विमान दुर्घटनामा मर्नेको जीवन मूल्यवान्, सडकमा मर्नेको तुच्छ ?

जनवरी ७, २०१५ का दिन फ्रान्सको एक पत्रिका चार्ली हेब्दोमा पैगम्बर मोहम्मदको अपमान हुनेगरी कार्टून छापिएको निहुँमा त्यो पत्रिकाका आठजनालाई कथित् मुस्लिम आतंककारीले गोली हानेर मारे। यो फ्रान्सको घटना थियो। यसले सारा बिश्व हल्लियो।

त्यही बेला अफ्रिकी मुलुक नाइजेरियामा बोको हराम नामक एक आतंकवादी संगठनले एउटा सिङ्गै गाउँका २ सयजनालाई जिउँदै जलाएर मार्यो। यो समाचारले मिडियामा खासै महत्व पाएन ।

सेप्टेम्बर २३, २०१९ मा एक वातावरणीय सेमिनारलाई सम्बोधन गर्दै स्वीडेनकी एक किशोरी ग्रेटा थनबर्गले विश्वमा ‘कार्बन एमिसन’ बढेकोमा संसारका नेताहरुलाई गाली गरिन्, ‘हाउ डेर यू ?’

उनी रातारात हिरो भइन् । उनलाई नोबेल पुरस्कार दिनुपर्ने धारणासहित अखबारमा लेख छापिए ।

त्यही बेला दक्षिण भारतीय राज्य कर्नाटककी एक महिला तुलसी गोडाले आफ्नै पहलमा तीस हजार रुख रोपेर वातावरण संरक्षणमा दिएको योगदान बारे एउटा सानो एक कलमको समाचार छापियो। विश्वले यसमा पनि ध्यान दिएन ।

जनवरी १४, २०२३ मा नेपालमा एउटा विमान दुर्घटना भयो । ६८ जना यात्रु मारिए । सञ्चार माध्यम रङ्गीबिरंगी खबरमा डुबेको छ । समवेदना स्वरको ग्राफ बढेको छ । शोक मनाउन राज्यले एक दिनको बिदा नै घोषणा गरिदियो ।

एक तथ्यांक देखियो गूगलमा, नेपालमा हरेक वर्ष औसत १३ हजार सडक दुर्घटना हुँदोरहेछ । झन्डै तीन हजार मान्छे मर्दारहेछन् । अंगभंग हुनेको संख्या त्यसको दोब्बर रहेछ । राज्यले यसको कारण र समाधानमा चासो दिएको छैन । मिडियाले संवेदनशीलता देखाएको छैन ।

विमान दुर्घटनामा मर्नेको जीवन मूल्यवान् अनि सडकमा मर्नेको जीवन तुच्छ कसरी हुनसक्छ ? मेरो कुकुर टमी-ज्याकी, तेरो कुकुर लुते–भुस्याहा?

पछिल्लो समय नेपालमा भएका विमान दुर्घटनामा यती एयरलाइन्सको ‘योगदान’ अलि बढी नै देखियो । यती होल्डिङ्ग्सका थुप्रै कम्पनीहरु मध्येको कुनै एउटामा अहिलेका ‘किंग मेकर’ केपी ओलीका ‘धर्मपुत्र’ गोकूल बाँस्कोटा सञ्चालक समितिका सदस्य छन् । उनी महिनावारी भत्ता खान्छन् ।

छानबिन हुनु जरुरी छ । तर छानबिन गर्छु भनेर चुनाव जितेका कथित ‘युवा’ कर्णधारहरु आफैँ सत्ताको चास्नीमा डुबेपछि मतदाताको के लाग्छ ?


प्रतिक्रिया

One thought on “विमान दुर्घटनामा मर्नेको जीवन मूल्यवान्, सडकमा मर्नेको तुच्छ ?

  1. भित्रै बाट मन छोयो । म पनि एस्को बिरोध्मा छु ।

Leave a Reply to बिनोद Cancel reply

Your email address will not be published. Required fields are marked *