विमान अपहरणकारीलाई यसरी भगायौं

दुर्गा सुवेदीको ‘विमान विद्रोह’ पढीसिध्याएका केही साथीहरुले ‘त्यसमा तिम्रो भूमिका देखिएन नि..’ भनेर जिज्ञाशा राखेपछि त्यसबारेमा आप्mनो कुरा राख्नु उपयुक्त ठानेर यसपालि त्यसैबारे लेखेको छु । उनीहरुको बुझाइमा विमान अपहरण भएका बखत म पनि भारत निर्वासनमा रहेकाले त्यसमा म पनि संलग्न भएको हुनुपर्ने भन्ने होला । तर त्यसबेला निर्वासनमा अरु धेरै साथीहरु पनि थिए र सबै त्यसमा संलग्न थिएनन् ।

क्रान्तिकारी संगठनमा सामान्यतः एउटा नीति अपनाइएको हुन्छ । त्यो हो जुनसुकै एक्सनका बारेमा पनि सम्बन्धितलाई बाहेक अरुलाई त्यसको सूचना वा जानकारी दिइँदैन । त्यस्तै नीति कांग्रेसको पनि रहेकाले अपहरण जस्तो उच्च जोखिमको एक्सनका बारेमा प्रत्यक्ष संलग्नवाहेकलाई त्यसको सूचना नहुनु स्वाभाविक हो । तर यसको अर्थ दुर्गाजीको वयानमा नपरेका मानिस त्यसमा संलग्न थिएनन् भन्ने पनि होइन । अरु पनि थिए होलान् तर तिनका बारेमा दुर्गाजीलाई समेत जानकारी भएन होला । त्यसको सबै जानकारी गिरिजा बाबुलाई थियो तर अब उहाँ हाम्रा माझ    हुनुहुन्न । अरु पनि त्यसमा संलग्न भएका हुनसक्छन् भन्ने कुरा मेरो त्यसमा भएको संलग्नताले पनि प्रष्ट गर्दछ । त्यस प्रकरणमा म प्रत्यक्ष संलग्न   थिइन । 

दुर्गाजीको वयानमा अतिशयोक्ति छ जस्तो लाग्दैन । यद्यपि दुर्गाजीलाई नै शंकाको घेरामा राखेर यस पूर्व केही वयानवाजी नभएको होइन । कुनै सन्दर्भमा यथार्थ र दुर्गाजीको बुझाइमा केही अन्तर या विरोधाभाष हुनसक्छ । तर दुर्गाजीले बोल्दा उनले जे बुझे त्यही लेख्ने हो । मसिना तथ्यहरु तलमाथि भएका हुन सक्छन् ।

त्यसताका म अधिकतर नक्सालवाडीमा बस्थें । विमान अपहरण हुनुभन्दा साता दिन अघिजसो गिरिजाबाबु त्यता आउनु भएको थियो । फिर्न लाग्दा मलाई एकान्तमा उहाँले भन्नु भएको थियो– मैले अर्को सूचना नदिएसम्म तिमी यहाँबाट अन्यत्र नजानु । 

नक्सालबाडीमा पार्टीले एउटा घर लिएको थियो । म र अर्को एकजना साथी त्यहाँ बस्थ्यौं । पार्टीको कामले त्यतातिर आवत जावत गर्ने साथीहरु पनि त्यहाँ निस्कने, एक रात बास बस्ने गर्दथे । त्यो घर त्यस भेगमा रहेका साथीहरु आपसमा भेटघाट गर्ने थलोका रुपमा पनि थियो ।

नक्सालवाडी बजारबाट पश्चिम करिब डेड किलोमिटरमा मेची खोला किनारमा भारतपट्टि ताराबारी भन्ने एउटा टापुजस्तो सानो बस्ति छ । त्यहाँ अधिकतर नेपाली छन् । निर्वासनमा बसेका दुई परिवार पनि त्यस बस्तिमा थिए । केही समय म त्यहाँ बसेको थिएँ । त्यहाँको एउटा निरौला परिवारमा मेरो पारिवारिक सम्बन्ध जस्तो थियो । घर मूलीलाई निरौला भएका कारण मैले माइजुको साइनो लगाएको थिएँ । परिवारका सबै सदस्यले मलाई स्नेह दिएका थिए । 

२०३० जेठ २८ गते त्यस घरको जेठो छोराको विवाह भोज थियो । बेलुकी पख म र मसँगै बस्ने साथी बाहुनडाँगीका राम खड्का पनि त्यस भोजमा सरिक हुन पुग्यौं । एकसरो खानपिन गरेर हामी घर छेउ चौरीमा बसेर गफ गर्दै रेडियो सुन्दै थियौं । बिराटनगरबाट काठमाडौं उडेको विमान अपहरण भएको समाचार दियो रेडियो नेपालले । समाचारमा अपहरण कसले गरेको हो भन्ने चाहिँ भनेन ।

समाचार सुन्नासाथ मैले बिचार गरें, यो कि त हाम्रा साथीहरुले गरेको हुनु पर्छ कि त झापाका नक्सलपन्थीहरुले । त्यसबेला झापा विद्रोह चल्दै    थियो । समाचारको अन्त्यमा मुख्य समाचार दोहो¥याउने क्रममा अपहरणकारी तीन जनाको नाम पनि भन्यो तर ती नाम मैले चिनेका थिएनन् । त्यसपछि त्यो अपहरित विमान फर्वेसगञ्जमा ओरालिएको र त्यसमा रहेको भारु ३० हजार लुटेको, र यसरी लुट्नेमा विनोद अर्याल र मनोहरी बराल समेत रहेको समाचारले भन्यो ।

विनोद र मनोहरी निर्वासनमा रहेका हाम्रा मानिस थिए । यति भएपछि त्यो अपहरण हाम्रै साथीहरुले गरेको पक्का भयो र गिरिजाबाबुले मलाई नक्सबारीबाट अन्यत्र नजानु भनेर दिएको निर्देशनको रहस्य समेत खुल्यो । हामी दुई तत्काल दौडँदै पार्टी अफिस फि¥यौं र त्यहाँ रहेका केही विशेष सामग्रीको व्यवस्थापन ग¥यौं ।

त्यसको एक घण्टाजसो पछि सबइन्स्पेक्टरको कमाण्डमा बंगाल पुलिसको एउटा टुकडी आयो । उनीहरुले बंगालीमा यहाँ को बस्छ भनेर सोधे । मैले भाषा नबुझेको वहाना बनाएर ट्वाल्ल उनीहरुलाई हेरिमात्र रहें । त्यसपछि एउटाले हिन्दीमा बंगाली बुभ्mदैनस् भनेर सोध्यो । मैले हो भनें । अनि उसले हिन्दीमै तेरो नाम के हो भनेर सोध्यो । मैले आप्mनो नाम बताएँ । कहाँबाट आएको, यहाँ के गर्छस्, को को बस्छौ जस्ता प्रश्न गर्न    थाले । मैले हिन्दी र नेपाली मिसाएर म नेपाली कांग्रेसको कार्यकर्ता हूँ । यहाँ निर्वासनमा बसेको छु । हामी दुई जना छौं भने । रामले त हिन्दी पनि राम्ररी नबुभ्mने जसो गरे ।

त्यसपछि तिनले विमान अपहरणको खबर सुनिस् भनेर सोधे । मैले छैन भनें । अघि रेडियोले भनेको पाँच जनाको नाम लिएर यिनलाई चिन्छस् भनेर सोधे । चिन्दिन भनिदिएँ । त्यसपछि कोठा खोल्न लगाएर मिहिन गरी तलासी लिए । तिनलाई उपयोगी हुने केही समान भेटेनन् । उनीहरु बंगालीमा कुरा गरिरहेका थिए, हामी तिनका कुरा नबुझेको बहाना गरेर सुनिरह्यौं । यिनीहरु भरखर नेपालबाट आएका होलान्, यिनलाई केही थाहा छैन भन्दै उनीहरु कोठाबाट बाहिरिए ।

त्यसपछि एउटाले सोध्यो, यहाँ फत्तेबहादुर कहाँ बस्छन् ? मैले उनी बस्ने दिशातिर देखाएर उता पर बस्छन् भनें । त्यहाँ जाने बाटो सोधे । गल्लिबाट एक मिनटमै पुगिन्थ्यो तर मैले बजारतिरको घुमाउरो बाटो बताइदिएँ जताबाट जाँदा दश मिनटजति लाग्न सक्थ्यो । उनीहरु उता लागे ।

अब प¥यो फसाद । हामी ताराबारीबाट फिरेको आधा घण्टाजसोमा विनोद र मनोहरी त्यहाँ आइपुगेका थिए र तिनलाई अलिक एकलासमा भएकाले हामीले फत्तेबहादुर बुडाथोकी बस्ने घरमा राखेका थियौं । पुलिसको टोली बाटो लाग्नासाथ गल्लिबाट हामी त्यहाँ पुग्यौं र फत्तेबहादुरजीलाई सबै विरण सुनाएर मूलगेटमा ताला लगाई १५÷२० मिनट अल्पिन भन्यौं । त्यतिञ्जेलमा हामी ती दुईलाई पछाडिबाट भगाइसक्छौं भन्ने योजना   सुनायौं ।

फत्तेबहादुरजी निस्किए । त्यो घरको पछाडी फराक आगन, पानीको कुवा थियो र त्यसलाई अग्लो कम्पाउण्ड वालले घेरेको थियो । वालको माथि फुटेका सिसा बाक्लै गाडेको थियो । भुइँमा ओछ्याउने जुटका दुई दरी पट्याएर राम मेरो काँधमा चडी त्यसलाई सिसामाथि राखेर अब त्यसमा टेक्दा सिसाले नभेट्ने यकिन गरे ।

त्यसपछि पानी तान्ने डोरी समाउन लगाएर काँधमा चडाई मनोहरीलाई पर्खालमा चडायौं र डोरीको सहारामा पल्लोपट्टि झर्न भन्यौं । राम र विनोदले भित्रबाट डोरी समाएका थिए । विनोदको एउटा हात मात्रै थियो तै पनि केही भर भयो । मनोहरीले पल्लोपट्टि झरेपछि डोरी छोडिदिए । त्यसै गरी बिनोद र राम पनि उता झरे । तिनले बाहिरबाट समाएको डोरीको सहारामा म पनि पर्खाल चढें र उता झरें ।

त्यो पछाडिपट्टिको भागमा फोहोरको डङ्गुर थियो । त्यही फोहोर हुँदै हामी बजारको पछाडीको भागबाट रेलवे स्टेशनतिर लाग्यौं । रेल्वे स्टेशन पुग्दा आसाम मेल आउनै लागेको थाहा भयो । त्यहाँ त्यो मेल दुई मिनट रोकिन्थ्यो । त्यसमा ती दुईलाई चढाएपछि लामो सास फेर्दै हामी फर्कियौं ।
उता फत्तेबहादुरजी बसेको घर सोध्दै पुलिस त्यहाँ पुग्दा कम्पाउण्ड गेटमा ताला देखेपछि त्यहाँ वरपर सोधखोज गर्न थालेछन् । उत्तरमा त्यताकाले केही अघिसम्म यहीँ थिए, बजारतिर गए कि भनिदिएछन् । त्यहाँका दुई तीन मसिना केटालाई उनलाई खोजेर ल्याउ भनी पुलिसले पठाएछन् ।

अँध्यारोमा हामी त्यसरी निर्जन ठाउँमा ओर्लेको चाल पाएर वरिपरिका भुस्याहा कुकूर जोड जोडले भुक्दै हामीतिर झुम्मिन आएका थिए । तर हामी त्यहाँका रैथाने जस्ता भएकाले तिनलाई वास्ता नगरी अगाडी बढेका थियौं । केही बेर उग्रगरी भुकेका कुकूर शान्त भएपछि पक्कै अब साथीहरु बाटा लागे भन्ने अनुमान गरेर नजिकैको एउटा घरमा बसेका फत्तेबहादुरजी आएर ताला खोलिदिएछन् । त्यहाँ पनि तलासी लिइएर पुलिस फर्कियो ।
हो, विमान अपहरण भएका दिनमा, त्यस प्रकरणमा मेरो संलग्नता त्यति हो । पछि अरु अरु कुराहरु पनि थाहा लाग्दै गयो । दुर्गाजीको वयान पढ्दा पो लाग्यो उसबेला ज्यान छाडेर क्रान्तिमा लाग्नु साँच्चै चानचुने कुरा होइन रहेछ । जे भए पनि मुलुकका लागि, प्रजातन्त्रका पक्षमा त्यति गर्ने सौभाग्य मिलेकोमा आपूmलाई धन्य ठानें ।

(लेखक गौतम वीपीको मेलमिलाप नीति अनुसार नेपाल फर्किने पहिलो तीन सदस्यीय टिमका सदस्य हुन्,कांग्रेस नेता केबी गुरुङ्ग र बासु कोइराला त्यो टिममा थिए । गौतमको झापाको प्रतिदिन दैनिकमा प्रकाशित यो लेख साभार गरिएको हो ।)

प्रचण्ड, विप्लव, सेना, राजा र काङ्ग्रेस

हिजो पनि जन आन्दोलनमा विजयी पक्षले नै आफ्नो विश्वास अनुरुपको संविधान निर्माण गरेका थिए ! मर्म र सारमा जनताका प्रतिनिधिले नै संविधान लेखेका थिए ! २०४७

प्रधानमन्त्री ओली र रेशमी रुमाल

प्रधानमन्त्री केपी ओलीले नेपाल-भारत द्विपक्षीय विज्ञ समूहका दुई सदस्यहरू नीलाम्बर आचार्य र राजन भट्टराईलाई क्रमश: भारतको लागि राजदूत र

विदेशी संस्थाहरुले नेपालमा गरेका अत्याचारका केही झलक

सेना र बन्दूकले अर्काे देशमा हस्तक्षेप गर्ने युग लगभग सकिएको छ । आजको युगमा हस्तक्षेप र अत्याचारको बलियो हतियार बनेको छ-  संस्था । नेपालमा विदेशी

सांस्कृतिक विश्वव्यापीकरण

मानव चेतना सर्वव्यापक छ । यही एउटा यस्तो जीव हो जहाँ जीवन आफैंमा सचेत छ । मानवलाई कल्पना, विवेक, आफ्नो अस्तित्व, जन्म, मृत्यु एवं सचेत अनुभूति जस्ता