सहकारीमा दलीय हस्तक्षेपः बचतकर्ताको अर्बौं रकम जोखिममा

काठमाडौं । सहकारीमा भैरहेको आर्थिक अपचलनले देशको अर्थतन्त्रमा संकट ल्याएको विज्ञहरुले चेतावनी दिएका छन् । सहकारीमा भैरहेको अवैध र अनधिकृत आर्थिक अपचलन लघवृत्त र मिटरब्याजको समस्या भन्दा कता हो कता विकराल रहेको उनीहरुको तर्क छ ।

६० लाख परिवार संलग्न रहेको सहकारीमा ९ खर्ब रुपैंयाँ कारोबार भएको पूर्व सचिव गोपीनाथ मैनाली बताउँछन् । सहकारीमा उत्पन्न अवैध आर्थिक अपचलनपछि यसको जड पत्ता लाउन विभिन्न क्षेत्रको स्थलगत अध्ययन भ्रमण गरिरहेका पूर्व सचिव मैनालीले काठमाडौंमा शुक्रबार आयोजित विशेषज्ञहरुको एक सम्वाद कार्यक्रममा यस्तो अनुभव सुनाएका हुन् ।

सहकारीको सिध्दान्त विपरित व्यवस्थापन सञ्चालन भएको, राजनीतिक हस्तक्षेप र दवदवाले अवैध आर्थिक अपचलनलाई प्रोत्साहन गरेका कैयौं प्रमाणहरु फेला परेको मैनालीको भनाई छ । ‘दलका नेता, पोलिटब्यूरो सदस्य र पदाधिकारीले नै नियम मिचेर सहकारीको वचत रकम दुरुपपयोग गरेको पाईएको छ’ पूर्व सचिव मैनालीको अनुभव छ ।

४१ जना सहकारी सञ्चालकहरु गत संविधान सभामा सदस्य रहेको मैनालीले उदाहरण दिए । स्थानीय निकायमा अधिकांश प्रमुख र उपप्रमुखहरु सहकारीकै उत्पादन रहेको उनको भनाई छ ।

‘यतिमात्र होइन दर्जनौंको संख्यामा रहेका सहकारी संघहरुको नेतृत्व चुन्न राजनीतिक दलहरुवीच तर्को प्रतिष्पर्धा समेत हुने गरेको छ’ मैनाली भन्छन् । हाल देशभरमा ७३ लाख ८१ हजार नेपाली सहकारीका सदस्य छन् ।

सहकारीहरु दलका भ्रातृ संगठनका रुपमा सञ्चालित छन् । यतिमात्र होइन राजनीतिक दलहरुले सहकारी विभाग नै गठन गरेका छन् । ३३७ वटा त सहकारीका संघ नै छन् । जसको नेतृत्व छान्न दलहरुवीच चर्को पतिष्पर्धा हुने गरेको छ ।

यस्तो दलीय हस्तक्षेपले गर्दा प्रदेश तहका सहकारीको अवस्था धेरै नै बिग्रिएको पाईएको जानकारहरुले बताएका छन् । दलीय हस्तक्षेप र दुरुपयोगको प्रसंग आउँदा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व तह नै चर्चामा छ ।

त्यस दलका केही नेताहरु सहकारीको अवैध आर्थिक अपचलनमा संलग्न रहेको भनेर संसद र सडकमा चर्को आलोचना भैरहेको छ । त्यस दलका सभापति रबि लामिछाने त ठूलो रकम अवैध रुपमा अपचलन गरेको आरोप खेपिरहेका छन् ।

यस्तो आरोपको किनारा नलाग्दै उनी उपप्रधान तथा गृह मन्त्री पदमा कार्यरत छन् । कार्यदलको यस्तो सुझाव सरकारले गठन गरेको कार्यदलले सहकारी संस्थाहरूको स्थिर सम्पत्तिदेखि अन्यत्र भएका लगानी र तिनका सञ्चालकको सम्पत्तिसमेत बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गराउन सरकारलाई सुझाव दिइसकेको छ ।

कार्यदलले नियामक निकाय, सहकारी संस्था, बचतकर्ता, सहकारी अभियन्तासँग छलफल गरेर चैतभित्र बचतकर्ताको रकम फिर्ता गराउन सुझावसहितको प्रतिवेदन दिएको थियो ।

२६ वैशाख २०८० मा मन्त्रिपरिषद्ले योजना आयोगका सदस्य डा. जयकान्त राउतको संयोजकत्वमा ‘सहकारीको समस्या पहिचान तथा समाधानको खोजी अध्ययन कार्यदल’ गठन गरेको थियो ।

कार्यदलले सहकारी संस्थाहरूले प्रत्यक्ष रूपमा आफैंले लगानी गरेका कम्पनी, मार्ट, अपार्टमेन्टलाई एक वर्षभित्र तरल सम्पत्तिमा रूपान्तरण गरिसक्नुपर्ने सुझाव दिएको छ ।

संस्थाहरूबीच एकापसमा आर्थिक कारोबार, लेनदेन, बचत जम्मा, ऋण प्रवाहजस्ता कार्य भइरहेको भए आगामी एक वर्षभित्र राफसाफ गर्नुपर्ने, एकै व्यक्ति र परिवारभित्र कुल पुँजीकोषको दश प्रतिशतभन्दा बढी कर्जा केन्द्रीकृत भएको भए ६ महिनाभित्र व्यवस्थापन गरिसक्न निर्देशन गरी सोको निगरानी गर्न सबै तहका नियमनकारी निकाय (संघ, प्रदेश र स्थानीय तह) लाई सुझाव दिएको छ ।

कालोसूचीमा राखिएका १२ सहकारीले मात्रै १० हजारभन्दा बढी सदस्यको १८ अर्बभन्दा बढी बचत रकम फिर्ता नगरेको कार्यदलका सदस्यले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *