‘ज्ञानेन्द्रले बाबुराम र प्रचण्डलाई सोल्टीमा भेटेका थिए’ 

नेपाली कांग्रेसका पूर्व सभापति गिरिजा प्रसाद कोइरालालाई उनको पार्टी र उत्तराधिकारीले बिर्सँदै जान थालेका छन् । १८ असारका दिन कांग्रेसले औपचारिक रुपमा कोइरालाको सम्झना गर्न चाहेन । अरु संघसंस्थाले आफ्नै किसिमबाट कोइरालाको स्मृतिमा चर्चा गरे तर कांग्रेसले किन कोइरालालाई औपचारिक रुपमा सम्झन चाहेन,यसको भने कांग्रेस र गैरकांग्रेस वृत्तमा चर्चा भैरहेको छ। संघर्षपूर्ण राजनीतिक जीवन विताएका कोइरालाले पटक पटक प्रधानमन्त्रीका रुपमा देशको नेतृत्व गरेको इतिहास सम्झनै नसक्नेगरी पुरानो भैसकेको छैन।

अझ  देशमा कपटपूर्ण तरिकाले चलाईएको हिंसापूर्ण द्वन्दलाई शान्तिप्रक्रिया मार्फत अन्त्य गर्न उनको प्रत्यक्ष र नेतृत्वदायी भूमिका थियो भनेर सम्झन कुनै संकोच मानिरहनुपर्ने बिषय पनि होइन। जानेर नजानेर कोइरालाको इतिहासलाई ओझेलमा पार्ने नियत देखिन्छ राष्ट्रिय राजनीतिमा । अरु त अरु कांग्रेस सभापति शेरबहादुर देउवा समेत आफ्ना राजनीतिक गुरु मानिएका पूर्व सभापति कोइरालाको सम्झना गर्न किन आलस्य मानिरहेका छन् । यो भने अर्थपूर्ण बिषय बनेको राजनीतिक वृत्तमा चर्चा गरिँदैछ । 

यसै सन्दर्भमा कोइरालाको सम्झना गर्दैगर्दा उनका बारेमा एउटा पक्ष सम्झिएका थिए कांग्रेसका बौध्दिक नेता चक्रप्रसाद बाँस्तोलाले । कुनैबेला उनीसँग कोइरालाकाबारेमा गरिएको रोचक चर्चा सान्दर्भिक भएकाले यहाँ जस्ताकोतस्तै प्रस्तुत गरिएको छः 
 
 राजदरबार हत्याकाण्डमा गिरिजाबाबुलाई समेत मार्ने षड्यन्त्र भएको रहेछ। त्यो भोजमा गिरिजाबाबुलाई पनि बोलाउने प्रस्ताव आएको रहेछ। शवयात्रामा जाँदा शोभा भगवतीमा हामीमाथि ढुंगामुढा भयो। त्यहाँ  ‘फायरिङ’ पनि भएको थियो, गिरिजाबाबुको गाडीमा। ज्ञानेन्द्रले बाबुराम र प्रचण्डलाई सोल्टीमा भेटेका थिए। यो तथ्य हो ।

‘दिस म्यान क्यान नट डु, इट्स टाइम फर यु, यु सुड, गिरिजाबाबुलाई सायद दरबारले उचाल्यो। दरबार कांग्रेसलाई भाँड्न चाहन्थ्यो। २०१७ सालपछिको लामो जेल जीवनबाट मुक्त भएर गिरिजाप्रसाद कोइराला (गिरिजाबाबु) बनारस जानुभएको थियो। सुषमा कोइरालालाई सन् १९६७ मा भेट्न बनारस पुग्दा मैले गिरिजाबाबुलाई पहिलोपटक त्यहीँ भेटको हो।

त्यतिखेर म बनारस हिन्दी विश्वविद्यालयमा राजनीतिशास्त्रको विद्यार्थी थिएँ। गिरिजाबाबुसँगको पहिलो भेटघाटमा खासै कुराकानी भएन। त्यसपछि बिपी कोइराला जेलबाट छुट्ने क्रममा त्यसका सूत्रधार गिरिजाबाबु नै हुनुहुन्थ्यो।

त्यसबेला बिपीको परिवार बनारसमा थिए। सुशीला आमा केटाकेटी पढाएर बस्नुहुन्थ्यो। मेरो उहाँहरूकहाँ आउनेजाने भइरहन्थ्यो। बिपी जेलबाट छुटेर आएपछि उहाँसँग भेटघाट भयो।

म क्रान्तिकारी सोचको थिएँ। बिपीसँग दर्शन, साहित्य, राजनीतिलगायत विषयमा बहुआयामिक कुरा हुन्थ्यो। बिपीले मलाई युवाहरू संगठित गर्ने जिम्मेवारी दिनुभयो। तर, मैलै ‘अध्ययन पूरा गर्न दिनोस्’ भनेँ। राजनीतिशास्त्रमा स्नातकोत्तर गरिसकेपछि मैले बिपीसँग काम थालेँ। गिरिजाबाबुसँग चाहिँ पछि बिपीकै माध्यमबाट राजनीतिक सम्बन्ध गाँसिएको हो।

मैले क्रान्तिकारी राजनीतिको पक्षमा बिपीसँग कुरा गर्न थालेँ। हतियारको राजनीतिमा जानुपर्छ भन्ने मेरो अवधारणा थियो। कहिलेकाहीँ म बिपीलाई ‘गिरिजाबाबुको राजनीतिमा जानुर्पयो’ भन्थेँ। ’ गिरिजाबाबु क्रान्तिका कुरा गर्नुहुन्थ्यो। पछि बिपीले राजनीतिक परिवर्तनका लागि सशस्त्र क्रान्तिको आह्वान गर्नुभयो। मेरो हातहतियार जम्मा गर्ने जिम्मा थियो।

त्यही सन्दर्भमा फेरि मेरो गिरिजाबाबुसँग भेटघाट भयो। बिपीसँग पनि उठबस भएकाले होला, गिरिजाबाबु मलाई टाठोबाठो मान्नुहुन्थ्यो। क्रान्तिको आह्वानपछि गिरिजाबाबुको गतिविधि बढ्यो। हामी हतियार जम्मा गर्न थाल्यौं। यही सन्दर्भमा गिरिजाबाबुसँग बाक्लै भेटघाट हुन्थ्यो। हतियार खोज्ने, केके गर्ने भनेर सल्लाह हुन थाल्यो।

हतियारको जोहो गर्न ‘अपरेसन गणेश’ कार्यक्रम चलाउने हाम्रो योजना थियो। त्यसअनुसार राष्ट्र बैंकबाट ‘गोल्ड रिजर्भ’ झिक्ने भन्ने थियो। तर, त्यो योजना असफल भयो। त्यसपछि ‘प्लेन हाइज्याकिङ’को योजना बन्यो। विराटनगरबाट भारतीय रुपैयाँ बोकेर काठमाडौं जाने जहाज अपहरण गर्नुपर्ने थियो। त्यो योजना नाउँदा गिरिजाबाबु भारतमै हुनुहुन्थ्यो। त्यसबखत म आफ्नै कामले दार्जि्लिङमा थिएँ। गिरिजाबाबु मलाई खोज्दै त्यहीँ पुग्नुभयो।

गिरिजाबाबुले भन्नुभयो, ‘जहाज अपहरणको योजना बनाएको, साथमा गाडी पनि छैन। सान्दाजुले पनि गाडी दिनुभएन, कसरी गर्ने? छटपट भएर यहाँ आएको।’

मैले भनेँ, ‘म के गरूँ गिरिजाबाबु? मसँग पनि छैन।’

तपाईंले चिनेको सरदारजीकोमा गाडी छ रे, त्यहाँ गएर उधारोमा किन्नुर्पयो,’ गिरिजाबाबुले भन्नुभयो।

म खर्साङ पढ्दाको साथीको बुवा थिए, सरदारजी। म उनीकहाँ गएँ। ‘अरे अरे बेटा कैसे आए?’ सरदारजीले सोधे।

‘मुझे गाडी चाहिए,’ मैले भनेँ, ‘पैसा बादमे मिलेगा।’

‘अरे कोई बात नहीँ। लेजाओ,’ उनले बाटो खुलाइदिए।

गाडी पाइयो भनेर गिरिजाबाबु खुसी हुनुभो।

‘चक्रजी, तपाईं गाडी लिएर आउनुस्, म गएँ,’ उहाँ यति भनेर हिँड्नुभयो।

म गाडी लिएर फारबेसगन्ज पुगेँ। त्यहाँ सुशील दा (सुशील कोइराला) पनि हुनुहुन्थ्यो। बिपीले पनि गाह्रो र्पयो भनेर गाडी पठाइदिनुभएको रहेछ। अब हामीसँग चारवटा गाडी भए।

कसले के गर्ने भनेर सबैको ड्युटी बाँडफाड गरियो। दोस्रो विश्वयुद्धपछि प्रयोगमा नआएको विमानस्थल थियो। अपहरणपछिको कार्यक्रम कसैलाई थाहा नहुनेगरी योजना बनाइएको थियो।

सुशील दा र विनोद अर्याल विमानस्थल गए। गाडी देखेपछि विमानस्थलका पालेले गाली गरेछ। ‘गाडी सिक्न आका,’ सुशील दाहरू उम्कन खोज्नुभयो। तर, त्यो पालेले गाडी सिक्ने अनुमति दिएनछ।

उहाँहरूले बहाना गर्नुभएछ, ‘गाडी बिग्रियो, तुरुन्तै जान सकिँदैन।’

‘बिग्रिए चाँडै बनाऊ,’ उसले हप्कायो। तर, उहाँहरू जहाज नआइन्जेल अनेक बहाना बनाएर त्यहीँ बस्नुभयो। अपहरण गर्न दुर्गा सुवेदी, वसन्त भट्टराई, नगेन्द्र ढुंगेल जहाजमै थिए।

गिरिजाबाबु र म सुशील दाको केहीपछि विमानस्थलतिर लाग्यौं। गिरिजाबाबु आफ्नै जीपमा हुनुहुन्थ्यो। गिरिजाबाबुको ड्राइभर थिए, विराटनगरका हरिनन्दन सिंह। म भर्खर किनेको कारमा थिएँ। राइसमिलमा एउटा चिनेको मान्छेले ‘गिरिजाबाबु आइए, नास्ता लिजिए’ भन्यो।

गिरिजाबाबुले ठट्टा गर्दै भन्नुभयो, ‘अन्डरग्राउन्ड छ कि छैन।’

उसले भन्यो, ‘छैन।’

पौने ९ बजेतिरको कुरा होला। हवाइजहाजको आवाज आयो। ‘हम चले’ भनेर गिरिजाबाबु जानुभो। मेरो ड्युटी ‘रेस्क्यू अपरेसन’ थियो – मुख्य रुटमा गाडी बिग्रिए उद्दार गरेर जानुपर्ने। धन्न, कतै केही भएन। साँझ दार्जि्लिङ पुगेँ। त्यहाँ गिरिजाबाबु पनि हुनुहुन्थ्यो।

गिरिजाबाबुले ‘घुम्न जाउँ’ भन्नुभयो। हामी चौरस्ता घुम्न निस्कियौं। अल इन्डिया रेडियोले ‘नेपालको प्लेन हाइज्याक भो, नेपाली कांग्रेसको हात हो कि भन्ने बुझाइ छ’ भन्यो। ‘ए चक्रजी आयो नि न्युज,’गिरिजाबाबुले भन्नुभयो।

भोलिपल्ट हामी त्यहाँबाट हिँडेर सिलगुडी आयौं। गाडी ग्यारेजमा थन्काइयो। त्यहाँबाट पटना पुग्यांै। त्यसपछि बनारस। फेरि गिरिजाबाबु र म दिल्ली गयौं। हामी लोजी होटलमा बस्थ्यौं। हाम्रो खोजी भइरहेको थियो। म बनारस फर्कने सुरसार गर्दै थिएँ। तर, श्रीमतीले ‘त्यहाँ नजानुस्’ भनिन्। किनकि, मेरो डेरानजिकै बस्ने ‘इन्टेलिजेन्स’का मान्छे मेरै खोजीमा थिए।

त्यतिबेला दार्जि्लिङमा हामी जसको घरमा बसेका थियौं, उनलाई समातिएको थियो। त्यसपछि बिपी गिरिजाबाबुसँग रिसाउनुभयो। दार्जि्लिङमा शर्माजीकहाँ १ लाख ८० हजार रुपैयाँ बरामद भएछ। बिपीलाई शर्माजीले पैसा राखेको भन्ने लागेछ। तर, उनले कर छल्न हाम्रो पैसा भनिदिएका रहेछन्।

त्यसपछि गिरिजाबाबुले ‘तपाईं जानुर्पयो’ भन्नुभयो। सरोज कोइराला र म खर्साङ गयौं। म पक्राउ पर्ने सम्भावना भएकाले त्यहीँबाट फर्किएँ। सरोजबाबु मात्रै जानुभयो। म खर्साङबाट चार घन्टा हिँडेर सिलगुडी र त्यहाँबाट ट्रक चढेर किसनगन्ज आइपुगेँ। त्यहीँबाट ट्रेन चढेर पटना पुगेँ।
गिरिजाबाबु पटनामै हुनुहुन्थ्यो। ‘तपाईंले सान्दाजुलाई सम्झाइदिनुपयो,’ उहाँले भन्नुभयो। मैले शर्माजी काण्ड’दयगत सबै बताएपछि बिपी पनि आश्वस्त हुनुभयो। त्यसपछि म बनारस गएँ। म पक्राउ पर्ने सम्भावना भएकाले त्यसबाट बच्न ‘साउथ इन्डिया जान्छु, अन्डरग्राउन्ड बस्छु’ भनेर बिपीलाई भनेँ। तर, बिपीले ‘साउथ इन्डिया होइन, दिल्ली जाऊ’ भन्नुभयो।

म बनारसबाट ट्याक्सीमा अलाहबाद गएँ र त्यहाँबाट ट्रेनमा दिल्ली। त्यहाँ ७ महिना भूमिगत बसेँ। पछि लखनउमा समातिएँ। हवाइजहाज डाँका गर्ने भनेर जेलका बन्दीहरू ‘मलाई ठूलो डाँका’ मान्थे। केही समयपछि मलाई फारबेसगन्ज पठाए। अपहरणको मुद्दा चल्यो। हामी जेल परेपछि ओखलढुंगा काण्ड भयो। त्यसैबीच म छुटेँ। मलाई अदालत धाएर मुद्दा हेर्ने जिम्मा दिइयो। नोना भाउजु, गिरिजाबाबु, वीरेन्द्र दाहाल र म दुईरदुई महिनामा सीमा वारपार हिँडेर संगठन बनाउने गर्थ्यौं। तरुण पत्रिका पनि प्रकाशित गर्थ्यौं।

पछि २०३३ सालमा बिपीले भन्नुभयो, ‘मेरो के अवस्था हुन्छ थाहा छैन, कार्यवाहक सभापति किसुनजी (कृष्णप्रसाद भट्टराई) लाई दिन्छु।’

पटनाको त्यही सम्मेलनबाट गिरिजाबाबु महामन्त्री हुनुभयो। बिपी यता आइसकेपछि हामी आन्दोलनको तयारी गर्दै थियौं। जनमत संग्रह हुनुभन्दा ७ दिनअघि गिरिजाबाबु र हामी नेपाल फर्कियौं। बिपीलाई मैले काठमाडौं बस्न मन नलागेको भन्दै झापा जाने चाहना व्यक्त गरेँ। बिपीले पनि ‘झापा बसेर मेरो विचार सबैलाई सुनाऊ’ भन्नुभयो। मैले त्यसै गरेँ।

२०४६ सालको आन्दोलपछि गिरिजाबाबुले मलाई भारतका लागि राजदूत बनाउनुभयो। तर, अपहरण काण्डमा मविरूद्ध मुद्दा थियो, त्यहाँ। मुद्दाको नाइके ‘म आफै प्रधानमन्त्री भैसकेँ’ भनेर गिरिजाबाबुले भनेपछि भारतीयहरू मविरूद्धको मुद्दा फिर्ता गर्न तयार भए। यद्यपि मुद्दा फिर्ता गर्न तीन महिना लगाए। पछि मेरो नाममा ‘एग्रिमो’ आएपछि राजदूत भएर भारत गएँ।

२०५१ सालपछि कांग्रेस पार्टी्भित्र आन्तरिक लडाइँ सुरु भयो। त्यतिखेर गिरिजाबाबुलाई ‘एक्स्ट्रिम लाइनमा जानुहुन्न’ भनेर सुझाव दिएँ। सुझाव दिन जाने म पछिल्लो व्यक्ति थिएँ। प्रज्ञा भवनमा सम्मेलन हुँदै थियो। त्यहाँ गएर उहाँले पार्टी फुट्दैन भन्नुभयो। पछि मैले सोधेको थिएँ, ‘गिरिजाबाबु, किन नफुटाउने निर्णय गर्नुभयो?’ उहाँले भन्नुभयो, ‘मैले गेटबाट निस्केर त्यहाँ पुगुन्जेलसम्म माइन्ड मेकअप गरेँ।’

२०५६ सालको चुनावताका गिरिजाबाबुले भन्नुभयो, ‘यसपालि त जित्नैपर्छ।’ कांग्रेसले जित्न किसुनजीलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने सुझाव दिएँ।
‘किन चक्रजी?’ उहाँले सोध्नुभयो।

‘नेपाली जनता अरू कसैलाई नभएर अझै नेपाली कांग्रेसलाई भोट हाल्न चाहन्छन्। तर, उनीहरू एकीकृत कांग्रेसलाई मात्रै भोट हाल्छन्,’ मैले भनिदिएँ, ‘तपाईंहरूले धेरै नाटक गर्नुभो, अंगालो हाल्नुभो, तर जनतालाई विश्वास छैन। तपाईंले सार्वजनिक कार्यक्रममै घोषणा गर्नुपर्छ।’

त्यसको केही दिनपछि किसुनजीसँग मेरो भेट भयो। ‘तपाईंले गिरिजाबाबुलाई भन्नुभा हो?’ किसुनजीले भन्नुभयो, ‘तर, उहाँको कुराको भर छैन।’ मैले फेरि गिरिजाबाबुकहाँ गएर भनेँ, ‘किसुनजीले पत्याउनुभएको छैन।’ अनि गिरिजाबाबुले भन्नुभो, ‘के गर्नुर्पयो त?’

म फेरि किसुनजीकहाँ गएँ। ‘म उठ्ने भए गिरिजाबाबु उठ्नुहुन्न,’ किसुनजीले भन्नुभयो। ‘तपाईं डेमोक्र्याट मान्छे। यस्तो भन्न सुहाउँदैन,’ मैले भने, ‘तपाईंलाई गिरिजाबाबुसँग अविश्वास भएर हैन?’

किसुनजीले ‘हो’ भन्नुभयो। ‘त्यसो भए सबै साथीहरू राखेर प्रतिबद्धता गराऔंला,’ मैले भनेँ। पछि त्यसै गरियो।

किसुनजी प्रधानमन्त्री हुनुभयो।

त्यसपछि गिरिजाबाबुलाई सायद दरबारले उचाल्यो। दरबार कांग्रेसलाई भाँड्न चाहन्थ्यो। ‘दिस म्यान क्यान नट डु, इट्स टाइम फर यु। यु सुड कम यो मान्छेले गर्न सक्दैन, यो तपाईंको समय हो। तपाईं आउनुपर्छ,’गिरिजाबाबुलाई यसै भनेर दरबार कांग्रेस भाँड्न चाहन्थ्यो।

कांग्रेसलाई क्रान्तिकारी धारभन्दा सत्ताको न्यानोले अभ्यस्त बनाइसकेको थियो। मलाई के लाग्छ भने गिरिजाबाबुलाई जो(जसले सल्लाह दिन्थे, तिनले सही सल्लाह दिँदैनथे। त्यतिबेला गिरिजाबाबुको स्वार्थ खेलिरहेको देखिन्छ। दरबार, भारत, पार्टीको मान्छे, अमेरिका समेतले आफ्नो स्वार्थका लागि उहाँलाई खेलाए। पहिलो मन्त्रिपरिषदमा रहँदा नै मैले यो कुरा थाहा पाएको हो।

शेख इद्रिस, ढुण्डिराज शास्त्री गिरिजाबाबुलाई नाइनास्ती नै गर्न नसक्ने मान्छे थिए। तर, उहाँले उनीहरूलाई ‘ह्युमिलेट’ हुने गरेर हटाउनुभयो। गिरिजाबाबु कसरी काम गर्ने भनेर भाँती र्पुयाउनुहुन्नथ्यो, अरूले भन्दिनुपर्थ्यो। मलाई के लाग्छ भने गिरिजाबाबु गुरिल्ला किसिमको केही न केही गरिरहनुपर्ने मान्छे। जे कुरालाई पनि जित्नुपर्ने मान्छे। त्यतिबेला कुन फटाहाले के लाइदियो, उहाँले हटाइदिनुभयो।

म गिरिजाबाबुको काममा उहाँको भन्दा पनि वाह्य कुराहरूले प्रभाव पारेको देख्छु । बाँचुन्जेल अस्वीकार गरियो। शान्ति प्रक्रियाका सवालमा नेपाली कांग्रेसमा दुई मत थियो। मलाई साथीहरूबाट पूरै समर्थन भएको छैन कि भन्ने गिरिजाबाबुलाई लागेको थियो। हामीलाई चाहिँ गिरिजाबाबुले ‘हाम्रो कुरा सुन्नुभएन’ भन्ने लागेको हो। हामीले ‘शान्तिको नेतृत्व लिनुहोस्’ भनेको हो। तर, प्रक्रियाका सवालमा मतभिन्नता आयो। उहाँ शान्ति प्रक्रियामा छिटोछिटो जानुभयो र माओवादीलाई धेरै कुरा दिनुभयो। के स्वार्थले त्यसो गर्नुभयो? थाहा छैन।

अहिले फर्केर हेर्दा नेपालको शान्ति प्रक्रिया सुरु हुन र सुरु भइसकेपछि राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय स्वार्थका साथै अन्य निहीत स्वार्थहरू हावी हुँदै गएको भन्ने बुझ्न सकिन्छ। गिरिजाबाबु धेरै स्थानमा धेरै क्षेत्रबाट प्रभावित हुनुभयो। राजा, राजनीतिक दल, भारतीय, चिनियाँ, अमेरिकी र गिरिजाबाबुलाई बिहान(बिहान भेट्ने सबै तŒव हावी भए। गिरिजाबाबुलाई यी सबै कुराले प्रभाव र्पायो। राष्ट्रिय निहीत स्वार्थ र अन्तर्रा्ष्ट्रिय स्वार्थहरूले उहाँको शान्ति प्रक्रियाको कार्यमा प्रभावित पारेको लाग्छ।

राजदरबार हत्याकाण्ड भएको बेला म गिरिजाबाबुको मन्त्रिमण्डलमा पराराष्ट्र मन्त्री थिएँ। त्यो राजदरबार हत्याकाण्डमा गिरिजाबाबुलाई समेत मार्ने षड्यन्त्र भएको रहेछ भन्ने निष्कर्षमा म पुगेको छु। त्यो भोजमा गिरिजाबाबुलाई पनि बोलाउने प्रस्ताव आएको रहेछ। राजाले ‘फेमिली म्याटर’मा नबोलाऔं। पछि परे बोलाऔंला’ भनेका रहेछन्। अर्काे कुरा शवयात्रामा जाँदा शोभा भगवतीमा हामीमाथि ढुंगामुढा भयो। हामी भागेर हिँड्यौं। त्यहाँ ‘फायरिङ’ पनि भएको थियो, गिरिजाबाबुको गाडीमा। यसले के प्रश्न उठाउँछ भने राजदरबार हत्याकाण्डमा ठूलै मञ्चन भएको रहेछ। शाही सदस्यको हत्या गर्नेमात्रै होइन, गिरिजाबाबुलाई समेत मार्ने षड्यन्त्र भएको रहेछ।

त्यसको पछाडि को होला?

राजनीतिले गडफिलिङ भन्छ, सामाजिक अनुसन्धानमा र्‘यासनल’ चाहिन्छ। मलाई चाहिँ के लाग्छ भने यो भारतीय र अमेरिकीहरूको संयुक्त योजना हो। ’अबगकभ, नेपालमा भारतीय संलग्न नभई केही गर्नै सकिँदैन। र, अमेरिका यति ठूलो विश्वशक्ति छ, उसको जानकारीविना केही हुँदैन। त्यसकारण दुवै संलग्न छन्।

नेपालको अन्तर्रा्ष्ट्रिय भु-राजनीति नै यस्तो छ। अमेरिकी र भारतीयले ज्ञानेन्द्रलाई समेत प्रयोग गरे। कुन उद्देश्यका लागि? राजा वीरेन्द्र अलिकति राष्ट्रवादी रहेछन्। कांग्रेसको नेतृत्व पनि राष्ट्रवादी र लोकतान्त्रिक रहेछ भनेर यो पूरै धारलाई मार्न खोजिएको हो। तर, यस सम्बन्धमा गिरिजाबाबुसँग मेरो चर्चा भएन। उहाँले ‘ग्र्यान्ड डिजाइन’ भन्नुभयो। धेरै मानिसले यो गिरिजाबाबुले ‘सत्ता प्राप्तिका लागि प्रयोग गर्नुभएको अस्त्र हो’ भनेर बुझ्छन्। तर, कुरो त्यस्तो होइन। यी प्रमाणित गर्नेभन्दा पनि बुझ्ने कुरा हुन्। कोसँग के कुरा भयो भनेर उहाँले कहिल्यै बताउनुभएन। दोस्रो, नेपालको राजनीति कस्तो छ भने अन्तर्रा्ष्ट्रिय स्वार्थ २४ सै घन्टा खेलिरहेको देखिन्छ। उहाँका गतिविधि पनि त्यसैबाट प्रभावित भएका होलान्।

माओवादी नेताहरूलाई भेट्न गएको घटना पनि बढो चाखलाग्दो छ।

हामी त्यतिखेर सरकारबाट हटिसकेका थियौं। एकदिन गिरिजाबाबुले बोलाएर भन्नुभयो, ‘दिल्ली जाउँ भनेको, तपाईं पनि हिँड्नोस्।’
मैले ‘हुन्छ’ भनिदिएँ। अर्काेपटक फेरि मलाई बोलाउनुभयो र पैसा दिनुभयो। गिरिजाबाबुले मलाई पैसा दिनुभएको त्यो पहिलोपटक हो। नत्र मलाई गिरिजाबाबुले पैसा दिएको थाहा छैन।

‘गोकर्ण (पौडेल) ले टिकट व्यवस्था मिलाउँछ। नोना (कोइराला) भाउजु, हामी पहिला जान्छौं, तपाईंहरू पछि आउनू,’ उहाँले भन्नुभयो। गिरिजाबाबुसँग सुजाता (कोइराला) र नोना भाउजु जानुभयो। म पनि पछि गएँ।

हामी कनटपेलेसको एउटा होटलमा बसेका थियौं। पछि म ‘इन्डिया इन्टरनेसनल सेन्टर’मा सरेँ। गिरिजाबाबु हायतको नयाँ होटलमा बस्नुभयो। एकदिन गिरिजाबाबुले ‘माओवादीसँग भेट्नुर्पयो’ भन्नुभयो। दिल्ली पुगेको धेरै दिनपछिको कुरा थियो त्यो। उहाँ त्यतिखेर एक्लै आउनुभएको थियो, इन्डिया इन्टरनेसनल सेन्टरमा। मैले पनि ‘हुन्छ, तर कसरी’ भनेँ।

‘यो एउटा मान्छे छ, त्यहीसँग सम्पर्क गर्नुस्, फलाना ठाउँमा। कसैलाई पनि थाहा नहोस्,’ गिरिजाबाबुले यसै भन्नुभयो। त्यो व्यक्ति माओवादी नेता बामदेव क्षेत्री थिए।

‘कोही न कोहीलाई त थाहा हुन्छ, धेरैलाई थाहा हुँदैन,’ मैले भने। त्यसपछि बामदेव क्षेत्रीलाई मैले निरञ्जन कोइरालाको सुसराली डाल्मियाको घरमा भेटेँ। उनलाई म पहिल्यै चिन्थेँ। अनि कुरा गरेपछि उनले मलाई जाउँ भने। त्यसपछि हामी चढेको गाडी दिल्लीको एउटा कोलानीमा लगेर राखियो। आधा घन्टापछि बाबुराम (भट्टराई) आए। त्यसपछि उनले ‘गिरिजाबाबुलाई भेट्नुपर्छ’ भने।

‘कहाँ भेट्ने?’ मैले सोधेँ। ‘गिरिजाबाबुलाई इन्डिया इन्टरनेसनलमै बोलाउँछु, त्यहीँ भेटौं न’ भनेँ।

त्यहाँ त हुँदैन उनले भने। मैले अर्काे ठाउँ दिएँ, त्यहाँ पनि मानेनन्। अनि निकै बेरपछि ‘ठाउँ र समय तपाईं छान्ने हो?’ भनेर सोधेँ। उनले ‘हुन्छ’ भने।
भेटवार्ता बिहानै गर्नुपर्छ, नत्र इन्टेलिजेन्सको मान्छे आउँछन् भनेको थिएँ, मैले। सुरक्षाका मान्छे नआउँदै गिरिजाबाबुलाई हिँडाउनुपर्छ भन्ने मेरो भनाइ थियो। मलाई दिल्लीको एउटा लोकेसन दिएर ‘तपाईं आउनुस्’ भने। भेट हुने स्थान दिल्लीको मुख्य सडक नै थियो। तर, म पुग्न आधा घन्टा ढिलो भयो। भनेको ठाउँभन्दा अलि तल बामदेव क्षेत्री पर्खिरहेका रहेछन्। यता म गिरिजाबाबुलाई निश्चित समय दिएर हिँडेको थिएँ।

हामी त्यही सडक छेउमा उभिँदै गर्दा गिरिजाबाबुको गाडी हामीलाई छलेर अघि बढिहाल्यो। त्यसबखत मोबाइल भाडामा लिइएको थियो। अनि गोकर्णलाई फोन गरेर गिरिजाबाबुको गाडी फर्काउन लगाएँ। त्यसपछि बामदेव क्षेत्री चालकसँगै अगाडिको सिटमा बसे, हामी पछाडि बस्यौं।
हामीलाई थाहा थिएन, कता जाँदैछौं भन्ने। तर, दिल्ली चिनेको नाताले मलाई कहाँ जाँदैछौं भन्ने थाहा थियो। दिल्लीको सहरबाहिर। सामान्य गाउँले ठाउँमा उत्रेपछि एकजना खेतीवालाको एकतले घरमा र्छियौं। बाहिर मानिसहरू बसिरहेका थिए। प्रचण्डका छोरा प्रकाश दाहाल पनि त्यहीँ बाहिर बसिराखेका थिए। भित्र प्रचण्ड र बाबुराम बसिराखेका रहेछन्। गोकर्ण र बामदेव दुवै बाहिरै बसे।

बिहान साढे नौ बजेतिरको समय थियो, यो। भेटघाटमा बाबुराम र प्रचण्ड दुवै कम बोले। प्रचण्डसँग गिरिजाबाबु र मेरो दुवैजनाको पहिलो भेटघाट थियो। बाबुरामसँग भने पहिल्यै चिनजान थियो। एक राउन्डको कुरा सकिएपछि ‘अरू कुरा चक्रजीसँग गर्नुस्’ भनेर गिरिजाबाबु हिँड्नुभयो। १० बजे गिरिजाबाबुको तत्कालीन भारतीय प्रधानमन्त्री अटलबिहारी बाजपेयीसँग भेटघाटको समय मिलाइएको थियो। गिरिजाबाबुले बाजपेयीलाई भेट्न लागेको कुरा माओवादी नेताहरूलाई समेत भन्नुभएको थियो।

भेटघाटमा प्रचण्डले भनेका थिए, ‘तपाईंहरू अहिलेको संविधानभित्र समाधान हेर्नुहुन्छ, हामीलाई चाहिँ त्यो मान्य हुँदैन। ’अबगकभ, त्यो संवैधानिक दायराभित्र हामी छैनौं।’ मुख्य कुरा यही थियो। त्यतिखेर सरकारसँग भएका वार्ता असफल हुनुको मुख्य कारण पनि यही थियो। किनकि, त्यतिखेर २०४७ सालको संविधान पनि थियो, राजा पनि थिए। हुन पनि पछि पुरानै संवैधानिक व्यवस्थामा त कुरो मिलेन पनि।

हामीले दिल्लीमा माओवादी नेता भेटेको विषयलाई लिएर काठमाडौमा चाहिँ हल्ला भयो। ‘ए मैले थाहा पाएँ, नोयडामा भेटेका रहेछन्,’ त्यतिखेरका प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिक्रिया यस्तो थियो। तर,भेटघाट नोयडामा होइन, जवाहरलाल नेहरू विश्वविद्यालयभन्दा अलि बाहिरको गाउँमा भएको हो। बरु त्यतिखेर नोयडामा चाहिँ माओवादीको कार्यालय रहेछ।

त्यसताका अर्को घटना पनि भएको थियो, ज्ञानेन्द्रले बाबुराम र प्रचण्डलाई सोल्टीमा भेटेका थिए। यो तथ्य हो। म पछि एकपटक भुटान गएको थिएँ। भुटानबाट तल डुअर्स झरेको थिएँ। त्यहाँ भारतीय सरकारले मलाई बस्नै दिएन। थिम्पुबाट फुनसेलिङ हुँदै त्यहाँ पुगेको दिन जलपाइगुडी एसपीले ‘ठिकठाक छ?’ भनेर फोन र्गयो। फेरि दार्जि्लिङको एसपीले फोन गरेर ‘तपाईंको लाइफलाई थ्रेट छ, काठमाडौंबाट खबर आएको’ भन्दै फोन र्गयो। ‘सिमानामा कहिले र्पुयाइदिउँ?’ भनेर उसले सिधै भनिहाल्यो। यसो भन्नुको मतलब मलाई त्यहाँ नबस भन्ने थियो। माओवादी नेताहरू त्यहीँ रहेछन्, मैले भेट्छ भनेर त्यसो गरेका रहेछन्।

नेपाल फर्किएपछि मैले त्यस’दयगत सोधिखोजी गरेँ। राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख देवीराम शर्मालाई ‘त्यो खबरको सुत्र तपाईंहरू कि अन्यत्र हो?’ भनेर सोधेँ। उनले अन्यत्र भन्ने जवाफ दिएपछि मैले बुझिहालेँ। त्यो भारतीयहरूले दिएको सूचना थियो।

मैले जहिले पनि माओवादी भारतमा बसेको कुरालाई प्रतिरक्षा गरेँ। उनीहरू त्यहाँ बसे भन्दैमा उनीहरूलाई सहयोग छ भन्ने कुराको मैले खण्डन गरेँ। तर, अहिले आएर मैले आफ्नो धारणामा परिवर्तन ल्याएँ। माओवादी नामको त्यो अण्डा कसको हो म जान्दिनँ, तर कोरेलेको चाहिँ भारतले नै हो। तर, पछि बच्चाले माउ मान्दिएन। अहिलेको समस्या यही हो।

कतिपयले गिरिजाबाबुले चीनबाट गएर माओवादी नेतालाई भेटेको भनेर पनि लेखे। तर, त्यस्तो होइन। पछि चीनबाट एउटा निम्तो आउँदा गिरिजाबाबु १० दिन लामो कार्यक्रम भन्दै नजाने मुडमा हुनुहुन्थ्यो। मैले नै ‘जानुपर्छ, बरु कार्यक्रम छोट्टयाउँ’ भनेँ।

बेइजिङ पुगेपछि गिरिजाबाबुले ‘हङकङ जाउँ’ भन्नुभयो। त्यहाँ हाम्रै हिसाबले बसेका थियौं। त्यो बन्दोबस्त चिनियाँ सरकारको थिएन। हङकङबाट काठमाडौं आउनुको सट्टा गिरिजाबाबुले दिल्ली जाने निर्णय गर्नुभयो। कुरा के रहेछ भने सुजाता दिल्लीमा गएर बसेको र उनकी छोरी मेलिनीलाई बेलायत पठाउन लागेकाले गिरिजाबाबु भेट्न जानुभएको रहेछ। त्यसपछि हामी फर्कियौं। तर, धेरैले त्यसलाई माओवादी भेट्न गएको रूपमा व्याख्या गरे।

अर्काथरि जर्ज फर्ना्न्डिजले भेटाएको भन्छन्, त्यो पनि होइन। गिरिजाबाबुले माओवादी नेतालाई भेटेको भनेर धेरैपटक बोलेपछि मैले पनि भनिदिएँ। सायद, मैले भनेको उहाँलाई मन परेन होला। कतिपयले गिरिजाबाबु र मेरो दुरी बढेको त्यही विन्दुदेखि भन्छन्। तर, होइन। उहाँसँग दुरी बढेको धेरैपछि मात्रै हो।

२०६२र६३ को जनआन्दोलनअघि सबै दिल्ली गएर बसे। मलाई पनि बोलाए। तर, मैले दिल्ली जान अस्वीकार गरेँ। बरु झापा गएर बसेँ। त्यतिखेरसम्म मेरो गिरिजाबाबुसँग राम्रै सम्बन्ध थियो। तर, १२ बुँदेपछि जब बालुवाटारमा बैठक हुन थाले, त्यसपछि हाम्रो दुरी बढ्दै गयो। त्यतिखेर गिरिजाबाबुसँग दुरी बढेको मेरो मात्रै थिएन। कांग्रेसमा एउटा समूह नै थियो। हामीलाई माओवादीले गिरिजाबाबुलाई तानेर लगेजस्तो लाग्यो। गिरिजाबाबुलाई बालुवाटारमा रातारात आठबुँदे सहमतिमा हस्ताक्षर गराए। त्यसपछि गिरिजाबाबुसँग ‘रिफ्ट’ नै भयो। पछि गिरिजाबाबुले ‘मलाई फोर्स गरे’ भन्नुभयो। हामीले ‘गलत भयो’ भनेर ‘स्ट्यान्ड’ लिन थाल्यौं।

गिरिजाबाबुले भने कृष्ण सिटौलालाई लिन थाल्नुभयो। सायद भारतले एउटा विन्दुमा पुगेपछि यो प्रक्रियामा म संलग्न नभएको सजिलो मान्दो हो। किनकि, मैले गिरिजाबाबुलाई सल्लाह दिँदा एउटा कोणबाट दिन्छु। मेरो राजनीतिक शिक्षा, अडान र लगाव सबै बिपीको स्कुलिङमा आधारित भएकाले मेरो सल्लाहमा त्यसको प्रभाव पर्थ्यो।

जबकि भारतीयहरूको मानसिकता भिन्दै किसिमको छ। बाह्रबुँदे सहमति भारतीयहरूले मस्यौदा गरेर दिएको मैले देखेको छु। पेन्सिलले लेखेर पठाएका थिए। अहिले भारतको नेपाल नीति चलाउने ‘रअ’ले हो। मैले उनीहरूलाई प्रष्टै भनिदिएको छु, ‘यदि तिमीले मलाई एउटा विश्वासिलो साथीको रूपमा लिन्छौ भने मलाई विश्वास गर, नोकरको रूपमा लिएका छौ भने मलाई माफ गर। मेरो आफ्नै राजनीति छ।’ यसो भनेपछि भारतको लागि म ग्राह्यपात्र भइनँ।

हामीले शान्ति प्रक्रिया जतिसुकै हाम्रो भने पनि राष्ट्रिय निहीत स्वार्थ र अन्तर्रा्ष्ट्रिय स्वार्थ हाबी भएको छ। भारतीय स्वार्थ पनि छ, अमेरिकी स्वार्थ पनि छ। अमेरिकी र भारतीयको साँठगाँठ छ। म कार्टर सेन्टरको बैठकमा ३र४ पटक अमेरिका गएँ। त्यहाँबाट पनि मैले भारतीय र अमेरिकी साँठगाँठ बुझेको छु। म पराराष्ट्र मन्त्री भएको व्यक्ति, अनि राजनीतिक रूपमा पनि एउटा उचाइ भएको व्यक्ति हुनाले कुनै भारतीयले बोलाउँदैमा हिँड्ने राजनीतिज्ञ होइन। उनीहरूले भनेजस्तो चल्ने व्यक्ति पनि होइन। अनि उनीहरूलाई त्यस्तै पात्र चाहियो होला। त्यसमा म गिरिजाबाबुलाई दोष दिन चाहन्नँ।

(पत्रकारहरु तिलक पाठक र कंचन अधिकारीले नागरिक दैनिकका लागि तयार गरेको यो सामग्री पत्रकार जगत नेपालको ब्लग http://jagatnepal.blogspot.com बाट साभार गरिएको हो ।)

  
 

 मौरीका रानी ओलीको अरिंगाल मोह

दुईतिहाई भन्दा बढी सांसदको समर्थनमा निर्वाचित शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीका बोलीको ओज पछिल्ला दिनहरुमा नजानिँदो तरिकाले घट्दै गएको छ ।

राजा महेन्द्रले ह्वीस्कीको ग्लास फुटाउँदै गिरिजालाई धम्क्याउँदा

भाषा अंग्रेजी ! तर भाष्य के हो कमरेड ओली ?  प्रधानमन्त्री कमरेड केपी ओली अमेरिका आईपुगे। उनले संयुक्त राष्ट्र संघको बार्षिक ज्याम्बोरीमा अंग्रेजी

भारतलाई अहिलेको दुई झट्का र नाकावन्दी

अहिले भारतलाई नेपालबाट ठूलो झट्का लागेको छ भनेर भारतमा रुवावासी छ । यो झट्का त्यसै लागेको होइन । यस्तो झट्का खान भारत आफैंले पृष्ठभूमि निर्माण गरेको

सरकारलाई कमजोर र जनतालाई असन्तुष्ट बनाउने आईएनजीओ रणनीति

अचेल ‘महिलावादी’हरु निक्कै सक्रिय छन् । महिलावादका अगुवा अधिकांशको असली ‘वाद’ एनजीओवाद हो । लोकतन्त्रवादीहरुलाई पनि एनजीओवादीहरुले नेतृत्व