वाइड बडी खरिदमा अढाई देखि ३ अर्ब दलाललाई बढी तिरेको पुष्टि

काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज निर्माता कम्पनी एअरबसले दिने मूल्यभन्दा अढाईदेखि ३ अर्ब रुपैया बढी मूल्य तिरेर कम क्षमताका दुईवटा वाइड बडी ल्याएको पुष्टी भएको छ । मूल्यांकन समितिको प्रतिवेदन अनुसार प्र्रति जहाज ९३.०५ मिलियनमा आउने एअरबस ३३० २००को जहाजलाई निगमले १०४.८ मिलियन डलरभन्दा तिरेको छ ।

निगमले जहाज ल्याउनका लागि आह्वान गरेको प्रस्तावको मूल्यांकन टोलीको प्रतिवेदनबाट यसको खुलासा भएको हो ।

निगमले दुईवटा एअरबस निर्मित ३३०-२०० सेरिजका वाइड बडी जहाज आपूर्तिका लागि मागेको अन्तर्राष्ट्रिय प्रस्तावको मूल्यांकन गर्न निगमका प्राविधिक तर्फका कायममुकाम नायब प्रबन्धक रमेशबहादुर शाहको संयोजकत्वमा गठित ११ सदस्यीय उपसमितिले यो सेरिजका विमान एअरबसले २०१६ मा करिब ८८.१ मिलियन ( ८८,०९९,३१७) डलरमा दिन तयार रहेको तथ्य सामेल गरेको छ ।

प्रस्ताव मूल्यांकनको अनुसूची खण्डमा उल्लेख गरिएको विवरण अनुसार एअरबस र निगमका बीचमा विगतमा भएको समझदारी पत्रमा उल्लेख भएअनुसार एअरफ्रेमको मूल्य करिब ७३.४ मिलियन र इन्जिनको मूल्य करिब १४.७ मिलियन पर्दछ । समितिले मूल्यांकनपछि समझदारी र अन्तिम खरिद बिक्री संझौता गर्दा निगमलाई सहज होस भनेर बार्षिक मूल्य बृद्धिको पनि गणना गरेको देखिन्छ ।

उपसमितिले एअरबससंग विगत ५ बर्षको जहाजको मूल्य र मूल्य बृद्धि सूची मगाएर त्यसको आधारमा औसत २.७६९९ प्रतिशत बार्षिक मूल्य बृद्धि रहेको जनाएको छ । यसलाई समायोजन गर्दा २०१८ मा आउने नयाँ जहाजको मूल्य करिब ९३.०५ मिलियन(९३,०४७,४३४.८) अमेरिकी डलर हुन आउछ । तर निगमले अहिले ल्याएका अन्नपूर्णा र मकालु नामका वाइड बडी १०४.८ देखि १०९ मिलियन अमेरिकी डलर तिरेर ल्याएको छ । ठ्याक्कै कति रकम तिरियो भनेर हालसम्म सार्वजनिक गरेको छैन् ।

व्यवस्थापनको उल्टो निर्णय,तौल कम मूल्य बढी

मूल्यांकनमा सबैभन्दा कम प्रस्ताव गरेको एएआर इन्टरनेशन इन्क अमेरिकाले २०१६ को आधार मूल्यमा रहेर १०४.८ मिलियन डलर प्रस्तावित गरेको थियो । त्यसैलाई सहज पार्न मूल्यांकन समितिले एअरबसको २०१६ को मूल्य उल्लेख गरेको हो ।

तर एएआर कम्पनीको प्रस्ताव कम देखिएपछि पहिल्यैदेखि मिलेमतोमा सो कम्पनीलाई ल्याउन प्रयासरत निगम व्यवस्थापनले २६ जनवरी २०१७ मा गरिएको समझदारी पत्रमा नियतवस दुईवटा गल्ती गर्यो, प्रस्तावित मूल्य घटाउनु पर्दथ्यो,प्राय संझौताका विभिन्न चरणमा आपूर्तकले मूल्य घटाउने प्रचलन छ , निगमले भने उसले प्रस्ताव गरेको प्रति जहाज १०४.८ मिलियन मूल्यमा थप बढाउन मिल्ने गरि १०९ मिलियन नबढ्ने गरि भन्ने प्रावधान राख्यो ।

 

यो प्रावधान दोस्रो कम मूल्य ११० मिलियन प्रति जहाज प्रस्ताव गर्ने केजेटी इन्भेष्टमेन्ट वन वल्र्ड क्लोज आउट आउन नसक्ने र मूल्य बृद्धि गरि दुई जहाजबाट सहजै १० मिलियन डलर पचाउने उद्देश्यले राखिएकोे देखिन्छ ।
निगम व्यवस्थापनले प्रारम्भिक संझौतामा नै अर्को अक्षम्य बदमासी पनि गरेको देखिन्छ । एएआर इन्टरनेशनल इन्कले निगमलाई २४२ मेटिक टन क्षमता अधिक उडान भार भएको जहाज प्रस्ताव गरेको थियो , तर समझदारी पमा जहाजको अधिकतम उडानभार २३० मेटिक टन उल्लेख गरेर दुवै विमानमा १२ बाह्र टन अधिकतम उडानभार घटाइयो । उडानभार र जहाजको आकार घटेपछि मूल्य त सोझै घट्न पर्ने हो । तर घटाइएन,बरु बढाउने प्रावधान यथावत राखियो ।

यसले के देखाउछ भने,निगमले दलालहरुसंग नलिईकन सोझै एअरबससंग खरिद गरेको भए प्रति जहाज ९३.०५ मिलियन डलरमा २४२ मेट्रिक टन उडानभार क्षमता भएकै जहाज आउने थिए । दलालमार्फत खरिद गर्दा अढाई अर्ब( न्यूनतम १०४.८ मिलियन प्रतिजहाज मूल्य कायम गर्दा) र अधिकतम ३.२ अर्ब( १०९ मिलियन डलर प्रति जहाज मूल्य कायम गर्दा) नोक्सान हुन गएको छ ।

निगमका जहाज एअरपोर्टको शोभामात्रै

नेपाल वायुसेवा निगमको बेडामा अहिले १३ वटा जहाज चालु अवस्थामा रहेका छन् । निगममा आन्तरिक उडानतर्फ २ वटा क्यानेडियन डीएचसी ६ ट्वीनओटर, ४ वटा वाई १२, २ वटा एम वे ६० गरि ८ वटा र अन्तराष्ट्रिय उडानतर्फ २ वटा एअरबस ३३०-२०० सेरिजका वाइड बडी, २ वटा ३२०-२०० सेरिजका एअरबसका न्यारो बडी र एक बोइड.को ७५७ गरी ५ जहाज रहेका छन् ।

तर निगम उच्च स्रोत भन्दछ, आन्तरिक तर्फ दैनिक ५ जति जहाजहरु भूमिस्थ भएर बसेका हुन्छ । आलोपालो गरेर ३ वटा मुस्किलले चल्दछन् । ती जहाजहरुमा पनि यात्रुको संख्या नाजुक हुन्छ । एक विमान चालकका अनुसार कहिले त एकजनामात्र यात्रु बोकेर जहाज चलाउन परिरहेको छ ।

निगम व्यवस्थापन र पर्यटनमन्त्रीबीचको सम्बन्ध विमान खरिदको लुब्रिकेण्टले कसिलो बनेको छ । शुरुमा मन्त्रालय बहाली गर्दा पर्यटनमन्त्रीले १०० दिनभित्र निगमका सबै विमान चलाउनुपर्ने नत्र कारबाही गर्ने चेतावनी दिनुभएको थियो । उहाँले भने अनुसार एकदुईपटक प्रगति विवरण निगम व्यवस्थापनले पठायो । व्यवस्थापन कतिसम्म निर्लज्ज छ भने एकसमय एक पाइलटले राजिनामा दिए, एक जना विरामी भएर बसे, वाई १२ चलाउने पाइलट एकहप्ता जति एक्लै परे । निगमले पर्यटनमन्त्रीलाई प्रतिवेदन बुझायो, चारवटा वाई १२ मध्ये ३ वटा चलिरहेका छन भनेर । एक पाइलटले तीवटा जहाज एकसाथ चलाउन संभव छैन, एक दिन एउटा चलाउने ती थन्क्याउने गर्दा पनि कमिशन र घूसको हरियो घाँस खान पल्केका मन्त्री र सचिवले त्यसमा प्रश्न उठाउने आवश्यकता देखेनन्।

निगमले आन्तरिक सेवालाई सुदृढ गर्ने नाममा निगमबाट सेवा निवृत भैसक्नुभएका पूर्व कायममुकाय महाप्रबन्धक राजुबहादुर केसीलाई नायब महाप्रबन्धकमा नियुक्ति दिएको छ । तर पाइलटका अभावमा जहाजहरु चलेका छैनन् ।

दुइ तिहाई बहुमत भएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जोशिला युवामन्त्रीलाई सानोतिनो रकममा नै सर्लक्कै किन्न सकिने भेउ पाएपछि कमिशन र भ्रष्ट्राचारमा लिप्त निगमको व्यवस्थापनले अब ५ अर्बका आधा दर्जन भाईकिंग विमान आन्तरिक उडानमा थप्ने १० बर्षमा ३० वटा जहाज पुर्याउने हावादारी योजना सुनाएर जनतालाई भ्रमितगर्न खोजेको छ ।

निगमका भरपर्दो सूत्रका अनुसार सत्तारुढ दलका केही नेता र मन्त्रीलाई नयाँ खरिदमा ठूलो नजरानाको लोभ देखाएर यो करिब साढे ६ अर्ब रुपैया घोटालाको वाइड बडी खरिद प्रक्रिया छायाँमा पार्ने कोशिस गरिदैछ ।

वाईड बडी सेतो हात्ती सावित

जहाज खरिदमा ठूलो धनराशी खर्च हुने भएकोले सामान्यत विमान खरिद गर्दा व्यापारिक योजना बनाएर नयाँ आउने विमानबाट आर्थिक र सामाजिक लाभ बढी हुने भएमा मात्र खरिद गरिन्छ । यसलाई निगमको आर्थिक नियमावलीले पनि अंगीकार गरेको छ ।

निगम व्यवस्थापनले दुई वाईड बडी जहाजको खरिद सम्बन्धी व्यापारिक प्रतिवेदन तयार पार्दा र जहाज सञ्चालन हुने संभाव्य गन्तव्यहरुको सूची टेण्डरमा उल्लेख गर्दा निगमले अष्ट्रेलियाको सिड्नी,मेलबर्न, ब्रिसबेन सहित लण्डनको गेटविक र हेथ्रो, फ्रांकफर्ट,टेकिया,सोल,बेइजिड।, चेन्नाई, मुम्बई, दिल्ली,ओसाका, संघाई, हंगकंग ,गोञ्जाउ, क्वालालम्पुर, बैंकक, सिंगापुर,दोहा र दुबाईलाई उल्लेख गरेको छ ।

तर विडम्बना दुवै जहाज काठमाडौं उत्रेर व्यापारिक उडान थाल्दा पनि निगम व्यवस्थापनले एक पनि नयाँ गन्तब्य थप्न सकेन ।

 

निगमले अहिले सेवा दिएका गन्तव्यहरु विगतमा दुईवटा बोइड.ले धानेका क्षेत्र हुन् । एअरबस न्यारोबडीका दुई वटा जहाज थपिएपछि पनि गन्तव्य खास थपिएका छैनन् ।

१६ बिजनेस र १७४ साधारण सीट भएको बोइड. ७५७ र ६ बिजनेस र १५२ सामान्य सीट भएका एअरबस ३२०-२०० सेरिजका दुई विमानले धानिरहेको बर्तमान गन्तव्यमा २ सय ७४ सीट संख्याका दुई वाइड बडी थपिदा निगमका विमानहरुको अधिकतम् उपयोग हुन पाएको छैन् । नयाँ गन्तव्य नथपिएकोेले न्यारो बडीलाई विश्राम दिएर ठूला विमान उडाउन पर्ने अवस्था छ । वाइड बडीका विमान आधा पनि नभरिने अवस्था सिर्जना हुँदैछ ।

निगमले वाइड बडीको जहाज खरिद गर्दा निम्न अनियमितता भएको छः

१) निगमको आर्थिक विनिमावलीमा नयाँ विमान खरिद गर्दा उत्पादकसंगमात्र प्रतिस्पर्धा गराएर खरिद गर्ने व्यवस्थालाई उल्लंघन गरी पुरानो विमान खरिदको टेण्डर मागेर नयाँ विमान खरिद गर्ने प्रपञ्च मिलाइयो ।

२)महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७४ मा यस विषयलाई गम्भीर ढंगले उठाइएको छ । नियमावलीमा किटानी भएको व्यवस्थालाई नियोजित रुपमा निष्क्रिय पारी आफूखुसी अधिकारको प्रयोग गरिएको स्वेच्छाचारी प्रवृत्ति र अख्तियारको दुरुपयोगको रुपमा यसलाई ब्याख्या गरिएको छ ।

३) जहाज आपूर्तिको प्रस्ताव दिदा अमेरिकाको एएआर इन्टरनेशल इन्कले मात्र दिएको छ । सबैभन्दा कम आएपछि उसले जर्मन एभिएसन क्यापिटल र हाईफ्लाई एरोज पोचुगलसंग कन्सोर्टिमय बनाएको छ । २६ जनवरी २०१७ मा निगमसंग जहाज आपूर्तिको समझदारी गर्दा कन्सोर्टियमका तर्फबाट एएआर इन्टरनेशल विक्रेता बनेको छ ।

४) समझदारी पत्र तयार गर्दा प्रस्तावकले पेश गरेर मूल्यांकन भएको जहाजको अधिकतम उडान भार प्रति जहाज १२ मेट्रिक टन घटाएको छ भने मूल्य प्रतिजहाज ५ मिलियन डलर बढाउन सक्ने प्रस्ताव गरिएको छ ।

५) समझदारी पत्रको प्रावधान अनुरुप जहाज खरिदको प्रतिबद्धता शुल्क १० लाख डलर प्रतिजहाज ५ लाख डलरका दरले १०लाख डलर९ १ मिलियन डलर० हाई—फ्लाई ट्रान्सपोर्ट एरोज पोर्चुगलको नामाका रहेको स्वीस खाता (Bank Credit Suisse, paradeplatz 8, Zurich, 8070,Switzerland, IBAN CH86048350766097222000, SWIFT:CRESCHZZ80L)मा जम्मा गर्नुपर्ने र सामान आपूर्तिपूर्वको भुक्तानी विक्रेताले भनेको खातामा पठाउनुपर्ने उल्लेख छ ।

६) जहाज किन्ने समझदारी भएर प्रतिबद्धता शुल्क पठाइसकेपछि हाइफ्लाई एक्स आयरल्याण्ड नामक कम्पनी २०१७ को फेब्रुअरी २१ मा आयरल्याण्डको डब्लिनमा दर्ता गरियो र यसलाई कन्सोर्टियमा सामेल गरियो।यो कमिशन र एअरबसको बास्तविक मूल्य तिरेर बाँकी बचेको रकम खान तयार पारिएको कम्पनी भएको अनुमान छ ।

७) अफ्रिल ७ मा निगमसंग भएको अन्तिम खरिद—बिक्री संझौतामा बिक्रेताको रुपमा हाई फ्लाई एक्स आयरल्याण्डलाई राखिएको छ । टेण्डर र मूल्यांकनका समयमा संसारमा कहि पनि अस्तित्वमा नै नरहेको वा दर्ता नै नभएको हाइफ्लाई एक्स आइरल्याण्ड विक्रेता बनेको छ । विक्रेताको रुपमा आरएफपी र प्रारम्भिक समझदारी गर्दा भने एएआर इन्टरनेशनल बिक्रेता छ ।

Agreement with Hifly X Ireland

८) अन्तिम खरिद विक्री संझौतामा अन्य कुराको अतिरिक्त जहाज खरिद विक्रीको काममा सघाउन जर्मनीको म्युनिखमा रहेको नर्टन रोज फुल ब्राइट नामक कम्पनीलाई एस्क्रो एजेण्ट नियुक्त गरियो । उसको नाममा जर्मनीको युनि क्रेडिट बैंक एजी९पुरानो हाइपरभेरेन्स बैंक०मा खाता खोली निगमले पठाउने पैसा त्यसमा जम्मा हुने र एअरबसलाई तिर्नुपर्ने रकम सोही खाताबाट न्यूयोर्कमा रहेको डच बैंक ट्रष्ट कम्पनी अमेरिका मार्फत एअरबसको खाता नंं ०४८८७१९८ मा पठाउने संझौता गरियो (Beneficiary Name: AIRBUS SAS,Account Identification :04887198)with (DEUTSCHE BANK Trust Company Americas,SWIFT: BKTRUS 33, ABA : 021001033, Global Transction Banking,Floor 25, 60 Wall Street, New York,NY, USA) कन्सोर्टियमका कुनै पनि साझेदारको खाता उपयोग नहुनु र सीघै एअरबसलाई तिर्ने व्यवस्था नहुनु तथा निगमले नर्टन रोज, यूरोपमा रहेको नर्टन रोजले सीधै एअरबसको खातामा नहाली न्यूयोर्कमा रहेको र्जमन बैंकमार्फत पैसा पठाउने प्रबन्ध आफैमा रहस्यमय छ ।

९) खरिद बिक्री संम्बन्धी संझौतामा इञ्जिनको अलग संझौता छैन । इञ्जिनको वारेन्टी छैन । सामान्यत ४ बर्ष हुने यस्तो वारेन्टी दलालहरुले दिन सक्ने अवस्था रहेन किनकी यो खरिदमा संलग्न कुनैपनि कम्पनीको आफ्नो मर्मत संभार केन्द्र छैन। एअरबसबाट लिदा ४ बर्ष त्यो सुविधा पाइन्थ्यो ।

१०) इन्जिन वारेन्टी छुटेको थाहा भएपछि निगमले इन्जिन र एअरफ्रेमको मर्मत सम्भारको सेवा दिने कम्पनीलाई चयन गर्न टेण्डर गर्यो । तर जेमा पनि कमिशन खाने नियत भएको व्यवस्थापनले त्यसको डेड लाइन नसकिदै इञ्जिन निर्माता कम्पनी रोल्सरोयसलाई १२ बर्षसम्म महिनाको ६ करोडको दरले झण्डै ८ अर्बको मर्मत संभारको ठेक्का दिने घोषणा गर्यो । मर्मत संभारको सूचीमा दर्ताको लागि निस्केको टेण्डरमा सहभागी नभएको रोल्सरोयसलाई यो आकर्षक ठेक्का दिएर १२ बर्षसम्मको कमिशन अहिल्यै लिएर हिड्न वर्तमान व्यवस्थापन मरिमेटेर लागिरहेको छ । अब जहाज विग्रिएमा कहाँ मर्मत गर्ने हो निगमलाई समस्या परेको छ ।वारेन्टी पिरियडमै निगमको थाप्लोमा मर्मत संभारको अतिरिक्त भार थपिएको छ ।

११) निगमलाई बिक्रेताले उत्पादन क्रमसंख्या(मेनुफेक्सर्च सिरिएल नम्बर एमएसन) १८४५ र १८५४ भएको जहाज उपलब्ध गराउने प्रतिबद्धता दिएको थियो । तर निगमको टोली जहाजको निर्माण हेर्न फ्रान्स पुगेको बेला अर्कै उत्पादन क्रम संख्या(एमएसएन) भएको जहाज देखाइयो, तीनको क्रम संख्या क्रमश १८७२ र १८७८ रहेको छ ।


१२ ) पहिले उत्पादन भएका विमानहरु तिब्बत एअरलाइन्स र आइबेरिया एअरलाइन्सले उडाइरहेका छन् । यो सेरिजका विमान आपएको भए नेपालले ३ चार महिना अगावै नयाँ वाईड बडी ल्याउन पाउने थियो । निगमले ३ महिनाको संभाव्य आम्दानी गुमायो । ती दुवै विमान २४२ मेट्रिक टन अधिकतम् उडानभारका रहेका छन् ।

१३) यो विमानको अधिकतम उडानभार घटेकोले यसको इन्धन बोक्ने क्षमतामा कमी भएको कारण यसले अष्ट्रेलिया उडान गर्न नसक्ने बताइन्छ ।

१४)यो खरिदका विभिन्न चरणमा पठाइएका पैसाको भुक्तानी रसिद निगमले पाएको छैन् । निगमले पठाएको मध्ये कति रकम एअरबसमा पुग्यो एअरबसले दिन सकेन् ।विगतमा उसले रकम किटानी गरेर भुक्तानी पाएको भरपाई दिन्थ्यो । यसपटक दिएन ।

१५) यो समग्र प्रकरणमा २४ अर्बको १० प्रतिशतले हुने अढाई अर्ब कमिशन र मूल्यमा तलमाथि पारेर प्रति जहाज २ दुई अर्ब गरि साढे ६ अर्ब रकम घोटाला भएको अनुमान छ ।  (aashanews.com मा प्रकाश अधिकारीको रिपोर्ट)

  घिसिङको कार्यकालमा इतिहासमै कम चुहावट, प्राधिकरणको खुद नाफा लक्ष्यभन्दा बढी 

काठमाडौँ, २९ साउन । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५ मा प्रक्षेपित भन्दा बढी आम्दानी हुने जनाएको छ । सो आवमा प्राधिकरणले एक अर्ब एक

 हिमालय ड्रग कम्पनीको नयाँ क्रिम बजारमा 

काठमाडौं । हिमालय ड्रग कम्पनीले ‘युथ इटरनिटि’ नाम गरेको छालाको हेरचाह  गर्ने क्रीमहरु बजारमा ल्याएको छ। यस युथ इटर्नि्टि रेन्जका क्रिमहरु

वाइडबडी खरिदमा ६ अर्ब ५९ करोड घोटाला, मर्मतको घाटा अलग्गै

काठमाडौं । नेपाल वायुसेवा निगमले एक महिनाको बीचमा अन्तराष्ट्रिय विमानस्थलमा उतारेका एअरबस निर्मित ३३०-२४३ (पहिले ३३०-२०० भनिएका) सेरिजका वाईड बडीका

 सङ्घीयताका नाममा विश्व बैंकको १० अर्ब ऋण थपियो 

काठमाडौँ, २३ साउन । साझेदारीको पचास वर्ष पुग्दा पनि नेपालले विश्व बैंकको ऋण थप्न छोडेको छैन। द्वन्द,शान्ति,व्यवस्थापन र बिकासका अनेक लोकप्रिय एजेण्डा