इस्कुस दार्जिलिङको ज्यान

पहिले लहरा अनि झाङ बनेर ससानो पबिता वा मेवाको ढाँचाको नाइटो चिरिएको  खास गरी छाक टार्ने खाद्यमा गुलियो पाराको तरकारी फल हुँ म। साँच्चैका गोराहरूले ‘SQUASH’ भने पनि हाम्रो पहाडमा बसीबसी थेत्तर भएका ‘गोरा’हरुले पनि जिब्रो गुजुल्ट्याउँदै ‘इटकुट’ नै भन्ने गर्दछन्।

मधेशमा भने कतिले मलाई ‘क्वास’ भने पनि नेपाली जातिको सिञेले भेटेकाहरू ‘इस्कुस’ नै भन्ने गर्छन्। दार्जिलिङ पहाडको इस्कुस भनेपछि सारा संसार मख्ख र पक्क पर्छन्। इङ्गल्याण्ड, जर्मन, जापान, क्यानाडा, लण्डनतिर बस्ने नेपालीहरूले त गमलामा इस्कुस रोपेका छन् अरे! त्यही इस्कुस हेरेर उनीहरू पहाडकी रानी दार्जिलिङको सुन्दरताको काकाकुली तिर्सना मेट्छन् भन्ने पनि सुनेको छु।

म कैंजले सुम्बुक (बिजनबारी) को इस्कुस मचानमा तुर्लुङ्ङै झुण्डेको छु। यहाँका इस्कुसको झ्याङ् देखेर इस्कुस मचानमा तुर्लुङतुर्लुङ लटरम्मै झुण्डेका देखेर तल मधेसबाट आउने पर्यटकहरू दङ्गै पर्छन्।

अझ तरुणी पर्यटकहरूले त भुङ्तुङ्ङै परेको इस्कुस मचानबाट टिपी मागेर गालामा राखी म्वाइँ खाउँला जत्तिकै गर्छन्। तर मेरो जीउभरि उम्रेको काँडैकाँडाले गालामा घोंच्दोरहेछ क्यारे, कहालिँदै ‘उ मा…कि दुष्टो’ (आमा, कति बदमाश) भनेर लाड़े पल्टेकी देख्दा मचानबाट झरेर ग्वालाम्लाङ्ङै ‘हग’ गरुँजस्तो झोंक चल्छ। हैट!

इस्कुस भएर इस्कुसजस्तै तुर्लुङ्ङै झुण्डिबस्छु।

हामी तरकारी जातिले त्यस्तो उपद्रो गर्नु हुन्न…नत्र पहाडका तमाम् तरकारीहरू बदनाम हुनेछन् भनेर इस्कुसै भएर मचानमै तुर्लुङ्ङै झुण्डिबस्छु। फेरि एक मनले भन्छ, ठैट!

इस्कुस भएर यहाँको नेताजस्तो गति नदेखाऊ न हौ। यहाँका नेताहरू पो आफ्नै चेलीबेटीलाई बल, तुजुक, धम्कीको भरमा ‘हग’ मात्रै गर्नु होइन के के ‘रगरग’ गर्छन् गर्छन् नि मोराहरू!

एकप्रकारले भनुँ भने हामी इस्कुस सिङ्गो पहाडको आर्थिक सघाउ पुऱ्याउने ठूलो साधन हो। कहाँ हुँदैन… यहाँ इस्कुस…लोधोमा, रिम्बिक, झेपी, सुम्बुक नेजी, मजुवा, मर्मीडाङ, पानदाम, डाली, कलेजभेली पानधुर गाउँ, सिङ्ताम कमान, पुल,  बिजनबारी, गोक, कर्मटार वा यसो भनुँ जहाँ धेर चिसो हुन्छ त्यस ठाउँमा बटटट…इस्कुस हुन्छ।

इस्कुस बेचेरै यहाँ गाडी किन्नेहरू छन्।

भव्य बिल्डिङ बनाउनेहरू छन्।

हामी इस्कुस पनि थरिथरिका हुन्छौं। कोही निक्खुर हरियो, कोही बैजनी, कोही सेतो, थकथके, कोही चिटिक्क परेको सानु…खेलाउँ…खेलाउँ लाग्ने, कोही च्यालच्याले। कसैको जिब्रो निस्केको हुन्छ। कोही भुण्टे पनि हुन्छ। कोही जर्खरिएको, कसैको जीउभरि काँडैकाँडा।

कुनै पनि मासुसित हाम्रो सम्झौता भइहाल्छ। ठिक हाम्रा यहाँका नेताजस्तो। यता पनि ठिक्क… उता पनि ठिक्क। फाक्सामा हाल्नोस् वा लाङ्सामा, कुखुराको मासुमा हाल्नोस् कि आलुमा। हामी सबैसित मिलेर व्यञ्जन स्वादिष्ट बनाउँछौँ। हामीलाई उसिनेर खानोस् वा चरचरी भुटेर… जिब्रोभित्रै पस्छ।

कमान, बस्तीबाट इस्कुस दार्जिलिङ, मिरिक, कालेबुङ, खरसाङ तथा गान्तोक बजारमा आएपछि जुन मूल्य हुन्छ त्यसको दोब्बर तेब्बर दाम मधेशतिर हुन्छ। अझ मधेशदेखि उताउता ठूल्ठूला शहरतिर हाम्रो भाउ छोइनसक्नु हुन्छ। तर पहाडको सब्जी भनेपछि जति दाम हालेर पनि किन्नेहरू नै धेर देखिन्छन्।

हाम्रो यता कमान, बस्तीतिर घरघरमै इस्कुस रोपिने भएकोले कहिलेकाहिँ हाम्रो वास्तै पनि हुँदैन। बिक्री गर्नु गऱ्यो, खाँदो खायो, अरुचाहिँ सुँगुरलाई दाना। कहिले त गाउँबस्तीमा हामीलाई धेरैले यादै गर्दैनन्।

यो पहाडमा राजनैतिक नेताहरूले मात्र होइन गोर्खाल्याण्ड आन्दोलनमा पलापिएकाहरूले मात्र होइन तर अरु सागसब्जीले समेत हामीलाई आँखा तरेका देख्दा छक्क पर्छु म।

आन्दोलनको समयमा शान्ति सुरक्षाको निम्ति खटाइएका सिआरपीएफहरूले पहाडमा ताण्डवलीला मात्र चलाएनन् तर कमान, गाउँबस्तीतिरका घरहरू झोस्नुसम्म झोस्नुका साथै इस्कुसको झ्याङमा आगो लगाएर सखाप पारे। तर आन्दोलनको समयमा जङ्गल पस्नुपर्दा जङ्गल पस्नेहरूको छाक टारेका पनि छौं हामीले।

यो इस्कुसलाई यहाँका नेताहरूले अन्तर्राष्ट्रिय बजारमा खपत गराउनुपर्ने हो।

इस्कुसको अचार बनाएर संसारभरि फैलाउनुपर्ने हो। तर…यहाँको इस्कुसलाई कसले पो याद गर्छ र! हाम्रो त काम मचानमा बऱ्याम लागेर फल्नु मात्रै हो। यसबाहेक अरु केही गर्ने बलबुता हामीसित ठ्याम्मै छैन।

हामी इस्कुस जातिको यहाँका ऐरेगैरे नत्थुखैरे नेतीहरूसित लुतो कनाइ केही छैन।

इस्कुस व्यापारीहरूलाई पनि भन्नुपर्ने केही छैन।

तर हामी तमाम् इस्कुस जातिको गुनासो छ भने एकैजनासित छ। ती हुन् हाम्रा पहाडका तरुणीहरू। पहाडमा कामदाम छैन भन्ने गुनासो गर्ने तरुणीहरू शहर बजारभरी देखिन्छन्।

अरे.. इस्कुसको मोमो, इस्कुसको दम, इस्कुसको कटलेट, इस्कुसको चप, इस्कुसको तीनकुने रोटी (पराठा?) इस्कुसको अचार बनाएर बिक्री गर्न सके पहाडमा आउने पर्यटकहरूले जिब्रो पड़काउँदै कति खाने थिए होलान्!

हिङ नभए पनि हिङ्को टालोकै रुपमा भए पनि सामान्य बेरोजगार समस्य़ाबाट जोगिने थिए यहाँका बेरोजगार तरुणीहरू। तर हाम्रा यहाँकाहरू ता बडेबडे शहर, विदेश नै ताक्छन्। हुन त यहाँ इस्कुसको मोमो बनिँदैन भन्ने होइन तर जति हुनुपर्ने त्यति चाहिँ होइन।

इस्कुस जाति समर्पित तरकारी जाति हो। हाम्रो बोक्रा सुँगुर, गाईलाई दानाको रुपमा प्रयोग भए पनि हाम्रो सम्पूर्ण कुरा नै उपयोगी हुन्छ। इस्कुसको दाना, इस्कुसको मुण्टा, जरा सबै खान सकिन्छ। एउटा नभन्नुपर्ने कुरा भनिहालुँ क्यारे। पहाडमा हुँड़ीबिड़ी मच्चाउने एकजना नेताको नाम यहाँका जनताहरूले ‘इस्कुसे’ राखिदिएका थिए।

हुन पनि मान्छे हेर्दा कचल्टिएको च्यालच्याले, इस्कुस हेरेर नहेर्नु पर्ने। उनका धूपौरेले उनको नाम ‘इस्कुसे’ राखिदिएको पोल हालिदिएछन्। उनले कसैलाई केही भनेनन्। तर एक दिन उनको पार्टीको जनसभामा उनले भने, ‘हेर्नुहोस्… मेरा यहाँका जनताहरू पोलिटिकल कन्सियस पो भएछ कि भनेको ता परैहरू न्वारानमा नाम राख्ने पण्डित पो भएछन्। मेरो नाम ‘इस्कुसे’ राखिएको छ अरे। मेरो नामकरण गर्ने पण्डित महोदयलाई यसै मञ्चबाट साष्टाङ्ग दण्डवत् गर्दछु। हो.. म रुपैयाँमा सोह्रै आना इस्कुस हुँ। इस्कुसको के खाँदैन तपाईहरूले? इस्कुस त भइगयो, यसको जरा, मुण्टा..। म पनि त्यस्तै हुँ… मेरो सबै काम लाग्छ।’

हो पनि नेताजीले ठिकै भने। उनलाई हामी तमाम् इस्कुस जातिको श्रद्धा छ। हाम्रो दाना, जरा, मुण्टाले पहाड मात्रै होइन मधेसतर राँटो लगाएको छ। दार्जिलिङ चियाको खेतीले बाँचेको छ भने हामी इस्कुस जातिले पनि केही मात्रामा धेरै (इस्कुस उमार्नेहरू) लाई आर्थिक अवस्था बलियो पार्ने भरसके कोसिस गरिरहेका छौं।

मचान तयार भएपछि लटरम्मै फल्न हामीले कहिल्यै कुनै कञ्जुसी गरेका छैनौं।

हामी इस्कुस जाति यहाँका पहाडवासीहरू झैं सोझो सिधा छौं। यसैले ता फल्नुमा हामीले कुनै कप्ट्याइँ गर्दैनौ। गुल्चे गर्दैनौं। अचम्म त के मा लाग्छ भने, यहाँका नेताहरू जनसभातिर चियापत्तीको कुरा मात्रै गर्छन् तर इस्कुसको नाउँ ठ्याम्मै उच्चारण गर्दैनन्। तर मोराहरू हाम्रो यतातिर आउँदा बोराको बोरा मुण्टा र इस्कुस बोकेर इस्कुस मालिकलाई पैसा नदिई ‘थ्याङ्क यू’ भनिवरी जान्छन् नि फेरि।

साँच्चै यो हाम्रो पहाड ‘थ्याङ्क यू’ मै बाँचिरहेको छ। तर गरुन् पनि के बिचरा हाम्रा यहाँका नेताहरू? हामी इस्कुसको जिन्दगी र यहाँका नेताहरूको जिन्दगी प्रायः एउटै एउटै नै छ। एक मन रुई र एक मन फलामजस्तो। सोमका सोम।

कसरी भन्नुहुन्छ होला हजूर। कसरी र अब? हामी इस्कुस जातिको जिन्दगी मचानमा बाँचेको हुन्छ। मचान छैन…हामी चिचिलामै झर्नुपर्छ। हाम्रा नेताहरू पनि राजनीतिको मचानमा तुर्लुङतुर्लुङ झुण्डिएर जीवन धान्नु पर्दैछ। राजनीतिको मचान यताउति भयो कि सर्वनाश हुन्छ भन्ने डरले हाम्रा नेताहरू ‘सुगा भाषण’ मात्र बोल्छन्। उनीहरूलाई गाउँ समाज होइन तर बिचिरा उनीहरू राजनीतिको मचान सम्हाल्नमै धौधौ परिरहेको हुन्छ। मचान अलिकति पनि यताउति भयो कि ढ्याङ…!

हुन त नेताहरूलाई मात्रै के भन्नु? हाम्रो जिन्दगी पनि लोन्द्र्याङ नै छ नि। घरको कुखुरा सागै बराबर भनेजस्तो यो पहाड़मा इस्कुसप्रति वा इस्कुसको खेतीप्रति कसैको ध्यान गएको त्यति  देखिँदैन। वैज्ञानिक तरिकाले इस्कुसको खेती गर्न सके र विदेशतिर पनि निर्यात गर्न सके तमाम पहाड़वासीले घरकै आँगनमा क्यानाडा, दुबई, हङकङ, लण्डन, सिङ्गापुर, थाइल्याण्ड, इजरायल वा स्वीटजरल्य़ाण्ड पाउने थिए। तर को गर्ने हजूर… के गर्ने…माल पाएर चाल पाए पो!

बिनासित्तैंमा विदेश जानलाई लाख–लाख रुपैयाँ  खर्च गर्नुभन्दा बरु इस्कुसको खेतीमा पैसा खर्च गर्नसके हाम्रो इस्कुस जातिले कश्मीरको आइफललाई पनि पक्कै उछिन्न सक्छ भन्ने मेरो दाबी छ। तर यसमा सरकार, सम्बन्धित विभाग मात्र होइन आफै तातिनुपर्छ।

म त छाती ठोकेरै भन्छु, इस्कुस दार्जिलिङको ज्यान हो।

-सिलीगुड़ी

[email protected]


प्रतिक्रिया

3 thoughts on “इस्कुस दार्जिलिङको ज्यान

  1. गजबको भएछ, शुभ होओस स्कुसको।

  2. यो इस्कुसको दुश्मन लोथर्केक‍ो बखान चैं छोडिएछ । मुन्टादेखि फलसम्म सखाप पारिदिन्छ ।

    1. ‘इस्कुस दार्जिलिङको ज्यान’ दाम्मी!
      इस्कुसको अर्ति उपदेश सबैको कानमा परोस।

Leave a Reply to R.B.Chhetry Cancel reply

Your email address will not be published. Required fields are marked *