सयपत्री फूलमा रमाउँदै झापा

 भद्रपुर । अतिथिको स्वागत गर्दा दिइने फूलको गुच्छा होस् वा तिहारमा दिदीबहिनीहरुले लगाइदिने माला, सयपत्री फूलको थुङ्गाले दिने सौन्दर्यको तुलना नै हुन सक्दैन । 

न्वारानदेखि घाटसम्म र मन्दिरदेखि घरसम्म प्रयोग हुने फूलहरुमध्ये सयपत्रीलाई नेपालीहरुले अति मन पराउँछन् । सभा समारोहहरुमा सजाउन मात्र होइन, पाहुनालाई सम्मान गर्न पनि सयपत्री फूलको माला रोज्न थालिएको छ । 

यति धेरै महत्व र माग भएर पनि नेपालमा भारतबाट महङ्गोमा आयात गरेर सयपत्रीको माग धान्नु परिरहेको छ । सीमावर्ती प्रमुख नाकाहरुबाट वर्षेनी करोडौँको फूल भित्रिरहेको छ । भन्सार नाकाबाट भन्दा बढी मात्रामा अनधिकृत रुपमा खुला सिमानाबाट भित्र्याइने गरिएको छ । 

फूलमाथिको यही परनिर्भरता हटाउन र आय बढाउन झापाका किसानहरु सयपत्री फूलको व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन् । झापाको अर्जुनधारा, भद्रपुर, मेचीनगर, विर्तामोड, गौरादह लगायतका क्षेत्रमा किसानहरुले यसपालि २० बिघाभन्दा बढी क्षेत्रफलमा सयपत्री फूलको खेती लगाएका छन् । बाह्रैमास फुल्ने सयपत्रीको वर्णशङ्कर र रैथाने बिरुवा रोपेका उनीहरुले यसपालिको तिहारमा स्वदेशी फूलले बजारको माग धान्ने बताएका छन् । 

भद्रपुर–७ इलुबारीमा खगिन्द्रा खुशीले दुई बिघा जग्गा भाडामा लिएर सयपत्री फूलको व्यावसायिक खेती गरेकी छिन् । “तिहारमा भारतबाट भित्रिने सयपत्री फूल किन्न घुइँचो लागेको देखेर मलाई यसको खेती गर्ने सोच आयो,” निजी लगानीमा खेती शुरु गरेकी खुशी भन्छिन् – “फूल फुलाउन मात्र पर्दोरहेछ, किन्ने व्यापारीहरु बारीमै आउँछन् ।” 

सयपत्री फूलको बेर्ना रोपेको एक महिनापछि नै फुल्न थाल्ने भएकाले उनको बारीमा अहिले फूल फुल्न थालिसकेको छ । तिहारका लागि अर्कै बिरुवाहरु हुर्किरहेका छन् । 

विर्तामोडको सूर्योदय टेलिभिजनमा साहित्यिक कार्यक्रम सञ्चालक खुशी फूल खेतीमा काम गर्न सजिलो हुने र उत्पादन खर्च समेत कम हुने अनुभव सुनाउँछिन् । तिहार अगावै फूल फुल्दा बजारमा नबिक्ने हो कि भनी शुरुमा उनलाई चिन्ता लागेको थियो तर, त्यसो भएन । ठूलो संख्यामा रहेका सहकारी संस्थाहरुबाट साधारण सभाका लागि आएका माग पूरा गर्नै धौ धौ छ । 

मेचीनगर–९ मा डी एण्ड डी बायोप्लान्टेक नामक कम्पनी दर्ता गरेर विगत चार वर्षदेखि नर्सरी व्यवसायमा लाग्नुभएकी दीक्षा उप्रेतीले यसपालि १० कठ्ठा जग्गा भाडामा लिएर सयपत्री फूलको खेती शुरु गरेकी छिन् । “फूल खेती नेपाली महिलालाई स्वरोजगार बनाउने एउटा वैकल्पिक व्यवसाय हो,” नर्सरी व्यवसायकी अनुभवी दीक्षा भन्छिन्– “मैले तीन तले खेतीको रुपमा सयपत्रीसँगै मेवा र कागती खेती गरेकी छु ।” 

तिहारमा सयपत्री फुलिसक्ने र त्यसपछि मेवा फलाउने उनको योजना छ । उनको खेतीमा कलकत्ते भेराइटीज जातको सयपत्रीका बिरुवामा यतिबेला कोपिला लाग्न थालेका छन् । तिहारमा मात्र फुलाउने योजनाअनुसार उनले बिरुवाको मुन्टा बेलाबेला टिपेर फाल्ने गरेकी छिन् । 
उनले सयपत्री फूलको खेतीमा झार र रोगबाट जोगाउन ‘मलसिङ’ प्रविधि प्रयोग गरेकी छिन् । भुइँमा प्लास्टिक ओच्छ्याएर बिरुवा टुसाउन दिनका लागि मात्र दूलो पार्ने नयाँ प्रविधिलाई मलसिङ भनिन्छ । 

डी एण्ड डी बायोप्लान्टेकबाट उनले खेती गर्न चाहनेहरुलाई परामर्शसहित यसपालि ३५ हजार सयपत्रीका बिरुवा बिक्री गरिसकेकी छिन् । 
झापाका महिलालाई व्यावसायिक बनाउन सहयोग पुर्याउँदै आएको महिला उद्यमी सङ्घ झापाले विर्तामोड–१ र भद्रपुर–८ मा एक बिघा जग्गा भाडामा लिएर सयपत्री फूलको नमुना खेती गरेको छ । सङ्घको खेतीमा सयपत्रीको कोपिला मात्र भर्खर बस्न थालेको छ । “सयपत्री फुल्नु अघि नै मालाको अर्डर आइसक्यो, बजारको कुनै चिन्ता छैन” – सङ्घका अध्यक्ष गोभा भट्टराई बताउँछिन् । 

सङ्घले सयपत्रीको बिरुवा उमारेर इच्छुक व्यक्ति र समूहलाई यसपालि एक लाख बिरुवा बिक्री गरेको भट्टराईले जानकारी दिईन् । सयपत्री फूलको खेतीतर्फ किसानहरुको आकर्षण बढ्दै गएको छ । एक कठ्ठा र दुई कठ्ठाका दरले यसको खेती लगाउने झापामा दर्जनौँ किसान छन् । विर्तामोड–९ निवासी अर्का किसान दलबहादुर अधिकारीले यसैका लागि चारवटा अत्याधुनिक टनेल निर्माण गरेर खेती शुरु गरेका छन् । 

उनले पाँच कठ्ठामा बेमौसमी हजारिया जातको सयपत्री फूलको खेती लगाएको बताए । उनले टनेलमा फुलाएको फूलको एक खेप बिक्री भइसकेको छ । अरु खेतमा लगाइएको सयपत्री तिहारका बेला फुलाउने उनको योजना छ । अर्जुनधारा जलेश्वरधाममा दैनिक पूजाका सामग्री बेच्ने खुद्रा व्यापारीहरु सयपत्री किन्न उहाँको बारीमै पुग्ने गरेका छन् । 

महिलाहरुले फूल खेतीप्रति देखाएको लगनशीलताका कारण विर्तामोड नगरपालिकाले पनि प्रोत्साहन दिन थालेको छ । फूल किसानलाई प्रोत्साहन गर्न विर्तामोड नगरपालिकाले उद्यमी महिला सङ्घलाई बेर्ना खरिद र तालीमका लागि चालु बजेटबाट रु ५० हजार अनुदान दिएको नगरका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडाले बताए । 

टनेल बनाएर आधुनिक विधिबाट बेमौसमी फूलको खेती गर्दै आएका विर्तामोड–९ का दलबहादुर अधिकारीलाई समेत नगरपालिकाले रु ६० हजार अनुदान दिएको छ । विर्तामोड नगरपालिकाका बाली संरक्षण अधिकृत राजेन्द्र खरेलले नगरलाई फूलमा आत्मनिर्भर बनाउने योजना अनुरुप प्रोत्साहन प्रदान गरिएको र यस्तो प्रोत्साहन अझै बढाउँदै लगिने बताए । उद्यमशील महिला सङ्घ झापाले महिलालाई सयपत्री फूलको खेतीमा लाग्न आग्रह गर्दैआएको छ ।  “थोरै पूँजी र मेहनतमा फूल खेती गर्न सकिन्छ,” सङ्घका अध्यक्ष भट्टराईले भने – “महिला दिदीबहिनीहरु सयपत्री फूलको खेती गर्नूस्, बजार हामी खोजिदिन्छौँ ।” 

चितवन र काठमाडौँबाट समेत सयपत्री फूलको मालाको माग आउन थालेको बताउँदै उनी भन्छन्– “अहिले भइरहेको खेती अपुग छ । झापामा धेरै ठूलो सम्भावना छ सयपत्री फूल खेतीको ।” 

इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा बागबानी विषयमा अध्यापन गराइरहेका बिकास खनालले झापाको माटो र हावापानी सयपत्री फूल खेतीका लागि उपयुक्त भएको बताए । 

“वर्षेनी विदेशबाट करोडौँको फूल आयात भइरहेको छ तर, हामी स्वदेशमै यसको सम्भावनालाई देख्न सकिरहेका छैनौं,” खनाल भन्छन् –“झापालाई फूल खेतीको पकेट क्षेत्र घोषणा गरेर सरकारले किसानलाई तालीम, प्राविधिक सहयोग र अनुदान दिनुपर्छ ।” 

सयपत्री फूल खेतीप्रतिको आकर्षणले मुलुकभरकै माग धान्ने गरी उत्पादन गर्न झापा सक्षम हुने विश्वास विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराई बताउँछन् । (राससमा चन्द्रकला भण्डारीको रिपोर्ट।) 


 

 चीनले ६० अर्ब डलरको अमेरिकी सामानमा कर बढायो

बेइजिङ । अमेरिकाले करिब २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा करवृद्धि गरेकोे बदलास्वरूप चीनल पनि मङ्गलबार ६० अर्ब अमेरिकी डलर बराबरको

झापामा एक अर्बको लगानीमा चाउचाउ उद्योग

बनियानी, झापा । झापाका एक अर्ब रुपैंयाँको लागतमा चाउचाउ उद्योग सञ्चालनमा आएको छ । झापाको मेचीनगर–१४ स्थित दुवागढीमा एक अर्बको लगानीमा मनषा थाई

सेल्फीले बढायो सारीको व्यापार

काठमाडौं । सेल्फीले सारीको बिक्री बढायो भन्दा झट्ट पत्याउन नसकिएला । शहरका अनेक कोटीका सारी पसलमा बुझ्दै जाने हो भने सारीको व्यापारमा सेल्फीको

 निगममा खरेल पसेपछि कंसाकारलाई खट्पटी

काठमाडौं । नेपाल वायु सेवा निगमको नेतृत्वमा मदन खरेल आएपछि खुम्चिएका सुगतरत्न कंसाकारले तत्काल राजिनामा नदिने घोषणा गरेका छन्। आईतबार सरकारले