पुरस्कार लिएर सुँईकुच्चा ठोक्दा

त्यतिबेला म कक्षा दशमा पढ्थें। पंचायती व्यवस्था भएकोले राजा महाराजाको जन्मदिनमा देशभरिनै विविध कार्यक्रमको आयोजना हुने गथ्र्यो। 
स्कुलमा एउटा सूचना आयो। भदौ ५ गते तत्कालिन मुमा बडामहारानीको जन्मोत्सव तथा वाल दिवसको उपलक्ष्यमा जिल्ला स्तरिय कविता प्रतियोगिता हुने भयो। यो २०४५ सालको कुरा हो।

मलाई प्रतियोगितामा सहभागी हुन मन लाग्यो। कविता कहिल्यै  नलेखेको हुनाले कसरी लेख्ने के लेख्ने भन्ने हुटहुटी थियो।

हामीलाई नेपाली पढाउने  सर हुनुहुन्थ्यो– नरहरि सुवेदी। उहाँ मेरो घरसँगै बस्नु हुन्थ्यो। मैंले भेटेर उहाँसँग कविता लेख्न सिकाई मागें। उहाँले तुरुन्तै भन्नुभयो– ‘धत् कविता पनि लेख्न सिकाएर सिकिने हो र? आफैं लेख न।’

म एकाएक छाँगाबाट खसेझैं भएँ। नरहरि सर प्रतिको त्यति ठूलो भरोसा एकाएक भत्कियो।

मलाई एकदमै नरमाइलो लाग्यो। त्यति धेरै भरोसा गरेको थिएँ सरलाई। उहाँले  ‘इग्नोर’ गरेको जस्तै लाग्यो।

सरासर घर घर फर्किँएँ।

मैंले निर्णय गरें। ठीक छ , जस्तो आउँछ त्यस्तै लेख्छु।

कविता लेखें। कान्छी दिदी कल्पना र म सहपाठी थियौं। लेखिसकेर पहिला उसैलाई देखाएँ –‘ हेर त कान्छी कस्तो भयो?’ 

कान्छी दिदी नै मेरी मिल्ने साथी र स्कूलसम्मकी अभिभावक दुवै थिई। उ  खुशी भई। पढिसकेर फ्याट्ट भनी– ‘तँ फस्ट हुन्छस्।’

भोलिपल्ट स्कुलमा आन्तरिक प्रतिस्पर्धा भयो। आन्तरिकमा सजिलै छानिएँ। हेडसर हुनुहुन्थ्यो कृष्णवहादुर गौतम। उहाँले मेरो कवितालाई छनौट भयो भनेर रातो मसीले लेखिदिनु भयो। 

म खुशीले नाच्दै बारीका कान्ला नाघ्दै घर पुगें।

भोलिपल्ट दोलखाको वालमन्दिरमा हुने जिल्ला स्तरिय प्रतियोगितामा कसरी कविता सुनाउने होला भनेर मनमा कौतुहल थियो। तर मनमा निकै उत्साह पनि भरियो। भित्रभित्रै डर नलागेको होइन। त्यति ठूलो  कार्यक्रममा यस अघि कहिल्यै बोलेको थिइन।

कार्यक्रममा जाँदा लुगा मैलो हुनु भएन। स्कुल डे«ेस अलि मैलो थियो। कान्छी दिदीलाई फकाएँ मेरो पनि लुगा धोइदे न है। उसले धोई दिई।

एकछिन पछि झट्ट मलाई याद आयो। सर्टको गोजीमा त कविता थियो, त्योपनि पो धोइयो कि? म हतारिएर सर्ट सुकाएको ठाउँमा पुगें।

हेडसरले रातो मसीले स्वीकृत गरेको कविता त नभन्दै सर्टको गोजीमा एकै डल्लो परेछ!

बल्ल तल्ल लेखेको यो कविताकोे मसँग कुनै अर्को कपी बाँकी थिएन। 

मेरो आँखाबाट आँशुको भल वग्यो । अरु कुनै उपाय पनि थिएन, म बेस्सरी रोएँ। यसैपनि सानोतिनो कुरामैं मलाई छिटै आँशु आउँथ्यो।

कान्छी दिदीलाई आफूले ठूलो गल्ती गरेको महसुस भयो। निन्याउरो मुख लाएर छेउमा आई। ‘तैंले लेखेको त हो नि, आफूले लेखेको सम्झना हुन्छ, केहीबेर सम्झेर लेख न प्लीज’– उसको कुराले मेरो मन दरो भयो। आँट भरिएर आयो।

अनि लेख्न त थालें। तर दिमागमा रिकर्ड भए पो। 

पहिलो हरफ लेखें। दोस्रो हरफ जसो तसो लेखें। यसैगरी लेख्दै रुँदै सम्झँदै फेरि रुँदै कविता पुरा गरें। मैंले लेखिसकेपछि मभन्दा धेरै खुशी मेरी दिदी भई। मलाई भने हेडसरले रातोमसीले गर्नु भएको हस्ताक्षर नहुँदा अझै खल्लो  भैरहेको थियो। 

कार्यक्रममा जाने बेलामा दिदीले भनी– ‘भाइ ! जितेर आइज है। मलाई थाहा छ तँ फस्ट हुन्छस्।’

कार्यक्रम थियो दोलखाको वालमन्दिरमा। म चरिकोटबाट साथीहरुसँगै गएँ। हामी पढेको स्कूलबाट ‘टप फाइभ’ छनौट भएको थियो। हामी सवै प्रतिस्पर्धामा थियौं। हामीमध्ये जो विजयी भएपनि पुरस्कारमा पाएको पैसाले खाजा खाने सहमती भयो।

कार्यक्रम सुरु भयो।

प्रमुख अतिथि लगायत जिल्लाका कार्यालय प्रमुखहरु मंचमा ढसमस बसिसकेका थिए। प्रमुख अतिथि थिए तत्कालिन जिल्ला पंचायतका सभापति रामप्रसाद उप्रेती। सदरमुकाममै बस्ने भएकाले धेरैजसो कार्यालयका  प्रमुखहरुलाई म चिन्दथें। अझ कतिका त छोराछोरी हामीसँगै पढ्थे। उनीहरुको अगाडि म पुरस्कृत हुन पाए कति मज्जा हुन्थ्यो भनेर मनको लड्डु पनि खाँदै थिएँ, तर कसरी बोल्ने त्यति धेरै मान्छे उभिएको ठाउँमा? मनमा कताकता भय पनि तरंगित भैरहेको थियो।

दोलखास्थित वालमन्दिर परिसरमा विद्यार्थी र शिक्षकहरुको घुइँचो थियो। उद्घोषकले मेरो नाम बोलाए। म गएँ मञ्चमा।

पोडियममा उभिएर कविता पढ्न थाल्दा मेरो होस हवास उड्यो। कन्सिरीमा चिट्चिट् पसिना आयो। गला सुके जस्तो, पानीले प्याक प्याक भएजस्तो। अहिले नै  पिसाब आउला जस्तो पनि हुन्छ। खै के के भयो के के । खुट्टा लगलग कामेको छ,पिँडुलाका मासु फतक्क गलेर भुइँमा खसेजस्तो पनि भएको छ। ओठ थरथर काम्यो,कविताको साटो अर्थौक नै के के भनिएला कि भन्ने डर पनि लागेको छ। तर मनमा जेजस्ता तरंग फैलिएपनि जसोतसो कविता भनिसकें, त्यहाँबाट फर्किंदा त शरीर नै निथु्रक्क भैसकेको रहेछ पसिनाले।

 यो मेरो पहिलो कविता वाचन थियो।

स्वाभावत कार्यक्रम लामो भयो। रिजल्ट पनि आयो। उद्घोषकले विजयीको नाम बोलाए। म त दोस्रो भएँछु। पुरस्कार लिन स्टेजमा जाँदा गर्व लाग्यो। सवैले बधाई दिए। राम्रो लेखेकोमा सवैले प्रशंसा गरे। पुरस्कार थियो प्रमाणपत्र र सय रुपैयाँको नोट।

खुशीले गद्गद् भएँ। आफ्नै प्रयासमा सुरुभएको मेरो पहिलो सफलता थियो यो। नरहरि सरले नसिकाए पनि आफैंले लेख्न सक्छु भन्ने आत्मविश्वास भरिएर आयो।

पुरस्कार लिएर आएपछि साथीहरुले खाजा खान जाउँ भन्न थाले। मलाई भने जीवनको पहिलो पुरस्कार बुबा, आमा र दिदीलाई देखाउन मन लाग्यो। 
यसो उसो गर्दै बहाना खोजें। साथीहरु कता अलमल गरेको बेला लुसुक्क अर्कैबाटो सुईंकुच्चा ठोकें। सय रुपयाँको खाम खस्छ कि भनेर च्याप्प समातेको थिएँ। पछाडि नफर्की एकसुरले उकालो चढें। खुशीले कतिबेला घर पुगें पत्तै भएन।

कान्छी दिदीले सुरुमैं सोधी– ‘के भइस भाई?’

‘सेकेन्ड भएँ।’

उ खुशी भई। बुबा आमालाई सुनाई। बेलुका खाना खाने बेलामा भनी– ‘भाइले कवितामा सधैं पुरस्कार जित्छ अब, उसको कविता धोइएर झन् धेरै सफा भएको छ।’

कान्छी दिदीको बोलीमा यति मायाँ थियो कि त्यसदिन देखि मैले भाग लिएका सवै प्रतियोगिताबाट रित्तो हात फर्कनु परेन।

प्रधान न्यायाधीश कल्याणले झुट बोलेपछि...

पुनरावेदन अदालत विराटनगरमा म ०६७ पुस ३ गते मुख्य न्यायाधीशका रूपमा हाजिर भएँ । काम गर्दै जाँदा त्यहाँ केही समस्या रहेछन् भन्ने थाहा भयो । एक दिन वरिष्ठ

 कांग्रेस नेता वाग्लेका नयाँ पुस्तक सार्वजनिक

  काठमाडौं । नेपाली कांग्रेसका नेता चिरन्जिवी वाग्लेको साहित्यिक कृति “उज्यालो तिरको यात्रा”  र “नेपाली साहित्य मेरो दृष्टि” सार्बजनिक

 सुरेन्द्रले ल्याए ‘भूमे दर्पण’

काठमाडौं । माओवादी जनयुद्धको उद्गमथलो मानिएका रोल्पा–रुकुममा स्थापित ‘गुरिल्ला पदमार्ग’ प्रवद्र्धन गर्दै आएका पर्यटनविज्ञ सुरेन्द्र रानाले

अहँ, पैसाले खुशी किन्न सकिँदैन !

पैसाले खुशी कहाँ किन्न सकिन्छ र !’ ‘अनि के ले किन्न सकिन्छ त ?’ ‘खुशी किन्न सकिन्न, महसुस गर्न सकिन्छ ।’ पिंडीमा बसेर पासाङ आफ्नी नातिनी