हिम्मत गर ओली - हात लम्काउ, गर्दन समाउ

  प्रधानमन्त्री केपी ओलीले एकपटक हिम्मत देखाउनुपर्ने बेला आएको छ ।

ओलीले हिम्मतसाथ गृहमन्त्री रामबहादुर थापालाई पदबाट हटाउनुपर्छ । त्यसपछि भक्तपुर अपहरण प्रकरण र त्यसभित्रको इन्काउन्टर प्रकरणको छानविन गर्नुपर्छ । दोषीलाई दण्डित गर्नुपर्छ ।

गगन थापा र राजेन्द्र पाण्डे

गगन थापाले जीवनमा सबैभन्दा धेरै आक्रमण र आलोचना कहिले ब्यहोरे ? ०७२ भदौमा कुमार श्रेष्ठ उर्फ घैंटे डनलाई प्रहरीले ‘इन्काउन्टर’मा मार्दा गगनले गैरन्यायिक हत्याको विरोध गरे । उनी मानवअधिकार आयोगसम्म पुगेका थिए । 

त्यसबेला गगनले गाली होइन ताली पाउनुपर्ने थियो । तर, उल्टो भयो । डनको पक्ष लियो भन्दै गगनको हदैसम्मको आलोचना गरियो । यसरी आलोचना गरियो कि मानौं गगन आफैं डनका मतियार हुन् ।

गगनलाई खुईल्याउने काममा एमाले र माओवादी पंक्तिका मानिसहरु अग्रणी देखिन्थे ।

घैंटे मारिनुभन्दा केही १३ महिना पहिले दिनेश अधिकारी उर्फ चरी डनलाई प्रहरीले इन्काउन्टरमा मारेको थियो । त्यसबेला एमाले नेता राजेन्द्र पाण्डे सार्वजनिक आलोचना र आक्रमणको तारो बनेका थिए । किनभने उनले इन्काउन्टरको विरोध गरेका थिए । 

राजेन्द्रलाई पनि डनको मतियार, डनको संरक्षक भन्दै आलोचना गरिएको थियो । यहाँ लेखिरहन नपर्ला, उनलाई आलोचना गर्नेहरु अधिकांश कांग्रेस वृत्तका थिए । 

जायज नाजायज के हो राम्रो ध्यान बिचार नगरी फरक पार्टीका मानिसले लिएको अडानलाई विरोध गर्ने र खुइल्याउने प्रवृत्ति व्यापक छ । 

डनहरुलाई इन्काउन्टरमा मार्दा हिजो गगन र राजेन्द्रहरुले जसरी विरोध गरेका थिए त्यो जायज थियो । 

कालो नियत र गोरे

सुन डन चूडामणि उप्रेती उर्फ गोरेले धरानमा सनम शाक्यको लाश राखेका थिए । उनलाई जोगाउन र लाश गायब पार्न प्रहरीको एउटा टोली लागिपरहेको रहेछ । त्यो टोलीका प्रहरीहरुको आपसी फोन संवाद सार्वजनिक भएको छ ।

संवादमा उनीहरुले गोरेलाई पक्रने र इन्काउन्टरमा मार्ने योजनाबारे छलफल गरेको आवाज सुनिन्छ ।

जोगाइदिन्छु भनेर गोरेसँग मोटो रकम असुल्ने अनि इन्काउन्टरमा मार्ने उनीहरुको योजना प्रष्ट बुझ्न सकिन्छ । गोरेलाई इन्काउन्टरमा मार्न उनीहरु सफल भएका थिए भने शायद वाहवाही पाउँथे, खासगरी सामाजिक संजालबाट ।

गोरेलाई इन्काउन्टर गर्ने कालो नियतको पोल खुलिसकेको छ । इन्काउन्टरका पछाडि कस्तो खेल हुन्छ र हुनसक्छ भन्ने गोरेलाई गर्न खोजिएको असफल इन्काउन्टरको पर्दाफासले पनि प्रष्ट पार्छ ।

भक्तपुर इन्काउन्टर

भक्तपुर इन्काउन्टरको दुईटा पक्ष छ । र, दुवै पक्ष दर्दनाक छ ।

पहिलो र मूल पक्ष हो प्रहरीले बालक निशान खड्कालाई बचाउन सकेन । निशान अपहरण भएको खबर प्रहरीले तत्कालै पाएको थियो । खबर पाए पनि बालकको उद्दार गर्न सकेन । 

अपहरणकारीको पहिचान पनि प्रहरीले बेलैमा गरिसकेको थियो । प्रहरीको मुख्य उद्देश्य हुनुपर्ने थियो अपहरित निशानको सकुशल उद्दार ।

यसमा प्रहरी असफल भयो । अपहरणकारीले बालकलाई मारिदिए । बालकको हत्या प्रहरीको सामान्य असफलता होइन । यो असफलतालाई ढाकछोप गर्न प्रहरीले दोस्रो बाटो लियो— अपहरणकारीलाई मारिदिने । 

अपहरणकारी या कसैलाई प्रहरीले मार्नुपर्यो भने ‘इन्काउन्टर’ विधि प्रयोग गर्ने गरेको छ । यसरी मान्छे मार्दा प्रहरी टोलीलाई कारवाही हुन त कता हो कता उल्टै सार्वजनिक रुपमा वाहवाही पाउँछन् ।

भक्तपुरमा पनि अपहरणकारीलाई मारेर आफ्नो कमजोरी ढाकछोप गर्दा वाहवाही पाइन्छ भन्ने प्रहरी टोलीलाई थाहा थियो । किनभने विगतको उदाहरण उनीहरुले पनि देखेका थिए । 

गगन र राजेन्द्रमा चुकेको समाज

चरी डन र घैंटे इन्काउन्टर प्रकरणमा हाम्रो समाज चुक्यो । न्यायको पक्षमा आवाज उठाउँदा पनि त्यसबेला गगन र राजेन्द्र प्रताडित भए । प्रहरीले इन्काउन्टर गरेर अभियुक्तलाई मार्नु राम्रो हो भन्ने नकारात्मक तथ्य समाजमा बलवान रुपमा स्थापित हुँदै गयो । 

चरी मारिँदा राजेन्द्र पाण्डेले र घैंटे मारिँदा गगन थापाले उठाएको आवाज स्थापित गर्न सकिएको भए त्यसपछि इन्काउन्टरको घटना यति सजिलै हुनसक्ने थिएन । ठीक उल्टो भयो । इन्काउन्टर जस्तो घातक र निन्दनीय कृत्यको विरोधमा राजनीतिकर्मीहरुले बोल्न नसक्ने अवस्था आयो । 

अहिले पनि गगन र राजेन्द्र दुवैलाई थाहा छ, भक्तपुर इन्काउन्टर प्रहरीको अपराध हो । तर, बोल्दैनन्, बोल्न सक्दैनन् । वास्तवमा अहिले राजेन्द्र र गगन दुवैले खुलेर बोल्नुपर्ने हो । 

गगन, राजेन्द्र तथा यस्ता राजनीतिकर्मीहरुले के बुझ्नुपर्छ भने सामाजिक संजालहरुले गर्ने आक्रमण या प्रशंसाको आयु असाध्यै छोटो हुन्छ । छोटो आयुमै त्यस्तो प्रवृत्तिले समाजको ह्रदयमा गलत छाप भने पारिदिन्छ ।

भक्तपुर इन्काउन्टरको प्रशंसा गर्ने ठूलो जमात खडा भएको देखिन्छ । यो चिन्ताको कुरा हो । प्रहरीले आफ्नो असफलता ढाकछोप गर्न, बहादुरी देखाउन, समाजमा दबदबा देखाउन इन्काउन्टरका नाममा दुईजना अभियुक्तलाई मार्यो । यो इन्काउन्टरको विरोध गर्नु भनेको अपरहणको पक्षमा उभिनु होइन ।

ती अपहरणकारीलाई कानुन बमोजिम दण्ड दिन सक्नुपथर््यो । दण्ड दिने काम प्रहरीको होइन । प्रहरीले दण्ड दिन थाल्यो भने लोकतन्त्र   रहँदैन । प्रहरीले नै दण्ड दिने हो भने किन चाहियो न्यायालय ?

प्रहरीले गर्ने इन्काउन्टरको सामाजिक रुपमा प्रशंसा हुनु राम्रो होइन । यो सामाजिक रोग हो । यसको अनेक साइड इफेक्ट देखिन सक्छ । यसको सबैभन्दा दुष्प्रभाव प्रहरी संगठनमा पर्न सक्छ । प्रहरी संगठन गैरजिम्मेवार बन्दै जान सक्छ ।

ओलीले के गर्ने ?

ओलीले के गर्ने भन्ने प्रश्नको जवाफ विष्णु रिमालको ट्वीटबाट थालौं । रिमाल लेख्छन्-

‘धेरै अंगहरू गंभीर बिरामी छन्, कतिपय अंग कामै नलाग्ने छन् । उपचार गर्ने कसरी ? औषधि पर्याप्त नहुने छाँट छ, सर्जरीतिर लागौं, अनपेक्षित संक्रमणबाट ज्यानै जाने पनि खतरा छ ! फुर्तिसाथ गर्नुपर्ने छ काम, प्रश्न छ, गर्ने त गर्ने, कसरी गर्ने ?’

प्रधानमन्त्री ओलीलाई निराश हुने छुट छैन, उनका सल्लाहकारहरुलाई निराश हुने छुट छैन ।

रिमालले फुर्तिसाथ काम गर्नपर्ने लेखेका छन् । सरकारलाई फुर्तिको भन्दा धेरै खाँचो हिम्मतको देखिएको छ।

केही हिम्मतिलो कामले धेरै क्षेत्रलाई प्रभावित पार्न सक्छ । भक्तपुर प्रकरणमा ओलीले हिम्मत देखाउनुपर्छ । 

अपहरणकारीहरुलाई प्रहरीले समातेर लगेको वयान स्थानीयवासीहरुले दिइसकेका छन् । सार्वजनिक भएका तथ्यहरुले भन्छ, भक्तपुरमा इन्काउन्टर भएको थिएन, प्रहरीले हत्या गरेको थियो ।

यो प्रकरणमा हिम्मत देखाएर गृहमन्त्री रामबहादुर थापा वादललाई वर्खास्त गर्ने र छानविन गर्ने हो भने अन्य मन्त्रीहरु पनि तह लाग्नेछन् । कामै नलाग्ने बनिसकेका अंगहरु पनि तह लाग्नेछन्, काम थाल्नेछन् ।

गृहमन्त्री नहटाई छानविन गर्न सकिन्थ्यो तर त्यो अवस्था पार भइसकेको छ । गृहमन्त्रीले इन्काउन्टरको बचाउ गरेका छन् । वास्तवमा गृहमन्त्रीले नै इन्काउन्टरको छानविन गर्नुपथर््यो । 

एउटा पद्धति नै बसाउनुपर्छ । हरेक प्रहरी इन्काउन्टरको स्वतन्त्र छानविन गरिनुपर्छ । जुनसुकै इन्काउन्टरको पक्षमा बोल्ने या जुनसुकै इन्काउन्टरको विपक्षमा बोल्ने चलन बिकास गर्नु पनि घातक हुन्छ । किनभने जहाँ इन्काउन्टरको अवस्था हुन्छ, त्यहाँ इन्काउन्टरबाट प्रहरीले भाग्नुपर्ने अवस्था आउन सक्छ । यो पनि राम्रो हुँदैन ।

ओलीले साहस गर्नुपर्यो, छानविन गर्नुपर्यो । एउटा प्रहरी टोलीले अपराध गरेको हो भने त्यसलाई ढाकछोप गरेर उनीहरुको अपराध आफ्नो टाउकोमा ओलीले किन लिने ?

यो छानविनले नजीर बस्छ । कानुनी राज स्थापनामा सहयोग पुग्छ । यसो गरिए सरकार पनि दह्रो बन्छ । त्यसैले ओलीले हात लम्काउनैपर्छ, गर्दन समाउनै पर्छ ।

सबैले के बुझ्न जरुरी छ भने ‘इन्काउन्टर राज’ भयानक हुन्छ । बाघलाई मान्छेको मासु खाने बानी पर्यो भने नरभक्षी हुन्छ, त्यसले मान्छेको बाहेक अरु मासु खाँदैन । प्रहरीलाई पनि इन्काउन्टरको बानी लाग्यो भने नरभक्षी बाघभन्दा खतरनाक हुन्छ ।

सबैले बेलैमा बुझौं । प्रधानमन्त्री केपी ओलीले चाहिँ अहिले नै हिम्मत गरौं ।
 

आईजी सा‘पलाई प्रश्न

विगत केहि महिना अगाडिबाट एक पछि अर्को गर्दै निकै रफ्तारमा हाम्रो समाजमा घटनाहरु घटिरहेका छन् । भक्तपुरमा ११ वर्षको बालक निशान खड्का यहि वर्ष अगष्ट

वामदेव काण्ड: प्रचण्ड सफल, ओली विफल

नेकपा नामको जहाजमा दुईजना पाइलट छन् । एकजना केपी ओली, अर्का पुष्पकमल दाहाल प्रचण्ड । ओलीले जहाज एकातिर लैजान खोज्दैछन्, प्रचण्ड विपरिततर्फ जहाज लैजान

बौद्धिकता राजनीतिः के हो बौद्धिकता ?

बौद्धिक वा बौद्धिकता भन्ने अवधारणाहरू जति पुराना हुन, तिनमा अन्तर्निहित राजनीति पनि त्यति नै पुरानो हो । समय अनुसार यो राजनीतिका स्वरूप परिवर्तन भए

वामदेवले चुनाव जिते देशले चाहिँ हार्नेछ

उपचुनावमा वामदेव गौतम हारे भने के हुन्छ ? जिते भने के हुन्छ ? १) जिते भने : वामदेवको जितलाई नेकपाको जित मानिने छैन । यो सरकारको जित पनि मानिने छैन ।