नीराजनलाई राजा बनाउने सोचमा थिए वीरेन्द्र !

 

विक्रम सम्वत् ०५७ को मङ्सिर – नारायणहिटी राजदरबारमा दिवाभोज चल्दै थियो । श्री ५ महाराजाधिराज वीरेन्द्र, बडामहारानी ऐश्वर्य र परिवारका सिनियर सदस्यहरू एकातिर भोजनका साथ गफमा मस्त थिए भने युवाहरू अलग्गै गफमा जमेका थिए । घरि सिनियरहरूको समूहबाट त घरि जुनियरहरूबीचबाट छुट्ने हाँसोको फोहोराले वातावरण उल्लासमय बनाइरहेको थियो ।

अचानक दीपेन्द्र उठे र कुर्सीमा बसिरहेकी श्रुतिको चुल्ठोमा समातेर भुइँमा लडाए । क्रोधको अग्निमा जलेका दीपेन्द्रले बहिनीलाई चुल्ठोमै पक्रेर झन्डै सात फिट घिसारे ।

दीपेन्द्रको यस्तो विद्रुप रूपबारे केहीलाई जानकारी भए पनि धेरैलाई थिएन । स्वयम् राजा वीरेन्द्र र रानी ऐश्वर्य पनि दीपेन्द्रको यो बीभत्स रूपबारे अनभिज्ञ थिए । राजा वीरेन्द्र सुपुत्री श्रुतिलाई अत्यन्त माया गर्थे, सम्भवतः आफूलाई भन्दा बढी । त्यस्ती प्रिय पुत्रीलाई कसैले आफ्नै आँखाअगाडि त्यसरी अपमान, दुव्र्यवहार र हिंसात्मक व्यवहार गरेको राजाले सहन सकेनन् ।

रानी ऐश्वर्यतर्फ हेर्दै राजा वीरेन्द्रले अनुहारभरि घृणाभाव केन्द्रित गरेर भने, ‘हेर, यस्ता व्यक्ति नेपालको राजा हुने !? यो हुन सक्दैन । देख्यौ होइन तिमीले यसको असली रूप ।’

राजासँग प्रतिवाद गर्नुपर्ने कारण र अवस्था थिएन । बडामहारानी ऐश्वर्य श्रुति भएको ठाउँमा पुगिन् र उनलाई सुमसुम्याउन थालिन् । दीपेन्द्र फतफताउँदै केही पर पुगे र चुरोट सल्काएर पिउन थाले ।

आमाको काखमा टाउको राखेर श्रुति रुन थालिन् । ‘मैले दादालाई त्यस्तो केही भनेकै थिइनँ, आई जस्ट सजेस्टेड हिम’ श्रुतिले भनिन् ।

वास्तवमा श्रुतिले आफ्नो दाइ (युवराज) लाई बिझाउने गरी केही भनेकै थिइनन् । विवाहको कुरा चल्दै थियो । कसैले प्रियाको नाम लिएका थिए, तर दीपेन्द्रले आफू दिवानीसँग विवाह गर्ने तयारीमा रहेको बताइदिए । प्रतिक्रिया प्रकट गर्दै श्रुतिले भनेकी थिइन्, ‘दिवानीलाई विवाह गर्ने हो भने त म माइती भनेर आउन पनि चाहन्नँ ।’

बस्, यत्ति के श्रुतिले बोलेकी थिइन्, दीपेन्द्र बसेको ठाउँबाट जुरुक्क उठे र श्रुतिलाई चुल्ठोमा समातेर लडाउँदै घिसारे ।

श्रुतिको बोलीलाई दीपेन्द्रले आफ्नो बाबु–आमाको भनाइका रूपमा बुझे । श्रुतिमाथि त्यसरी अभद्र एवम् हिंसात्मक व्यवहार गर्दा आफ्ना बाबु–आमालाई कति पीडा हुनसक्छ भन्ने दीपेन्द्रले धेरै राम्रोसँग बुझेका थिए । वास्तवमा उनी बहिनी श्रुतिमाथि हमला गरेर आफ्नो विवाहमा बाधक बनेका बाबु–आमालाई तड्पाउन चाहन्थे, त्यही गरे । राजा वीरेन्द्रले यस घटनालाई निकै गम्भीरताका साथ लिए । यसै घटनापछि राजा वीरेन्द्रले भावी राजाका बारेमा सोच्न थालेका थिए । नीराजनको विवाह गर्ने, पहिलो सन्तान उसैबाट प्राप्त गर्ने र नवयुवराजाधिराजको दर्जा नीराजनपुत्रलाई दिने, त्यसपछि नीराजनलाई श्री ५ महाराजाधिराज बनाएर आफू संरक्षकको रूपमा रहने निष्कर्षमा राजा वीरेन्द्र पुगेका थिए । वीरेन्द्रको यस्तो सोच छचल्किएर दीपेन्द्रसम्म पुगेको थियो । जब मदनकी छोरीसँग नीराजनको विवाह निश्चित भएको सुइँको दीपेन्द्रले पाए, त्यसपछि उनी ‘जसरी भए पनि राजा बन्ने’ योजनामा लागेका थिए ।

राजा वीरेन्द्रलाई सुपुत्री श्रुतिमाथिको हिंसात्मक व्यवहारले गहिरो चोट पुऱ्याएको थियो । त्यसैले बडामहारानी ऐश्वर्यले दीपेन्द्रमा सकारात्मक परिवर्तन आएको बताइरहँदा पनि महाराजाधिराज वीरेन्द्रले त्यसलाई सकारात्मक मान्न चाहेनन् ।

‘चाँदनी, तिमी यसलाई विश्वास नगर । यो केवल घृणाका लागि योग्य पात्र हो’ यसो भनिरहँदा वीरेन्द्रका आँखामा आँसु टिलपिल–टिलपिल भइरहेको प्रस्ट देखिन्थ्यो ।

त्यसरी महाराजाधिराज भावुक हुँदै गएपछि महारानीले कुरा लम्ब्याउन चाहिनन् । ‘वाइन लिऊँ ? जाऊँ हजुर कौसीमा’ ऐश्वर्यले माया दर्शाउँदै अनुरोध गरिन् ।

कोट खोल्दै वीरेन्द्रले भने, ‘हुन्छ, जाऊँ ।’ महारानीले कोट हातमा लिइन् र सुसारेको जिम्मा लगाइन् ।

छतमा पुगेपछि दुवै हात माथि उठाएर आङ तान्दै वीरेन्द्रले भने, ‘तिमीले वाइन भन्यौ, तर मलाई आज कोन्याक लिने मन छ । ब्रान्डी विथ हनी कसो होला ?’

‘ठीक छ सरकार हजुर लिइबक्स्योस्, मचाहिँ वाइन नै लिन्छु ।’

सुसारे आइपुग्यो र अदबका साथ दुई हात जोडेर उभियो । महारानीले फ्रेञ्च ह्वाइट वाइन र कोन्याक ब्रान्डी सर्भ गर्न सुसारेलाई अह्राइन् । ‘हुकुम सरकार’ भन्दै सुसारे बारतर्फ लाग्यो ।

बीचमा बेतको सिसाजडित टेबल र दुईवटा बेतकै कुर्सी । उत्तरतर्फको कुर्सीमा महारानी बसिन्, उत्तर फर्किएर दक्षिणपट्टिको कुर्सीमा बसे महाराज वीरेन्द्र ।

माछाको सुकुटीसँगै साँधेको बदाम र फ्रेञ्च चिजका केही आइटमहरू अलग–अलग प्लेटमा ल्यायो उसले । साथमा राजाका लागि कोन्याक र रानीका निम्ति ह्वाइट वाइन छँदै थियो ।

दुवैले एकसाथ गिलास उठाए ।

चियर्स भनेनन्, तर चियर्सकै शैलीमा उठे गिलासहरू र आ–आफ्ना ओठमा पुगे ।

‘दीपेन्द्रमा आउँदै गरेको परिवर्तन देखेर म अत्यन्त खुसी भएकी छु महाराज,’ रानी ऐश्वर्यले फेरि दीपेन्द्रबाटै कुरा सुरु गरिन् ।

‘आई एम नट इन्ट्रेस्टेड टु टक अबाउट हिम, वि क्यान टक एनी अदर सब्जेक्ट, यो मान्छे सुध्रिँदैन, यसको बारेमा खुसी या दुःखी भइराख्नु पनि पर्दैन,’ राजा वीरेन्द्रले असन्तुष्टि पोखे ।

‘सरी–सरी, हामी टपिक्स चेञ्ज गरौँ । सुदूर गाउँमा बस्ने नेपालीहरू मार्ने–मर्ने क्रम अझ बढ्दो छ । यो सब कहिलेसम्म हेरिरहनुपर्ने हो सरकार ?’ महारानीले कुराको विषय बदल्दै भनिन् । पारिवारिक सीमाबाट बाहिर निस्केर महारानीले एकैचोटि देशको कुरा गरेको सुनेपछि राजा मुसुक्क मुस्कुराएर भने, ‘अब ठीक हुँदै छ । मैले प्रधानमन्त्री बन्ने व्यक्ति तय गरिसकेको छु । सेनालाई आवश्यक होमवर्क गर्न अह्राइसकेको छु, हामीले कदम चालेको अवस्थामा कुन क्षेत्रबाट कस्तो प्रतिक्रिया आउन सक्छ भन्नेबारेमा विश्लेषण गर्ने काम अहिले भइरहेको छ । कांग्रेस र कम्युनिस्ट पार्टीमा लागेका भए पनि केही व्यक्तिहरूलाई मैले राष्ट्रवादी भावनाको पाएको छु । उनीहरूको समेत हाम्रो कदममा साथ हुनेछ ।’

प्रधानमन्त्री कसलाई बनाउने सोचिबक्सेको छ ? महारानीले जिज्ञाशा राखिन् ।

‘माओवादी पनि एउटा राष्ट्रवादी फोर्स नै हो । उनीहरूको नेतालाई प्रधानमन्त्री बनाइदियो भने देशमा फैलिएको हिंसाको अन्त्य हुन सम्भव देखेको छु मैले । यो वामदेव गौतम भन्ने मानिस पनि निकै बेस छ । महाकाली सन्धिको इस्यु होस् या नागरिकताको, उसले हामीलाई साथ दिँदै आएको छ । त्यसैले ऊ एउटा ‘पोटेन्सिएल क्यान्डिडेट’ हो । मेरो विचारमा तुलसी गिरी, कीर्तिनिधि विष्ट, सूर्यबहादुर थापा, लोकेन्द्रजस्ता मानिसलाई ‘एड्भाइजरी रोल’ दिनुपर्छ । एक्टिभ रोलमा कांग्रेस–कम्युनिस्टकै नेता–कार्यकर्ताहरूलाई अगाडि ल्याउनुपर्छ,’ राजा वीरेन्द्रले लामै व्याख्या गरे । बडामहारानीको दृष्टिमा पनि वामदेव ठीक पात्र थिए ।

त्यस वर्ष अर्थात् वि.सं. ०५८ भित्र सम्पूर्ण सत्ता हातमा लिने योजना राजा वीरेन्द्रले बनाएका थिए । राजाको यस्तो योजनाले महारानी ऐश्वर्यलाई सर्वाधिक प्रसन्न तुल्याएको थियो । भविष्यमा गरिने ‘टेकओभर’का बारेमा गफिँदै गर्दा नौ बजिसकेको पत्तै भएन ।

राजा–रानीको ‘डिनर हल’मा प्रवेश भयो । फर्सी र हरियो केराउ मिसाएर बनाइएको सुप, दाल, हरियो साग र गोलभेंडाको अचारसँग दुईवटा सुक्खा रोटी लिए वीरेन्द्रले, रानीले एउटा रोटी मात्र खाइन्, त्यसपछि दुवै शयनकक्षतिर लागे ।

(नारायणहिटी राजदरबार हत्याकाण्डबारे पत्रकार देवप्रकाश त्रिपाठीको पुस्तक ‘महानिशा’को अंश)

 स्वर्गीय छोरीका निर्दोष प्रश्नहरु

उनैले केहीबर्ष अघिसम्म चुसेका  मेरा स्तनहरु छाम्थिन्  मेरा नाडी र पाखुराहरु सुम्सुम्याउँथिन्  अँगालो हाल्थिन्  गालामा गाला जोड्थिन्  र

प्रधान न्यायाधीश कल्याणले झुट बोलेपछि...

पुनरावेदन अदालत विराटनगरमा म ०६७ पुस ३ गते मुख्य न्यायाधीशका रूपमा हाजिर भएँ । काम गर्दै जाँदा त्यहाँ केही समस्या रहेछन् भन्ने थाहा भयो । एक दिन वरिष्ठ

 कांग्रेस नेता वाग्लेका नयाँ पुस्तक सार्वजनिक

  काठमाडौं । नेपाली कांग्रेसका नेता चिरन्जिवी वाग्लेको साहित्यिक कृति “उज्यालो तिरको यात्रा”  र “नेपाली साहित्य मेरो दृष्टि” सार्बजनिक

 सुरेन्द्रले ल्याए ‘भूमे दर्पण’

काठमाडौं । माओवादी जनयुद्धको उद्गमथलो मानिएका रोल्पा–रुकुममा स्थापित ‘गुरिल्ला पदमार्ग’ प्रवद्र्धन गर्दै आएका पर्यटनविज्ञ सुरेन्द्र रानाले