली हो ?, त्यो हतियार कत्तिको घातक हो ? अथवा त्यो हतियारको लगत के हो ?, त्यही हतियारले अर्को मान्छेलाई मुद्दा चलाएको हो कि होइन ? सबै कुराहरू राखेँ । हुन पनि ४६४ थान मुद्दामा जम्मा २८ थान हतियार बरामद भएको थियो । त्यो पनि चाइनिज खेलौनादेखि नक्कली पेस्तोलसम्म । मलाई के लाग्यो भने यो हातहतियार खरखजाना मुद्दामाथि अबचाहिँ निगरानी गर्नुपर्ने भयो । त्यसको लगत राख्नुपर्ने भयो । मनिटरिङ गर्नुपर्ने भयो । त्यसपछि भने एउटै हतियारबाट पटकपटक मुद्दा चलाउने कार्य बन्द भयो । सम्भवतः त्यो निरीक्षणपश्चात् विराटनगरमा झुटा मुद्दाहरू पनि आएनन् कि जस्तो लाग्छ ।

तर, उक्त निरीक्षणपश्चात् सायद मलाई तर्साउन हो वा सुनियोजित षड्यन्त्र गर्ने केन्द्रका केही पूर्वाग्रहीहरूको चाल हो मैले अलिक असामान्य वातावरणको महसुस गर्न थालेँ । मैले त्यसो गरिरहँदा त्यहाँ आफ्नो धाक–रवाफ जमाएका, हामीले चाहेमा जे पनि गर्न सक्छौँ भन्ने सोच भएका व्यक्तिले ममाथि नै निगरानी गर्न थाले । प्रहरी प्रशासनले जथाभावी मुद्दा चलाउने र अनावश्यक निगरानी गर्ने परिपाटीको अन्त्य भएपछि अदालत र मेरो कार्यशैलीले मानिसहरू प्रभावित भएका थिए । अदालतप्रतिको जनविश्वास र मेरो लोकप्रियता ह्वात्तै बढेको महसुस हुन थालेपछि मेरो नियुक्तिदेखि नै तिलमिलाएका केही तत्वले मेराविरुद्ध अझै षड्यन्त्र गर्न थाले ।

न्यायनिसाफ गर्दा जश नै पाएँ । अहिले पनि धेरैले सम्झन्छन् । जाँदाखेरि आत्मीयता दर्शाउँछन् । फैसला गर्दा उहाँले लिबरल व्याख्या गर्नुहुन्थ्यो भन्छन् । तर, त्यस्तो लोकप्रियतालाई कसरी धुमिल्याउन सकिन्छ भनेर केही पूर्वप्रधानन्यायाधीश नै लागिरहे ।

यस्तैमा एक दिन म सुतिरहेको समयमा मेरो कोठाबाट एउटा ल्यापटप, मोबाइल, ७–८ हजार रुपैयाँ, एउटा औँठी र घडीसमेत चोरी भयो । झ्यालको जाली काटेर कसरी चोर भित्र छिऱ्यो ! म अचम्भित भएँ । कति गहिरो निद्रामा रहेछु म ? सायद कुनै नसालु पदार्थ मलाई सुँघाइएको थियो कि ? मध्यरातमा ब्युँझिएर शौचालय जान लाग्दा मैले चोरी भएको थाहा पाएँ । क्वार्टरमा हल्लीखल्ली भयो । एकैछिनमा प्रहरीहरू आइपुगे । मैले प्रहरी प्रमुखलाई भनेँ, ‘मुख्य न्यायाधीशको क्वार्टरमै यसरी चोरी हुन्छ । यो के हो ?’ उनले ‘ल्यापटपमा कुनै रेकर्ड छ–छैन हजुर ?’ भन्न थाले । ‘मलाई थाहा छैन, होला या नहोला । तर, चोर र चोरीको कारण भने पत्ता लगाउनुपऱ्यो,’ मेरो भनाइ थियो । उसो त म बसेको टोलमा चोरहरूको खुब बिगबिगी छ भनिन्थ्यो । पछि बुझ्दै जाँदा थाहा भयो ती चोरहरूको प्रहरीसँग तादात्म्यता रहेछ । पछि मेरो ल्यापटप नहरमा फालिएको रहेछ भनेर ल्याइयो ।

ती प्रहरी प्रमुख सरुवा भएर गए । पछि त्यो मान्छे पक्राउ पऱ्यो र मुद्दा चल्यो । मैले सामान पनि फिर्ता पाएँ । मोबाइल भने बेचिसकेकाले त्यसको पैसा पाएँ । एक दिन मैले एउटा चोरी मुद्दा हेरिरहेको थिएँ । चोरी मुद्दामा एकजना रिक्सावालाले धरौट घटाइपाऊँ भनी निवेदन दिएको थियो । मैले उसको कानुन व्यवसायीलाई ठाडै भनेँ, ‘मुख्य न्यायाधीशकै कोठामा पसेर सामान चोर्न आँट गर्छन् भने यी चोरलाई किन माया गर्नुपऱ्यो ? धरौट घटाउनुपर्ने देखिन्न ।’ पछि ती वकिलले चोरी मुद्दाका आफ्ना क्लाइन्टलाई भनेछन्, ‘मुख्य न्यायाधीशकै समेत चोर्न थाल्यौ त अब । अनि कसरी सहानुभूति हुन्छ तिमीहरूप्रति ? ती न्यायाधीश चोरी मुद्दामा कडा हुने नै भए ।’ जेलमा रहेको अर्को एउटा कैदीको चोरी मुद्दा थियो । उसले मेरो सामान चोर्नेलाई भनेछ, ‘तैँले चोर्न त चोरिस् तर किन मुख्य न्यायाधीशकै चोर्न गइस् ।’ त्यो चोरले भनेछ, ‘मलाई जे अह्राइयो मैले त्यही गरेँ ।’ यी कुराहरू मैले पछि केही कानुन व्यवसायीमार्फत थाहा पाएँ ।

कसले अह्राएको भनेर त्यो चोरले मुख खोलेन । तर, जसरी ती सरुवा भई जाने प्रहरी अधिकारीले ‘यस्तो कहिलेकाहीँ हुन्छ श्रीमान, यसको रहस्य बेग्लै छ’ भनेका थिए । त्यसबाट मलाई के लाग्छ भने मेराविरुद्ध लागिरहने जुडिसियरीभित्रैका कतिपय व्यक्तिहरूको मसँग भएका रेकर्डहरू हात पार्ने वा लोप गर्ने योजना हुन पनि सक्छ । अथवा नहुन पनि सक्छ । तर, विराटनगरमा मेरो लोकप्रियता देखेर त्यो कोर ग्रुप बेचैनचाहिँ पक्कै थियो ।

एउटा व्यक्तिलाई अनवरत रूपमा कहिले प्रमोसन रोकियो । जागिरेजीवनमा व्यवधान खडा गरियो । कहिले हतोत्साहित गरियो । तर, त्यति हुँदा पनि मेरा कुनै पनि फैसला उल्टाउने ताकतचाहिँ कसैले राखेनन् । न्यायका मूल्य र मान्य सिद्धान्तहरूबाट अविचलित भई फैसला गरिएकै कारण होला । मलाई सन्तोष लाग्ने यहीँनेर हो ।

विराटनगरका एक पत्रकार खिलानाथ ढकालले अदालतबारे बिलकुल भ्रामक र झुटो समाचार लेखेका थिए । मैले बारका पदाधिकारी र अन्य कानुन व्यवसायीलाई बोलाएर भनेँ, ‘यो के भएको हो ? कसरी यस्तो झुटो समाचार लेखेको ? अदालतबारे अफवाह फैलँदा यहाँहरूले पनि विचार गर्नुपर्छ ।’ त्यसपछि मोरङ र सुनसरीको जिल्ला बार र विराटनगरको पुनरावेदन बार सबै एक भएर अदालतको अवहेलना मुद्दा दायर भयो । ती पत्रकारलाई झिकाई बयान गराइयो र कारबाही पनि भयो । कुनै मुद्दामा सबै वकिलहरू एकै ठाउँ भएको सायद त्यही बेला हुनुपर्छ । प्रतिवादीले त्यहाँ कुनै कानुन व्यवसायी नपाएर काठमाडौंबाट वकिल बोलाएका थिए । काम गर्दाका अवस्थामा बार र बेन्चको त्यो मजबुत सम्बन्ध निकै अविष्मरणीय छ ।

त्यसपछि विराटनगरमा अर्को एउटा नमिठो अनुभव पनि रह्यो । विराटनगरमा मेरो चुलिँदो लोकप्रियता देखिसकेपछि मेराविरुद्धको षड्यन्त्रस्वरूप माथिबाटै न्यायिक आचरण बिलकुलै नभएका, तर कोर ग्रुपले पालेका र उसैले नियुक्ति गरेका एकजना अलिक उग्र स्वभावका व्यक्तिलाई न्यायाधीशका रूपमा विराटनगर पठाइयो । उनी बिहान–बेलुका घुमफिर गर्दै वामपन्थी खेमाका कानुन व्यवसायीहरूको ल फर्ममा जाने गरेको थाहा पाएँ । न्यायिक आचरणलाई सबैले ध्यान दिनुपर्छ भन्ने कुरामा म जोड दिने गर्थेँ । जुन कुराले उनी मप्रति भित्रभित्रै क्रूद्ध भएका रहेछन् । एक दिन देवेन्द्र्रगोपाल श्रेष्ठ श्रीमानको निवासमा गफगाफ हुँदा मैले गरेका कार्यहरूको प्रसंग चलिरहँदा ती उग्र स्वभावका श्रीमान एकाएक उत्तेजित भएर ममाथि हातपात नै गर्न थाले ।

मैले निकै सहनशीलता प्रकट गरेँ । उनको उत्तेजना पनि प्रायोजित नै थियो कि जस्तो लाग्छ । पछि सर्वोच्च अदालतबाट प्रधानन्यायाधीश कल्याण श्रेष्ठ निरीक्षण भ्रमणमा जाँदा उहाँले उल्टै मलाई ‘तपाईँ किन उत्तेजित हुनुभएको’ भन्नुभयो । मैले ‘म कुनै उत्तेजनामा थिइनँ । उहाँले त्यसो गर्न हुन्थ्यो कि हुँदैनथ्यो’ भनी प्रतिप्रश्न गर्दा कल्याण श्रीमानले ‘न्यायाधीश भएपछि धेरै कुरा सहनुपर्छ । संयमता अपनाउनुपर्छ’ भनेर उनकै कर्तुत ढाकछोप गर्न खोज्नुभयो । ती उग्र स्वभावका श्रीमान कलेज पढ्दादेखि नै आफूलाई वामशक्तिको नजिक रहेको भन्ने, उत्तेजित हुने, आफूभन्दा भिन्न विचारधारा राख्नेहरूलाई वर्गशत्रुकै व्यवहार गर्ने प्रवृत्तिका थिए ।

उनले गरेको कर्तुत म राम्रैसँग सम्झन्छु । त्यतिबेला मैले हिन्दूदर्शनको मार्मिक श्लोक सम्झिएँ, ‘अक्रोधेन जयत् क्रोधम् साधुं साधुना जयेत् ।’ क्रोधमाथि शान्तिले र दुर्जनमाथि सदाचारले विजय प्राप्त गर्न सकिन्छ भन्ने उक्त शास्त्रीय वचन स्मरण गरेँ र ती रिसाहालाई नरिसाईकन जित्ने प्रयत्न गरेँ । उनी चाहन्थे म पनि उत्तेजनामा आऊँ र क्रोधित होऊँ । तर, मैले कत्ति पनि नरिसाईकनै उनलाई जितेँ । म पनि उत्तेजनामा आएको भए अथवा आफ्नो सुरक्षार्थ खटिएका सुरक्षागार्डलाई कुनै निर्देशन दिएको भए अप्रिय घटना पनि घट्न सक्थ्यो होला ।

विराटनगर बस्दाखेरि करिब तीन वर्षको अवधिमा सामाजिक संघसंस्थादेखि लिएर कानुन, न्यायसँग सम्बन्धित हरेक गोष्ठीहरूमा मैले विशिष्ट प्रकारको सम्मान प्राप्त गरेको छु । त्यो सम्मानका फेहरिस्त हेर्दा करिब ४०० जति रहेछन् । त्यहाँ काम गर्दा सबैको मन जितेँ । न्यायनिसाफ गर्दा जश नै पाएँ । अहिले पनि धेरैले सम्झन्छन् । जाँदाखेरि आत्मीयता दर्शाउँछन् । फैसला गर्दा उहाँले लिबरल व्याख्या गर्नुहुन्थ्यो भन्छन् । तर, त्यस्तो लोकप्रियतालाई कसरी धुमिल्याउन सकिन्छ भनेर केही पूर्वप्रधानन्यायाधीश नै लागिरहे । जुन शृंखला आजसम्म पनि प्रकट भइरहेको छ ।

(पूर्व प्रधान न्यायाधीश गोपाल पराजुलीको प्रकाशोन्मुख संस्मरणको एक अंश,घटना र बिचारबाट)

८ करोड शब्दको महाकाव्य आउँदै 

  चेङ्दु । विश्वमै सबैभन्दा लामो लोककाव्य मानिएको राजा गेसारको काव्यको सङ्कलन अर्को वर्ष अर्थात् सन् २०१९ प्रकाशन गरिने भएको छ ।  “इपिक अफ किङ

दिलिप कुमारलाई निमोनिया, मुम्बईमा उपचार हुँदै

मुम्बई, २५ असोज । बिरामी भएर अस्पताल भर्ना भएका ९५ वर्षीय भेट्रान अभिनेता दिलिप कुमारको स्वास्थ्यमा सुधार आइरहेको जनाएको छ । उपचारमा संलग्न

  दशैं आएछ !

 असारे चपेटालाई साउने झरीले स्याहारसुसार गरी चिटिक्क पारेर नाटकघरको पर्दा सर्लक्क खोले जसरी आँखाले हेर्दा देखिने हिमाली शीरमा हरिया पहाड

प्रधानमन्त्रीले \'गौरी\'का पंक्ति पढे, राष्ट्रकविका आँखाबाट चारपटक आँशु बगे 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेका काव्यमा विविधतामा एकता प्रतिविम्वित भएको प्रतिक्रिया दिएका   छन्