प्रधानमन्त्रीलाई खुला पत्र              

सम्माननीय प्रधानमन्त्रीज्यू !

तपार्इं  हामी सवै जनताको अभिभावक हुनुहुन्छ । देशको सर्वोच्च कार्यकारी पनि तपाईं नै हुनुहुन्छ । त्यसैले मेरो मनको पीडा सुन्ने उपयुक्त व्यक्ति तपाईं मात्रै हो भन्ने महसुस भएर यो पत्र कोर्ने साहस वटुलेकी छु । यो पत्र अरुका नाममा लेखे फेरि पनि केही निकास निस्कँदैन भनेर पनि सम्माननीयज्यूलाई गुहारेकी छु ।

कहाँबाट शुरु गरौ भन्ने नै अन्योलमा छु । पीडा छ मनभरि, कहाँ पोख्नु, कस्ले सुन्ने, कस्ले न्याय दिने होला, कहिले रोकिने होला, कहिले आँशु थामिने, होला प्रश्न छ मनमष्तिस्कभरि ।

नेपाल प्रहरीको रेकर्डमा गत वर्ष साउनबाट गत असारसम्म  बलात्कारका १ हजार ४ सय असीवटा घटना दर्ता भएका छन् । यी दर्ता भएका घटना हुन् । महिला हिंसाका बाहिर आउन नसकेका भित्री यातनाका घाउहरु धेरै छन् । एक हजार चारसय असी जना माथिको यो घिनलाग्दो कुकृत्यले उनीहरुका परिवार आफन्त नातागोतालाई कहिले नपुरिने चोट दिएर गएको छ । अनि डेढ करोड महिलाहरुलाई भित्रबाट कमजोर बनाएर र बलात्कारीलाई थप बलियो बनाएर । यो भनेको प्रत्येक दिनमा सरदर ४ वटा भन्दा बढी हो । दिनमा ४ वटा भन्दा वढी बलात्कारका घटना हुने हाम्रो समाज सभ्य समाज कि असभ्य ?

यदि सम्माननीयज्यूलाई यो सामान्य तथ्यांक जस्तो लाग्छ भने हाम्रो समाज सभ्य छ यसको रोकथामका लागि केही गर्नुपर्दैन भन्ने हो तर यदि यो तथ्यांक असामान्य लाग्छ भने यसको निवारणको उपाय खोज्नेबेला भयो कि भएन प्रधानमन्त्रीज्यू ?

म त भन्छु उपयुक्त वेला यही नै हो । देशको मुहार फेर्ने सपना वोकेको एक साहसी नेतालाई नेपालीले चुनेर पठाएका छन् । आधा आकाश ढाक्ने महिलाहरुलाई रुवाएर नेपाल आमा हाँस्न सक्दिनन् प्रधानमन्त्रीज्यू !

लोकतन्त्रमा जनता सार्वभौमसत्ता सम्पन्न हुन्छन् भनिन्छ । उसले आफ्नो मौलिक अधिकारको प्रयोग निर्वाध रुपमा गर्न पाउँछ भनिन्छ । उसको अधिकार हनन् हुनुहँुदैन भनिन्छ तर यहाँ वारम्वार महिलाको बाँच्न पाउने अधिकारको हनन् हुँदासम्म किन निरीह छ सरकार ? के महिला जनता होइनन् र ? महिलाको सुरक्षाको चासो सरकारको होइन र ?

सम्माननीयज्यु ! 

एउटी छोरीको पीडा आमाको कोखबाट शुरु हुन्छ । आमाको कोखमा हुँदादेखि त्रसित हुनुपर्दछ कतै काटिन्छु कि भनेर यदि उनी आमाको कोखबाट सही सलामत आए पनि जन्मेको एक वर्ष हुन नपाइ  बलात्कारको शिकार हुनुपर्दछ ।  यसवाट पनि बचेर आएका छोरीहरु रजश्वलाको समयमा छाउगोठमा वस्दा सर्पको शिकार हुने हुनकी भन्ने त्रास रहन्छ । सर्पले दया गरि छोडिदिए पनि बलात्कारीको कुदृष्टि पर्ने हो कि भनि सूर्य उदाएपछि निस्कनुपर्ने र सुर्यास्त हुनुअघि घर पुग्नुपर्ने वाध्यता  छ छोरीलाई । यो अघोषित कफ्र्यु छोरीलाई लगाउँदै गर्दा उसले यो कफ्र्यु किन भनि प्रश्न सोधे तिम्रो शरीर तिम्रो मृत्युको कारण हुन सक्छ भनेर उसलाई कायर र डरपोक बनाउने की ? हामी असभ्य समाजमा वस्छौ भन्ने प्रधानमन्त्रीज्यू !

एउटी आमाले नौ महिनासम्म गर्भमा राखेर अनेक कष्ट र पीडा सहेर सुन्दर भविष्यको कल्पना गरेर जन्माएकी छोरी जसलाई अगाध स्नेह र पे्रमले सिंचेर आफ्नो छाती चुसाएर,रातभर जागा वसेर उसलाई भोक लाग्यो कि पिसाव लाग्यो कि अप्ठ्यारो पो भयोकी भनी हेर्दै छाम्दै , उ विमारी पर्दा रात रातभर आँखा झिमिक्क नगरी हुर्काएकी छोरी माथि अचानक एउटा कु्रर, आततायी,पागल , सन्काह, अपराधीले थोरै पनि दया नगरि चिथोरी चिथोरी निमोठी निमोठी पीडा दिइ दिइ आफ्नो पौरख देखाएको घटना सुन्दा ती आमाको मन कस्तो होला !! उनीमाथि कत्रो वज्रपात होला !! मुर्छित मन र वज्रपात भएको मष्तिस्कले यो समाज, देश र सरकारप्रति कस्तो धारणा बनाउला सम्माननीयज्यू !

त्यसैले अव यस्ता घटनाहरु दोहोरिनुहुन्न । बलियो सरकार हुँदापनि यस्तो घटनाको निवारण नगरिए यसले नेपाली समाजलाई अशिष्ट, अमर्यादित र सामन्ती बनाउँदै लैजाने छ ।

सुधारका चरणहरु:

    प्रत्येक गाउँ गाउँसम्मका प्रहरी कार्यालयभित्र महिला हिंसा र बलात्कार सम्बन्धी निगरानी गर्ने कार्यदल छ भने त्यसको सही परिचालन हुनुपर्यो । छैन भने कार्यदल बनाई सक्रियता मात्र होइन अति सक्रियता बढाइनुपर्छ ।

-   समाजमा भएका नागरिक समाज, महिला आयोग तथा महिला सम्वन्धी कार्य गर्ने गैर सरकारी संस्थाहरुद्धारा घटना घटेपछि मात्र होइन मासिक रुपमै महिला हिंसा जवरजस्ती करणी लगायत यौन शिक्षाबारे स्कूल कलेजमा पढाउने सिकाउने बताउने र चनाखो बनाउने सम्वन्धि कार्यक्रमहरु सवै जिल्लामा प्रभावकारीरुपमा संचालन गरिनुपर्दछ । यदि अहिले पनि संचालन भैरहेका हुन भने तिनिहरु किन प्रभावकारी हुन सकेनन् पुनर्मूल्यांकन हुनुपर्दछ ।

-    सरकारले बलात्कार जस्तो घृणित र संवेदनाहिन कुकृत्य रोक्न संवेदनशील भएर नीति ऐन कानुन निर्माण गर्नुपर्यो अहिले भएका कानूनहरुको पुनर्अध्ययन र लेखन हुनुपर्यो ताकि अपराधिक मानसिकता हराएर जाओस् ।

-    हाम्रो समाजमा बलात्कारका घटना घटेपछि त्यसलाई लुकाउने चलन पनि छ । यसो गर्नाले अपराधिक मानसिकताले विजयको महसुस गरि थप बलियो हुँदै जान्छ र भोलि अर्को चेलीमाथि घटना घट्छ । त्यसैले यस्ता घटनालाई बाहिर ल्याउन चेतना फैलाउनु जरुरी छ । बाहिर आएका घटना प्रहरीसम्म पुग्दा फास्ट ट्रयाक प्रक्रियाबाट अघि बढाइनुपर्दछ ।

-   बलात्कारको अभियोगमा दोषी ठहरिएको अभियुक्तलाई राज्यले गरेका सजाय र कारवाहीहरु देशव्यापीरुपमा सार्वजनिक गरिनुपर्दछ जस्ले यस्ता घटना दोहोरिन नदिन महत्वपूर्ण भूमिका खेल्दछ ।

-   गाउँ गाउँमा प्रहरीहरुले जनसहभागीतामा जवरजस्ती करणी सम्वन्धि विभिन्न श्रव्य दृश्य कार्यक्रमहरुलाई फैलाउँदै घटना हुन नदिने उपायहरुको जानकारी दिदै घटना भैहाले के गर्ने, के कस्ता सजायहरु छन् भनि सुसूचित गर्नुपर्दछ । जनताले पनि स्वयंसेवक भइ यी कार्यहरुमा प्रहरीलाई सघाउने हो भने यस्ता घटनाहरु न्यून हुँदै जानेछन् ।

-  विद्यालयहरुले अभिभावकहरुसँग महिला हिंसा तथा बाल यौन दुव्र्यवहार सम्बन्धि अन्तरक्रिया गरी घटनाहरु घट्न नदिन के गर्ने सम्बन्धमा व्यापक वहस विद्यालय र घर घरमा हुन जरुरी छ ।

-  बालबालिकाको घर पहिलो पाठशाला हुने हुनाले प्रत्येक घरमा महिला यौन दुव्र्यवहार सम्बन्धमा कुरा खुलेर गरांै र हिंसा हुन नदिन सचेत हुने पाठ पढाउँ ।

-  सामाजिक संजाल र संचार माध्यमहरुले महिलाहरुको आत्मगौरव बढ्ने किसिमका पोष्टहरुको प्रकाशन गरौं । महिलाहरुका लवाइ, खुवाइ, वसाइ, हेराइ जस्ता कुराहरुलाई उनीहरुको अपमान हुने गरि प्रकाश नगरौं । 

यी सवै सुधारका चरणहरुलाई अपनाउँदै सरकारले कडा कानून पनि बनाउने हो भने यस्ता घटनाहरु न्यून हँुदै विस्तारै इतिहासमा मात्र हुनेछन् । छिमेकी देश भारतमा समेत हालसालै बलात्कारको सजाय मृत्युदण्ड बनाइसकेको बर्तमान अवस्थामा छोरीहरुको पनि यो देश हो र उनीहरुलाई पनि यहाँ स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार छ भन्ने महसुस गराउन पनि बलात्कार सम्वन्धी अभियोगमा मृत्युदण्डको सजाय बनाइयोस । यहाँ कुनै पनि छोरीलाई कमजोर ठानेर कसैले पनि आफ्नो पुरुषत्व देखाउन नपाओस ।

सम्माननीयज्यू !

तपाईं हामी सवैको अभिभावक हो । तपाईंलाई नपोखेर मनका भाव कसलाई पोख्ने । आधा आकाश रोएको वेला एउटा अभिभावक को मन कसरी हाँस्न सक्छ र ! मलाई लागेको छ तपाईंलाई पनि धेरै मन पोलेको छ । आफ्ना चेलीवेटिहरुको आँशु तपाईंलाई पनि सह्य हुँदैन । अव आँशु खस्ने यस्ता घटनाहरु सधैं बन्द हुनुपर्दछ । सबै चेलीहरुको मुहार हँसिलो हुनुपर्दछ । तव मात्र समृद्ध नेपाल र सुखी नेपालीको नारा सार्थक हुनेछ । सम्पूर्ण चेलीहरुका लागि तपाईले निर्णायक कदम चाल्नुहुनेछ  भन्ने आशा गर्दै पत्र टुंग्याउन चाहन्छु ।
                                            


 

आईजी सा‘पलाई प्रश्न

विगत केहि महिना अगाडिबाट एक पछि अर्को गर्दै निकै रफ्तारमा हाम्रो समाजमा घटनाहरु घटिरहेका छन् । भक्तपुरमा ११ वर्षको बालक निशान खड्का यहि वर्ष अगष्ट

वामदेव काण्ड: प्रचण्ड सफल, ओली विफल

नेकपा नामको जहाजमा दुईजना पाइलट छन् । एकजना केपी ओली, अर्का पुष्पकमल दाहाल प्रचण्ड । ओलीले जहाज एकातिर लैजान खोज्दैछन्, प्रचण्ड विपरिततर्फ जहाज लैजान

बौद्धिकता राजनीतिः के हो बौद्धिकता ?

बौद्धिक वा बौद्धिकता भन्ने अवधारणाहरू जति पुराना हुन, तिनमा अन्तर्निहित राजनीति पनि त्यति नै पुरानो हो । समय अनुसार यो राजनीतिका स्वरूप परिवर्तन भए

वामदेवले चुनाव जिते देशले चाहिँ हार्नेछ

उपचुनावमा वामदेव गौतम हारे भने के हुन्छ ? जिते भने के हुन्छ ? १) जिते भने : वामदेवको जितलाई नेकपाको जित मानिने छैन । यो सरकारको जित पनि मानिने छैन ।